काठमाडौं । गठबन्धन भित्रका दल र आफ्नै पार्टीका मन्त्री तथा सांसदबाट बारम्बार अपमानित हुनुभएका माधवकुमार नेपाल अझै पनि मान सम्मानको अलाप जप्न छाड्नु भएको छैन । गठबन्धनबाट स्थानीय तह निर्वाचन लड्ने भने पनि गठबन्धनका दल कांग्रेस र माओवादीले कुनै भाउ नदिनुले उहाँको मान सम्मानमा त्यही बेला चोट पुग्नु पर्ने हो । तर आफ्नै एक्लै हैसियत नभएपछि हेपिएर, चेपिएर भए पनि गठबन्धनसँग लत्रिँदै आउनुभएका नेपालको पार्टीमा नै पछिल्लो पटक गठबन्धनका दल कांग्रेस र माओवादीले हस्तक्षेप गरेका छन् । नेपालले मन्त्री परिवर्तनको लागि सरकारलाई पठाएको सिफारिस समेत प्रचण्ड र शेरबहादुर देउवा मिलेर लत्त्याइदिनु भएको छ । त्यस्तो हुँदा पनि सत्तामा लेसिइरहन र गठबन्धनबाट लाभ लिइरहन नेपाल सहेरै बस्नु भएको छ । आफ्नो पार्टी फुटाउन विद्रोह गर्ने माधव नेपालले आफ्नो पार्टीको निर्णय अर्को पार्टीका नेता र प्रधानमन्त्रीले लत्त्याउँदा पनि सहेर बस्नुभयो । सायद त्यहाँ उहाँले आफ्नो मान मर्दन भएको ठान्नु भएन वा सत्ताको मोहले त्यसलाई गौण बनायो । बाहिरबाट मात्र होइन आफ्नै मन्त्री र सांसदले उहाँलाई लात्ताले हान्नुभयो । नेपालले मन्त्रीबाट फर्कन दिएको निर्देशन गठबन्धन सरकारमा रहेका उहाँकै मन्त्रीहरूले अस्वीकार गर्नुभयो । उहाँहरूले गठबन्धनका नेता र प्रधानमन्त्री लगाएर माधवको निर्देशनलाई लत्त्याइदिनुभयो । त्यतिले मात्र पुगेन, शुक्रबार उहाँका पार्टीका १० जना सांसदले विभिन्न माग राख्दै पार्टी संसदीय दलको बैठक बोलाउन नेपाल समक्ष हस्ताक्षर बुझाउनुभयो । खैर हस्ताक्षर बुझाउने १० मध्ये ६ जनाले आज आफूहरूले दिएको निवेदन फिर्ता लिएको जानकारी दिनुभएको छ । जे भए पनि त्यस्ता पत्रले उहाँको मान हुन्छ कि, अपमान ? त्यो नेपालले राम्रैसँग बुझ्नु पर्ने हो । मान खोज्दा खोज्दै अपमानको भुङ्ग्रोमा पर्नु भएका नेपालले शनिबार सो पार्टीको केन्द्रीय कमिटी बैठकमा फेरी मान सम्मानकै कुरा दोहोर्याउनुभएको छ । आफ्नो साथ छाडेर एमालेमा बसेका १० जना स्थायी कमिटी सदस्यले सो पार्टीमा घोर अपमान खपेको उहाँले टिप्पणी गर्नुभएको छ । केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइले केपी ओलीको दासता स्वीकारेको आरोप समेत लगाउनुभएको छ । ‘कुनै मूल्य र मान्यता उनको छैन, कुनै पदीय गरिमाको उनीहरूले सम्मान पाएका छैनन्, तर पनि अहिले हामीलाई धारे हात लगाउने दुष् सहासगरिरहेका छन्’, नेपालले भन्नुभयो । अध्यक्ष नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गर्नु जायज भएको बताउनुभयो । एमालेबाट विद्रोह नगरेको भए केपी ओलीको दासता स्विकार्नु वा राजनीतिबाट पलायन हुनुको विकल्प नभएको उहाँले टिप्पणी गर्नुभयो । आफू सत्ता लम्पट भएर बसेको कुरा बिर्सँदै नेपालले केपी ओलीको जसरी पनि दशकौँसम्म सरकारमा बसी रहने चाहनालाई समाप्त गर्न पार्टी फुटाएको भन्न पछि हट्नु भएन । आफू सत्ता र शक्तिको लागि जे पनि गर्ने, जस्तो सुकै अपमान र बेइज्जती पनि सहने तर केपी ओलीको भने खैरो उतार्ने माधव नेपालाई दुनियाँले के भनिरहेका होलान् ?
आफ्नै मन्त्री र सांसदबाट अपमानित माधव नेपालको मान सम्मानकै अलाप
काठमाडौं । गठबन्धन भित्रका दल र आफ्नै पार्टीका मन्त्री तथा सांसदबाट बारम्बार अपमानित हुनुभएका माधवकुमार नेपाल अझै पनि मान सम्मानको अलाप जप्न...
SUNRISE KHABAR
2 min read
