--निरोज पौडेल--
युवा जनशक्ति देशको सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हो । युवा ऊर्जाशील हुन्छ । युवाले सीप र श्रम खर्च गरेर देशलाई कायापलट गर्न सक्छ । जुन देशमा युवा जनशक्ति छ, त्यो देशले छिट्टै आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गर्न सक्छ । नयाँ समाज निर्माण गर्न सक्छ र नयाँ संरचना बनाउन सक्छ । जनसंख्याको हिसाबले नेपाल अहिले सबैभन्दा बढी युवा भएको देश हो । युवा जनशक्ति धेरै हुनुलाई देश विकासको स्वर्ण युगको रूपमा लिइन्छ । नेपाल अहिले त्यही स्वर्ण युगमा छ । यो समय धेरै रहँदैन । जब ठुलो संख्यामा रहेको युवा प्रौढ हुँदै जान्छ अनि त्यो देश पनि ज्येष्ठ नागरिक धेरै भएको देशमा परिणत हुन्छ । जसले विकासको गति पनि कमजोर बन्दै जान्छ । नेपालले अहिलेको यो स्वर्णिम युगलाई जसरी उपयोग गर्न सक्नुपर्ने हो त्यसरी गर्न सकेको छैन । युवा जनशक्ति देशमा काम गर्ने वातावरण नबनेको कारण दैनिक विदेशिँदै छ । देश बनाउनुपर्ने युवा मलेसिया र खाडीका देश बनाउँदै छन् । देशलाई सिँगार्नु पर्ने हातहरू विदेशीका पर्खाल ठड्याउँदै छन् । जब युवासँग सम्बन्धित दिवस पर्छन्, जब जब निर्वाचनमा खट्नु पर्ने हुन्छ तब युवालाई सम्झने गरिन्छ, युवाकाे चर्चापरिचर्चा हुने गर्छ । सन्दर्श हाे अन्तर्राष्ट्रिय युवा दिवसकाे । 'अन्तरपुस्ता ऐक्यवद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता' भन्ने नारासाथ नेपालमा पनि आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।
दिवसका अवसरमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले रक्तदान लगायत कार्यक्रम गरिरहेकाे छ । युवासँग सम्बन्धित संघ-संस्थाले पनि विभिन्न कार्यक्रम गरिरहेका छन् । हरेक वर्ष अगष्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसकाे विश्वनारा भने 'हाम्रो विश्व परिवर्तन गरौँ' भन्ने तय गरिएकाे छ ।
युवाका पक्षमा नेपालमा थुप्रै नारा लेखिए । देशकाे भविष्य युवाकाे हातमा भनेर थुप्रै नारा लगाइए । सरकारकाे नीति तथा कार्यक्रम साथै राजनीतिक दलकाे घाेषणापत्रमा युवासम्बन्धी थुप्रै कार्यक्रम समेटियाे ।
युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन भने अझै सकेका छैनन् । यद्यपि युवाका मुद्दा केही हदमा सम्बाेधन हुन भने थालेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा युवापुस्ताकाे सक्रिय सहभागिता रह्याे । विशेषगरी युवा पुस्तालाई अगाडि सार्नुपर्छ भन्ने संकल्प बाेकेकाे नेकपा एमालेले धेरै युवालाई अवसर दियाे । प्रमुख-उपप्रमुख,अध्यक्ष-उपाध्यक्ष,वडाध्यक्ष र सदस्यमा एमालेबाट उठेका युवाले सफलता प्राप्त पनि गरे । अन्य दलले पनि युवालाई केही हदसम्म अगाडि सारे । तर तुलनात्मक रुपमा युवालाई अघि सार्नेमा एमाले नै अग्रपंक्तिमा देखियाे ।
अवसर दिएमा युवाहरु नेतृत्व गर्न सक्षम छन् भन्ने कुरा स्थानीय तहकाे चुनावले पनि पुष्टि गर्याे । स्थानीय तहकाे चुनावमा करिब ४० प्रतिशतको हाराहारीमा युवाहरु निर्वाचित भएका छन् । यो एउटा सुखद संकेत हो । केपी ओली नेतृत्वकाे सरकारले युवाका पक्षमा निक्कै रचनात्मक कामकाे थालनी पनि गर्याे । शैक्षिक प्रमाणपत्र धिताे राखेर ऋण दिने लगायत कार्यक्रम अगाडि सार्याे ।
अब हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पनि युवाहरुको प्रतिनिधित्व त्यो भन्दा उत्साहप्रद हुनैपर्छ । त्यसका लागि युवाहरु लाग्नैपर्छ । यसरी लागे मात्र एमालेले अगाडि सारेकाे ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा चाँडै पूरा गर्न सम्भव हुनेछ । देश निर्माणमा युवाकाे अहम् भूमिका हुन्छ । ज्येष्ठकाे आर्शिवाद र साथ लिँदै युवाहरु देश निर्माणमा जुट्न जरुरी पनि छ ।
युवाकाे अवस्था
कुल जनसंख्याको ४० प्रतिशत भन्दा बढी युवाहरु रहेको नेपालमा युवा दिवसको छुट्टै महत्व छ । त्यसो त युवा दिवस मनाएर मात्र समग्र युवाको विकासमा खासै योगदान नपुर्याए पनि यसको सांकेतिक अर्थ भने महत्वपुर्ण छ ।
कमनवेल्थ राष्ट्रहरुको संगठनले युवा विकासका विविध आयामहरुलाई समेटेर विश्व युवा विकास सूचकांक प्रकाशन गर्ने गरेको छ । युवा विकास सूचांक गणना गर्दा युवाहरुको स्वास्थ्य तथा कल्याणको अवस्था, शिक्षा, रोजगारी र अवसर, समानता र समावेशिता, राजनीति र नागरिक सहभागिता, शान्ति तथा सुरक्षा जस्ता विषयहरुलाई आधार बनाइएको हुन्छ । यिनै विषयको आधारमा गणना गरिएको विश्व युवा विकास सूचकांक २०२० का अनुसार ० दशमलव ८७५ नम्बरसाथ सिंगापुर पहिलो स्थानमा छ भने चाड ० दशमलव ३९८ नम्बर साथ अन्तिम स्थानमा छ । साे सूचकांकमा नेपाल भने ० दशमलव ६८९ स्कोरका साथ ९४ औँ स्थानमा छ ।
नेपालको सामर्थ्यकाे चर्चा गर्दा यहाँको युवा शक्तिलाई प्राथमिकतापूर्वक उल्लेख गर्ने गरिन्छ । देशको जनसंख्याको ठूलो हिस्सा युवा हुनुलाई नीति निर्माताहरु जनसांख्यिक लाभको रुपमा व्याख्या गर्ने गर्छन् । भाषणवाजी र नीतिगत छलफलमा युवाशक्तिलाई प्राथमिकतामा राखे पनि युवालाई अवसर दिन भने राष्ट्र चुकेको छ । जीवनको सबैभन्दा उर्जाशिल समय भए पनि नेपाली युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी तथा अर्धबेरोजगारी भएको छ । श्रमशक्ति सर्वेक्षण ०७५ का अनुसार देशभरमा ९ लाख ८ हजार जना पूर्ण बेरोजगार छन् । यी पूर्ण बेरोजगार जनसंख्याको ३८ दशमलव १ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका छन् । २५ देखि ३४ वर्ष उमेर समूहका ३१.१ प्रतिशत छन् ।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा उच्च बेरोजगारी दर मधेश प्रदेशमा २० दशमलव १ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५ प्रतिशत, लुम्बिनी प्रदेशमा ११ दशलमलव २, प्रदेश-१ मा १० दशमलव २, कर्णाली प्रदेशमा ९ दशमलव ७ प्रतिशत, गण्डकी प्रदेशमा ९ प्रतिशत र वाग्मती प्रदेशमा सबैभन्दा कम ७ प्रतिशत बेरोजगारी दर छ । उच्च उत्पादकत्व भएका यी युवाको अर्थतन्त्रमा उपयोग हुन नसक्नु उनीहरुको लागि मात्र होइन देशकै लागि ठूलो नोक्सान हो ।
देशभित्र रोजगारीको अभावमा करिब ४ लाख युवाहरु विश्व श्रम बजारमा पुगेका छन् । वैदेशिक रोजगारीका लागि गएका युवाहरुले पठाएको विप्रेषणले देशको कुल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत हिस्सा ओग्ट्छ । त्यति मात्र होइन विदेशी मुद्रा सञ्चिति खस्कदै गएर दुर्घटना निकट पुगेको नेपाली अर्थतन्त्रलाई एउटा भरपर्दो आधार बनेको छ युवाहरुले वैदेशिक रोजगारीबाट पठाएको विप्रेषण ।
देशलाई खबरदारी र युवालाई आह्वान
देशको सामर्थ्यकाे रुपमा रहेको युवा शक्तिको महत्व देशले बुझ्न सकेको छैन । त्यसैले त नीतिगत तहमा युवाका मुद्दालाई सही रुपमा उठाइएको छैन् । युवाको समस्या समाधानमा सरकार गम्भीर देखिँदैन । राजनीतिक दलहरुले पनि युवा प्रतिनिधित्व र राजनीतिमा युवालाई अवसर दिन कञ्जुस्याइँ गरेको देखिन्छ । दुःखसाथ भन्नुपर्छ युवालाई नेतृत्वले खासै विश्वास गरेको देखिदैन । तर यथार्थ के हो भने - विश्वका महान व्यक्तित्वहरुले युवा अवस्थामा नै इतिहास निर्माताको रुपमा आफूलाई स्थापित गरिसकेका थिए । विश्व कम्युनिष्टका महान गुरु कार्ल मार्क्स कम्युनिष्ट घोषणा पत्र तयार गर्दा ३० वर्षका थिए । नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा कमरेड पुष्पलाल पच्चिस वर्षका युवा थिए । जार शाही विरुद्ध आहुती दिँदा अलेकजेनण्डर हुन या राणाशासन विरुद्ध सगर्व फाँसी चढ्ने गंगालाल पनि युवा नै थिए । यी तथ्यहरुले पनि युवा अवस्था जोस, जाँगर, सिर्जनशीलता र क्रान्तिकारिताले भरिपूर्ण हुन्छ भन्ने पुष्टि हुन्छ ।
भर्खर सम्पन्न स्थानीय तहकाे चुनावमा ४० प्रतिशतको हाराहारीमा युवाहरु निर्वाचित भएका छन् । यो एउटा सुखद संकेत हो । अब हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पनि युवाहरुको प्रतिनिधित्व त्यो भन्दा उत्साहप्रद हुनैपर्छ र त्यसका लागि युवाहरु लाग्नैपर्छ । जाग्नैपर्छ । यसले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय सपना पूरा गर्न सम्भव तुल्याउँछ ।
नेपालमा युवा विकासको लागि नीतिगत तथा संस्थागत व्यवस्था हुँदै नभएको पनि होइन । युवा विकासका लागि संवैधानिक व्यवस्था हुनु, युवाहरुको समग्र विकासका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद् लगायत विभिन्न संरचनात्मक प्रबन्ध हुनु सकारात्मक पक्ष हुन् । तर पनि यी व्यवस्था पर्याप्त हुन सकेका छैनन् । युवालक्षित नीति तथा कार्यक्रम पनि अनुसन्धानमा आधारित नहुँदा तथा अद्यावधिक तथ्यांकको अभावमा सहज कार्यान्वयन र नतिजामूखी हुन सकेका छैनन् । आन्तरिक श्रम बजारमा भएको श्रमिकको माग र आपूर्तीको वस्तुगत तथ्यांक तथा समन्वयको अभावमा एकातर्फ श्रमिकले रोजगारी नपाउने अवस्था छ भने अर्कोतर्फ श्रमबजारमा श्रमिकको अभाव पनि देखिएको छ । यस्तो अवस्थाको अन्त्यको लागि वडा तथा पालिका तहबाट नै युवा जनशक्तिको तथ्यांक अद्यावधिक गर्ने श्रमबजारसँग समन्वय गर्नुपर्ने देखिन्छ । हाल भैरहेको जस्तो युवा श्रमशक्तिको निर्यात र उपभोग्य वस्तुको आयात गर्ने अवस्था रहने हो भने जनसांख्यिक लाभबाट देशले खासै फाइदा लिन सक्दैन् ।
देशका हरेक क्षेत्रको विकासको अवस्था प्रारम्भिक चरणमा रहनुले देशभित्रै असीमित अवसरलाई देखाउँछ । त्यस्तै भुमण्डलीकरणले साँघुरो बनाएको विश्वमा देशभित्रैबाट विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने वातावरण पनि बनाएको छ । तर यी निकायले समग्र युवालाई समेट्न सकेको छैन् । त्यसैले युवा लक्षित यी संस्थागत संरचनालाई स्पष्ट कार्यदिशा, वलियो संरचना, विस्तारित भूमिका तथा राजनीति हस्तक्षेपमुक्त बनाउने हो भने यिनको कार्य सम्पादन अझ प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ । विद्यमान अवसरहरुलाई अझ विस्तार गर्दै युवाहरुको क्षमतालाई देशभित्रै उपयोग गर्न सके देशको आर्थिक वृद्धि र समृद्धिले गति लिन सक्नेमा विश्वस्त हुन सकिन्छ ।
र अन्त्यमा, अवसर मागेर पाइँदैन, संघर्ष गरेर लिनुपर्छ । जुनसुकै क्षेत्रमा युवाको प्रतिनिधित्वको लागि पनि यो मन्त्र लागू हुन्छ । हरेक क्षेत्रमा रहेका युवाहरुले आफ्नो क्षेत्रमा परिवर्तनको लागि नेतृत्व गर्न हरदम तयार रहनैपर्छ । त्यसैले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हरेक युवाले प्रतिवद्धता व्यक्त गरौँ र अर्को युवालाई आह्वान गरौँ ‘अबको पालो युवाको हो र युवाको नेतृत्वमा नै भोलिको सुन्दर र समृद्ध नेपाल सम्भव छ, समृद्ध विश्व सम्भव हुन्छ ।’ आउ हातेमालो गरौँ विश्व परिवर्तनको लागि !
(लेखक राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुनुहुन्छ)
