-गोविन्द थापा- स्थानीय चुनावले नेपाली राजनीतिलाई केही सकारात्मक मोडमा ल्याइदिएको छ । देशका मुख्य शक्ति नेकपा एमाले र नेपाली कांग्रेस नै हुन् भन्ने पनि चुनावले स्थापित गरिदिएको छ । परमादेशबाट लिक बाहिर लगिएको राष्ट्रिय राजनीतिलाई चुनावले केही हदसम्म लिकमा फर्काइदिएको छ ।
०४८ सालदेखि नेपालको चुनावमा एमाले र कांग्रेस बीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । कहिले एमाले माथि बन्छ, कहिले कांग्रेस माथि बन्छ । आलोपालो यी दुई पार्टी तलमाथि बन्दै आएका छन् । पहिलो संविधानसभा चुनावमा भने माओवादी प्रतिस्पर्धी बन्यो तर चाँडै नै सो पार्टी पछाडि पर्यो । नेपालको संसदीय प्रणालीको तीन दशकको कालखण्ड मूलत एमाले र कांग्रेस नै प्रतिस्पर्धी हुन् र यी दुई नै नेपालका स्थायी पार्टी र शक्ति हुन् । अहिलेको स्थानीय चुनावले पनि यही देखायो र यो चुनावमा एमालेभन्दा कांग्रेस केही अगाडि भएको छ ।
तर, यो चुनावमा नगर तथा गाउँपालिका प्रमुख तथा अध्यक्षहरुले पाएको मत एकमुष्ट जोड्ने हो भने एमाले र कांग्रेसको पपुलर मत धेरै फरक छैन । एमाले र कांग्रेसको पपुलर मतका अगाडि माओवादी केन्द्र, माधव नेपालको समूह तथा तराईमा आधारित पार्टीहरुहरु धेरै नै पछाडि रहेका छन् ।
स्थानीय चुनावमा अहिलेको मत परिणामलाई वस्तुष्ठि ढंगले विष्लेशण गर्न जरुरी छ ।
एमालेले जितेको कि हारेको ?
अहिले कतिपय मानिस एमालेले चुनाव हारेको भनिरहेका छन् । कतिपयले त्यसो होइन भनिरहेका छन् । वास्तविकता के हो त ? यी १० तथ्यलाई हेरौं ।
१– स्थानीय चुनाव गराउने पक्षमा गठवन्धन थिएन । व्यापक जनदबवाव र एमालेको कडा अडानका कारण मात्र चुनाव सम्भव भएको हो । चुनाव गराउन वाध्य हुनु सत्ता गठवन्धनको आफैंमा पराजय थियो भने चुनाव हुनु नेकपा एमालेको स्वत विजय हो ।
२– एमालेले केही छिटफुट रुपमा चुनावी तालमेल गरेको थियो, कसैसँग गठवन्धन भने गरेको थिएन । विपक्षीहरुले भने गठवन्धन नै गरेका थिए । उनीहरुले गठवन्धन गर्नाले एमालेको केही पालिका गुमेको पक्कै हो, एमालेको केही भोट खोसिएको पक्कै हो । उनीहरु सारा मिल्दा पनि एमाले एक्लैले यो देशको सर्वाधिक लोकप्रिय पार्टीको उपाधी जोगाउन सकेको छ । त्यसैले एमालेले जितेको छ ।
३– गठवन्धन गरेको थिएन भने पनि कांग्रेस मुख्य पार्टी रहन्थ्यो नै । गठवन्धन नगरे पनि एमाले मुख्य पार्टी रहेकै छ । एउटा चुनावमा अघि हुँदा या पछि पर्दा पनि एमाले र कांग्रेस मुख्य शक्तिको रुपमा नै रहन्छन् । अहिले कांग्रेस केही अगाडि र एमाले केही पछाडि परेको छ । यसले एमालेलाई फरक परेको छैन, स्थायी र प्रमुख पार्टीको हैसियतमा एमाले स्वत रहेको छ । त्यसैले एमाले पराजित भएको छैन । बरु, एमाले विजयी भएको छ ।
४– यो चुनाव साधारण अवस्थामा भएको थिएन । सत्ताको चरम दुरुपयोग बीच धाँधली गरिएको छ । सर्वाेच्च अदालतबाट परमादेश जारी गरिए देखि नै देश अर्कै बाटोमा गइरहेको थियो । राज्यसत्तामा असंवैधानिक ढंगबाट अहिलेको गठवन्धनले पकड बनाएको छ । उनीहरुको उद्देश्य यो चुनाव जित्ने मात्र थिएन, एमालेलाई सम्पूर्ण रुपमा समाप्त पार्ने थियो । यसरी भए पनि, उसरी भए पनि एमालेलाई समाप्त पार्ने घोषित योजना सहित उनीहरु चुनावी मैदानमा आएका थिए । उनीहरु असफल भएका छन् । यसकारण यो चुनाव एमालेले जितेको छ ।
५– उनीहरु ५–६ वटा पार्टी मिलेर चुनाव लडेका थिए । गठवन्धन बनाएका थिए । एमाले एक्लै थियो । तैपनि एमालेले आफ्नो हैसियत कायम राखेको छ । देशको सर्वाधिक लोकप्रिय र जनप्रिय पार्टीका रुपमा एमाले स्थापित भएको छ । त्यसैले एमालेले जितेको छ ।
६– एमालेलाई माधव नेपालको समूहभन्दा सानो पार्टीमा सीमित गर्ने उनीहरुको घोषित उद्देश्य थियो । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने, दोस्रो माओवादी बन्ने, तेस्रो माधवको समूह बन्ने, गठवन्धनका सबै पार्टी ठूलो बन्ने र एमालेलाई सबैभन्दा फुच्चे पार्टी बनाउने उनीहरुले घोषणा गरेका थिए । यसमा उनीहरु सफल बन्ने कुरै थिएन, असफल भएका छन् । त्यसैले एमालेले जितेको छ ।
७– यो चुनावमा गठवन्धनका कारण उनीहरुले प्राविधिक रुपमा मात्र जितेका हुन् । एक्लाएक्लै चुनाव लडेका थिए भने परिणाम के आउँथ्यो भन्ने प्रष्ट छ । कसैको प्राविधिक जितलाई एमालेको हार भन्न मिल्दैन । चुनाव प्राविधिक जितको मात्र विषय होइन । राजनीतिक रुपमा एमालेको विजय भएको छ । विकास र समृद्धिको एमालेको एजेण्डा बोकेर सत्ता गठवन्धन जनतामा जान वाध्य भयो । विकासको ‘ब’ र समृद्धिको ‘स’ उच्चारण नगर्नेहरु विकास गर्छाैं भन्दै जनता माझ जान वाध्य भए । त्यसैले एमालेले जितेको छ ।
८– हो, उनीहरुले घोषणा गरे अनुसार नै एमालेलाई समाप्त पार्न सकेका थिए भने एमालेले हारेको हो भन्न मिल्थ्यो । एमालेले जति जितेको छ, जहाँ जितेको छ त्यो आधारमा हेर्दा एमाले सतिशाल झैं ठिंग उभिएको छ । गठवन्धनले गरेको षडयन्त्र र धाँधलीको चक्रव्युहलाई एमालेले सजिलै तोडेको छ । देशी विदेशी र अदालती चक्रव्युह तोडेर एमाले देशको स्थायी र प्रमुख शक्तिका रुपमा स्थापित भएको छ । त्यसैले एमालेले जितको छ ।
अब के हुन्छ ?
देशभरीको मतगणना सकिन अझै केही दिन लाग्नेछ । तर, चुनावको चित्र लगभग प्रष्ट भइसकेको छ । कैयन ठाउँमा स्वतन्त्र उम्मेदवारको जितलाई कतिपयले एमाले र कांग्रेसको पतन भनेको सुनिन्छ । काठमाडौंमा बालेन साह तथा अन्य कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारले ल्याएको मत पनि एमालेकै हो । उनीहरु आफ्नो पालिकाको विकास र समृद्धिको एजेण्डा बोकेर गएका थिए । त्यो एजेण्डा एमालेको हो । एमालेको ऐजेण्डा विजयी भएको छ, भोट पाएको छ । नयाँ पुस्ताका स्वतन्त्र उम्मेदवारहरुले जित्दा लोकतन्त्र र निर्वाचन प्रणालीलाई फाइदा नै हुन्छ । लोकतन्त्रलाई फाइदा हुनु भनेको एमालेलाई फाइदा हुनु हो । नेकपा एमाले विकास र समृद्धि चाहने युवापुस्ता चाहन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारले विकास र समृद्धिका लागि जुन जागरण ल्यायो, त्यो जागरणबाट प्रभावित भएर नयाँ पुस्ता राजनीतिमा आएको छ । यो स्वागतयोग्य छ ।
चालु मतगणनाबाट एमालेजस्तै नेपाली कांग्रेस पनि प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ । अन्य शक्तिहरुबारे केही चर्चा गरौं:–
१– माओवादीको राष्ट्रिय राजनीतिमा सान्दर्भिकता सकिएको जगजाहेर छ । राजनीतिक रुपमा समाप्त प्राय भए पनि माओवादीले आफूलाई प्राविधिक रुपमा जोगाउँदै आएको छ । गत आम चुनावमा एमालेसँग टासिएर माओवादीले आफूलाई जोगायो । यसपालि कांग्रेसको काँधमा बसेर आफूलाई जोगायो । माओवादीले यसपटक जति जितेको छ, त्यो प्राविधिक जित हो । केन्द्रीय चुनाव घोषणापत्र जारी गर्ने हैसियतमा समेत माओवादी छैन । स्थानीय चुनावमा माओवादीले घोषणापत्र नै जारी गरेन ।
२– कांग्रेसको काँध र काख बिना माओवादीले एक्लै चुनाव लडेको भए के हुन्थ्यो ? तथ्यांकले बताइरहेको छ । यही चुनावबाट माओवादी सिनिक्क हुने थियो । अरुको ज्यानमा आड लागेर बाँच्नु र टिक्नुपर्ने परजीवी हालतमा माओवादी पुगेको छ । माओवादी परजिवी पार्टीमा परिणत भएको छ ।
३– नेपालको राजनीतिमा परजीवी पार्टीका रुपमा माओवादी नयाँ होइन । ठूला शक्तिहरुका बीचमा बसेर खेल्ने पार्टीका रुपमा एकताका राप्रपाले दबदबा बनाएको थियो । २०४७ सालको संविधानको कालखण्डमा राप्रपाले कांग्रेस र एमाले दुवैबाट लाभ लिएर राजनीतिमा वितण्डा मच्चाएको थियो तर पूरै अस्ताएर गयो । लोकतान्त्रिक आन्दोलनपछि संविधानसभाको कालखण्डमा तराईमा आधारित तथा अन्य साना पार्टीहरुले कांग्रेस र एमाले बीचमा बसेर खेले । त्यस्ता परजीवी पार्टीहरु अहिले न संसद्मा छन्, न स्थानीय चुनावमा नै दह्रो उपस्थिति देखाउन सके । अहिले माओवादीले बीचमा बसेर खेल्ने पार्टीका रुपमा फाइदा लिएको छ । विगतका च्याँखे पार्टीहरु झैं माओवादी पनि विघटनको बाटोमा जाने नै छ ।
४– एमालेलाई यो चुनावमा सबैभन्दा धेरै क्षति माधवकुमार नेपाल नेतृत्वको समाजवादी समूहले पुरायो । यो समूह स्थानीय तहबाट लगभग समाप्त भएको छ । केही पालिका र वडाहरुमा मात्र जितेर यो समूह अहिले अन्तिम शास फेर्दैछ । यो समूहलाई कांग्रेस र एमालेले निर्मम उपयोग गरेर मिल्काइदिएका छन् । यो समूहको आकार ठूलो थिएन तर एमाले फुटेको छ भन्ने सन्देश दिएर जनतामा भ्रम पार्न प्रयास गर्यो । राजनीतिक र सांगठानिक रुपमा यो समूह अब लगभग समाप्त भएको छ ।
५– गठवन्धनमा रहेका ५–१० पालिका मात्र जित्ने साना पार्टीहरु पनि एमालेभन्दा ठूला बन्दैछन् भन्ने भ्रम गठवन्धनले फिजायो । गठवन्धनमा रहेका दलहरुको आकार र हैसियतको पोल खुलेको छ । अबका चुनावमा यो गठवन्धनले जनतालाई ढाँट्न र भ्रम स्थापित गर्न सक्दैन । गठवन्धनको हैसियत र पोल खुल्नु पनि एमालेको विजय हो ।
६– गठवन्धनको राजनीतिक आधार पहिले पनि थिएन, अहिले पनि छैन । गठवन्धन षडयन्त्रको आधारमा टिकेको थियो । अब गठवन्धनमा अन्तरविरोध सिर्जना हुनेछ । साना र हैसियतविहीन समूहहरुले आफूलाई प्रयोग गरियो भन्ने अब बुझ्नेछन् । गठवन्धन भित्रभित्रै कुहिएको छ । अब कुहिएको गठवन्धनबाट राजनीतिक प्रदूषण फैलने छ ।
७– यो चुनाव सेमिफाइनल थियो । सेमिफाइनलबाट दुई खेलाडी फाइनलमा पुगेका छन्– एमाले र कांग्रेस । अब आमचुनाव रुपी फाइनलमा कांग्रेसको यो शक्ति रहने छैन । किनभने उसले यो रुपको गठवन्धन बनाउन सक्दैन । गठवन्धन बनाए पनि त्यसभित्रका समूहहरुको हैसियत जनताले अहिले चिनिसके । स्थानीय चुनावरुपी सेमिफाइनलबाट के प्रष्ट भएको छ भने अब देश दुई दलीय राजनीतिक अवस्थामा जान आवश्यक छ । त्यो आवश्यकता स्थानीय चुनावले प्रष्ट संकेत गर्यो । सेमिफाइनल अर्थात् आमचुनावले देशलाई दुईदलीय अवस्थामा लैजाने देखियो ।
