-गोविन्द थापा-
देशमा समस्यै समस्या छ तर समाधान के ? देश ओरालो लागिरहेको छ, समाल्ने कसले ? राष्ट्रियता खतरामा पर्दैछ, जोगाउने कसले ? देशको स्वाभिमान ध्वस्त हुँदैछ, उठाउने कसले ? देशलाई विदेशीको खेल मैदान बनाइँदैछ, प्रतिकार गर्ने कसले ?
आजका यी ज्वलन्त चिन्ताजनक प्रश्नको समाधान पाइएको छ । नेकपा एमालेको केन्द्रीय समितिको चौथो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनले देशमा नयाँ आशा र उत्साह जगाएको छ । देशलाई बाटो देखाएको छ, निरास जनतामा आशाको संचार गराएको छ ।
शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतको गिरोहले अन्तराष्ट्रिय सेटिङ गरेर वर्तमान संविधानलाई बेहोस बनाइएको छ । चौकीदारलाई नियन्त्रणमा लिएपछि मात्र चोर भित्र पस्न सक्छ । त्यसैगरी संविधानलाई बेहोस नबनाई जनादेशबाट बनेको सरकार ढालेर परमादेशबाट सरकार बनाउन सम्भव थिएन । गठवन्धन नामको गिरोहले संविधानलाई बेहोस बनाएको छ, क्षतविक्षत बनाएको छ । लोकतन्त्र अहिले गठवन्धनको पोल्टामा बन्दक बनेको छ । गठवन्धनभित्रको गिरोह र गिरोह भित्रका नाइके नेताहरुले जसोजसो गर्छन् त्यो लोकतन्त्र भन्नुपर्ने विडम्बनापूर्ण अवस्था छ ।
यस्तो अवस्थामा नेकपा एमालेको ऐतिहासिक केन्द्रीय समितिको बैठक बसेको हो । एमाले मात्र नभएर कुनै पनि मुख्य दलको केन्द्रीय समितिको बैठक बस्नु खासै ठूलो घटना होइन । तर, एमालेको यस पटकको वैठक भने ऐतिहासिक र निर्णायक सावित भएको छ । अध्यक्ष केपी ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनले देशको समग्र तस्विर उतारेको छ । देशको आन्तरिक अवस्थाको एक्सरे गरे झैं गरी सटिक चित्रण गरेको छ ।
देशको अवस्थाको सही मूल्यांकन नगरी भविष्यको बाटो तय गर्न सकिँदैन । नेकपा एमालेको केन्द्रीय समितिले सर्वसम्मतिले पारित गरेको प्रतिवेदनको सबैभन्दा मुख्य विशेषता हो– देशको आजको अवस्थाको अत्यन्त ठिक ढंगले अति सजिव चित्रण गरिएको छ । अर्थात्, आजको समस्या केके हो भन्ने ठम्याउन नेकपा एमाले सफल भएको छ ।
एमालेले ठम्याएको समस्याको विभिन्न पक्ष छन् । पहिलो समस्या हो– संविधानलाई बेहोस बनाइएको छ । जनादेशको सरकार ढालेर सेटिङ मार्फत् परमादेशको सरकार बनाउनु नै देशको आजको मुख्य समस्या हो भन्ने ठहर एमालेले गरेको छ । एमालेले देशको सबैभन्दा मुख्य समस्या पहिचान गरेको छ । समस्या पहिचान गरेपछि त्यसको समाधान पनि ठोस ढंगले दिन सक्नुपर्छ । एमालेले देखेको समाधान हो– परमादेश विरुद्ध जनादेश । अर्थात्, परमादेशबाट बनेको सरकार र त्यसको बाइप्रडक्टका रुपमा रहेको गठवन्धनबाट देशलाई छुटकारा दिलाउनु नै देशका मुख्य समस्याहरु समाधान गर्ने पहिलो पाइला हो ।
सर्वसम्मतिले पारित भएपछि अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदन नेकपा एमालेका समस्त कार्यकर्ताहरुको सम्पत्ति बनेको छ । एमालेको सम्पत्ति नै नेपाली जनताको सम्पत्ति हो । अर्थात्, केन्द्रीय समितिको ऐतिहासिक वैठकले पारित गरेको प्रतिवेदन नेपाल र नेपालीको महान उपलब्धीका रुपमा अंकित भएको छ ।
नेकपा एमालेका विगतका राजनीतिक प्रतिवेदनहरु भन्दा अहिलेको प्रतिवेदन धेरै कारणले भिन्न छ । प्रतिवेदनको आकार सानो छ तर गहिराई धेरै छ । देशका समस्यालाई सटिक ढंगले प्रतिवेदनमा उठान गरिएको छ भने त्यससँगै समाधान पनि सुझाइएको छ ।
गठवन्धन सरकारलाई निर्वाचन मार्फत् विस्थापित गरेर यसको बोझा विसाउनु नै समाधान हो भन्ने शशक्त विचार प्रतिवेदनमा राखिएको छ ।
नेकपा एमालेको राजनीतिक प्रतिवेदनले देशका यावत समस्याहरुको पहिचान गरेको देख्न सकिन्छ । जस्तो कि:
परमादेशबाट षडयन्त्रमूलक ढंगले सरकार बनाइएपछि देशले भोगिरहेको दुर्गतिको समाधान के हुनसक्छ ? मुख्य समाधान भनेको चुनाव हो । आमचुनाव मार्फत् देशले यो गठवन्धनबाट मुक्ति खोज्नुपर्छ भन्ने नेकपा एमालेको धारणामा असहमत जनता शायदै होलान् ।
संविधानलाई बेहोस बनाएर गठवन्धन गिरोहले देश चलाइरहेको छ । बेहोस संविधानको रक्षक मुख्यत तीन शक्ति हुन्, पहिलो हो– जनता, दोस्रो हो राष्ट्रपति संस्था र तेस्रो हो सर्वाेच्च अदालत । गठवन्धन गिरोहले संविधानलाई बेहोस बनाएसँगै सर्वाेच्च अदालतलाई पनि अपांग बनाएको छ । त्यसैगरी गठवन्धन गिरोहले राष्ट्रपति संस्थालाई निरन्तर आक्रमण गरिरहेको छ । गणतन्त्रका हिमायती हौं, गणतन्त्र हामीले ल्याएका हौं भन्नेहरु नै गणतन्त्रका सर्वाेच्च प्रतिक राष्ट्रपति संस्थामाथि आक्रमण गरिरहेका छन् । यो अवस्थामा नेकपा एमालेले पहिलो शक्तिमाथि पूर्ण भरोसा गरेको छ । त्यो शक्ति हो जनता ।
नेपालमा धेरै पार्टी छन् । ससाना पार्टीको कुरा बेग्लै हो, संसद्मा प्रतितिनित्व गर्ने हैसियत बनाएका दलहरुमध्ये नेकपा एमाले मात्र एउटा त्यस्तो पार्टी हो जसले जनतामा भरोसा गर्छ । जनमत अपहरण गर्न एमालेले कुनै अवाञ्छित हर्कत गर्ने गरेको छैन । विचार सिद्धान्त केही पनि नमिले पनि परिवार परिवार मिलेर देश लुट्ने उद्देश्यले बनाइएको गठवन्धनका दलहरुलाई जनताप्रति विश्वास र भरोसा छैन । त्यसैले उनीहरुले एकअर्काको जनमत लेनदेन या साटफेर गर्न कथित गठवन्धन गरेका छन् । जनतामा पूर्ण विश्वास भएको भए उनीहरुले एक्लै चुनाव लड्ने हिम्मत गर्नुपर्ने हो तर सक्दैनन् । जनतालाई पूर्ण भरोसा गरेर अगाडि बढ्ने एकमात्र पार्टी नेकपा एमाले मात्र हो भन्ने तथ्यलाई प्रष्टसँग राजनीतिक प्रतिवेदनले स्थापित गरिदिएको छ ।
नेकपा एमालेको यो राजनीतिक प्रतिवेदनलाई घरघरमा पुराउन आवश्यक छ, हरेक नागरिक बीच पुराउन आवश्यक छ । देशको समस्या केके हो र समाधान के हो भन्ने जनताले बुझ्नुपर्छ ।
यो प्रतिवेदनले कथित गठवन्धनले फैलाएको हल्ला र भ्रमको तुँवालो चिरिदिएको छ । यो गठवन्धनको लोकतन्त्रसँग कुनै नाता छैन, गठवन्धन गिरोह निजी र पारिवारिक स्वार्थमा मात्र केन्द्रीत छ भन्ने जनताले बुझिसकेको तथ्यलाई नेकपा एमालेले जसरी लिपिवद्ध गरेको छ, त्यसको उच्च महत्व रहेको छ । गठवन्धन गिरोहको दुई मुख्य परिवारले ती परिवारका सदस्यहरु बीच पदको भागवण्डा भारतमा गएर गरेको तथ्य पनि प्रतिवेदनले उजागर गरेको छ ।
निजी स्वार्थमा चुर्लुम्म डुबेको गठवन्धन गिरोहले आमचुनाव भाँड्ने त होइन ? यो आशंका पनि गर्न सकिन्छ । तर, व्यापक जनदवाबका कारण गठवन्धनले चुनाव टार्न सक्दैन भन्ने विश्वासका साथ अध्यक्ष ओलीको प्रतिवेदन आएको देखिन्छ ।
यो राजनीतिक प्रतिवेदनसँगै अब देश दुई ध्रुवमा बाँडिन आवश्यक छ । कथित गठवन्धनको साथमा लागेर निजी स्वार्थ पूरा गर्ने, देश लुट्ने, विदेशीको सेवा गर्ने, नेपालको राष्ट्रियतामाथि प्रहार गर्ने तत्व तथा व्यक्तिहरु एकातिर उभिन आवश्यक छ । देशको स्वाभिमान माथि उठाउन चाहने, विकास र समृद्धि चाहने, भ्रष्टाचार नियन्त्रण गर्न चाहने, विदेशी हस्तक्षेपबाट देशको रक्षा गर्न चाहनेहरु अर्काे कित्तामा उभिन आवश्यक छ ।
लोकतान्त्रिक प्रणालीमा पार्टीहरु बीच आमचुनावमा प्रतिस्पर्धा हुन्छ । तर, अहिलेको दर्दनाक परिस्थितिमा पार्टीहरु बीच चुनाव हुन गइरहेको छैन । आउँदो आमचुनाव देशभक्त र देश विरोधीहरु बीच हुन गइरहेको छ । आउँदो चुनावमा नेपालको शान र स्वाभिमानको पक्षमा लाग्नेहरु एकातिर, विदेशीको पाउमा लम्पसार पर्नेहरु अर्कातिर हुनेछन् । अर्थात्, आउँदो आमचुनाव पार्टीहरु बीच नभएर दुई प्रवृत्ति बीच हुन गइरहेको छ भन्ने नेकपा एमालेको प्रतिवेदनले उजागर गरेको छ ।
आउँदो आमचुनाव देशमा समस्या बढाउनलाई हो कि समाधान खोज्नलाई ? नेकपा एमालेले राजनीतिक प्रतिवेदन मार्फत् हरेक नेपालीलाई प्रश्न सोधेको छ । यो प्रश्नको समुचित आउँदो आमचुनावले सहि ढंगले दिनेमा विश्वस्त हुन सकिन्छ ।
