--गोविन्द थापा--
छोरी दिँदा र बुहारी भित्राउँदा हजार पटक सोच्नु भन्थे हाम्रा पुर्खा । अर्थात्, बिहे गर्दा हजारपटक सोच्नुपर्छ । तर, भोट दिँदा चाहिँ लाख पटक सोच्नुपर्छ । आफू या आफ्ना सन्तानको विवाह गर्नु पर्दा जति धेरै सोच्नुहुन्छ, त्योभन्दा धेरै सोचेर मात्र भोट दिनुहोस् ।
अहिले स्थानीय चुनावको महाअभियान चलिरहेको छ । अहिले राजनीतिक पार्टी, पार्टीका कार्यकर्ता तथा उम्मेदवारहरुका लागि असारको १५ छ ।
हिजोसम्म उम्मेदवार र पार्टीहरुको कुरा सुन्नुभयो, चुनाव प्रचार बन्द भइसकेको छ । अब कसैको पनि कुरा नसुन्नुस् । आजबाट आफ्नो आत्मा र विवेकको कुरा मात्र सुन्नुस् । आफ्नो आत्मा र विवेकको कुरा सुनेर मात्र भोट दिनु भनेर निर्वाचनको अन्तिम केही दिन मौन अवधीको व्यवस्था गरिन्छ । यस्तो मौन अवधीमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन । विश्वका प्रायजसो देशमा यस्तो व्यवस्था छ ।
भोट दिँदा अतित सम्झनुस्, भविष्य हेर्नुहोस् । जात पनि नहेर्नुहोस्, थर पनि नहेर्नुहोस् । नातागोता पनि नहेर्नुहोस् । देश र जनताको भविष्य हेर्नुहोस् । देश बन्यो भने तपाईं पनि बन्नुहुन्छ । जनताको भविष्य बन्दा तपाईंको परिवार र सन्ततिको पनि भविष्य बन्छ ।
परिवारको भविष्यको कुरा गर्दा कतिपयले नतागोता खराब नै भए पनि भोट दिने गरेका छन् । यसले केही क्षणलाई त राम्रै लाग्ला तर त्यसो गर्नु भनेको आफ्नै भविष्यमा बन्चरो हान्नु हो । अरुले नातागोतालाई उम्मेदवार बनाएका छन् कि ? यो पनि चुनावका बेला विचार गर्नुपर्छ ।
ठूला नेताको नातागोता हुनु गौरव मान्नुपर्छ । तर, ठूला नेता भएकै कारण तिनका छोराछोरी, भाइबुहारी, भान्जाभान्जी, सालासालीलाई उम्मेदवार बनाइएको छ कि ? कुनै पार्टीका ठूला नेताले सयौं कार्यकर्तालाई पाखा लगाएर आफ्नो परिवारलाई उम्मेदवार बनाएका छन् कि ? यस्ता कुरा पनि विचार गरेर मात्र भोट दिनुपर्छ । त्यस्ता नातावादी परिवारवादी नेता र उनको उम्मेदवारलाई परास्त गर्नु तपाईं हामी सबैको कर्तव्य हुनजान्छ ।
मतदान भनेको पवित्र कार्य हो । गलत मतदानले देश र समाजलाई नै दूषित पार्छ । गलत मतदान गर्दा तपाईंको मन तथा आत्मालाई पनि शान्ति मिल्दैन ।
मतदान गर्दा पार्टी र उम्मेदवारको पृष्ठभूमि पनि हेर्नुपर्छ । असल पार्टीको खराब उम्मेदवारलाई पनि भोट नदिनुस्, खराब पार्टीको असल उम्मेदवारलाई पनि भोट नदिनुस् । भोट दिँदा पार्टी र उम्मेदवार दुवै असल छान्नुहोस् ।
राजनीतिक पार्टी एकदिन या एक रातमा बन्दैन । पार्टी भनेको आन्दोलनले जन्माउँछ । कुन पार्टीको जन्म कस्तो पृष्ठभूमिमा भएको हो भन्ने हेर्नुहोस् । कुन उम्मेदवार राजनीतिक रुपमा कति परिपक्व छ भन्ने हेर्नुहोस् । तपाईंले दिएको भोटलाई त्यो पार्टीले भ्रष्टाचार र राष्ट्रघात गर्ने लाइसेन्स पो बनाउँछ की ? तपाईंले दिएको भोट उसले आफ्नो परिवार र नतागोताको उत्थानमा पो प्रयोग गर्छ की ? पहिले नै विचार गरेर भोट दिनुहोस् ।
राजनीतिक पार्टी भनेको मानिसहरुको समूह हो । मानिसले जस्तै पार्टीले पनि गल्ती गर्छ । जसले काम गर्छ उसले गल्ती गर्छ । जसले काम नै गर्दैन या गरेको हुँदैन उसले गल्ती गरेको हुँदैन । कसले कति राम्रो काम गरेको छ विवेकपूर्ण दृष्टिले हेर्नुहोस् । नेपालमा आजसम्म कुन पार्टीले विकास गरेको छ, कुन पार्टीले देशको उन्नति र समृद्धिमा काम गरेको छ भन्ने ध्यानपूर्वक हेर्नुहोस् ।
तपाईं पेशेवर राजनीतिक कार्यकर्ता हो भने मेरो भन्नु केही छैन । तर, तपाईं कुनै पार्टीमा नलागेको, कुनै पार्टीको सदस्यता नलिएको मतदाता हो भने सबै पार्टीको अतित हेर्नुहोस् । वास्तमै काम कसले गरेको छ, कसले विकास गरेको छ, कसले नयाँनयाँ भिजन ल्याएको छ, कसले देशको भविष्य र विकासको मात्र कुरा गरेको छ भन्नेमा ध्यान दिनुहोस् ।
राजनीतिक पार्टीको उद्देश्य सत्तामा पुग्ने नै हो । तर, कतिपय पार्टीको उद्देश्य सत्तामा पुग्ने मात्र हुन्छ भने कुनै पार्टीले चाहिँ सत्तामा पुगेर विकास र समृद्धिका लागि काम गर्ने उद्देश्य बोकेको हुन्छ । विकास र समृद्धिका लागि काम गर्ने पार्टीलाई भोट दिन हिच्किचाउन हुँदैन ।
चुनावका बेला असामाजिक नबनौं । फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम, युटुब लगायतका सञ्जालमा मन नपरेका उम्मेदवार र पार्टीलाई असामाजिक गाली नदिनुहोस् । तपाईंलाई मन पर्दैन भने ठिक छ, ती पनि यही समाजका पार्टी र उम्मेदवार हुन् । असहमत विचारलाई पनि सम्मान गर्नुहोस् । लोकतन्त्रमा विविध विचार हुन्छ । आफूलाई ठिक लागेको विचारलाई प्रशंसा गर्नु ठिक हो तर आफूलाई वेठिक लागेको विचारलाई असामाजिक गाली दिनु असाध्यै वेठिक हो ।
आर्थिक प्रलोभन दिनेलाई भोट नदिनुस्, झुठो आश्वासन दिनेलाई भोट नदिनुसहोस् । देश र आफ्नो पालिकाको दिर्घकालीन विकासको भिजन बोकेकोलाई मात्र भोट दिनुहोस् ।
चुनावमा भोट दिनु तपाईंको नागरिक दायित्व हो । भोट दिएर मात्र तपाईंको दायित्व सकिँदैन । त्यसपछि आफूले मत दिएको पार्टीलाई निरन्तर निगरानी गर्नुहोस् । उनीहरुलाई सुझाव र आलोचना एकसाथ दिने उद्देश्यसाथ मतदान गर्नुस् । मतदान कसरी गर्ने ? कसरी छाप लगाउने ? पहिले नै बुझेर मतदान केन्द्रमा जानुस् । मतपत्र समातेपछि आफू भित्र भगवान छ भन्ने सम्झनुस् । मतदान केन्द्रलाई मन्दिर ठान्नुस् । मतपत्र हातमा लिनु भनेको भगवानलाई पूजा गर्ने सामग्री लिएजस्तो हो । मतपत्र लिएर भित्र गएपछि स्वच्छ र पवित्र मनले मतदान गर्नुहोस् । होला, कुनै पार्टी या उम्मेदवार तपाईंलाई मन नपर्न सक्छ । तर, मतपत्र हातमा लिएपछि आग्रह पूर्वाग्रह नराख्नुस् । आफूलाई मन पर्छ कि पर्दैन भन्ने पनि बिर्सनुस् । आफूले जुन पार्टी र उम्मेदवारलाई मत दिने हो उसले देश र समाजको भलाई गर्छ कि गर्दैन भन्ने मात्र हेर्नुहोस् ।
यो देशलाई गरिब नै राख्न चाहने एकखाले तत्व छन् । देशमा समृद्धि आओस् तर त्यस्तो समृद्धि आफू र आफ्नो परिवारमा सीमित होस् भन्नेहरु पनि छन् । त्यस्तालाई चिन्नुहोस् । तर, चुनावमा अरुले चलाएको गलत हल्ला र अफवाहको पछाडि नलाग्नुहोस् । स्थानीय चुनावको मुख्य एजेण्डा विकास, समृद्धि र स्थिरता हो । विकास, समृद्धि र स्थिरता चाहने पार्टीलाई भोट दिनुभयो भने आगामी आम चुनावमा पनि त्यो पार्टी बलियो हुनेछ । आगामी आमचुनावपछि केन्द्र र प्रदेशमा पनि राम्रो सरकार बन्नेछ ।
स्थानीय चुनावमै गलत उम्मेदवार र पार्टी रोजियो भने त्यसको असर आमचुनावमा पनि पर्न सक्छ । आमचुनावपछि विकास र स्थिरता नचाहने शक्तिहरुको बोलवाला हुनसक्छ । त्यसैले मतदान गर्दा धेरै परसम्मको सोचेर मत दिनुस् ।
अन्तिममा,
यो चुनावमा सहभागी सबै पार्टी र उम्मेदवारहरुलाई शुभकामना । निर्वाचनको महायज्ञमा सहभागी हुनु आफैंमा विजय हो । निर्वाचनमा सहभागी भएपछि हार्न पनि सकिन्छ भन्ने याद राख्नुहोला । हार्न लागियो भनेर अनेक जालझेल गर्ने अपराध नगर्नुहोला । हार र जित दुवैलाई सहर्ष स्वीकार्नुहोला ।
आदरणीय मतदाताहरु,
बैशाख ३० गते भोट दिने मौका नगुमाउनुहोस् । तपाईंलाई त लाग्छ होला, मैले एक भोट नदिएर के हुन्छ र ? तर, तपाईंको एक भोटको ठूलो महत्व छ । तपाईंको भोट देश बनाउने अभियानमा लागेका व्यक्ति तथा पार्टीका लागि ठूलो उर्जा हुनेछ ।
