-गोविन्द थापा-
अहिले देशभर नेकपा एमालेको पक्षमा जनलहर छ । देशभरीको जनता एमालेको सूर्य चिन्हमा मतदान गर्न बैशाख ३० को व्यग्र प्रतिक्षा गरिरहेका छन् । एमालेको पक्षमा देखिएको अभूतपूर्व जनलहरको कारण के हो ?
शेरबहादुर देउवा र प्रचण्डहरुसँग सरकार छ, उनीहरुको साथमा विदेशी शक्तिहरु पनि छन् । तैपनि एमालेको पक्षमा किन लहर आइरहेको छ ?
अब पनि सत्ता गठवन्धनले चुनाव रोक्न सक्छ भनेर पत्याउन सकिँदैन । स्थानीय चुनाव रोक्ने, पर सार्ने काममा सत्ता गठवन्धन कम्मर कसेर लागेको आम जनताले देखेकै हो । जनता मत हालेर स्थानीय सरकार छान्न आतुर छन् । यस्तो बेला गाउँदेखि सहरसम्म एमालेको पक्षमा लहर छ । पाँच दलमा केही राजावादी पनि मिसिएको गठवन्धन बनेको छ, तैपनि एमालेको पक्षमा अभुतपूर्व लहर आइरहेको छ ।
अब चुनाव हुन्छ, हुन्छ, हुन्छ । बैशाख ३० गते नेपाली जनताले स्थानीय तहका लागि मतदान गर्न पाउनेछन् । ३० गते जनताले मतदान गर्न पाउनु भनेको सत्ता गठवन्धनका लागि असाध्यै ठूलो हार हो भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका लागि ठूलो जित हो ।
एमालेको पक्षमा अभूतपूर्व जनलहर यसरी आउँछ भन्ने कतिपयलाई लागेको थिएन । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने एमालेको पक्षमा अपूर्व जनलहर आउँछ भन्ने विश्वास लागेको थियो । उहाँले आफ्नो पार्टीको पक्षमा जनलहर आउँछ भनेर पहिले नै घोषणा गर्नुभएको थियो ।
केपी ओलीको भविष्यवाणी र गठवन्धनको विजोग
देशीविदेशी शक्तिहरु एमालेलाई हराउन लागिपर्छन् भन्ने थाहा भएकै कुरा हो । उनीहरुले एमालेलाई हराउन गठवन्धन बनाउन पर्दा पछाडिबाट भूमिका खेलेको पनि नेपाली जनताले बुझेकै हो ।
गठवन्धन बन्यो भने एमालेलाई अप्ठेरो पर्न सक्छ भन्दै एमालेका केन्द्रदेखि जिल्लासम्मका नेता कार्यकर्ताहरु चिन्तित देखिएका थिए । तर, एकजनामा भने कुनै चिन्ता देखिएको थिएन । त्यस्तो व्यक्तित्व हो– केपी शर्मा ओली ।
ओलीले गठवन्धन बन्न दिनुपर्छ भन्ने नीति लिनुभयो । कांग्रेससँग गठवन्धन गरे पनि चुनाव जितिँदैन भन्ने बुझ्नुभएका प्रचण्डले एमालेसँग मिल्ने नीति लिनुभयो । भाषणमा पनि प्रचण्डले एमालेसँग मिल्ने कुरा बोल्नुभयो । प्रचण्ड बालुवाटार छाडेर बालकोट पनि धाउनुभयो । पर्दा पछाडिको विभिन्न च्यानलबाट एमालेसँग मिल्न वार्ता पनि चलाउनुभयो । तर, केपी ओली अविचलित रहनुभयो । उहाँको भनाई थियो– गठवन्धन बन्न दिनुपर्छ, हामीलाई झन् सजिलो हुन्छ चुनाव जित्न ।
केपी ओलीको कुरामा कतिपयलाई विश्वास लागिरहेको थिएन । तर, दिन बित्दै जाँदा सत्ता गठवन्धन कमजोर बन्दै गयो । केपी ओलीले भन्नुभए अनुसार नै गठवन्धन कुहिन थाल्यो । केपी ओली दूरदृष्टि राख्नुहुन्छ, लामो हेर्नुहुन्छ । उहाँले भन्नुभए अनुसार नै गठवन्धन कमजोर बन्दै गयो ।
गठवन्धनमा कसैले छोरीलाई मेयर बनाउनुपर्ने, कसैले स्वास्नीलाई मेयर बनाउनुपर्ने, गठवन्धनका नेताहरुको परिवार र नातागोतालाई पद दिनुपर्ने । यस्तो भएपछि अहिले गठवन्धनभित्र आपसी मारकाट मच्चिएको छ । गठवन्धनमा रहेको नेपाली कांग्रेस शेरबहादुर देउवाको निजी कम्पनीजस्तो बन्यो । त्यहाँका बलिया नेताहरुले परिवार र नातागोतालाई मात्र टिकट दिलाउन मरिहत्ते गरे । माओवादी पनि प्रचण्डको पारिवारिक कम्पनीजस्तो भयो । प्रचण्डको परिवारका सदस्यलाई पदमा पुराउन माओवादीका होनहार कार्यकर्ताहरुलाई टिकटबाट बन्चित गरिएको छ ।
चुनावी माहौल तातिँदै जाँदा के तथ्य प्रमाणित हुँदै गयो भने गठवन्धनको केही अर्थ भएन । धेरैवटा भेंडाले एउटा बाघलाई घेरावन्दी गर्न नसकेजस्तै धेरै दल मिलेर गठवन्धन बनाए पनि एमालेलाई जित्न नसक्ने भए । एकातिर गठवन्धन भित्रभित्रै चकनाचुर भएको छ भने अर्कातिर एमालेको लहर तिब्र बन्दै गएको छ ।
केपी ओलीले गहिरो विष्लेशण, विराट अनुभव र ज्ञानका आधारमा गठवन्धनले केही गर्न सक्दैन, एमालेले चिन्ता नगरी चुनावी मैदानमा जानुपर्छ भनेर गर्नुभएको भविष्यवाणी सहि सावित भएको छ ।
यसरी आइरहेछ एमाले लहर
अहिले देश एमालेमय भएको छ । ओलीमय भएको छ । एमालेको पक्षमा ऐतिहासिक जनलहर आउनुको कारण केके हुनसक्छ ? आउनुस्, चर्चा गरौं:
१) जतिबेला सत्ता गठवन्धनका नेताहरु आफ्नो परिवार र नातागोतालाई कसरी टिकट दिलाउने भनेर सिंहदरबार र बालुवाटारमा झगडा गरेर बसिरहेका थिए, केपी ओली सहितका एमाले नेताहरु भने गाउँगाउँमा पुगेको देखिन्थ्यो । यसकारण आयो एमाले लहर ।
२) गठवन्धनका नेताहरुको सरकार छ । यो सरकारबाट यति काम गर्यौं भनेर जनतामा जाने अवस्था छैन । काम गरेको भए पो जानु ? एमालेले काम मात्र गरेको छ । यस्ता काम गरेका छौं भन्दै एमाले जनतामा गयो, विपक्षी जान सकेनन् । विगतमा गरेको काम देखेर आयो एमालेको लहर ।
३) सत्ता गठवन्धनका दल तथा नेताहरु विगतमा सरकारमा थिए, प्रधानमन्त्री थिए । आफ्नो पालामा यस्तो विकास गरेको थिएँ, अब पनि विकास गरिन्छ, त्यसैले हाम्रो पार्टीलाई भोट दिनुस् भन्न गठवन्धन दलका नेताहरुले सकेनन् । तर, एमालेले आफ्ना काम देखाउँदै भोट मागिरहेको छ । यसकारण आयो एमाले लहर ।
४) सत्ता गठवन्धनका नेताहरुले देशव्यापी रुपमा नातागोतालाई टिकट दिइरहेका छन् । उनीहरुको पहिलो उद्देश्य पार्टीलाई अगाडि बढाउने भएन, परिवार र नातागोतालाई अगाडि बढाउने देखियो । एमाले नेता केपी शर्मा ओलीका पनि नातागोताको ठूलो सञ्जाल छ । तर, अहँ उहाँले कोही नातागोतालाई टिकट दिलाउन गति छाडेको देखिएन । पार्टी नै परिवार हो, सारा जनता नै मेरा नातेदार हुन् भन्ने विचार र व्यवहार ओलीले देखाउनुभयो । सत्तागठवन्धनका नेताहरुको नाता र परिवारवादी व्यवहार र केपी ओलीको जनतावादी व्यवहार देखिएकाले एमालेको पक्षमा व्यापक जन लहर आएको हो ।
५) सत्ता गठवन्धनमा कांग्रेस बाहेक अरु पार्टीको कुनै हैसियत छैन । प्रचण्डको पार्टी अस्पतालको आइसीयुमा पुग्न लागेको छ, माधवको पार्टी सिर्फ गिरोह या समूह हो । अरु पार्टीको त कुनै आकार नै छैन । खुद्रे पार्टीहरुले कांग्रेसबाट ठूलो भाग टिकट लिँदा सत्ता गठवन्धन स्वत कमजोर बन्न पुग्यो, एमाले स्वत बलियो बन्न गयो । त्यसैले अहिले आइरहेछ एमालेको लहर ।
६) दक्षिण एसियाको सबैभन्दा पारदर्शि, आन्तरिक लोकतन्त्र भएको, संगठित र अनुशासित पार्टी नेकपा एमाले हो । विश्वकै लागि उदाहरणीय पार्टी हो एमाले । त्यस विपरित गठवन्धमा रहेका दलहरुको कुनै हैसियत छैन । न सुन्दर इतिहास छ, न लोकप्रिय काम गरेका छन्, न देखाउन लायक काम गरेका छन् । यो कारणले पनि आयो एमाले लहर ।
७) सत्ता गठवन्धनले धेरैवटा रणनीतिक गल्ती गर्यो र कमजोर बन्यो । उनीहरुले सुरुमै एमाले बलियो छ, हामी चुनाव हार्छौं भन्ने घोषणा गरे । उनीहरु हार्छाैं भन्दै पराजित मानसिकता बोकेर चुनावी मैदानमा आएका छन् । उनीहरुको पराजित मानसिकताका कारण पनि एमाले लहर आउन सहयोग पुगिरहेको छ ।
८) सत्ता गठवन्धन आफूले गरेका काम र भावी कार्यक्रम बोकेर चुनावी मैदानमा जान सकेनन् । उनीहरुले देखाउन लायक काम गरेकै छैनन् । कार्यक्रम पनि दिन सकेनन् । गठवन्धनका शिरदेखि पुच्छरसम्मका नेताहरु परिवार र नातागोतालाई चुनावमा मौका दिलाउन लागिपरे । त्यसैले उनीहरुको कार्यक्रम नै ‘मेरो परिवारलाई भोट देउ’ भन्ने मात्र रह्यो । यो कारण पनि एमाले लहर अहिले तिब्र बनिरहेको छ ।
९) सत्ता गठवन्धनका दलहरुले आफूलाई विकासवादी देखाउन सकेनन् । तर, एमाले भनेकै विकास हो र विकास भनेकै एमाले हो भन्ने तथ्य स्थापित भएको छ । गठवन्धन दलहरुले हामी पनि विकास गर्न सक्छौं भनेर जनतालाई विश्वास दिलाउन सकेनन् । सक्नेवाला पनि छैनन् । यो कारण पनि एमाले लहर आइरहेको छ ।
१०) घोषणापत्रमा जेजे लेखे पनि सत्ता गठवन्धनले चुनावी मुद्दा आफूले जित्ने बनाएन, एमालेलाई हराउने बनायो । एमाले र केपी ओलीलाई हराउन भोट देउ भन्न थाले । जनताले नकारात्मक मुद्दा मन पराउँदैनन् भन्ने उनीहरुले बुझ्ेनन् । एमाले र केपी ओली देश बनाउँछौं भन्दै भोट माग्न जाने, गठवन्धन चाहिँ ओली र एमालेलाई हराउन भोट देउ भन्दै जाने । एमाले नै यो देशको सबैभन्दा लोकप्रिय पार्टी हो र केपी ओली नै यो देशको सबैभन्दा लोकप्रिय नेता हो भन्ने बुझेर त्यही अनुसारको काउन्टर रणनीति बनाउन सकेनन् । उनीहरुको यो रणनीतिक गल्तीका कारण एमाले लहर आउन झन् मद्दत मिल्यो ।
११) सत्ता गठवन्धनको सबैभन्दा ठूलो दल कांग्रेस भए पनि गठवन्धनको नेतृत्व प्रचण्ड र माधवले गरेजस्तो देखियो । संगठन र प्रभावका दृष्टिले कांग्रेससँग प्रचण्ड र माधवको समूहको तुलना हुन सक्दैन । कांग्रेसलाई विवशताको वन्दी बनाएर, ब्ल्याकमेलिङ गरेर प्रचण्ड र माधवले कांग्रेसलाई पनि सिध्याउने भए भन्ने चिन्ता सर्वत्र छाएको देखिन्छ । त्यसैले कांग्रेसको जनमत पनि एमालेतिर लाग्यो । यो कारणले पनि एमालेको लहर आउन योगदान मिल्यो ।
१२) सत्ता गठवन्धन लोभी पापीहरुकै हो, स्वार्थीहरुकै हो, लुटिखानकै लागि गठवन्धन बनेको हो, देशलाई अगाडि बढ्न नदिनकै लागि गठवन्धन बनेको हो भन्ने जनताले बुझे । भष्मासुर र हन्तकालेहरुले गठवन्धन भरिएको छ भन्ने जनताले देखे । गठवन्धन जनविरोधी छ भन्ने जनताले बुझ्नाले विकल्पमा स्वत एमाले देखियो । यसकारण पनि एमाले लहर आइरहेको हो ।
१३) एमालेको नेतृत्व र बहुमत भएको पालिकामा विकासको लहर आएको छ तर अरुको नेतृत्वमा भएका पालिकामा लुटमार र भ्रष्टाचार छ । जनताले फरक देखे, त्यसैले एमाले लहर आएको हो ।
१४) गठवन्धनमा आन्तरिक झगडा चर्काे भयो, एउटा पक्षले अर्काे पक्षलाई भोट नदिने अवस्था भएको छ । उनीहरुको यो कमजोरीका कारण पराजय निश्चित बन्दै गएको छ । यसकारण पनि एमालेको लहर बढ्नमा योगदान मिलेको छ ।
१५) सत्ता गठवन्धनले देश विकासमा योगदान गर्दैन, लोकतन्त्रलाई अगाडि बढाउन पनि सक्दैन, सुशासन पनि दिन सक्दैन, त्यसैले सत्ता गठवन्धनका नाममा आउनेहरुलाई भोट दिन हुँदैन भन्ने विचार डढेलो सरह फैलिएको छ । यो कारण पनि एमाले लहर आइरहेको छ ।
१६) एमालेको पक्षमा व्यापक जनलहर सिर्जना भएको छ । एमालेको पक्षमा सिर्जना भएको यो लहर सत्ता गठवन्धनका लागि सुनामी जस्तो बनेको छ । एमालेको पक्षमा अहिलेसम्मकै ऐतिहासिक जनलहर आउनुको मुख्य कारण हो– केपी शर्मा ओलीको लोकप्रियता । एमालेसँग केपी ओली ब्राण्ड छ तर सत्ता गठवन्धनसँग त्यस्ता लोकप्रिय नेता छैनन् । यसकारण पनि देशव्यापी रुपमा अभुतपूर्व तरिकाले एमालेको पक्षमा जनलहर आइरहेको छ ।
