-गोविन्द थापा-
राजनीति सम्भावनाको खेल हो । तर, नेपालमा कतिपय शक्ति तथा व्यक्तिहरु राजनीतिलाई षडयन्त्रको खेल ठान्छन् । उनीहरुको जीवन षडयन्त्र र जालझेलमै बितेको देखिन्छ । उनीहरुलाई राजनीतिक भनेकै षडयन्त्र र तिकडम हो भन्ने लाग्छ । त्यस्ता शक्ति तथा नेताहरु अहिले स्थानीय चुनाव रोक्ने षडयन्त्रमा कम्मर कसेर लागेका छन् ।
सम्भावना नखोजेर षडयन्त्र खोज्ने काममा केही शक्तिहरु लागेको हुनाले नेपाली राजनीतिमा कालो वादल अहिले पनि मडारिएको छ । प्रष्टै लेखौं– पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूह चुनाव रोक्ने षडयन्त्रमा लागिपरेको छ ।
प्रचण्डको पार्टी विगतमा ठूलो भइसकेको थियो । राजनीति नगरेर षडयन्त्रमा मात्र गर्ने, जनताको सेवामा भन्दा परिवार र नातागोताको सेवामा मात्र लाग्ने, भोट बटुल्न छाडेर ..... बटुल्न मात्र खोज्ने चरित्रले प्रचण्डको पार्टी समाप्त हुने क्रममा छ । उता माधवको समूह भने जालझेल र षडयन्त्रबाटै जन्मिएको हुनाले त्यसको चरित्र समूहको भन्दा गिरोहको जस्तो छ । प्रचण्डको समूह पनि गिरोह जस्तो भइसकेको छ ।
प्रचण्ड र माधवको गिरोहले स्थानीय चुनाव रोक्न सक्ला त ? अहिले आम जनताले उत्सुकतापूर्वक हेरिरहेका छन् । उनीहरुले चुनाव रोक्न सक्छन् कि सक्दैनन् भन्ने केही तल चर्चा गरौंला, पहिले चर्चा गरौं किन रोक्न चाहन्छन् भन्ने विषय ।
जो समाप्त हुँदैछन्, जसको पद गुम्दैछ
१– राजनीतिक दलको प्राण चुनावमा अड्किएको हुन्छ । चुनावमा जनतामा जाने, आफ्नो विचार र राजनीति जनतालाई बुझाउने उद्देश्य भएको समूहलाई पार्टी भनिन्छ । प्रचण्ड र माधवको गिरोहसँग न विचार छ, न राजनीति छ, त्यसैले उनीहरुका लागि चुनाव मुख्य होइन । जसरी हुन्छ शक्तिमा बस्ने गिरोहवादी चरित्रले उनीहरु ग्रस्त छन् । यस कारण उनीहरु चुनाव रोक्न चाहन्छन् ।
२– चुनावबाट प्रचण्ड र माधवको गिरोहको पत्तासाफ हुन्छ भन्ने सबैलाई थाहा छ । प्रचण्डहरुले अघिल्लो स्थानीय चुनावमा जति जितेका थिए, त्यसको दस प्रतिशत पनि जित्न नसक्ने अवस्था छ । कांग्रेससँग मिलेर अरु केही प्रतिशत थप्न पनि सक्लान् । जसो गरे पनि स्थानीय चुनावको मतगणना सकिएपछि जाने शशक्त सन्देश हो– माओवादी समाप्त भयो । माओवादी समाप्त हुनु भनेको आफ्नो पारिवारिक साम्राज्य नेपालमा स्थापित गर्ने प्रचण्डको सपना भत्किनु हो । चुनाव हुनासाथ समाप्त भइन्छ भन्ने प्रचण्डलाई थाहा छ, त्यसैले चुनाव रोक्न खोजिएको हो ।
३– प्रचण्डले माओवादी पार्टीको चिन्ता छाडिसक्नुभयो । अब उहाँलाई आफ्नो र रेणु दाहालसहितका छोरीहरु, ज्वाईं सम्धी तथा नातेदारहरुको मात्र चिन्ता छ । रेणुलाई भरतपुर महानगरको मेयर बनाउन प्रचण्ड प्राणहत्ते गरिरहनुभएको छ । रेणुले जित्ने अवस्था छैन । चितवन कांग्रेसलाई प्रचण्डको पारिवारिक विर्ता बनाउन कांग्रेसका त्यहाँका इमानदार कार्यकर्ताले नमान्ने भए । छोरीले नजित्ने चुनाव गराउन किन मान्नु प्रचण्डले ? छोरीले जितिनन् भने आफूले पनि केन्द्रको चुनावमा जितिँदैन भन्ने प्रचण्डलाई थाहा छ । चुनाव गराएर आफू र आफ्नो परिवारको राजनीतिक साम्राज्यमा प्रचण्डले बन्चरो हान्ने कुरै भएन । त्यसैले प्रचण्ड चुनाव रोक्न खोजिरहनुभएको छ ।
४– स्थानीय चुनावपछि माधवको गिरोहले आफूलाई पार्टी भन्ने हिम्मत गर्ने छैन । माधवको गिरोहले कुनै पनि पालिका प्रमुख जित्ने छैन । कुनै ठाउँमा चिठ्ठा परे जसरी केही वडा सदस्य जित्न पनि सक्ला । तैपनि स्थानीय चुनावपछि माधवको कुनै पार्टी छैन भन्ने स्थापित हुनेछ । हाम्रो पनि पार्टी छ भन्दै माधवले जनतालाई ढाँट्ने मौका समेत माधवले पाउने छैनन् । त्यसैले माधवको गिरोह चुनाव रोक्न खोज्दैछ ।
५– चुनाव भयो कि समाप्त भइयो । यस्तो छ हालत प्रचण्ड र माधवको । कुरा स्थानीय चुनावमा मात्र सीमित छैन । स्थानीय पछि केन्द्र र प्रदेशको चुनाव हुनेछ । स्थानीय चुनावमै समाप्त भइसकेको शक्तिले केन्द्र र प्रदेशमा जित्ने कुरै भएन । आफूले काँधमा बोक्दा पनि समाप्त भएको शक्तिसँग कांग्रेसले केन्द्र र प्रदेशको चुनावमा गठवन्धन गर्ने छैन । त्यो अवस्थामा एमालेको शरणमा प्रचण्ड आउन सक्छन् । एमालेले प्रचण्ड रहित माओवादीलाई एमालेमा भित्राउनेछ तर गिरोहहरुलाई भित्राउने छैन । चुनाव पछि सदाका लागि राजनीति अस्ताउँछ भन्ने बुझेकाले प्रचण्ड र माधवहरु चुनाव रोक्न खोज्दैछन् ।
६– चुनाव रोक्न प्रचण्ड र माधव उकास्ने, शेरबहादुर देउवा हौसिने । यस्तो छ अहिलेको अवस्था । माओवादी र माधवलाई बोक्दा पनि स्थानीय चुनावमा कांग्रेसको विजोग हुने निश्चित छ । स्थानीय चुनावमा नराम्रोसँग पराजित भएपछि देउवाले कांग्रेस सभापति पदबाट राजीनामा दिनुपर्ने माग उठ्नेछ । त्यही भएकाले चुनाव रोकेर सारेर केही षडयन्त्र गरौं भन्नेमा देउवा लागेको प्रष्ट छ ।
अहिलेको परिदृष्य र अबको षडयन्त्र
अब केके षडयन्त्र गर्छन् भन्ने आकलन गर्न अबको परिदृष्य कस्तो हुनेछ भन्नेमा ध्यान दिउँ–
चुनाव हुनासाथ माधव र प्रचण्डको राजनीतिक जीवन लगभग समाप्त हुने निश्चित छ । स्थानीय चुनावको मत गणना गरिसक्दा नसक्दै माधवको गिरोहमा रहेका सीमित इमानदार कार्यकर्ताले पनि सत्य बुझ्नेछन् र एमालेमा फर्कनेछन् । स्थानीय चुनावमा धुलो चाटेपछि माओवादी पार्टी विसर्जनमा जानेछ । स्थानीय चुनावमा कांग्रेसलाई देउवाले बेहाल बनाउने प्रष्ट भइसक्यो । मत परिणामपछि कांग्रेसका सबै कार्यकर्ताको आँखा खुल्नेछ । त्यसपछि देउवाको प्रधानमन्त्री र सभापति पद गुम्नेछ ।
स्थानीय चुनाववको मत परिणामले प्रचण्ड र माधवको राजनीतिक जीवन समाप्त हुने, देउवाको राजनीतिक जीवनले विश्राम लिने अवस्था देखिएको चर्चा माथि गरियो । यो कुरा अरुलाई भन्दा प्रचण्ड, माधव र देउवालाई प्रत्यक्ष थाहा छ । प्रचण्ड, माधव र देउवाको मिटिङमा ‘आहा, चुनाव जितिने भयो’ भन्दै हासीखुसी हुन्छ होला ? अवश्य हुँदैन । बरु, तीनजनाको मिटिङमा तीनैजनाले खुईया गर्दै ‘चुनाव पनि हारिने भयो, हाम्रो राजनीति पनि समाप्त हुने भयो’ भन्दै छलफल गर्छन् ।
यहाँनेर एउटा अभिव्यक्तिमा ध्यान दिउँ । केही दिन अघि शेरबहादुर देउवाले एउटा सार्वजनिक कार्यक्रममा भन्नुभयो– ‘प्रचण्डले हार्ने चुनाव गर्न मान्छ ?’ कतिपयले प्रचण्डको पोल शेरबहादुरले खोलिदिएको भने । यसो कुरा सुन्दा शेरबहादुरले प्रचण्डको पोल खोलेजस्ता पनि लाग्छ । तर, सत्य अर्कै छ । देउवाले चुनाव सार्नका लागि पृष्ठभूमि तयार पार्नुभएको हो । खासमा देउवाले भन्न खोजेको यस्तो हो– ‘हार्ने चुनाव गर्न म मान्छु ?’
षडयन्त्रको सम्भावित स्वरुप
स्थानीय चुनाव सारेर र रोकेर मात्र प्रचण्ड र माधवको गिरोहको संकट मोचन हुँदैन । चुनाव सार्नु बाहेक अन्य षडयन्त्रहरु पनि गर्नुपर्ने हुन्छ । आफूहरुको राजनीतिक भविष्यको सुनिश्चितताका लागि प्रचण्ड र माधवले एमाले र कांग्रेसलाई अप्ठेरोमा फसाउनुपर्ने हुन्छ । प्रचण्ड माधवले कांग्रेसलाई चिराचिरा पारिसक्नुभयो, कांग्रेसको डिफ्याक्टो अध्यक्ष जस्तो भूमिकामा प्रचण्ड देखिनुभएको छ । कांग्रेसलाई प्रचण्डपथमा हिँडाउन प्रचण्ड एक हदसम्म सफल पनि हुनुभएको छ ।
अब उहाँहरुले एमालेलाई प्रहार गर्नुपर्ने हुन्छ । एमालेमा पनि केपी शर्मा ओलीलाई समस्यामा फसाउनुपर्ने हुन्छ । यसका लागि उहाँहरुले पूरानै नेकपा ब्युँताउन भित्रभित्रै षडयन्त्र गरिरहनुभएको छ । यसैका लागि सर्वाेच्च अदालतलाई लथालिंग बनाउनुभएको छ । प्रचण्ड र माधवको खल्तीबाट सर्वाेच्च अदालतको निर्णय जारी गर्ने परिपञ्च मिलाइँदैछ । यसैका लागि सर्वाेच्चका न्यायाधिशहरुको टाउकोमा महाभियोगको तरवार झुण्डाइएको हो । जनयुद्धकालमा कथित जनअदालतको फैसला बमोजिम भन्दै सर्वसाधारणलाई मार्नुभएको प्रचण्ड सर्वाेच्च अदालतलाई जनअदालतको नयाँ संस्करण बनाउन खोज्दै हुनुहुन्छ । प्रचण्डको कथित जनअदालतले नेकपा ब्युँझिएको निर्णय गराउने प्रयास भइरहेको छ । तर, यसो गर्नु असम्भव हो भन्ने प्रचण्डले बुझ्नु अलि समय लाग्नेछ ।
उहाँहरुले गर्ने अर्को षडयन्त्र संवैधानिक निकायहरुलाई खल्तीमा हाल्ने हो । संवैधानिक निकायहरुमा भएका सबै नियुक्ति वदर गर्ने, त्यो ठाउँमा प्रचण्डका परिवार तथा नातागोतालाई भर्ती गर्ने, आसेपासेलाई पद दिने । त्यसपछि केपी ओली सहित एमाले नेताहरुलाई कुनै नक्कली काण्ड सिर्जना गरेर मुद्दा लगाउने । मुद्दा विचाराधीन भएको भन्दै केपी ओलीलाई चुनाव लड्न नदिने सपना उहाँहरु देखिरहनुभएको छ । जसरी माहुरीको घारमा माहुरीलाई सिध्याएपछि पूरै घार तितरवितर हुन्छ, त्यसैगरी केपी ओलीलाई सिध्याएपछि एमाले भन्ने माहुरीको गोला समाप्त हुन्छ भन्ने सपनाका आधारमा उहाँहरु षडयन्त्रको तानाबाना बुनिरहनुभएको छ ।
कांग्रेसलाई लंगडो बनाउने, एमालेलाई लुलो बनाउने, राज्यसत्तामा कब्जा गर्ने, आतंक राज सिर्जना गर्ने, अन्तराष्ट्रिय शक्तिहरुलाई आमन्त्रण गर्ने, चुनाव रोक्ने, अनुकूल परेपछि नक्कली चुनाव गराउने र सत्तामा पुग्ने प्रचण्ड माधवको सपना अरुले बुझिसके, शेरबहादुर देउवाले भने बुझ्न अलि बाँकी छ । प्रचण्ड माधवको यो कुटिल सपनाको मोहजालमा कांग्रेसकै कैयन नेताहरु मतियार बनेको देखिन्छ । उनीहरुले प्रचण्ड र माधवको षडयन्त्रमय इतिहास र स्वभावको अध्ययन गरे राम्रो हुने थियो ।
सरल बाटोबाट अर्थात् चुनावको बाटोबाट अब प्रचण्ड र माधवहरु सत्तामा पुग्न सम्भव छैन । सम्भव त छ तर त्यसका लागि उहाँहरुको हातमा सत्ता जानुपर्छ, नक्कली चुनाव गर्नुपर्छ, भरतपुर महानगरपालिकामा गत चुनावमा मतगणना गरे जसरी देशभरी मत गन्नुपर्छ, अनि मात्र प्रचण्ड र माधवहरु सत्तामा पुग्न सम्भव छ ।
यिनै कारणले गर्दा प्रचण्ड माधवहरु स्थानीय चुनाव रोक्न खोजिरहनुभएको छ । उहाँहरुसँग अर्काे विकल्प पनि छ । स्थानीय चुनाव रोकेर केन्द्र र प्रदेशको चुनाव पहिले गर्ने अथवा तीनवटै तहको चुनाव एकसाथ गर्ने । यसो गरेमा कांग्रेसलाई ब्ल्याकमेलिङ गर्न सजिलो हुनेछ । ब्ल्याकमेलिङ गरेर कांग्रेसको काँधमा बसेर धेरैभन्दा धेरै सिटमा चुनाव लड्ने, पार्टी उर्फ गिरोहको नाममा एकदुई सीट ल्याएर व्यक्तिगत रुपमा आफूहरु जोगिने प्रचण्ड र माधवको दाउ हुनसक्छ । तर, उहाँहरुको यस्तो सपना साकार हुन सक्दैन ।
तर, सम्भव छैन...
चुनाव रोक्ने, सार्ने र लामो खालको षडयन्त्र गरेर आफूहरुको समाप्त हुन लागेको राजनीति बचाउने प्रचण्ड र माधवहरुको प्रयास किन सफल हुँदैन भने यो देशमा एमाले छ । एमाले छ भन्नुको अर्थ जस्तासुकै षडयन्त्रको भण्डाफोर गर्ने र प्रतिकार गर्ने सामर्थ्य एमालेले राख्छ ।
जनता चेतनाले युक्त भएका छन् । एमाले विरुद्ध प्रचण्ड माधवहरुले नेकपा भएकै बेलादेखि अभियान छेड्नुभएको थियो । एमालेको सरकारले केही काम गरेन भन्दै दुष्प्रचार गर्नुभएको थियो । एमाले सरकारलाई काम गर्न अनेक वाधा दिनुभएको थियो । यो कुरा जनताले छर्लङग बुझेका छन् । पाँच दलीय गठवन्धन बनाएर एमालेसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने भ्रम उहाँहरुलाई थियो । तर, गठवन्धन गरेकै कारण उहाँहरु परास्त हुने र एमालेले विजयको झण्डा फहराउने प्रष्ट देखियो । यही कारण हो सत्ता गठवन्धनमा देखिएको छटपटी । यही कारण हो चुनाव सार्ने दुष्प्रयास ।
विप्लव समूह या अन्य केही देखाएर चुनाव सार्न खोज्दा त्यसबाट उत्पन्न हुने दुष्परिणामले प्रचण्ड र माधवलाई समाप्त पार्ने नै छ, कांग्रेसलाई पनि समाप्त पार्नेछ । यो कुरा कांग्रेसका इमानदार कार्यकर्ताहरु तथा आम जनताले बुझ्न जरुरी छ ।
जति षडयन्त्र गरे पनि यिनले चुनाव रोक्न सक्ने छैनन्, त्यसैले आम जनताले भोट हाल्न आफ्नो मन र हात तयार अवस्थामा राख्नुहोला ।
