-गोविन्द थापा
नेपालमा विदेशी सेना तैनाथ गर्ने । सुन्दै कहालीलाग्दो यस्तो बाटोमा गठवन्धन सरकार लागेको छ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई आधार बनाएर यो सरकार नेपालमा अमेरिकी सेना ल्याउन मरिहत्ते गरेर लागिरहेको छ भन्ने प्रष्ट देखिएको छ ।
एसपीपी प्रकरणमा शेरबहादुर देउवा सरकारले एकपछि अर्काे झुठ बोलिरहेको छ । यस्ता झुठले पनि प्रष्ट पार्छ– यो सरकार नेपाली भूमिमा विदेशी सेनाको परेड खेलाउन उद्यत छ ।
अन्तराष्ट्रिय कूटनीति निर्मम हुन्छ, मायादया हुँदैन । कूटनीतिमा दिमाग हुन्छ तर दिल हुँदैन भनिन्छ । निर्मम कूटनीतिलाई समकालीन नेपाली राजनीतिका अधिकांश नेताहरुले खेलाँचीका रुपमा लिएको देखिन्छ । झन् शेरबहादुर देउवा नेतृत्वको सरकार र यो गठवन्धनका नेताहरुले अन्तराष्ट्रिय कूटनीति तथा वैदेशिक सम्बन्धलाई बालबालिकाको भाँडाकुटी खेल जस्तो बनाएको देखिन्छ ।
प्रष्ट शब्दमा भन्ने हो भने यो गठवन्धन सरकारको काम चीन विरोधी गतिविधि गर्ने जस्तो भएको छ । नेपालका दुई मुख्य छिमेकी भारत र चीन हुन् । यी दुई देश विरुद्धमा नेपाल प्रयोग हुनुहुँदैन । तर, गठवन्धन सरकार चीन विरुद्ध स्पष्ट उभिन थालेको छ । यसो गर्नु नेपालको राष्ट्रिय स्वार्थ र हित विपरित छ । नेपालमा अमेरिकी सेना भित्राउनु भनेको नेपाललाई युक्रेन बनाउन खोज्नु हो । नेपालले चीनसँग युद्ध गरोस् भन्ने देउवा सरकारको चाहना हो ?
गठवन्धन सरकारका लागि नेपालको वैदेशिक सम्बन्ध सत्ता टिकाउने खेलोमेलो मात्र भएको छ । यो सरकार स्वदेशीभन्दा विदेशी षडयन्त्र धेरै गरेर बनेको हो । परमादेश स्वदेशी षडयन्त्र मात्र थिएन । परमादेशपछि देउवा सरकारले अनौठो विदेश नीति लिँदै आएको छ । एकपछि अर्काे गलत पाइला चाल्दै आएको छ । परम्परागत विदेश नीतिलाई देउवा सरकारले त्याग्दै लगेको छ । आजको निर्मम र षडयन्त्रपूर्ण विश्व राजनीतिमा असंलग्न परराष्ट्र नीति नै नेपालको सार्वभौमिकता र स्वतन्त्रता रक्षाको आधार हो । यो तथ्यलाई उपेक्षा गरेर अमेरिका र भारततिर ढल्कने, चीन विरुद्ध उभिने शर्तमा नै देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाइएको अब झन्झन् प्रष्ट हुँदै गएको छ ।
देउवा सरकारले एमसीसीदेखि एसपीपी प्रकरण सम्ममा गरेको हर्कत नियाल्ने हो भने देशको भविष्य कहालीलाग्दो बाटोमा गएको प्रष्ट देखिन्छ । देउवा सरकारले सुनियोजित रुपमा एकपछि अर्काे गरी असंलग्न परराष्ट्र नीतिलाई छाड्दै आएको छ । एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र पठाएको भनी गृहमन्त्रीले सार्वभौम संसद्मा भन्ने, गृहमन्त्रीको भनाईको खण्डन परराष्ट्र मन्त्रालयका कर्मचारीले गर्ने अनौठो अवस्था देखिएको छ । यो ढाँटछल भित्र के खिचडी पाक्दैछ ? चिन्ताको विषय भएको छ ।
देउवा सरकार एसपीपी सम्झौता गर्ने नै पक्षमा देखिन्छ । कथंकदाचित एसपीपी सम्झौता गर्न सम्भव भएन भने अरु कुनै गोप्य सम्झौता गर्ने देउवा सरकारको दाउ देखिन्छ । कमजोर गठवन्धनमा टेकेर प्रधानमन्त्रीमा टिकिरहनुभएका देउवाले नेपालमा विदेशी सेना ल्याउने हदसम्मको हिम्मत कसरी गर्नुभयो ? गठवन्धनका पार्टनरहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भित्री आडभरोसा र समर्थन बिना देउवा यस्तो बाटो हिँड्नुभएको पक्कै होइन ।
देउवा र गठवन्धन टिमले के बुझ्न आवश्यक छ भने देशविरुद्ध गद्दारी गर्नेेको कहिले पनि भलो हुँदैन । खासगरी विदेशी शक्तिको काँधमा बसेर गलत हर्कत गर्नेको पतन दर्दनाक हुन्छ । देउवा सरकारले अमेरिकासँग अहिले बढाइरहेको सम्बन्ध अस्वाभाविक छ भनेर जो कसैले भन्न सक्छ । अमेरिका हाम्रो मित्र देश हो, उसँग सुसम्बन्ध राख्नैपर्छ तर सम्बन्धको सीमा हुन्छ । कुनै पनि देशको उक्साहटमा एउटा देशको पक्ष लिने र अर्काेलाई प्रहार गर्ने बाटोमा लाग्नु आत्मघात हो । विदेशी शक्ति कति स्वार्थी र विश्वासघाती हन्छन् भन्ने अनेक उदाहरण छन् । त्यस्तो उदाहरण खोज्न टाढा जान पर्दैन, देशभित्रै पनि छ भन्ने देउवाको टिमले बुझोस् ।
वाङदीको नियति
केही दिन पहिले मैले लेखेको एउटा लेखमा खम्पा प्रकरणको प्रसंग थियो । त्यस लेखमा काठमाडौंको स्युचाटारमा अमेरिकाले बेग्लै विमानस्थल चलाएर खम्पाहरुलाई हतियार सप्लाई गरेको उल्लेख थियो । २०२० को दशकमा काठमाडौंमा त्रिभुवन विमानस्थल बाहेक स्युचाटारमा बेग्लै विमानस्थल थियो भन्ने कतिपयलाई पत्यार नै लागेन । यसबारे धेरै पाठकले सोधीखोजी गर्नुभयो । कतिपयले त स्युचाटारमा विमानस्थल भएको कुरा हावादारी समेत भने ।
२०२० को दशकमा स्युचाटारमा अमेरिकी संस्था युएस एडले विमानस्थल चलाएको थियो । आवरणमा युएसएड देखिए पनि खासमा सिआईएले विमानस्थल चलाएको थियो । अमेरिकाले विमानस्थल चलाएको थियो कि थिएन ? यो कुरा बुझ्न म स्युचाटार क्षेत्र गएँ । त्यहाँका बुढापाकाहरुलाई सोधें । विमानस्थलमा जग्गा पर्ने जग्गाधनी समेत भेट भयो । त्यहाँ विमानस्थल चलेको देख्ने मानिस धेरै छन् । नेपालको गृह र परराष्ट्र मन्त्रालयको त्यसबेलाको आन्तरिक दस्तावेजहरुमा पनि स्युचाटारमा विमानस्थल भएको उल्लेख छ । विमानस्थलमा काम गर्ने कर्मचारी समेत भेटिए ।
सिआईएले स्युचाटारमा मात्र नभएर विभिन्न हिमाली जिल्लाहरुमा पनि विमानस्थल बनाएको थियो । ती मध्ये कैयन विमानस्थल आज हवाई विभागले सञ्चालन गरिरहेको छ, उडान भइरहेको छ । कतिपय ठाउँमा अमेरिकाले अन्य देशलाई प्रयोग गरेर विमानस्थल बनाएको थियो, जस्तो कि जिरी विमानस्थल । स्वीटजरल्याण्डलाई त्यहाँ विमानस्थल बनाउन लगाइएको थियो । त्यसबेला सिआईएले नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई लात मार्दै नेपाललाई हिँसा र युद्धमा होम्ने प्रयास गरेको थियो । तत्कालीन राजा महेन्द्र र बीरेन्द्र लाचार भएर अमेरिकी अत्याचार टुलुटुलु हेरेर बस्न वाध्य थिए ।
तर, सिआईएले अहिलेसम्म सार्वजनिक गरेका कुनै पनि दस्तावेजमा स्युचाटार तथा हिमाली क्षेत्रमा बनाइएका विमानस्थलको उल्लेख छैन । चीनको तिब्बतमा सशस्त्र संघर्ष गराउन सिआईएले हतियार सप्लाई गरेको, विमानबाट हतियार र मानिस तिब्बत पुराएको (एअर ड्रप गरेको) तथ्य सिआईएले आधिकारिक रुपमा सार्वजनिक गरेका दस्तावेजहरुमा देखिन्छ । नेपालमा विमानस्थल बनाएको चाहिँ सिआईएको दस्तावेजहरुमा नदेखिनुको कारण के हो ? सिआईएले कुनै पनि मिसन सकिए पछि मात्र त्यसको सबैजसो विवरण सार्वजनिक गर्ने गरेको छ । सामान्यतया अमेरिकाले यस्ता दस्तावेज मिसन सकिएको ४०¬¬–५० वर्षपछि मात्र सार्वजनिक गर्ने गरेको छ । नेपालमा विमास्थलहरु बनाइएको, हतियारहरु सप्लाई गरिएको सम्पूर्ण विवरण अमेरिकाले अहिलेसम्म किन सार्वजनिक गरेको छैन ? शायद मिसन सकिएको छैन, मिसन जारी छ, नेपाललाई २० को दशकमा जसरी प्रयोग गरियो, त्यसरी फेरि पनि प्रयोग गर्ने उद्देश्य यथावत छ, त्यसैले अमेरिकाले सबै दस्तावेज सार्वजनिक नगरेको हुनुपर्छ ।
अमेरिका फेरि चीनमा गडबडी गराउने पक्षमा छ, यसका लागि नेपाललाई उपयोग गर्ने अमेरिकी रणनीति प्रष्ट भइसकेको छ । यो काममा देउवा सरकार कम्मर कसेर लागिरहेको छ ।
खम्पा प्रकरणलाई देउवा सरकार र गठवन्धनका नेताहरुले गहिरोसँग अध्ययन गरुन् ।
खम्पाका लडाकू नेता थिए वाङदी । उनलाई सिआईएले अमेरिका लगेर तालिम दिएको थियो । खम्पाहरुलाई अमेरिकाले सबै किसिमको सहयोग गरेको थियो । तर, अमेरिकाले पछि खम्पाहरुलाई गद्दारी गरिदियो । जसरी अमेरिकाले तालिवान जन्मायो र पछि तालिवानलाई नै गद्दारी गरेर सिध्याउन खोज्यो, त्यसैगरी खम्पाहरुलाई सिध्यायो । यो इतिहास पनि गठवन्धनका नेताहरुले बुझ्न आवश्यक छ ।
२० को दशकमा चीनलाई टुक्राउन अमेरिका लागिपरेको थियो । तिब्बतमा सशस्त्र संघर्ष गराउन नेपाली भूमि प्रयोग गरिरहेको थियो । तर, अमेरिका र चीन नजिक हुन थाले । तिब्बत मामिलाबाट अमेरिका पछाडि हट्न थाल्यो । खम्पाहरुलाई दानापानी र हतियार दिन घटाउँदै लग्यो । खम्पाहरुलाई हातहतियार सप्लाई गर्न बनाइएको स्युचाटार विमानस्थलबाट उडानहरु घट्दै गयो र पछि बन्द नै भयो ।
२०२८ सालमा स्युचाटार विमानस्थलमा उडान पूरै बन्द भइसकेको स्थानीयले मलाई बताए । २०२८ मै अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमण भयो । दुई देश मित्र बने । यता खम्पाहरु चाहिँ अलपत्र परे । निक्सनको भ्रमणको केही समयपछि तत्कालीन राजा बीरेन्द्रको चीन भ्रमण भएको देखिन्छ । त्यसपछि त खम्पाहरुको विजोग नै हुन थाल्यो । चीनबाट भागेर आई नेपाली भूमि मनाङ र मुस्ताङमा शिविर बनाएर बसेका खम्पाहरुले खान नपाउने सम्मको अवस्था आयो । उनीहरुले नेपालीलाई नै लुटपाट गर्न थाले । त्यसपछि २०३१ मा नेपाली सेनाले खम्पालाई निशस्त्रीकरण गर्न सेना पठायो ।
अमेरिकाले बनाएको खम्पा हतियारधारी टोलीको भागाभाग भयो । अमेरिकाले पहिले उचाल्नसम्म उचाल्यो, रसदपानी र हतियार सबै दियो । पछि विचल्ली बनाएर छाडिदियो । नेपाली सेनाको कारवाही पछि खम्पा कमाण्डर वाङदी भागेर भारत पस्न खोजे । उनको टोली भागेर लिपुलेक कालापानी क्षेत्रमा पुगिसकेको थियो तर त्यहाँ नेपाली सेनाले फेला पार्यो । भीडन्तमा वाङदी मारिए । खम्पाहरुको एउटा सिंगो पुस्ताको जीवन बरबाद भयो । जुन अमेरिकाले उचालेको थियो, त्यो अमेरिका रमिते मात्र भयो ।
वाङदीको नियति नेपाली नेताहरुले बुझुन्, खासगरी गठवन्धनका नेताहरुले खम्पाहरुलाई अमेरिकाले गरेको गद्दारी बुझ्न आवश्यक छ ।
बेइमानीको पुरस्कार
वाङदीले आफ्नो देश चीन र भूमि तिब्बत विरुद्ध गद्धारी गरे । उनले गुमनाम मृत्यु मात्र पाए । अरुको उक्साहटमा लाग्दा देशकै विजोग हुन्छ भन्ने पछिल्लो उदाहरण युक्रेन हो । त्यहाँका राष्ट्रपति जेलेन्स्की अमेरिका तथा पश्चिमाहरुको उक्साहटमा मात्तिएका थिए । रुस विरुद्ध लडाई गर्न तम्सिए । रुसले आक्रमण गरेपछि अमेरिकाले दिएको पहिलो सहयोग थियो एउटा सल्लाह । जेलेन्स्कीलाई दिएको सल्लाह थियो– युक्रेन छाडेर भाग ।
छिमेकी सिक्किममा लेण्डुप दोर्जेले भारतलाई सघाए । उनको सरकारले सिक्किमलाई भारतमा विलय गराउन मुख्य भूमिका गरेको थियो । सिक्किम देश मासेर भारतको प्रान्त बनेपछि बाँचुन्जेल मुख्यमन्त्री बन्छु भन्ने लेण्डुपलाई लागेको थियो । त्यसैले देश विरुद्ध गद्दारी गरेका थिए । भारतमा सिक्किम विलय भएपछि लेण्डुपले सिक्किममा बस्ने अवस्था रहेन । उनलाई भारत सरकारले मुख्य मन्त्री पद दिएन, बरु सिक्किममा एकान्तवास गर्न एउटा पुरानो बंगला दियो । त्यही बंगलाको एउटा कोठामा लेण्डुपको जीवन सकियो ।
सत्ताको स्वार्थका लागि देशलाई जोखिममा पार्ने बेइमानहरुले अन्तिममा धोका नै पाएको इतिहास छ ।
नेपालको असंलग्न परराष्ट्र नीति लगेर अमेरिकाको पाउमा चढाउने दुस्प्रयास देउवा सरकारले गरिरहेको छ । यसो गर्नु भनेको देश र जनता विरुद्ध गद्दारी हो । यस्तो गद्दारी गर्ने गिरोहका सदस्यहरुले वाङदी र लेण्डुप दोर्जेहरुले जसरी धोका पाउनेछन् । यो कुरा देउवा, प्रचण्ड, माधवहरुले बेलैमा बुझेको राम्रो ।
सिक्नुपर्ने पाठ
अमेरिका परम्परागत विश्वशक्ति हो, चीन नयाँ विश्व शक्ति हो । परम्परागत विश्व व्यवस्थाको विकल्पमा चीनले नेपाल जस्तो साना राष्ट्रहरुको पक्षमा नयाँ विश्व व्यवस्था स्थापित गर्ने रणनीति अपनाइरहेको देखिन्छ । यसकारण अमेरिका र चीन बीच टक्करको अवस्था छ । अमेरिकाले नेपाललाई चीन विरुद्ध प्रयोग गर्न प्रयास गर्दै आएको छ । २०२० को दशकमा चीन विरुद्ध नेपाली भूमि प्रयोग भयो तर नेपालले कालान्तरमा त्यसलाई सच्यायो । त्यसबेला नेपालको सामथर््य सीमित थियो । त्यसबेला नेपाली कांग्रेसले पञ्चायती सरकार ढाल्ने नाममा नेपालको राष्ट्रियतामै आँच आउने गतिविधि गरिरहेको थियो । त्यसैले नेपालको सरकार कमजोर थियो । कमजोर सरकार भएको बेला अमेरिकाले नेपाललाई प्रयोग गरेर खम्पाहरुको सशस्त्र गतिविधि गरायो । तर, आज नेपाल कमजोर छैन ।
विगतमा अमेरिका आफैंले सेना ल्याएन, खम्पाहरुलाई प्रयोग गरेको थियो । अब देउवाले चाहिँ अमेरिकी सेना नै नेपाल ल्याउने र नेपाली भूमिमा अमेरिकी सेनालाई परेड खेलाउने व्युह रचना गरिरहनुभएको देखिन्छ । उहाँले बनाएको चक्रव्युह तोड्नु नेपाली जनताको परम कर्तव्य भएको छ ।
अमेरिकाले दवाब र प्रभावमा पारेर नेपाललाई चीन विरुद्ध उभ्याउन सक्दैन । शेरबहादुर देउवा, प्रचण्ड र माधवहरुको निजी स्वार्थका लागि मात्र नेपाललाई अमेरिकाको पिछलग्गू देश बनाउन र चीन विरुद्ध उभ्याउन खोजिएको हो । २० को दशकमा चीन अहिलेजस्तो बलियो थिएन । भरखरै चिनियाँ क्रान्ति भएको थियो, चीनमा विकासको आधार तयार हुन खोज्दै थियो । त्यो अवस्थामा आडभरोसा विहीन नेपाललाई अमेरिकाले प्रयोग गरेको थियो । आज चीन कमजोर छैन । देउवा, प्रचण्ड र माधवहरुको षडयन्त्र अनुसार अमेरिकी सेना नेपाल पस्यो भने चीन रमिता हेरेर नबस्न सक्छ ।
मुख्य कुरा, चीन विरुद्ध नेपाल लाग्नुपर्ने कुनै कारण छैन । चीन विरुद्ध लाग्नु नेपालको राष्ट्रिय हित र स्वार्थको विपरित छ, तैपनि देउवा सरकार चीन विरुद्ध उभिएको छ । विगतमा भन्दा अमेरिका कमजोर भएको छ भने नेपाल र चीन दुवै बलियो बनेका छन् । यो अवस्थामा नेपालले अमेरिकाको दवाबमा पर्नुको औचित्य छैन ।
शेरबहादुर, प्रचण्ड र माधवहरुको निजी स्वार्थका लागि नेपालको राष्ट्रियता जोखिममा पार्ने, नेपालमा हिँसा निम्त्याउने, अमेरिकी सेना तैनाथ गर्ने दुस्साहस भइरहेको छ । शेरबहादुर, प्रचण्ड र माधवहरुले वाङदी र लेण्डुपहरुबाट पाठ सिक्नैपर्छ ।
