-गाेविन्द थापा-
मस्कोमा पानी पर्दा नेपालमा छाता ओढ्ने, बेइजिङमा गर्मी हुँदा नेपालमा पंखा चलाउने कम्युनिष्टहरु पनि थिए । मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याउनुभएपछि नेपाली कम्युनिष्टहरुले वैचारिक वाटोका लागि विदेशतिर आँखा डुलाउने युगको अन्त्य भएको हो ।
अहिले नेपालका कम्युनिष्टहरुले विचारका लागि विदेश र विदेशीको मुख ताक्नु पर्दैन । नेपालका कम्युनिष्टहरु वैचारिक रुपमा आत्मनिर्भर भइसकेका छन् । नेपाली माटो, नेपालीपन अनुसार माकर््सवादबाट विकास गरिएको बहुदलीय जनवाद या त्यसबाट प्रभावित भएको विचार नबोक्ने कम्युनिष्टहरु नेपाली राजनीतिक परिदृष्यबाट लोप हुँदैछन् । तर, सत्ता राजनीतिका लागि विदेशीको मुख ताक्ने दिनको भने अन्त्य भएको छैन ।
नेपालमा कम्युनिष्टहरुको विशिष्ट पहिचान निर्माण भएको छ । नेकपा एमालेले तीन दशक संसदीय राजनीतिमा निर्वाह गरेको भूमिकाले नेपालमा कम्युनिष्टहरु सर्वाधिक लोकप्रिय भएका हुन् । केही पार्टीले हिंसा, आतंक, भ्रष्टाचार, चन्दा असुली, लुटपाटलाई नै कम्युनिष्टको पहिचान बनाउन खोजेका थिए । तर, उनीहरुले बनाउन खोजेको पहिचान स्थापित भएन । एमालेले स्थापित गरेको पहिचान नै नेपालमा कम्युनिष्टहरुको परिचय बन्न पुगेको छ । अहिले नेपालमा कम्युनिष्ट पार्टी भनेपछि नेकपा एमाले बुझिन्छ । विकास निर्माण गर्ने एकमात्र पार्टीका रुपमा कम्युनिष्ट एमाले चिनिन्छ । राष्ट्रिय स्वाभिमानमा चट्टानी अडान राख्ने पार्टी कुन हो भनेर जनतालाई सोधियो भने एमाले बुझिन्छ ।
यस बीचमा जनतामा केही भ्रम पनि पारिएको छ । साइनबोर्डमा कम्युनिष्ट लेखेका सबै पार्टी कम्युनिष्ट होइनन् । यो कुरा एमालेले जनतालाई प्रष्ट बुझाउन सकेको देखिँदैन । कम्युनिष्ट साइनबोर्ड हालेकाहरुले वाम एकता, समाजवादी केन्द्र, कम्युनिष्ट एकता भन्दै होहल्ला गरेर भ्रम फैलाउने गरेका छन् । अहिले पनि उनीहरु त्यस्तो हल्ला गरिरहेका छन् ।
के नेपालमा वाम एकता या कम्युनिष्ट एकता आवश्यक छ ? के नेपालमा एउटै कम्युनिष्ट पार्टी सम्भव छ ? यो बारेमा बारम्बार बहस हुने गरेको छ । कम्युनिष्ट को हो र को होइन भन्नेमा प्रष्ट हुन सके मात्र नेपालमा एउटै कम्युनिष्ट पार्टी सम्भव छ या छैन अथवा वामपन्थी एकता आवश्यक छ कि छैन भन्नेमा प्रष्ट हुन सकिन्छ ।
को हो कम्युनिष्ट ?
मुखले मार्क्स, माओ, लेनिनको उच्चारण गर्ने जति सबै कम्युनिष्ट होइनन् । नेपाली कांग्रेसले पनि एक हदसम्म मार्क्सलाई मान्छ । मार्क्स मान्दैमा कांग्रेसलाई कम्युनिष्ट भन्न मिल्दैन । कम्युनिष्टहरुले आफूलाई समाजवादी भन्न सक्छन् तर सबै समाजवादी कम्युनिष्ट होइनन् । सबै कम्युनिष्ट समाजवादी हुँदैनन् । कांग्रेस, मधेस आधारित दलहरु, राजा मान्ने दलहरु, माओवादी, माधव नेपालको पार्टी लगायतले पनि आफूलाई समाजवादी भन्ने गरेका छन् । कतिपयले त पार्टीको नाममै समाजवाद राखेका छन् । तसर्थ, समाजवादको नारा लगाउने सबै कम्युनिष्ट होइनन् ।
नेपालको सन्दर्भमा को कम्युनिष्ट हो र को होइन भनेर छुट्याउन गाह्रो छैन । नेपाली कांग्रेस जन्मजात कम्युनिष्ट विरोधी हो । कांग्रेसको सरकार बनाउने, कांग्रेसलाई चुनावमा जिताउने, कांग्रेसको काखमा बस्ने, कांग्रेसको भान्सामा खाने र बाहिर आएर म कम्युनिष्ट हूँ भन्नेहरु कोही पनि कम्युनिष्ट होइनन् ।
कम्युनिष्टहरु राष्ट्रिय स्वाभिमानको पक्षमा उभिन्छन् । सरकारमा टिक्न र बस्नका लागि राष्ट्रिय स्वाभिमानको विपक्षमा उभिनेहरु कम्युनिष्ट होइनन् । कम्युनिष्टहरु देशको अस्मिता रक्षाका लागि ज्यानको आहुती दिन तयार हुन्छन् । तर, सत्ता र शक्तिका लागि अरुको ज्यान लिनेहरु कम्युनिष्ट हुँदै होइनन् । सरकारबाट निकालिन्छु, कांग्रेसको भान्सामा खान पाउँदिन त्यसकारण राष्ट्रिय अस्मिता र स्वाभिमान विपरित निर्णय गर्न वाध्य भएँ कसैले भन्छ भने बुझ्नुस्, ऊ कम्युनिष्ट हुँदै होइन । त्यस्तो गर्ने र भन्नेलाई राजनीतिक दलका रुपमा बाँचिरहने अधिकार पनि नहुनुपर्ने हो । विदेशी हस्तक्षेप मानेन भने सरकारबाट निकालिन्छु, त्यसैले विदेशी हस्तक्षेप स्वीकार गर्न वाध्य भएँ कसैले भन्छ भने उ दास हो र जनतालाई पनि दास बनाउन चाहन्छ । विदेशीलाई जसले मालिक मान्छ, ऊ देशभित्र मालिक बन्न चाहन्छ । कम्युनिष्टले मालिक र दास स्वीकार गर्दैन । मालिक र दासको अवधारणा मान्नेहरु कम्युनिष्ट हुन सक्दैनन् ।
विश्वमा कम्युनिष्ट उन्मुलन गर्न अमेरिका कम्मर कसेर लागेको छ । त्यही अमेरिकासँग सालनाल जोड्न जानेहरु कम्युनिष्ट हुन सक्दैनन् । हो, अमेरिका एउटा देश हो । एउटा देशका रुपमा अमेरिकासँग सम्बन्ध राख्न सकिन्छ । तर, ऊसँग सालनाल जोड्ने, उसको हस्तक्षेपलाई स्वीकार्ने, नेपालमा हस्तक्षेप गर्न अमेरिकालाई सघाउनेहरु कम्युनिष्ट हुन सक्दैनन् ।
कम्युनिष्ट विकास र समृद्धिको पक्षमा उभिन्छ । कम्युनिष्टहरु राष्ट्रिय स्वाभिमानको पक्षमा उभिन्छन् । कम्युनिष्टहरु विदेशी हस्तक्षेप स्वीकार गर्दैनन् । कम्युनिष्टहरु राष्ट्रिय स्वाभिमानका लागि पद गुमाउन त के ज्यान गुमाउन पनि तयार हुन्छन् ।
यसरी हेर्दा नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी देखिन्छ । त्यो पार्टी हो नेकपा एमाले । माधव नेपालको नेतृत्वमा रहेको झुण्डलाई पार्टी मान्न मिल्ने कुनै पनि आधार भेटिएको छैन । यद्यपी त्यो पार्टीमा इमानदार कम्युनिष्ट कार्यकर्ताहरु राम्रै संख्यामा छन् । माओवादीलाई पनि कम्युनिष्ट मान्न मिल्दैन । माओवादी र माधवको पार्टी भनेका कांग्रेसको भ्रातृ संगठन जस्ता हुन् । कांग्रेस बिना हाम्रो प्राण रहँदैन भनेर उनीहरुले घोषणा गरिसकेका छन् । कम्युनिष्ट पार्टीको प्राण जनतामा हुन्छ, कांग्रेसमा हुँदैन । जसको प्राण कांग्रेस पार्टीको हातमा हुन्छ, उ कसरी कम्युनिष्ट हुन्छ ?
वाम तालमेल
यो गठवन्धन सरकारले स्थानीय चुनाव गर्न मानेकै थिएन, एमालेको दवाबमा चुनाव गर्न वाध्य भएको हो । आउँदो मंसिरमा आमचुनाव हुनुपर्ने छ । तर, मंसिरमा चुनाव गर्न प्रचण्ड, देउवा र माधवहरु तयार छैनन् । चुनाव भयो भने सरकार गुम्छ, त्यसैले चुनाव नगरी अरु केही महिना लुटमार मच्चाउने उनीहरुको दाउ छ ।
ढिलोचाँडो आमचुनाव गर्न वाध्य भइन्छ भन्ने देउवा, प्रचण्ड र माधवहरुलाई थाहा छ । त्यसैले उनीहरु तालमेल र गठवन्धनको कुरा गर्दैछन् । उनीहरुले कम्युनिष्ट हौं भन्ने भ्रम दिन वाम तालमेल र एकताको कुरा निकालेका हुन् । उनीहरुले आफूहरु पनि एमले जस्तै कम्युनिष्ट हौं भन्ने भ्रम दिन वाम तालमेलको गफ दिएका हुन् । कांग्रेस र विदेशीहरुको पाउमा लम्पसार परेको ढाकछोप गर्न वाम एकता भनेका हुन् । अहिले त उनीहरु समाजवादी एकता समेत भन्दैछन् ।
उनीहरुले वाम गठवन्धन, वाम तालमेल या समाजवादी केन्द्रमा एमाले पनि हुनुपर्छ भन्दैछन् । एमालेले मानेन त्यसैले कांग्रेससँग तालमेल गरेका हौं भन्ने उनीहरुको दाउ देखिन्छ । कम्युनिष्टका नाममा नक्कली कम्युनिष्टसँग एमालेले तालमेल या एकता गर्ने कुरै छैन । कांग्रेससँग मिलेर चुनाव लड्ने उनीहरुको ग्राण्ड डिजाइन स्वदेश तथा विदेशमा निर्माण भइसकेको छ । यो ग्राण्ड डिजाइन ढाकछोप गर्न पनि उनीहरु एमालेले तालमेत गर्न नमानेको हुनाले कांग्रेससँग गर्न परेको हो भन्नेवाला छन् ।
संसदीय राजनीतिमा जोसँग पनि तालमेल या गठवन्धन हुनसक्छ । तर, अहिले उनीहरुको तालमेल र गठवन्धन आन्तरिक राजनीतिसँग मात्र जोडिएको छैन । नेपालमा कम्युनिष्ट सिध्याउने, नेपालको राष्ट्रिय स्वाभिमान लिलाम गर्ने, नेपालको राष्ट्रिय हित विपरित कार्य गर्ने, नेपालको स्वतन्त्र परराष्ट्र नीति भत्काउने लगायतका उद्देश्य बोकेर उनीहरु बीच गठवन्धन बनेको छ । त्यसैले उनीहरुको गठवन्धनलाई चुनावी आवश्यकताले मात्र बनेको मान्न सकिँदैन । देशको हितभन्दा अरुको हित सोच्नेहरुसँग एमालेले कुनै हालतमा तालमेल गर्दैन ।
कांग्रेसलाई धुरी बनाएर विदेशी डिजाइनमा बनेको गठवन्धनको उद्देश्य त्यसमा रहेका पार्टीहरुको हितमा पनि देखिँदैन । गठवन्धनमा प्रभाव पार्ने टाठावाठा जमिन्दार नेताहरुको निजी तथा पारिवारिक हितमा उनीहरुको तालमेल हुँदैछ । विदेशीहरुलाई यस्तै कमजोर नैतिक धरातलमा उभिएका नेता, पार्टी र गठवन्धन चाहिन्छ । विदेशीले सजिलै ब्ल्याकमेलिङ गर्न सकिने पात्र खोजी गर्छन् । यसका लागि गठवन्धनमा रहेका दल र नेताहरु अति उपयुक्त छन् । त्यस्ताहरुले एमालेलाई चुनावी तालमेल, वाम एकता, कम्युनिष्ट एकता र समाजवादी केन्द्र निर्माणको चारो फाल्नु हास्यास्पद छ ।
पछिल्लो पटक पुष्पकमल दाहाल प्रचण्ड भारत जानुभयो । उहाँ जानु अघि नै नेपालमा वामपन्थी एकताको विषयलाई निक्कै उछालिएको थियो । प्रचण्ड लगायतका एक प्रजातिका नेताहरु एउटै कम्युनिष्ट केन्द्र बनाउने, एउटै पार्टी बनाने भन्दै दगुरिरहनुभएको अहिले देख्न सकिन्छ । भारतबाट फर्कनासाथ कांग्रेस र माओवादीका खासखास परिवारका खासखास व्यक्तिहरुले भविष्यमा विभिन्न पदहरु लिने भनी चलेको हल्लालाई ‘हावा नलागी पात नहल्लिएको’ भन्न सकिन्छ ।
पित्तलको डल्लोमा ‘सुन’ लेख्दैमा त्यो सुनमा परिणत हुँदैन । पित्तललाई सुन भनेर केही बेर झुक्याउन सक्छन् तर सधैं सक्दैनन् । नेपालमा कम्युनिष्ट साइनबोर्ड हालेर बसेका कैयन राजनीतिक पसल छन् । नेपालको सात दशक लामो कम्युनिष्ट आन्दोलनको क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुन हो, अरु पित्तल हुन् भन्ने प्रमाणित भइसकेको छ । पित्तल र सुनको गठवन्धन हुन सक्दैन । केही वर्षपछि ती पार्टीहरु हामी पित्तल नै हौं भन्दै आएमा तालमेल हुन पनि सक्ला, यो बेग्लै कुरा हो ।
एउटै कम्युनिष्ट पार्टी बनाउने भन्नुको अर्थ सुन र पित्तललाई मिसाउने भनेको हो । विगतमा सुन र पित्तल मिसाउने काम गरियो तर सफल भएन । सुन र पित्तल बेग्लाबेग्लै भइसकेका छन् ।
बुढाे बाघ र सुनकाे बाला
आजको सन्दर्भमा कम्युनिष्ट एकताको कुनै अर्थ छैन । हो, कम्युनिष्टहरुको एउटै केन्द्रको भने अर्थ छ । नेकपा एमाले देशको सर्वाधिक ठूलो पार्टी हो । यो नै कम्युनिष्टहरुको केन्द्रमा रुपान्तरण भइसकेको छ । त्यसैले अब कम्युनिष्ट एकता भन्नुको अर्थ छैन, एकमात्र कम्युनिष्ट केन्द्रका रुपमा रहेको नेकपा एमालेलाई बलियो बनाउने र सबैजना त्यसमा गोलवन्द हुने कुराको मात्र अर्थ छ ।
नेपालका कैयन पार्टी तथा नेताहरुको पतन यो हदसम्म भइसकेको छ कि उनीहरुले आफूलाई कम्युनिष्ट भन्न सक्ने अवस्था रहेन । उनीहरुको राजनीतिक ठगी धन्दा अब कम्युनिष्ट नामबाट सम्भव छैन । त्यसैले कम्युनिष्ट शब्दको पर्यायवाचीका रुपमा उनीहरुले समाजवाद या समाजवादी शब्द अघि सारेका छन् । सबै कम्युनिष्ट समाजवादी हुँदैनन्, सबै समाजवादी कम्युनिष्ट हुँदैनन् भनेर माथि नै लेखिसकिएको छ ।
प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले कम्युनिष्ट एकता भन्न छाडेर समाजवादी एकता या समाजवादी केन्द्र बनाउने भनिरहनुभएको छ । उहाँहरुको समाजवादी एकता के हो भन्ने गहिरोसँग बुझ्नैपर्छ ।
प्रचण्ड माधवहरुले भन्न थालेको समाजवादी एकता सुनको माला हो । बुढो बाघ अशक्त भएर सिकार गर्न नसक्ने भएछ । उसले सुनको माला बोकेछ, माला जप्दो रहेछ । यो माला दिन्छु भन्दै विभिन्न जनावरलाई नजिक बोलाउँदो रहेछ । सुनको लोभले जिवजनावर बाघको छेउ पुग्दा रहेछन् । नजिक आएपछि बाघले सिकार गर्दाे रहेछ । यस्तै शैलीमा प्रचण्ड माधवहरुले समाजवादी केन्द्रको माला बोकेको प्रष्ट छ ।
समाजवादी केन्द्र बनाउन खोज्नुमा एउटा मात्र उद्देश्य लुकेको छैन । १७ हजारको नरसंहार गर्ने कथित माओवादी पार्टीबाट आफ्नो पिण्ड छुटाउने प्रचण्डको उद्देश्य छ । यसका लागि पनि माओवादी नाम त्यागेर अरु कुनै नामको पार्टी बनाउने प्रचण्डको चाहना हो । माओवादी नामबाट अब पार्टी चल्न सक्दैन, प्रचण्डको नेतृत्वमा अब पार्टीले गरिखाँदैन भन्ने प्रष्ट भइसकेको छ । त्यसैले नयाँ नाम, नयाँ नारा, नयाँ खोल ओढेर प्रचण्डलाई जनता माझ जानु छ । त्यसका लागि पनि कथित समाजवादी केन्द्र बनाउने प्रयास भएको हो ।
अन्त्यमा
आफ्नो स्वार्थ पर्नासाथ लिखित मौखिक तमसुक गरिहाल्ने, आफू अप्ठेरोमा पर्नासाथ लिखित मौखिक तमसुक गरिहाल्ने मानिस देशभक्त पनि हुन सक्दैन, कम्युनिष्ट पनि हुन सक्दैन । तमसुकको भारी बोकेर हिँडेको मानिसलाई नेता बनाउन पनि हुँदैन । उसलाई विदेशीले ब्ल्याकमेलिङ गरिदिन्छन् । विदेशीको ब्ल्याकमेलिङमा परेर रातारात अडान फेर्छन् । यस्ता शक्तिसँग एमालेको एकता र तालमेल असम्भव कुरा हो ।
एमालेले चुनावमा निश्चय पनि केही पार्टीसँग तालमेल गर्न सक्छ । तर, एमालेले राष्ट्रिय हितलाई लात मारेर कसैसँग तालमेल गर्दैन । विकास र समृद्धिको नारा त्यागेर तालमेल गर्दैन । जसरी पनि चुनाव जित्ने उद्देश्यले अपवित्र साँठगाँठ गर्दैन । कमजोर शक्तिले न्वारानदेखिको बल लगाएर तालमेल गर्ने हो, विदेशीको पाउमा पर्ने हो । एमाले बलियो शक्ति हो, एक्लै चुुनाव लड्ने सामथर््य भएको शक्ति हो, एमाले कम्युनिष्ट एकताको नाममा विदेशीको एम्बुसमा पर्न तयार छैन । यो कुरा सबैले बृुझे हुन्छ ।
भिडियो:
