मदनकुमार भण्डारी जननेता एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नेता मात्र होइन नेपाली जनताले नबिर्सिने एउटा नाम हो । विश्व कम्युनिष्ट आन्दोलनको तारा हो । कम्युनिष्ट विचारको सृजनात्मक प्रयोगकर्ता हो । जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सक्रिय रहनुभएको भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै बहुदलवादी राजनीतिमा अगाडि बढेको नेकपा एमाले आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्ष बन्यो । त्यही एमाले पार्टी आज देशको प्रमुख शक्ति बनेको छ । पहिलो पार्टी बनेको छ । मदनकुमार भण्डारीको जन्म २००९ साल आषाढ १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गे साँघुमा भएको हो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भयो । २०२४ सालमा उहाँको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो। उहाँले भारतको मथुरामा अध्ययन गर्नुभयो । दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुग्नुभएका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गर्नुभयो । २०२८ सालमा पुष्पलालसँगको भेटपछि उहाँ राजनीतिमा लाग्नुभयो । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण ग¥यो। त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रित थिए भने भण्डारी केन्द्रीय सदस्य हुनुहुन्थ्यो । २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता हुनुभयो । २०३३ सालमा मुक्ति मोर्चा समूहको निर्माण गरियो। त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको को–अर्डीनेशन केन्द्रमा आबद्ध भई ’मुक्ति मोर्चा समूह’लाई नै त्यसमा विलय गराइयो । २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उहाँ केन्द्रीय सदस्य बन्नुभयो । २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बन्नुभयो । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले–मार्क्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)को महासचिव बन्नुभयो । २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि उहाँ थप चर्चाको शिखरमा पुग्नुभयो । जनताको बहुदलीय जनवादका प्रवर्तक एवं व्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भयो । जनताको बहुदलीय जनवाद जनताको बहुदलीय जनवाद भनेको सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवाद विरोधी कार्यक्रम हो । यो क्रान्ति सामन्तवाद–साम्राज्यवाद विरोधी क्रान्ति हो । चीन, कोरिया, भियतनाम र पूर्वी युरोपेली देशहरूमा यस्तै क्रान्ति भएको थियो । यी सबै ठाउँका क्रान्तिले सामन्तवादलाई उन्मूलन गरेर किसानहरूलाई मुक्त पार्ने र साम्राज्यवादको सबै प्रकारका हस्तक्षेपलाई समाप्त पारेर राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने काम गरेको थियो । राष्ट्रिय पुँजी र उद्योग–व्यवसायको विकासको बाटो खोलेको थियो । राज्यसत्ताको एउटा तेस्रो रूप आम जनताको जनवादी संयुक्त राज्यसत्ताको स्थापना गरेको थियो । सामन्तवादलाई उन्मूलन गरेर पनि यो पुँजीपति वर्गको अधिनायकत्व भएको एकलौटी राज्य थिएन । पुरानो जनवादी क्रान्तिले पुँजीपति वर्गको अभिनायकत्व भएको राज्यको स्थापना गरेको थियो । तर, यसले सामन्तवाद–साम्राज्यवाद विरोधी आमजनताको संयुक्त राज्यको स्थापना ग¥यो । सामन्तवाद–साम्राज्यवादको उन्मूलन गर्ने, अर्धसामन्ती र अर्धउपनिवेशी उत्पादन सम्बन्ध समाप्त पारेर जनवादी र राष्ट्रिय सम्बन्ध कायम गर्ने तथा आम जनताको संयुक्त राज्यसत्ता स्थापना गर्ने हुनाले यसै अर्थमा जनताको बहुदलीय जनवाद पनि नयाँ जनवादी क्रान्ति नै हो र यो पनि नयाँ जनवादी नै हो । अरू मुलुकमा कतिपय आफ्ना विशेषताहरूको सन्दर्भलाई लिएर त्यसलाई कहीँ नयाँ जनवाद, कहीँ जनताको जनवाद र कहीँ राष्ट्रिय जनवादजस्ता नाम दिइयो । सारतत्वमा त्यो सबै नयाँ युगको सन्दर्भबाट जनताको जनवाद नै थियो । नेपालमा विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थिति एवम् अन्य अनुभवहरूलाई विश्लेषण गर्दै तिनै आधारभूत तत्त्वहरूको साथमा कतिपय भिन्न कुरालाई समेत जनताको बहुदलीय जनवादले समेटेको छ । जनताको बहुदलीय जनवादले थपेका विषयहरूलाई प्रतिनिधित्व गर्ने मूल अभिव्यक्तिको हिसाबले ‘बहुदलीयता’ लाई उल्लेख गरिएको छ । जो विश्व कम्युनिष्ट आन्दोलनकै नयाँ प्रयोग हो । त्यस हिसाबले नोपालको सन्दर्भमा उक्त क्रान्तिको कार्यक्रमलाई जनताको बहुदलीय जनवाद भनेर उल्लेख गरिएको हो । वास्तवमा यो पनि नेपालको सन्दर्भमा प्रयोग गरेको जनताको जनवाद नै हो । अन्य देशहरूमा बहुदलीय प्रतिस्पर्धा रहेन । नेपालमा भने त्यो भन्दा भिन्न सुस्पष्टरूपमा बहुदलीय प्रतिस्पर्धा सामेल गर्न अवधारणा जबजले अघि सार्यो । यस अर्थमा त्यो कार्यक्रम र विचारको एउटा विशेष कुरा हो । सामान्यतया जुनसुकै विशेषणका साथ जनवादको उल्लेख गरिए पनि कार्यक्रमको स्वरूप र सार दुबैलाई सटीक ढङ्गले उल्लेख गर्दा नेपाली क्रान्तिको कार्यक्रमको नाम ‘जनताको बहुदलीय जनवाद’ नै हो । परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिमा मदन भण्डारीले आफ्ना विचारहरूलाई यसरी नै कार्यक्रममा प्रस्तुत गर्नुभएको छ । जनताको बहुदलीय जनवादको मूलभूत सिद्धान्त
मदन भण्डारी अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हुनुहुन्थ्यो त्यसैले उहाँले संवैधानिक सर्वोच्चतालाई जनताको बहुदलीय जनवादाको पहिलो अङ्ग मान्नुभयो । संविधान प्रदत्त मौलिक अधिकारको संरक्षण र पालनाको कुरा गर्नुभयो । बहुदलीय खुल्ला समाजलाई स्वीकार गर्नुभयो । जहाँ नागरिकले आफ्ना कुरा स्वतन्त्र रूपमा राख्न र सुन्न पाउँछन् । आफूले रोजेको दल खोल्न र ती दलमा सहभागी हुन पाउँछन् । शक्ति पृथकीकरणको सिद्धान्तलाई अङ्गीकार गरियो । जब नागरिक स्वतन्त्रता माथि सरकारले अङ्कुश लगाउन खोज्छ, त्यसलाई नियन्त्रण गर्ने बलिया न्यायपालिकाको कल्पना गरियो । आवधिक निर्वाचन जसले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई मात्र होइन, आफ्ना प्रतिनिधि छान्ने अधिकारलाई पनि सुरक्षित गर्यो । कानुनको शासनले नागरिक अधिकार सुरक्षित गर्ने कुराको प्रत्याभूति गर्यो । त्यसैले विना हिचकिचाहट भन्न सकिन्छ, कि मदन भण्डारी प्रजातन्त्रको पक्षधर हो, नागरिक स्वतन्त्रताको हिमायती हो, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिने जनताको नेता हो । जनताको बहुदलीय जनवाद त्यसैको व्यवहारिक प्रयोग हो ।
