नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले दुखी बनाएको छ । सबैभन्दा पहिला स्वर्गीय प्रदीप गिरी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु । स्व प्रदीप गिरी प्रखर समाजवादी चिन्तक तथा सरल व्यवहारका राजनीतिज्ञ हुनु हुन्थ्यो । उहाँको बारेमा बीपीसँग बनारस बसाइताका भएका विवाद समेतका विविध कुरा हाम्रो काठमाडौं स्थित डेरामा आउने गरेका भूमिगत कांग्रेस कार्यकर्ताबाट २०२६/०२७ सालदेखि नै सुनेको थिएँ । प्रत्यक्ष भेट भने भएको थिएन । उहाँसँग प्रत्यक्ष भेट भने २०४३/०४४ साल तिर भएको हुनुपर्छ । उहाँको पुतलीसडक स्थिति उहाँकै डेरामा भएको थियो । त्यस बखत म नेकपा चौथो महाधिवेशन (चौम) मा थिएँ । २०३५ सालमा म नेकपा चौमको रामेछाप जिला पार्टी सेक्रेटरी थिएँ । २०४३ सालमा नेकपा चौमको तर्फबाट रामेछापमा जन पक्षीय उम्मेदवार थिएँ । रामेछाप जिल्ला प्रशासनले मेरो उम्मेदवारीमै विवाद गर्दा अधिवक्ता अग्नि खरेलले बहस गरेर उम्मेदवारी स्विकार्न लगाउनु भएको थियो । चुनाव हारे पछि २०४३ सालमा नै मलाई पक्राउ गरेर रामेछाप जेलमा हालियो । भाइ ज्ञानु चौलागाईंले सर्वोच्चमा वन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्नुभयो । वरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुरेल, विश्वकान्त मैनालीले बहस गर्नुभयो । न्यायाधीश प्रचण्डराज अनिलको इजलासमा मेरो मुद्दा थियो । अदालतले मेरो पक्षमा फैसला गर्यो । सात/आठ महिना पछि सर्वोच्च अदालतको आदेशबाट म छुटेँ । त्यही जेलबाट छुटेर काठमाडौं गएपछि मेरो प्रदीप गिरीसँग भेट भएको हो । पञ्चायत व्यवस्था उत्कर्षमा पुगेको थियो । पञ्चायत आफ्ना आलोचक र विरोधीलाई देख्न र सुन्न समेत चाहँदैन थ्यो । कांग्रेस र कम्युनिष्टको त नाम पनि लिन चाहँदैनथ्यो । अझ कम्युनिष्टसँग निर्मम र आततायी भएर उत्रिएको थियो । पञ्चायत विरोधीले कि भूमिगत हुनुपर्दथ्यो । कि त जेल हाल्थ्यो । धेरै नेताहरू जेलमा थिए । धेरै भारत निर्वासनमा थिए । खुल्ला रहनेले कुनै वैधानिक संस्थाको नाममा क्रियाशील हुनु पर्दथ्यो । प्रदीप गिरी, ऋषिकेष शाहहरू मिलेर मानव अधिकार संगठन चलाउनु हुन्थ्यो । त्यसैले उहाँहरू जोगिन सक्नु भएको थियो । गिरीले पहिलो भेटमै मार्क्स, लेनिन र रोजा लक्जेमवर्ग बिचको विवादका विषय सविस्तार बताउनुभयो । लिओन ट्राट्स्किको लेनिनसँगको मतभेद र स्टालिनले उहाँलाई खेदेका कुरा सविस्तार बताउनुभयो । यो सुन्दा म छक्क परेँ । म आफूलाई पनि अध्ययनशील नै ठान्दथेँ । एउटा कांग्रेस कार्यकर्ताको मुखबाट कम्युनिष्ट इतिहास र सिद्धान्तका बारे यति धेरै जानकारी सुन्दा म छक्क परेको थिएँ । उहाँले मार्क्सवाद र समाजवादका बारे मात्रै होइन विश्व कम्युनिष्ट आन्दोलनको बारेमा पनि मसिनो गरी अध्ययन गर्नुभएको थियो । कांग्रेसको मुखबाट कम्युनिष्ट इतिहासका यति धेरै जानकारी सुन्न पाउँदा अचम्म लाग्नु स्वाभाविक थियो । प्रदीप गिरी भारतीय समाजवादी नेता डा. राम मनोहर लोहियाको समर्थक हुनुहुन्थ्यो । प्रथम भेटमा नै उहाँले लोहियाद्वारा लिखित र आफूद्वारा लिखित समाजवादको, मार्क्स बारेको किताब र मानव अधिकार संगठनको विधान दिनु भयो । रेडियो नेपालको अङ्ग्रेजी समाचार वाचिका भारती सिलवाल गिरीसँग उहाँले नै त्यहीँ परिचय गराइ दिनुभयो । पछि पनि उहाँसँग बेलाबखत भेट भइरहन्थ्यो । उहाँ मार्क्सवादकाे ज्ञाता, समाजवाद प्रति आस्थावान् राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँको नेपाली राजनीतिमा अलग्गै पहिचान थियो । नेपालको समाजवादी जमात भित्रको बौद्धिक सर्कलमा उहाँको अभाव खड्की रहेन छ । (लेखक नेकपा एमाले पोलिटब्युरो सदस्य हुनुहुन्छ)
प्रदीप गिरी : मार्क्सवादकाे ज्ञाता, समाजवाद प्रति आस्थावान् राजनीतिज्ञ
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले दुखी बनाएको छ । सबैभन्दा पहिला स्वर्गीय प्रदीप गिरी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल...
SUNRISE KHABAR
2 min read
