--डा. सुन्दरी पोखरेल--
बालेन साहको काठमाडौं महानगरमा केशव स्थापित र सिर्जना सिंहसँग प्रतिस्पर्धा होला भन्ने मलाई सुरुमा पत्यार थिएन । मतदान नजिकिँदै जाँदा वालेनको चुनावी गति बढेको प्रष्टै देखिन्थ्यो । मतदानका दिन बालेनको पक्षमा धेरै मत गएको बुझियो । तैपनि बालेनको जित हुन्छ नै भन्ने लागेको थिएन, प्रतिस्पर्धामा चाहिँ आउने जस्तो लागेको थियो ।
गणना भइरहेको मत परिणाम हेर्दा अब बालेनको जित हुने लगभग देखियो ।
म काठमाडौंको मतदाता थिएँ भने बालेनलाई मत दिन्नथें । स्वतन्त्र उम्मेदवार तथा साना पार्टीलाई भोट दिएर देशको भलो हुन्छ भन्ने मलाई लाग्दैन । एमाले र कांग्रेस बाहेक अन्य पार्टीलाई भोट दिन हुँदैन भन्ने मेरो विचार छ । एमाले र कांग्रेसलाई बलियो बनाउँदा र यी दुई पार्टीलाई सुधारेर अगाडि बढाउँदा मात्र देशको भलो हुन्छ भन्ने मेरो मान्यता छ । स्वतन्त्र उम्मेदवार र साना पार्टीलाई प्रोत्साहन दिँदा केही छिन त रमाइलै होला तर दीर्घकालीन रुपमा देश अस्थिरतामा जान्छ । त्यसैले बालेनलाई मत दिन्नथें ।
मैले व्यक्तिगत रुपमा के चाहन्थें या चाहन्न भन्नेको अर्थ भएन । जनताले दिएको भोटले बालेनले जित्ने अवस्था छ । बालेनले पाएको मतलाई सहर्ष स्वीकार्नुपर्छ । बालेनको मतलाई कैयनले अस्वभाविक मानेको देखियो । स्थापित राजनीतिक दलका प्रभावशाली नेताले समेत बालेनको मतलाई ‘ठूला पार्टीका लागि खतराको घन्टी’ भनेर हलुका टिप्पणी गरेको सुनियो । कैयनले बालेनको मतलाई ‘गेम चेन्जर’ ठानेको पाइयो ।
बालेनको मतलाई म अति स्वाभाविक मान्छु । कसैलाई चित्त बुझोस् या नबुझोस्, जनताले दिएको मत र परिणामलाई स्वाभाविक मान्नुपर्छ ।
बालेनले पाएको मत के हो र के होइन भन्ने विष्लेशण गरौं–
१– बालेनले ‘नकारात्मक मत’ पाएको होइन
बालेनले नकारात्मक मत पाएको टिप्पणी सुनिन्छ । विगतमा काठमाडौंमा नानीमैयाँ दाहाल र गोल्छे सार्कीले ल्याएको मतको चर्चा गर्दै बालेनको मत पनि त्यस्तै हो भन्नेहरु देखिए । नानीमैयाँ र गोल्छेलाई तत्कालीन पञ्चायती व्यवस्थाको खिल्ली उडाउन, तत्कालीन व्यवस्था विरुद्ध विद्रोह गर्न उम्मेदवार बनाइएको थियो । बालेनले काठमाडौं महानगरको विकास निर्माण सम्बन्धमा ठोस दृष्टिकोण दिनुभएको छ । उहाँको योजना र कार्यक्रम मन पराएर जनताले भोट दिएका हुन् । त्यसैले बालेनले पाएको नकारात्मक मत होइन ।
मैले माथि पनि भनिसकें, म बालेनलाई मत दिन्नथें । तर, बालेनको चुनाव प्रचार मलाई मन परेको छ, बोलेका कुरा मन परेको छ । उहाँले नकारात्मक शब्द प्रयोग गर्नुभएको सुनिएन, गालीगलौज गरेको सुनिएन । आफ्नो विचार र कार्यक्रम राखेर अरुलाई गाली नगरी उहाँले चुनाव लड्नुभएको देखियो । यो कारण पनि ठूलो संख्यामा मानिसले उहाँलाई मन पराएर मत दिएको हुनुपर्छ ।
बालेन हिँसाको पृष्ठभूमिबाट आएको मानिस पनि होइन । माओवादीको हिँसात्मक पृष्ठभूमि छ, माओवादीले अहिले पनि धम्कीको भाषा बोल्छ । प्रचण्डले भरतपुरको आमसभामा आफ्नी छोरीलाई भोट नदिएमा देश दुर्घटनामा पर्छ भनेर धम्काउनुभयो । मलाई भोट दिनुभएन भने काठमाडौं बरबाद हुन्छ भनेर बालेनले धम्काउनुभएको सुनिएन ।
मुख्य कुरा, जनता भनेका सर्वाेपरी हुन् । जनताले दिएको मत सकारात्मक नै हुन्छ, नकारात्मक हुँदैन । पराजित हुने पार्टी या उम्मेदवारका लागि मत नकारात्मक हुन्छ होला तर मत आफैंमा नकारात्मक हुँदैन ।
२– बालेनको मत वर्तमान राज्यप्रणाली विरुद्ध विद्रोह होइन
बालेनको मतलाई वर्तमान राज्यप्रणाली विरुद्ध विद्रोह हो भनेर अर्थ लगाउने प्रयास भएको पनि देखिन्छ । वर्तमान राज्य प्रणालीलाई स्वीकार गरेरै बालेनले उम्मेदवारी दिनुभएको देखिन्छ । वर्तमान संविधान, संविधानले व्यवस्था गरेका संस्था र प्रावधानहरु मानेरै उहाँले उम्मेदवारी दिनुभएको हो । मतदाताले पनि यो राज्यसत्ता र राजनीतिक व्यवस्था भत्काउँछौं भनेर मत दिएको अर्थ लगाउन मिल्दैन । किनभने बालेनले त्यस्तो एजेन्डा उठाउनु भएको थिएन ।
बालेनले राज्य सञ्चालनको गलत तौरतरिकाको भने विरोध गरेको देखियो । जस्तो कि भ्रष्टाचार । भ्रष्टाचारको विरोध गर्नु भनेको राज्य प्रणाली विरुद्ध विद्रोह होइन । भ्रष्टाचारको विरोध गर्दा, भ्रष्टाचार विरोधी जनमत तयार गर्दा वर्तमान राज्यप्रणाली कमजोर हुँदैन, बरु झन् बलियो बन्छ । त्यसकारण बालेनले पाएको मत वर्तमान राज्य प्रणालीलाई झन् बलियो बनाउनुपर्छ भन्ने नागरिक अभिमत हो ।
३– एमाले–कांग्रेसलाई खतरा होइन
बालेनले पाउनुभएको मतको आधारमा एमाले र कांग्रेस खतरामा परे भन्नु अतिरञ्जित विचार हो । पार्टीका कार्यकर्ताले पार्टीले भने अनुसार भोट हाल्छन् होला तर आम जनता पार्टीमा आवद्ध भएका हुँदैनन् । मन परेकालाई भोट दिन्छन् । महानगरका ठूलो संख्याका जनताले बालेनलाई मन पराएर मत दिएको देखिन्छ । यो नागरिक स्वतन्त्रताको कुरा हो । बालेनलाई मन पराउन पाइँदैन भन्ने हुन्छ र ?
बालेनले कांग्रेस र एमालेको विकल्प खोज्नुपर्छ भनेर उम्मेदवारी दिनुभएको पनि देखिँदैन । काठमाडौं महानगरको विकासमा अगुवाई म यसरी गर्छु भनेर अगाडि आउनुभयो, ठूलो संख्यामा जनताले पत्याए ।
काठमाडौंमा मात्र नभएर कैयन ठाउँमा स्वतन्त्र उम्मेदवारले राम्रो मत ल्याएका छन्, निर्वाचित भएका छन् । यसपालीको चुनावमा मात्र नभएर विगतका चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरुले जित्ने गरेका छन् । स्वतन्त्र उम्मेदवारले जित्दैमा एमाले र कांग्रेसको औचित्य समाप्त हुँदैन । स्वतन्त्र उम्मेदवारले जित्दैमा यो राजनीतिक व्यवस्था खतरामा पर्दैन । स्वतन्त्र उम्मेदवारले जित्दैमा लोकतन्त्र पनि खतरामा पर्दैन । स्वतन्त्र उम्मेदवारले जित्दैमा एमाले र कांग्रेस समाप्त हुँदैनन् ।
एमालेका नेता योगेश भट्टराईले बालेनले ल्याएको मत ठूला पार्टीका लागि खतराको घन्टी भन्नुभएको सुनियो । देशमा सयभन्दा धेरै पार्टी छन्, उनीहरु एमाले र कांग्रेसका लागि खतरा नहुने, बालेनले ल्याएको मत चाहिँ खतरा हुने कसरी ? योगेशजीले अनावश्यक रुपमा आत्तिएर अभिव्यक्ति दिनुभयो जस्तो लाग्छ । बरु, बालेनले ल्याएको मतले एमाले र कांग्रेसलाई फाइदा गर्छ । किनभने राजनीतिक सुधार, पार्टीभित्र आन्तरिक सुधार, सुशासन जस्ता काममा लागिएन भने पछि परिन्छ भन्ने कांग्रेस एमालेलाई वोध भएको छ । अब उनीहरुलाई सच्चिन दवाब परेको छ ।
कतिपयले चाहिँ पार्टी प्रणाली नै खतरामा परेको भनेको सुनिन्छ । यो पनि हास्यास्पद हो । पार्टी प्रणाली खारेज गरेर निर्दलीय व्यवस्था आउन सम्भव छैन । पार्टी भनेको संगठित हुने हक हो । यो मौलिक हक या स्वतन्त्रता कसैले छिन्न सक्दैन । बालेनजीले पनि उम्मेदवारी दिएपछि आफ्नो टिम छ भन्नुभएको छ । टिम बनाउनु पनि संगठित हुनु हो, उहाँले आफ्नो टिमलाई राजनीतिक दलका रुपमा दर्ता गर्नुभएन होला, यो बेग्लै कुरा हो । दल दर्ता गरेर होस् या अनौपचारिक टिम बनाएर होस्, चुनाव लड्न पाइन्छ । लोकतन्त्र भनेकै यही हो ।
४– बालेनको मत आशा र उत्साह हो
चुनाव प्रचारमा बालेनको कति रकम खर्च भयो थाहा छैन । तर, अत्यन्तै थोरै रकम मात्र खर्च भएको अनुमान गर्न सकिन्छ । निर्वाचन आयोगले तोकेको सीमाभित्र रहेर खर्च भएको अनुमान गर्न सकिन्छ । बालेनले भोट किनेको आरोप लगाउन कसैले सक्ने अवस्था छैन । नेपालमा चुनाव असाध्यै खर्चिलो भएको छ । कतिपयले पार्टीको टिकट किन्नका लागि नै ठूलो रकम खर्च गरेको सुनिँदैछ । खर्चिलो हुँदै गएको चुनावलाई बालेनको मतले ब्रेक लगाइदियो भने राम्रो हुन्छ ।
खर्च नगरी मत ल्याउन सकिन्छ, चुनावमा खर्च गर्न र मत किन्न आवश्यक छैन भनेर काठमाडौंका जनताले बालेनलाई मत दिएर सन्देश दिएका छन् । पार्टी र उम्मेदवारले आफ्नो योजना र कार्यक्रम ल्याएर जनतालाई विश्वास दिलाएमा राम्रो मत ल्याउन सक्छन् भन्ने सन्देश पनि बालेनको मतले दिएको छ ।
लोकतन्त्र यस्तो व्यवस्था हो जहाँ असन्तुष्ट हुन पाइन्छ । लोकतन्त्रमा जनताको असन्तुष्टि व्यवस्थापनको विभिन्न तरिका हुन्छ । एउटा तरिका निर्वाचन पनि हो । बालेनको मत नकारात्मक मत होइन, बरु, असन्तुष्टि व्यवस्थापनको मत हो । आफ्ना असन्तुष्टिको निकास यही राजनीतिक प्रणाली र व्यवस्थाभित्र बसेर खोज्न सकिन्छ भन्ने विश्वास बालेनको मतले जगाइदिएको छ । युवा तथा नयाँ पुस्तालाई बालेनको मतले राजनीतिप्रति आकर्षित गरेको छ ।
कतिपयले बालेनले पाएको मतलाई मधेसीप्रति पहाडीको सद्भाव भनेर असाध्यै सतही टिप्पणी गरेको सुनिन्छ । बालेन पहाडी हो कि मधेसी हो भनेर चुनावभरी चर्चा भएन । कसैकसैले मधेसी साह भनेको सुनियो, कसैकसैले ठकुरी साह भनेको सुनियो । मलाई पनि बालेनको जातथर थाहा छैन, जातथर थाहा पाउन रुची पनि लागेन, आवश्यक पनि देखिनँ । आम जनतालाई पनि बालेनको जातथरसँग मतलब भएन । बालेनले दिएको विचार र कार्यक्रम मन पराउनेले भोट दिएका हुन् । अनि जातथरको कुरा कहाँबाट आयो ?
यो चुनावमा मुख्य चासोका उम्मेदवार दुईजना थिए । बालेन र रेणु दाहाल । रेणु दाहालको पिता प्रचण्ड यो देशमा जातीय आगो सल्काउने खलनायक हुनुहुन्छ । प्रचण्डले लगाएको जातीय आगो निभिसकेको संकेत बालेनले पाएको मतले दिएको छ । जातथरका आधारमा राज्य बनाउने, जातथरको आधारमा भोट दिने, जातीय आधारमा देशलाई चकनाचुर बनाउने प्रचण्डको उद्देश्य थियो । त्यसमा उहाँ असफल हुनभयो । किनभने जनताले जातथर सोधखोज गरेर मत दिएनन् । तसर्थ, बालेनलेको मत प्रचण्ड, माओावादी र जातिवादीहरुको पराजय हो ।
वालेनले पाएको मतले नेपालमा लोकतन्त्रको विकल्प छैन, आवधिक चुनावको विकल्प छैन, बहुदलीय प्रणालीको विकल्प छैन भन्ने स्थापित गरिदिएको छ । जनताको ठूलो तप्कामा आशा र विश्वास जगाइदिएको छ ।
५– बालेनलाई अबको खतरा
मतगणना सकिएको छैन, अन्तिम नतिजा आउन बाँकी छ । अन्तिम नतिजा आएर बालेनले जित्नुभएको कल्पना गरेर केही कुरा लेख्दैछु ।
१– कतिपयले अब बालेनले महानगरमा काम गर्न नसक्ने भनिरहेका छन् । महानगर कार्यपालिकामा एमाले र कांग्रेसको पकड छ, उनीहरुले बालेनलाई काम गर्न दिँदैनन् भनेको सुनिँदैछ । यस्तो धारणा गलत हो । बालेनलाई एमाले कांग्रेसले काम गर्न दिँदैनन् भन्ने कुरा सत्य होइन ।
२– देशका थोरै पालिकामा मात्र कुनै एउटा पार्टीको एकल वर्चश्व छ । अधिकांशमा विभिन्न पार्टीको प्रतिनिधित्व छ । सबैले मिलेर काम गरेका छन् । फाटफुट पालिकामा मात्र दलीय र व्यक्तिगत द्धन्द भएको सुनिन्छ । अर्काे कुरा, बालेनलाई आफ्नो बनाउन एमाले र कांग्रेस दुवैले प्रयत्न गर्नेछन् । एमाले र कांग्रेसका महानगरका जनप्रतिनिधिहरुलाई पनि विकास गर्नु छ, केही गरेर देखाउनु छ । एमाले र कांग्रेस जस्ता विशाल पार्टीका सामु बालेन एकजना व्यक्ति मात्र हो । त्यति ठूला र देशका स्थापित राजनीतिक शक्ति एकजना व्यक्तिलाई असफल बनाउन लागिपर्छन् भनेर पत्याउन सकिँदैन ।
३– बालेनलाई अबको सबैभन्दा ठूलो खतरा अरु कोहीबाट छैन, बालेन स्वयंबाट मात्र छ । उहाँ लोभलालचमा फस्नुहुन्छ कि ? मात्तिनुहुन्छ कि ?
नेपालमा एउटा संक्रामक रोग छ, पदमा पुगेपछि अतित बिर्सने, जनता बिर्सने । पदमा पुगेपछि धेरै महानुभावहरु आँखामा पट्टि बाँधे जस्तो बनेका छन् । बालेनलाई यो रोग पनि लाग्न भएन । नेपालमा पदमा पुगेका अधिकांश मानिसको आहारा कमिसन हो । कमिसनबाट बालेन लोभिन भएन । अहंकार भन्ने अर्काे खतरनाक रोग छ, यो रोग पनि बालेनलाई लाग्न भएन । गलत मानिसको घेरामा बस्ने, आफू वरिपरि चाकडीवाजको घेरा बनाउने रोग पनि बालेनलाई लाग्न भएन । अर्काे डरलाग्दो रोगबारे पनि बेलैमा सावधान बनाउँ– आफू काम गर्न नसक्ने अनि अरुले गर्न दिएनन् भन्ने रोग पनि नेपालमा व्यापक छ । यो रोग निकै खतरनाक छ, बालेनलाई यो रोग पनि नलागोस् ।
४– महानगरको प्रमुख भनेको एकल व्यक्ति होइन । उसको साथमा टिम हुन्छ । नगरसभा हुन्छ, नगर कार्यपालिका हुन्छ । नगरका उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु बालेनका टिम हुन् । उनीहरु सबैलाई विश्वासमा लिएर बालेनले काम गर्न सक्नुपर्छ । यसमा चुक्नु हुँदैन ।
हरेक उम्मेदवारले पाएको मत, चाहे एक मत नै किन नहोस्, त्यसको अर्थ हुन्छ । हरेक एउटा मत लोकतन्त्रको सौन्दर्य हो । बालेनले पाएको मत पनि लोकतन्त्रको सौन्दर्य हो । लोकतन्त्र र बहुदलीय प्रणालीमा मात्र बालेनहरुको उदय सम्भव हुन्छ ।
