नेपालको राजनीति अहिले जटिल मोडमा छ । देशमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिएको छ । राजनीतिक दल चुनावमा जाँदै छन्, तर विगतको जसरी होइन फरक किसिमले । संसदीय व्यवस्थामा आवधिक निर्वाचनलाई स्वाभाविक मानिन्छ । राजनीतिक दलहरू आफ्नो विचार र मुद्दा लिएर जनताको बिचमा जान्छन् । जनतालाई आफ्नो कुरा बताउँछन्, जनमत लिन्छन्, बहुमत ल्याएर जित्नेले सरकार चलाउँछन्, बहुमत नपुग्ने प्रतिपक्षमा बसेर जनताको सेवामा जुट्छन् । लोकतन्त्रको मर्म र सार यही हो । नेपालमा भने यस पटकको निर्वाचनमा फरक अभ्यास हुँदै । विचार, सिद्धान्त र मुद्दा नमिल्ने, एउटा चरम दक्षिणपन्थी र अर्को चरमा उत्तरपन्थी धार एक ठाउँमा उभिएका छन् । उनीहरू तालमेल होइन गठबन्धन नै गरेर चुनावमा जाने तयारी गर्दै छन् । एउटा मध्यमार्गी पार्टीको विरुद्ध गठबन्धन भएको छ । देश प्रष्ट रूपमा दुई ध्रुवमा विभाजन भएको छ । बहुदलीय शासन व्यवस्था भएको मुलुक दुई दलीय चुनाव प्रणालीमा जाँदै छ । एकातिर गठबन्धन अर्कोतिर नेकपा एमाले । गठबन्धन भित्र अहिले औपचारिक रूपमा पाँच दल छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, माधव नेपालको एकीकृत समाजवादी, उपेन्द्र यादवको जनता समाजवादी र चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा । त्यहाँ भित्र अन्य दल थपिने क्रम जारी छ । उपेन्द्र यादवसँग पार्टी फुटाएर हिँड्नु भएका डा. बाबुराम भट्टराई पनि सोही गठबन्धनमा मिसिन पुग्नु भएको छ, महन्थ ठाकुरको पार्टीलाई पनि सँगै जोड्ने प्रयास गठबन्धनले गरिरहेको छ । यी सबै शक्ति एक ठाउँमा मिलेर चुनाव लड्दै छन् । यिनीहरूसँग नेकपा एमाले एक्ले चुनाव लड्दै छ । त्यसो त एका दुई नयाँ पार्टी चमकधमक गरेर आएका छन् । तर उनीहरू तत्काल राष्ट्रिय मूलधारमा आउने अवस्था छैन । त्यसैले प्रतिस्पर्धा गठबन्धन र एमालेकै हो । अघि नै चर्चा गरियो चुनावमा जाँदा राजनीतिक दल आफ्नो, विचार र मुद्दा लिएर जान्छन् । जसलाई चुनावी घोषणापत्र भनिन्छ । राजनीतिक दलले आफ्नो विचार, आदर्श र सिद्धान्तलाई आधार मानेर घोषणापत्र तयार गर्ने गर्दछन् र त्यो लिएर जनताको माझमा जान्छन् । नेकपा एमाले एक्लै चुनावमा जाँदै छ । भलै स्थानीय रूपमा काहीँ कतै साना राजनीतिक दल तालमेल गर्न आउलान् । त्यस्तो अवस्थामा एमालेले एक दुई सिट ती दललाई छाड्ला र तर समग्रमा देशभरि चुनावमा जाँदै छ । त्यसैले उसले आफ्नो पार्टीको धारणा समेटेर घोषणापत्र बनाइ जनताको बिचमा स्वाभाविक रूपमा जाने भयो । आयो गठबन्धनको कुरा । त्यहाँ कोही दक्षिणपन्थी छन्, कोही उत्तरपन्थी, कोही समाजवादी, कोही पुँजीवादी, कोही जनवादी, कोही कोही मधेसवादी । उनीहरू देशैभरि सिट भागबण्डा गरेर चुनाव लड्दै छन् । उनीहरूको घोषणापत्र कस्तो बन्ला । अनि एउटाको विचार अर्कोले कसरी मान्ला । जनताको बिचमा देशलाई पुँजीवाद तर्फ लैजाने एजेण्डा लिएर जालान् कि, समाजवाद तर्फ लिएर जाने एजेण्डा ? निजीकरणको कुरा गर्नेकी, राष्ट्रियकरण ? राज्यले खुल्ला बजार नीति अपनाउने कि, हस्तक्षेपकारी ? राज्य लोक कल्याणकारी हुने कि, पुँजीपतिको संरक्षक हुने ? उदार र खुल्ला बजार, समाजवाद, जनवाद र साम्यवादको एजेण्डा बोक्ने एउटै गठबन्धनमा हुँदा त्यो कस्तो ककटेल बन्ला । कतै कोदो र तोरी एकै ठाउँमा मिसाएर पिसे जस्तो त हुने होइन गठबन्धन ? न रोटी खान मिल्ने न तेल आउने । अहिलेको गठबन्धन कसरी बन्यो भन्ने कुरा त छरपस्टै भएर आइसक्यो । गठबन्धन सरकारमा कसरी पुग्यो भन्ने कुराको इतिवृतान्त पनि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको महाअभियोग प्रकरणले भरिभंग बनाइसक्यो । खासमा भन्ने हो भने चोलेन्द्रको बयानले गठबन्धन दलका नेतालाई जनताको अगाडि मुख देखाएर हिँड्नु नहुने बनाइसक्यो । गठबन्धन आवश्यकता होइन, गठबन्धन दलका नेताको बाध्यता हो भन्ने कुरा प्रष्ट भइसक्यो । गठबन्धन देश र जनताको लागि होइन, गठबन्धन दलका नेतालाई चुनाव जित्न र फेरी पनि मिलीजुली देश लुट्न हो भन्ने कुरा खुलिसक्यो । गठबन्धनले स्थिरता होइन अस्थिरता दिन्छ भन्ने कुरामा विवाद छैन । एक वर्षको अवधिमा भए जति सबै सांसदलाई मन्त्री बन्नै पर्ने कुराले यसलाई पुष्टि नै गरिसकेको छ । अझ बजेट बनाउँदै व्यापारीका प्रतिनिधि राखेर बनाएको कुराले त राजनीतिक अपराध कति मौलाएको छ भन्ने देखाएको छ । चुनावमा एक्लै जान नसक्ने अवस्थाकै कारण दलहरू गठबन्धनको साङ्लोमा बाँधिन आएका भन्ने कुरामा दुई मत छैन । जित्न सक्ने भए छुट्टाछुट्टै लडिहाल्थे । हार्ने भएपछि नै गठबन्धन गर्न आएका हुन् । यसमा आलोचना र खण्डन त गर्न सकिएला, तर यथार्थ भने यही हो । एक्लै लड्न सक्नेले साथी खोज्दै खोज्दैन । निदाल उचाल्न साथी चाहिन्छ, किलो उचाल्न चाहिँदैन । अहिले एमाले गठबन्धनका अन्य दलका लागि निदाल बनेर आएको छ । त्यसले उचाल्नको लागि छरछिमेक सबै जम्मा भएका छन् । नेपाली जनताको यति बेला इच्छा, आकांक्षा र अपेक्षा धेरै छ । जनताले विकास र समृद्धि खोजेका छन्, स्थिरता खोजेका छन्, स्वाभिमान खोजेका छन्, देशको स्वतन्त्रता र अखण्डताको संरक्षक खोजेका छन् । त्यो सबै कुरा आफूहरूले मात्र दिन सक्ने बताउने गठबन्धनका दलहरू भित्रभित्रै फर्सी कुहिए झैँ कुहिएका छन् । कुहिएको फर्सी खोलिएझैँ खोलिएका छन् । डङ्डङ्ती गनाउने भएका छन् । गठबन्धनमा कसले कति लिने, कसले कति पाउने, कसले कति खाने भन्ने विवाद त छँदै छ । त्यो भन्दा पनि उनीहरूको आफ्नै भित्र चरम विवाद छ । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस स्पष्ट रूपमा दुई खेमामा विभाजित छ । कांग्रेसको शेरबहादुर देउवा खेमा पार्टी भित्र पेलेर अघि बढ्ने दाउमा छ । तर उहाँलाई शेखर कोइरालाको खेमाले काउण्टर दिइरहेको छ । पार्टीले पाउने भागको ४० प्रतिशत खर्लप्प काटेर आफूलाई दिनुपर्ने अडान सो खेमाले राख्दै आएको छ । आफ्नै आन्तरिक समस्या सुल्झाउन नसक्दा विगतमा आफ्नै पार्टीबाट विद्रोही उम्मेदवार बनेर हारेको इतिहास बनाएको कांग्रेस यो गठबन्धनमा कसरी सम्हालिएर जाला ? प्रश्नको पहाड उभिएको छ । अवसरको लागि जस्तो सुकै निर्णय पनि गर्न सक्ने नेपाली राजनीतिका धूर्त खेलाडी प्रचण्ड आफ्नै पार्टी भित्रको किचलोमा नराम्रोसँग किचिनुभएको छ । आफ्नै पार्टीका नेताहरूले सार्वजनिक रूपमा उहाँको हुर्मत लिन लागेका छन् । नारायणकाजी श्रेष्ठ हुन् वा वर्षमान पुन, जनार्दन शर्मा हुन् वा अरू कुनै नेता प्रचण्ड विरुद्ध खुलेरै खनिन लागेका छन् । प्रचण्डलाई आफ्नै पार्टी मिलाउन धौ धौ परेको छ । आफ्नै नेताहरू प्रचण्डको धोती तान्न लागेका छन् । गठबन्धनमा जाँदा झर्ला र खाउँला भनेर पछि लाग्नु भएका माधव नेपालको हालत पनि त्यस्तै छ । उहाँको पछि लागेर गएका धेरै नेता, कार्यकर्ता धमाधम एमालेमा फर्कँदै छन् । साथमा भएका पनि मन्त्री खुस्काइदिएपछि बोलचाल नै बन्द गरेर बसेका छन् । गठबन्धनले पनि उहाँलाई भाउ दिएको छैन । साँच्चै भन्ने हो भने माधव नेपाल अहिले कांग्रेस र माओवादीको लागि घाँडो हुनुभएको छ । जनमत नै नभएको माधवको पार्टीलाई प्रतिनिधि सभा र प्रदेश सभामा सिट दिनु पर्ने भयो भन्दै माओवादी र कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोख्दै आएका छन् । तै पनि माधव नेपाल साँढेको पछाडि ब्वाँसो लागेझैँ पछि लागिरहनुभएको छ । गठबन्धनका दलहरू जसले आफ्नै पार्टी मिलाउन सकेका छैनन् । शेरबहादुर देउवा, जसले शेखर कोइरालाहरूलाई मिलाउन सक्नु भएको छैन । प्रचण्ड, जसले आफैँले हुर्काएको भनिएको जनार्दन शर्मा लगायतलाई मिलाउन सक्नु भएको छैन । अनि माधव नेपाल, जसलाई हात समातेर डोर्याउँदै पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुर्याउने रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मिलाउन सक्नु भएको छैन । उहाँहरूले के गरी गठबन्धन मिलाउनुहोला ? अनि के गरी चुनाव जित्नु होला ? जितिहाले कसरी देश चलाउनुहोला ? फेरी पनि जित्नकै लागि गठबन्धन गर्ने । चुनाव जितेर आउने । कुने पनि दलको बहुमत नहुने । त्यस पछि कहिले यता, कहिले उता गरेर सत्ता र शक्तिमा नै रही रहने । देश चुसी रहने । चिल्ला भइरहने । नेपाली जनता टुलुटुलु हेरी रहने । उहाँहरूको नियत यही हो ? त्यसैले यसको अन्त्य हुनुपर्छ । राजनीतिक पार्टी आफ्ना विचार लिएर जनताको बिचमा जानुपर्छ । आफू कति पानीमा छु भनेर जनताको बिचमा गएर नाप्नु पर्छ । भोलि जनताले कुनै पनि पार्टीलाई बहुमत दिएनन् भने मिलीजुली सरकार बनाउने कुरा अलग हो । चुनाव अघि नै मिलिमिली खानको लागि गठबन्धन गरेर जाने, जनतालाई विचारको बन्धक बनाएर चुनाव जितेर आउने, अनि फेरि मिलाएर देश लुट्ने कुराको अन्त्य हुनुपर्छ । यस्ता देश लुटाहाहरूलाई जनताले चिन्नु पर्छ । आउने चुनावमा उचित जवाफ दिनुपर्छ ।
पार्टी मिलाउन नसक्ने, गठबन्धन गरेर देश मिलाउने ?
नेपालको राजनीति अहिले जटिल मोडमा छ । देशमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिएको छ । राजनीतिक दल चुनावमा...
SUNRISE KHABAR
6 min read
