--नन्दु उप्रेती--
यसपटकको स्थानीय निर्वाचन विगतका निर्वाचनभन्दा भिन्न र बढी महत्वपूर्ण देखिएको छ ।
यो निर्वाचन तिब्र गतिमा विकास र समृद्धितर्फ देशलाई लाने पक्ष र परम्परागत शैलीको विकासमा अल्मलिने पक्ष बीचको लडाई हो । यो निर्वाचन भ्रष्टतन्त्र र सुशासन बीचको लडाई हो । राष्ट्रिय स्वाभिमान र आत्मसमर्पणवादी दुई खेमा बीच चुनाव हुँदैछ ।
नेपाल र नेपालीको समृद्धि, राष्ट्रिय स्वाभिमान, जनउत्तरदायितब र विकास, निर्माणको गतिशीलताको पक्षधर नेकपा एमाले देखिएको छ । यस विपरित अर्को पक्षमा संयुक्त सरकारमा संलग्न दलहरूको गठबन्धन छ ।
सामान्यतया निर्वाचनले स्थापित गरेका दलहरूबीच सत्तासाझेदारीका लागि गठबन्धन हुनु विश्वव्यापी स्वाभाविक प्रकृयाका रूपमा देख्न पाइन्छ । यस्तो अवस्थामा निर्वाचनमा होमिएका पार्टीहरूले जनतामा आफ्ना योजना, एजेन्डा तथा दृष्टिकोण स्पष्ट रूपमा लगिसकेका हुन्छन् । सत्तासाझेदारीमा उनीहरूका आ–आफ्ना दृष्टिकोण कायमै रहेका हुन्छन् । जनतालाई पनि स्पष्ट भइसकेको हुन्छ कि कुन पार्टी कुन दृष्टिकोणले सुसज्जित हो, उसको मौलिक योजना र एजेण्डा के हुन्, कुन पार्टीले कुन वर्गका जनताको पक्षधरता राख्दछ आदि ।
हुन लागेको स्थानीय निर्वाचनमा भने पहिले साझेदारी अनि निर्वाचन, यस्तो स्थिति बनेको छ । खासगरी नेपाली राजनीतिमा विचार व्यवहारका दृष्टिले पूर्व, पश्चिम, उत्तर, दक्षिण फर्किएका पार्टीहरूले विशुद्ध स्थानीय सत्ता कब्जा गर्ने नियत साथ गठबन्धन गरेका छन् । उग्रवामपन्थी, अवसरवादी र उग्रदक्षिणपन्थी पार्टीहरूले नितान्त सत्तालोलुपताका लागि गठबन्धन गरेका छन् । विगत, वर्तमान र भविष्यमा पनि वैचारिक मिलन हुन नसक्ने खालका पार्टीहरू विचार पक्षलाई तिलाञ्जली दिएर चुनावी स्वार्थका लागि गठबन्धनको असफल अभ्याश गरिरहेका छन् ।
यो गठवन्धनमा गणतन्त्रवादी भन्ने, आफूलाई समाजवादी भन्ने, आफूलाई संघीयतावादी भन्ने, आफूलाई संघीयता विरोधी भन्ने, आफूलाई क्षेत्रयतावादी भन्ने, आफूलाई क्षेत्रियता विरोधी भन्नेहरू छन् । उनीहरुले आफ्ना चिन्तन मार्गदर्शन त्यागेर केवल पालिकास्तरीय सत्ता प्राप्तिको उद्देश्य पूर्तिका लागि गठबन्धन गरेका छन् ।
विभिन्न राजनीतिक, सैद्धान्तिक विचारले सुसज्जित नेपाली समाजको वर्तमान अवस्थालाई तिरस्कार गर्दै बनेको यस गठवन्धनले मतदाताको वैचारिक स्वतन्त्रताको नैसर्गिक अधिकारमाथि बज्र प्रहार गरेको छ । धाक, धम्की, दलाली, लोभ, लालच, प्रलोभनलाई मुख्य आधार बनाएर जनताको मत प्राप्त गर्ने यो गठबन्धनको रणनीति देखिन्छ । जनता भने यसको ठीक विपरित आफ्नो वैचारिक स्वतन्त्रताको ज्योति ज्वाज्ज्वल्यमान बनाउन उत्साहित देखिएका छन् । जसको ज्वलन्त उदाहरणका रुपमा गठवन्धनका उमेद्वार विरुद्ध परेका शसक्त उमेद्वारीलाई देख्न सकिन्छ । जनताको इच्छा, आकांक्षा, आवश्यकता र चेतना एकातिर गठबन्धनको चुनावी अभियान अर्कोतिर बनिरहेको वर्तमान अवस्थामा के नेपाली मतदाताले जसरी पनि, जस्ता पनि शक्तिहरूको नाजायज गठबन्धनलाई स्वीकार्छन त ? एउटा प्रश्न हुन सक्छ । यो प्रश्नको निर्क्योलका लागि केही तथ्यहरू नियाल्न सकिन्छ।
०७४ को स्थानीय निर्वाचनमा पनि गठबन्धनको राम्रै अभ्यास भएको पाइन्छ । त्यस अवस्थामा पनि यिनै गठबन्धन भित्रकै विपरित ध्रुवमा फर्किएका पार्टीहरूबीच गठबन्धन भएको थियो। नेपाली कांग्रेस र माओवादीले एमाले विरुद्ध धेरै ठाउँमा गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए । तर नेपाली मतदाताले केन्द्रीय सत्तामा आसिन दुवै पार्टीको गठबन्धनलाई नाजायज गठबन्धन हो भनेर बुझे । धेरै ठाउँमा उनीहरूको शक्तिशाली उपस्थिति हुँदा हुँदै पनि उनीहरूलाई पराजित गराउदै नेकपा एमालेका उमेद्वारहरूलाई विजयी गराए।
नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनको समयमा पनि अहिलेको जस्तै नेपाली कांग्रेस र माओवादीको गठबन्धन सरकार थियो । अहिले पनि सरकारमा गठबन्धन खासगरी यिनै दुई पार्टीको हो, अरु पार्टीहरूको त गणितीय हिसाबमात्रै जोडिएको अवस्था छ । काङ्ग्रेस र माओवादीको सत्तासाझेदारीको सन्तानका रूपमा बनेको त्यसबेलाको गठबन्धन ८० प्रतिशतभन्दा बढी नै असफल भएको थियो । गुल्मी, रुपन्देही, सिन्धुपाल्चोक, काभ्रे, कास्की, भोजपुर, मकवानपुर आदि धेरै जिल्लामा नेपाली काग्रेस र माओवादीको गठबन्धनका उमेद्वारलाई पराजित गर्दै एमालेका उमेद्वारहरूले जितेका थिए । भरतपुरको निर्वाचनमा पनि मतपत्र च्यात्नेसम्मको हर्कत गरी गठबन्धनले राज्यशक्तिको दुरुपयोग गरेर गठवन्धनको उमेद्वारलाई विजयी घोषित गरेको थियो । यो घोषणा नेपालको स्थानीय निर्वाचनको इतिहासमा एउटा कालो धब्वाका रूपमा जब्बरजस्त अङ्कित भएको छ र रहने देखिन्छ । उल्लिखित तथ्यले के पुष्टि गर्छ भने गठबन्धन जायज छ या नाजायज छ मतदाताले सहजै पत्ता लगाउन सक्छन, पुरस्कार दिने कि सजाय दिने सहजै निर्णय गर्न सक्छन् ।
गएको निर्वाचनमा नेकपा एमालेले पनि केही केही ठाउँमा गठबन्धन गरेको देखिन्छ । खासगरी उसले माओवादीसँग आफ्नो शक्ति मजबुत नभएका ठाउँमा यस्तो गठबन्धन गरेको थियो । यो गठबन्धनले आंशिक सफलता प्राप्त गरेको देखिन्छ । यसले पनि नेपाली मतदाताहरू निर्वाचन अधिको गठबन्धनका पक्षपाती छैनन् भन्ने कुरालाई पुष्टी गर्न सहयोग पु¥याउछ । गठबन्धनका कारण पार्टी र मतदाता दुवैमा चुनावी अभियान र मतदान दुवै अवस्थामा अन्योलको स्थिति सिर्जना भएको थियो ।
जहाँ जहाँ पार्टीहरूले एकल दिएका थिए त्यहाँ त्यहाँ निर्वाचनका अभियानमा राजनीतिक पार्टीलाई पनि र मतदातालाई पनि सक्रिय रूपमा सहभागी हुन सहज भएको थियो । राजनीतिक पार्टीहरू र मतदाता दुवैमा अन्योलको अवस्था देखिएको थिएन ।
अहिलेको निर्वाचनमा धेरै ठाउँमा सत्तासाझेदार पार्टीहरूले निर्वाचनका लागि गठबन्धन कायम गरेर उमेद्वारी दिएका छन् । परिणामस्वरूप उनी स्वयम् र मतदातासमेत अन्योलको अवस्थामा छन् । नयाँ मतदाताहरू आफूले चाहेको पार्टीको उमेद्वार नै नपाएर झन ठूलो अप्ठ्यारोमा परेका छन् । पहिलो पटक मतदान गर्न लागेका यी लाखौं मतदाताहरू कित खेताला मतदाता हुदैछन् , कि त वागी उमेद्वारको पक्षमा मतदान गर्ने अवस्थामा छन् कि त नेकपा एमालेलाई मतदान गर्ने निश्कर्षमा पुग्ने अवस्थामा छन् । यसपटकको निर्वाचनमा नेकपा एमालेले पनि नगण्य स्थानहरूमा गठबन्धन गरेको छ । विगतको ’निर्वाचन अनुसारकै परिणाम आएमा उसको गठबन्धनलाई आंशिक सफलता हात लाग्न सक्छ ।
यसरी हेर्दा देशव्यापी रूपमा एकल उमेद्वारी दिएको नेकपा एमाले विचार र व्यवहारका दृष्टिकोणले स्पष्ट देखिन्छ । उसका लागि र उसका मतदाताका लागि निर्वाचन अभियान र मतदान प्रकृयामा कुनै अन्योलको अवस्था देखिदैन। विगतको स्थानीय निर्वाचनको परिणामले पनि के देखाउँछ भने नेपाली मतदाताहरू नाजायज र सत्तालोलुप गठबन्धन चाहँदैनन् । उनीहरू स्पष्ट विचार र एकल नेतृत्वको पक्षमा देखिन्छन् ।
