--भेषराज दाहाल--
नेपाल पटक-पटक प्रचण्ड प्रवृत्तिकाे सिकार भइरहेकाे छ ।
मुखले एक थोक भन्ने काम अर्कै गर्ने प्रवृत्ति नै प्रचण्ड प्रवृत्ति हाे । सबैथाेक म हूँ भन्ने व्यक्तिवादी साेच नै प्रचण्ड प्रवृत्ति हाे । विदेशीलाई साक्षी राखेर देशमा शान्ति स्थापना हुन्छ भन्ने माओवादी सोच अर्थात प्रचण्ड प्रवृत्तिकाे दुष्परिणाम देशले अहिले पनि भाेग्दै आइरहेकाे छ ।
नेपाली जनताको चाहना र देशको आवश्यकता राजनीतिक स्थिरता हाे । नेकपा एमालेले अगाडि सारेकाे समृद्ध नेपाल सुखी नेपालीकाे परिकल्पना पूरा गर्न राजनीतिक स्थिरता चाहिन्छ । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे व्यक्तिवादी साेचका कारण देश राजनीतिक अस्थिरताकाे बाटाेमा जाँदैछ । नेपालमा विदेशी हस्तक्षेप बढ्दैछ । नेपालकाे राष्ट्रियता खतरामा परेकाे छ । नेपालकाे परराष्ट्र नीतिमा गम्भीर विचलन देखिएकाे छ । देशप्रतिको प्रचण्डको गैरजिम्मेवार व्यवहारका कारण पश्चिमाहरुको हस्तक्षेपलाई विभिन्न बहानामा आमन्त्रण गर्ने गम्भीर गल्ती भएकाे छ ।
आफूले गरेका निर्णय र संलग्न भएका विषयमा अरुलाई दाेषाराेपण गरेर उम्किन खाेज्ने प्रचण्डकाे बानी पुरानै हाे । प्रचण्डकाे बाेली र व्यवहार देख्दा लाग्छ - उहाँमा जनयुद्धकाे धङ्धङी अझै पनि बाँकी नै छ । देशकाे सार्वभाैमसत्ता, स्वतन्त्रतता,राष्ट्रिय अखण्डतामा प्रश्न उठ्नेगरी प्रचण्ड प्रवृत्ति माैलाइरहेकाे छ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) का सम्बन्धमा प्रचण्डले दिनुभएकाे अभिव्यक्ति यसकाे प्रमुख उदाहरण हाे । एकातिर एमसीसी पास गर्छाैं भनेर अमेरिकालाई पत्र लेख्ने र अर्काेतिर एमसीसी पास गर्नुहुँदैन भनेर नेता-कार्यकर्तालाई सडकमा उतार्ने काम प्रचण्डले गर्नुभयाे । एमसीसीका सम्बन्धमा दाेहाेर चरित्र देखाउनुभएका प्रचण्डले व्याख्यात्मक घाेषणामा नाममा आफ्नाे चरित्रमाथि उठेकाे प्रश्नलाई थामथुम पार्नुभएकाे कुरा नेपाली जनताले बिर्सेका छैनन् ।
एमसीसीकाे बहस सेलाउन नपाउँदै एसपीसीकाे विषयले राम्रैसँग चर्चा पायाे । अझ एसपीपीसम्बन्धी सार्वजनिक भएकाे मस्याैदाले हलचल नै ल्याइदियाे । साे मस्याैदाभित्रका राष्ट्रघाती कदम विरुद्ध नेपाली जनता र प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर आन्दाेलन गरे । एमालेले संसद्भित्र र बाहिर यसबारे पटक-पटक कुरा उठायाे । एसपीसी कुनै हालतमा मान्य नहुने भनेर सरकारकाे ध्यानाकर्षण गरायाे । र अन्तत: सरकार लागू गर्दैनाैं भन्ने माेडमा पुग्याे ।
एसपीपी कसकाे पालामा अगाडि बढ्याे ? भन्ने प्रश्न उठिरहेका बेला प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि नै दाेष लगाउनुभयाे । ओलीका पालामा अगाडि बढेकाे र अहिले आफ्ना कारण राेकिएकाे भनेर प्रचण्डले झुठ बाेल्न समेत कुनै कसर बाँकी राख्नुभएन । यद्यपि एसपीपी अगाडि बढाउने खतरा कायमै छ । सरकारकाे निर्णय अमेरिकालाई जानकारी गराइएकाे छैन भन्ने परराष्ट्र मन्त्रालयकाे अभिव्यक्तिले पनि एसपीपी अगाडि बढाउने खतरा कायमै रहेकाे संकेत गर्छ ।
एमाले स्वयंले याे सम्झाैतासँग सम्बन्धित दस्तावेज सार्वजनिक गर्न सरकारलाई चुनाैती दिइसकेकाे छ । अध्यक्ष ओलीले आफू नेतृत्वकाे सरकारलाई नसाेधी नेपाली सेनाले अमेरिकी सेनालाई एसपीपीसम्बन्धी पत्र पठाएकाे प्रष्ट पारिसक्नुभएकाे छ । केरमेट गरिएकाे पत्रकाे वास्तविकता खुलाउन र रक्षा तथा नेपाली सेनासँग भएका सबै चिठी बाहिर ल्याउन पनि उहाँले चुनाैती दिइसक्नुभएकाे छ । एसपीपीकाे कुरा आएसँगै आफू नेतृत्वकाे सरकारले समिति बनाएर छलफल गरेर याे नेपालकाे हितमा छैन भनेर हाेल्ड गरिसकेकाे पनि अध्यक्ष ओलीले स्मरण गराउनुभयाे ।
पानी माथिको ओभानो कहिलेसम्म ?
नेपालमा २००७ सालपछि स्वतन्त्रताको युग भनेर व्याख्या गरिएपनि त्यसो हुन पाएको थिएन । उत्तर र दक्षिणका महाशक्ति राष्ट्रको दबदबा कायमै थियो । दीर्घकालिन महत्वका विषय उठान हुनासाथ उत्तर र दक्षिणले कान ठाडा बनाउने परम्परा चलिआएकै थियो । यहाँका हरेक राजनीतिक परिवर्तनमा विदेशीको मुखियागिरी कायम थियो र छ पनि ।
नेपालजस्तो देशका लागि समदुरी परराष्ट्र नीति (असंलग्नता) को विकल्प प्रत्युत्पादक हुनेतर्फ नकार्न सकिँदैन । राष्ट, राष्ट्रियता, शान्ति र समृद्धिका लागि समभाव र समदुरी आवश्यक छ । तर व्यक्तिवादी राजनीतिक अश्वस्थ प्रतिष्पर्धाले नेपालको परराष्ट्र नीतिमा अस्थिरता बढाएको छ । सत्ता स्वार्थका लागि देशलाई बन्धक बनाउने र टिक्नका लागि विदेशी शक्ति केन्द्र गुहार्ने जस्ता दुषित परम्पराको निरन्तरताले देशको हित हुन नसक्ने निश्चित छ ।
विदेशीलाई साक्षी राखेर देशमा शान्ति स्थापना हुन्छ भन्ने माओवादी सोचको दुष्परिणाम मुलुकले हाल आएर मुलुकले भोग्नु परिरहेको छ । प्रचण्डका कुण्ठालाई मलजल गरेको भारतले उसकाे स्वार्थमा सफलता त प्राप्त गर्याे नै तर नेपाली समाज संस्कार र सामाजिक सदभाव गिजोलेर उठनै नसक्नेगरी कमजोर बनाइदियो । देशप्रतिको प्रचण्डको गैरजिम्मेवार व्यवहारका कारण पश्चिमाहरुको हस्ताक्षेपलाई विभिन्न बहानामा आमन्त्रण गरियो ।
अनमिन भित्र्याउने, अमेरिकालाई खुल्ला आमन्त्रण गर्ने र छिमेकी चिढ्याउने काममा जनयुद्ध नामधारी विद्रोहले ठुलै बल पुर्याएको छ । न्याय र स्वतन्त्रताको नाम दिइएको विद्रोहलाई करिब देशको सार्वभौमिकता सुम्पने सम्मको अवस्थामा पुर्याएर विश्राम गराइयो । इतिहासमा नेपाल हारेको त्यही कालो समयमा साक्षीले थोपरेका अवशेषहरु आज एमसीसी र एसपीपी बनेर मौलाउँदै गइरहेका छन् ।
यस्ता अमेरिकी रणनितीका साझेदार प्रचण्डले हाल आएर यस्ता विषयमा बिष बमन गर्दै अरुलाई दोषारोपण गर्नुमा कुनै सत्यता रहँदैन । आफूले गल्ती गरेर दोष अरुलाई थोपर्दा पानी माथि ओभानो बन्ने प्रयासशिवाय केही हुन सक्दृन ।
