–चक्रबहादुर चन्द– वाग्मती सफाइ महाअभियानले नौ वर्ष पार गरेको छ । २०७० जेठ ५ गतेबाट सुरु भएको यो अभियान निरन्तर जारी छ । सुरुदेखि अहिलेसम्म हप्ताको हरेक शनिवार निरन्तर सञ्चालन रहेको महाअभियानको भर्खरै ४ सय ७० औँ हप्ता पूरा भएको छ । नागरिक अभियन्ताहरूको पहलमा नेपाल सरकार मुख्य सचिवको सचिवालयको संयोजन तथा नेपाल सरकार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, वाग्मती सभ्यता एकीकृत विकास समिति, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय निकाय, गायत्री परिवार, नेपाल एस.जी.आई., काठमाडौं इन्जिनियरिङ कलेज, एस ट्राभल्स, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, पेसाकर्मी, शिक्षक समेतको सहभागितामा वाग्मती सफाइ महाअभियानको सुरु भएको हो । विशेष गरी तत्कालीन कठिन समयमा यो अभियान सञ्चालनमा एस ट्राभल्सको ठुलो सहयोग रहेको थियो । यो महाअभियान जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीका साथै थुप्रै समस्याका बाबजुद पनि निरन्तर चलिरहेको छ । अविच्छिन्न अघि बढिरहेको छ । नौ वर्षसम्म निरन्तर एकै दिन एकै समय स्वयंसेवी रूपमा सञ्चालनमा आएको यो अभियान विश्वकै अहिलेसम्मको सबैभन्दा लामो र ठुलो महाअभियान हो । करिब १० लाख स्वयंसेवकको सहभागिता रहिसकेको यो अभियानले उपत्यकाका सबै नदीनालाबाट करिब २० हजार मेट्रिक टनभन्दा बढी फोहर संकलन गरी व्यवस्थापन गरिसकेको छ । यो महाअभियानले संयुक्त राष्ट्रसंघ अन्तर्गत UN–Habitat को एसियन टाउन स्केप अवार्ड र अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनमा भगीरथ पुरस्कार २०१८ पाएको छ । अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको अहम् भूमिका रहँदै आएको छ । यस अवधिका नदी किनारमा करिब ५ हजार बिरुवा रोपिएका छन् । नदी किनारमा ३१ वटा पार्क निर्माण भएका छन् भने केही पार्क निर्माणाधीन छन् । यो महाअभियानमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरू लगायत राज्यका उच्चपदस्थ पदाधिकारी, कर्मचारी देशका विशिष्ट व्यक्ति, कूटनीति नियोगका प्रमुख, विश्व प्रख्यात योग गुरु, आयुर्वेद गुरुका साथै देशका विशिष्ट कलाकारकर्मी यो अभियानमा सामेल भई अभियानमा ऐक्यबद्धता जनाउनु भएको छ । यो महाअभियानको प्रेरणाबाट उपत्यकाका सहायक नदीहरू हनुमन्ते सफाइ अभियान, मनोहरा सफाइ अभियान, माथिल्लो वाग्मती सफाइ अभियान, विष्णुमती सफाइ अभियान, रुद्र मति सफाइ अभियान, गोदावरी सफाइ अभियान, तिलगंगा क्षेत्र सफाइ अभियान, आलोकनगर क्षेत्र सफाइ अभियान, गौरीघाट सफाइ अभियान, मैतीदेवी सफाइ अभियान चक्रपथका विभिन्न क्षेत्रहरूको सफाइ अभियान सञ्चालनमा आएका छन् । यी अभियानले बाग्मती नदी सफाइमा थप ऊर्जा मिलेको छ। यी अभियान मात्र नभई देश भरी करिब सय भन्दा बढी स्थानमा सफाइ अभियानहरू सञ्चालनमा छन् । यही अभियानको प्रेरणाबाट सुरु भएको मेची महाकाली सफाइ अभियान मार्फत देशका करिब ६५ स्थानमा सफाइ अभियान सम्पन्न भइसकेको छ । दर्जन बढी स्थानमा यो अभियान निरन्तर सञ्चालनमा छ । यो महाअभियान र अभियन्ताहरूको सहयोग र दबाबका कारण नेपाल सरकारको सम्बन्धित निकायमा दबाब परेका कारण वर्षौँदेखि रोकिएका विभिन्न निर्माण कार्य तथा ढल निर्माण कार्यमा तीव्रता पाइरहेको छ । वाग्मती नदी किनारमा दायाँबायाँ ढल बिछ्याउने कामले गति लिइरहेको छ । केही प्राविधिक समस्या बाहेक गुहेश्वरीसम्म ढल बिछ्याउने काम सम्पन्न भएको छ । बाँकी भागमा नदी किनारामा ढल बिछाउने कामले तीव्रता पाएको छ । नदीको पानीको बहाव बढाउनका लागी धाप ड्याम बन्ने कार्यले यही वर्ष निर्माण सम्पन्न हुने तयारीमा छ । वाग्मती सौन्दर्यीकरणका लागी निर्माण कार्य थालनी भइसकेको छ । नेपाल सरकारको आधिकारिक निकाय अधिकार सम्पन्न वाग्मती आयोजनाबाट भत्केको पुलदेखी थापाथली पुलसम्म लोसार बत्ती जडान गरेको ती क्षेत्रमा अझ सौन्दर्य बढेको पाइन्छ । शंखमूल पार्क, साईराम पार्क, आर्ट अफ लिभिङ पार्क र यूएनपार्क हाल सञ्चालनमा रहेका ठूला पार्क हुन् । यी पार्कमा दिनहुँ मानिसहरू योग व्ययाम गर्न आउने, घुम्न आउने, खेल्नेको घुइँचो लाग्ने गरेको छ भने फिल्म र भिडियो सुटिङ हुने गर्दछन् । यी सबै कार्य वाग्मती सफाइ महाभियनाको प्रभाव, दबाब र प्रेरणा र उपलब्धिबाट भएको हो । वाग्मती नदी किनारमा स्थानीय क्लब, विभिन्न समूहले वृक्षारोपण गर्ने गरेका छन् । अभियन्ताहरूले आफ्नो जन्मदिनमा वाग्मती किनारमा वृक्षारोपण गर्ने गरेका छन् । यो कार्य नियम जस्तै बनेको छ । वाग्मती किनारामा अहिले रुद्राक्ष, वर पिपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, अम्बा, गुलाब लगायत विभिन्न जातका बिरुवा हुर्किँदै आएका छन् । यसले गर्दा पनि वाग्मती नदी किनार हरियाली तथा वातावरणमैत्री बन्दै गएको छ । काठमाडौंवासीले वर्षदेखि फोहोर थुपार्दै डम्पिङ्ग साईड बनाएको वाग्मती लगायतका नदीमा सुरु गरिएको सफाइ अभियानले नदीको सौन्दर्ययता बढाउन केही सहयोग गरेको छ । नदी किनार र काठमाडौंवासीमा यसले केही आशाको सञ्चार गरेको छ । अभियानकै कारण नागरिकमा पनि जथाभावी फोहर फाल्नु हुँदैन भन्ने चेतना अभिवृद्धि भएको छ । जसले गर्दा वाग्मती लगायत नदीमा फोहोर फाल्नेहरू अहिले सचेत भएका छन् । जनमानसमा चेतनाको जागरण भई नदीमा फोहोर फाल्ने कार्य निकै कम भएको छ । तथापि अझै केही मानिसले राती राती लुकेर नदीमा फोहोर फाल्ने गरेको पाइन्छ । महाअभियानका अभियन्ताको दबाबमा त्यसरी फोहर फाल्ने केही व्यक्तिलाई महानगरपालिकाले कारबाही समेत गरिसकेको छ । यो अभियानले मूलतः स्वच्छ सफा र स्वस्थ जीवनयापनका लागि चेतना जगाउने र स्वयंसेवी भावनाबाट सामाजिक परिवर्तनका लागि नागरिकलाई उत्प्रेरित गर्ने कार्य गर्दै आएको छ । यो महाअभियानको अर्को उत्कृष्ट कार्य यसले कुनै आर्थिक कारोबार गर्दैन र यसको कुनै औपचारिक संस्थाको कानुनी स्वरूप दिइएको छैन । यो अभियानआफैँमा एउटा विशिष्ट खालको स्वयंसेवी अभियान हो । यो महाअभियानको कुनै कार्यसमिति, बैँक खाता छैन । यो अभियानमा आउने सबै अभियन्ता हुन् । राजनीति भन्दा माथि, आर्थिक लाभभन्दा टाढा उठेको विशिष्ट अभियान हो वाग्मती सफाइ महाअभियान ।
यो अभियान कहिलेसम्म ? अभियन्ताको भावना जबसम्म वाग्मती नदीमा सफा पानी बग्दैन तबसम्म यो अभियान जारी राख्ने छ । तथापि पछिल्लो समय वाग्मती सफाइ महाअभियानको मोडलमा केही परिवर्तन गर्न सोच अभियन्ताको छ । यस विषयमा स्थानीय सरकारसँग समन्वयन गर्दै आएता पनि स्थानीय सरकारले चासो नदिँदा र जिम्मेवारी नलिँदा ठोस काम हुन सकेको छैन । अब आउने नयाँ जनप्रतिनिधिले नदीनाला स्वच्छ सफा राख्न तथा संरक्षणका लागि ठोस कार्य गर्ने र जिम्मेवारी लिनेमा अभियन्ता आशावादी छन् । अबको वाग्मती सफाइ यस्तो हुनुपर्छ : १. फोहर संकलन र व्यवस्थापन गर्नका लागी नियमित तालिका बनाई घरबाट निस्कने फोहोरलाई वर्गीकरण गरी कुहिने फोहोरलाई अर्ग्यानिक मल बनाई कौसी खेती गर्न प्रोत्साहन गर्ने । २. प्लास्टिक, फलाम कागजलाई बिक्री गर्न सकिन्छ, त्यो फोहोरलाई मोहर बनाउन प्रोत्साहन गर्ने । ३.जथाभाबी फोहर फाल्नेलाई कडा कारबाही गर्ने । ४.फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गर्ने । ५.जथाभाबी फोहर नगर्न र फोहर व्यवस्थापन गर्न टोल टोलमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने । मानव जातीले प्रकृतिसँग खेलबाड गर्ने, पैसाका लागी नदीनालाबाट जथाभाबी बालुवा, ढुङ्गा उत्खनन गर्ने, नदीको धार परिवर्तन गरी जग्गा बिक्री वितरण गर्ने, नदी किनारामा अव्यवस्थित मानव बस्ती बसाउने, घरबाट निस्कने फोहरलाई सिधै नदीनालामा फाल्ने वा मिसाउने गरेको कारण सहरका नदी दूषित छन् । आफू सुखी भए पुग्यो । दोस्रो व्यक्तिका बारे नसोच्ने, समाजको बारे नसोच्ने, वातावरण संरक्षण बारे नसोच्ने कार्य गरेको कारण मानव जीवनयापनमा ठुलो संकट आइपरेको छ । अब पनि हामीले नसच्चिने हो भने मानव बस्तीले अझ ठुलो संकट व्यहोनु पर्ने स्थिति आउन सक्ने भएकोले समय मै सबै सचेत हुन जरुरी छ । त्यसैले सबैले सोचौँ,
‘हामीले नगरे कसले गर्ने !
अहिले नगरे कहिले गर्ने !!’ (लेखक चन्द वाग्मती सफाइ महाअभियानका अभियन्ता हुनुहुन्छ)
