‘राजनीति केको लागि गरेको ? जोगी बन्नलाई हो र ।’ नेपाली राजनीतिमा निक्कै चल्ने भनाइ हो यो । हुन त पेसा के हो भन्दा ‘राजनीति’ भन्ने राजनीतिक कार्यकर्ताको कमी छैन नेपालमा । राजनीति सेवा हो भन्नेको सङ्ख्या बढेको छ तर तिनीहरू मध्ये अधिकांशले राजनीतिलाई सेवा होइन पेसा नै बनाएका छन् । लोक लाज ढाक्नलाई राजनीति सेवा हो भन्छन् । तर राजनीतिलाई पेसा बनाएर देश दुनियाँलाई लुट्छन् । मुखले एउटा कुरा, मनमा अर्कै कुरा छ । ‘मुखमा राम राम, बगलीमा छुरा ।’ नेपालको राजनीतिमा आएका अधिकांश पात्रको आर्थिक प्रगति लोभलाग्दो छ । पेसा केही छैन, सार्वजनिक पदमा पुगेकाको त कुरै नगरौँ, सार्वजनिक पदमा एक पटक पनि नपुगेको समेत आलिसान जीवनशैली छ । आम्दानीको देखिने श्रोत छैन, गाउँका पाखा पखेरा बाँझैँ छन् । तर सहरमा आलिसान घर बनेका छन्, गाडी छन् । भड्किलो जीवनशैली छ । दश÷आठ जना मान्छे अघिपछि लगाएर हिँडेका छन् । राम्रै होटेलमा बसेका छन् । मिठो मसिनोको त के कुरा विदेशी झोल पनि टन्न पिएका छन् । खाएका छन्, खुवाएका छन्, रमेका छन्, रमाएका छन् । त्यसैले राजनीति प्रतिको मोह बढ्दो छ । राजनीतिमा त्यागी छन्, दानी छन् । योगी छन्, ध्यानी छन्, ज्ञानी छन् । राजनीतिलाई देश र जनताको सेवा हो भन्ने ठानेर आफ्नो सबै सिद्धाएर खाली हात जाने पनि छन् । भएको सबै देशलाई दिने पनि छन् । तर तिनीहरू थोरै छन् । अहिले राजनीतिमा लोभी छन्, भोगी छन्, गुण्डा छन्, डन छन्, हत्याराछन्, अपहरणकारी छन्, बलात्कारी छन्, फटाहा छन्, लुटाहा छन्, गफ चुट्ने छन्, देश लुट्ने छन् । देशको गोप्य सूचना विदेश लाने छन्, भागबण्डा लगाएर मिलाई मिलाई खाने छन् । त्यसैले त राजनीतिमा सबैको आकर्षण बढेको छ । डाक्टरदेखि फरेस्टरसम्म, व्यापारीदेखि कर्मचारीसम्म, दादादेखि सादासम्म, नायकदेखि गायकसम्म सबैको लक्ष राजनीतिमा आउने, पदमा जाने र कुम्ल्याउने बनेको छ । राजनीतिमा आउनेको पदमै पुग्ने, लुट्ने र लुटाउने होड चलेको छ । जहाँ गयो भाग खोज्ने । नेताले भाग खोज्ने, न्यायाधीशले भाग खोज्ने, सचिवले भोग खोज्ने, मन्त्रीले भाग खोज्ने, सांसदले भाग खोज्ने हाकिमले भाग खोज्ने, व्यापारीले भाग खोज्ने कर्मचारीले भाग खोज्ने । भाग नपाए पार्टी फुटाउने, सांसद् उडाउने, देश सिद्ध्याउने उधुम मच्चाउने यस्तो संस्कार विकास हुँदै गएको छ । नेपालमा भागवण्डा लगाएर देश लुट्ने कोही छ भने आफूलाई सबैभन्दा क्रान्तिकारी र श्रमजीको नेता र पार्टी भन्ने देखिएका छन् । कम्युनिष्ट पार्टी र त्यसका नेताको मुख्य कर्म श्रमजीवीको हितमा काम गर्नु हो । तर नेपालमा कम्युनिष्ट भन्नेहरू यति बिग्रिएका छन् कि सत्ताको सबैभन्दा बढी मोह उनीहरूलाई छ । सत्ताको लागि जे पनि गर्ने बीभत्स लालसा उनीहरूमा पलाएको छ । पद, सत्ता र शक्तिकै लागि एक भएको कम्युनिष्ट पार्टी फुट्यो । कम्युनिष्ट पार्टीका नेता फुटे । फुटेर जानेले पनि सत्ताकै लागि बार्गेनिङ गरे । उग्र क्रान्तिकारी भनिएका घोर दक्षिणपन्थीसँग मिल्न पुगे । आफ्नै भित्र पनि भागबण्डाको कुरा । आलोपालोको कुरा,सबैको भाग पुर्याउने कुर, के के हो के के । क्रान्तिकारी कम्युनिष्ट बनाउने भन्दै माधव नेपालले एमाले फुटाउनुभयो । माधव नेपालले एमालेबाट फुटाएर सांसद् लैजाँदा सबैलाई मन्त्री दिने बचन दिनुभयो । त्यसमा पनि सबैभन्दा पहिलो कसले खाने भन्ने भन्ने विवाद चल्यो । मुख छाडाछाड नै भयो । ६ महिना पछि मिलाएर खुवाउँला भन्दै थुमथुम्याउन उहाँलाई कम गाह्रो परेन । ६ महिना बित्यो, पहिला खानेहरू छाड्नै मान्दैनन् । उनीहरूलाई छोडाउन कम्ता मुस्किल परेन उहाँलाई । आठ÷नौ महिना पछि बल्ल बल्ल छुटाउनुभयो । मन्त्री छाडेपछि माधव नेपालसँग उहाँहरूको बोलचाल नै बन्द भयो । साँच्चि नै उहाँहरूले जोगी बन्न राजनीति गर्नुभएको थिएन, त्यसैले त मन्त्री खुस्काउने माधव नेपालसँग बोलचाल गर्ने कुरै भएन । नेकपा माओवादी केन्द्र झन् ठुलो संघर्ष गरेर आएको पार्टी । जनयुद्ध गरेको पार्टी । खुनसँग खेलको पार्टी । नेपालकै सबैभन्दा क्रान्तिकारी शक्ति । तर के गर्नु सत्ता भनेपछि हुरुक्क । शक्ति भनेपछि भुतुक्क । माओवादी अध्यक्ष पुष्पकमल दाहाल भन्नुहुन्छ, ‘म प्रधानमन्त्री त होइन, तर प्रधानमन्त्री भन्दा कम छैन ।’ उहाँलाई सधैँ सत्ता र शक्ति चाहिने ।
भागबण्डा लगाउने र मिलाएर खानेमा यो क्रान्तिकारी शक्ति झन् के कम । मन्त्री बनाउनु पर्यो भाग चाहिने, न्यायाधीश बनाउनु पर्यो भाग चाहिने, सांसद् बनाउनु पर्यो भाग नै चाहिने, त्यो पनि ठुलो भाग चाहिने । जीएम बनाउनु पर्यो भाग चाहिने, सीडीयो सरुवा गर्नुपर्यो भाग चाहिने, एसपी, डीएपी खटाउनु पर्यो भाग चाहिने । सत्तामा भाग चाहिने, शक्तिमा भाग चाहिने । कमिसनमा भाग चाहिने । विदेशमा पठाउने चिठ्ठीको पनि एक छेउमा भाग चाहिने ।
संघमा बजेट बनाउँदा व्यापारीलाई नै ल्याएर मिलायो । करको दायरा कसरी तोक्ने भनेर भागबण्डा लगायो । क्रान्तिकारी पार्टीका क्रान्तिकारी अर्थमन्त्रीले यति त गर्नै पर्यो नि । नत्र कसरी क्रान्तिकारी हुनु । प्रदेशमा त्यस्तै छ । कर्णालीमा माओवादीका ११ जना सांसद् पालैपालो सबै मन्त्री । कर्णाली आर्थिक रूपले नेपालको पछाडि परेको नागरिक बस्ने क्षेत्र । तर माओवादीबाट प्रतिनिधित्व गर्ने सांसदलाई त्यसको के मतलब, आफू कसरी मन्त्री बन्ने कुरामा पो मतलब । अब सबै मन्त्री भए । दुई महिनालाई भए पनि मन्त्री चाहियो । भाग त चाहियो, चाहियो । यो भाग शान्तिको राजनीतिले देश कसरी अघि बढ्ला ? देशको मुहार कसरी फेरिएला ? नेता त धनी भए नै, जनता कसरी धनी होलान् ? उनीहरूको जीवन कसरी फेरिएला ? राजनीतिको सार लेखनाथ पौडेले कवितामा भनेको जस्तै ‘म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ, म हासुँ मै नाचूँ अरू सब मरुन् दुर्बलहरू’, भन्ने नबनोस् । जनताले विद्रोह गरे भने कसैले छेक्ने सक्दैन । सबैलाई चेतना भया ।
