-दयालबहादुर शाही-
राष्ट्रिय आवाराहरुलाई दण्डित गर्ने काम देशभक्त जनताको काँधको कष्टसाध्य अभिभारा हो । नेपालको यो संकटमा रामायणको एकल विश्वदादा रावण प्रकृतिको नभई महाभारतमाझै खलपात्रहरुले भरिएको जगत प्रकृतिको छ । कंश, जरासन्धको वधबाट सुरु गरेर कृष्णले भीष्म, कर्ण, द्रोण, दुयोधन, दुष्शासन, जयद्रथ, शकुनीहरुको थान्को लगाएर धर्मको रक्षा गरेझै यो मातृभूमिका सर्वाेच्च शक्ति जनता जनार्दनले यो भूमिको भार हर्नैपर्ने भएको छ ।
खलनायकहरुको पतन गराउनलाई चाहिने सबै प्रकारको सामथ्र्य, आधार र परिपक्व स्थिति आजको नेपालसँग मौजुद पनि छ । सचेत, संगठित, आन्दोलित र इशारा बुझ्ने जनसमुदाय नै हरहर मोदी गर्ने सत्ता गठबन्धनका प्रमुख दई हस्ती दाहाल र देउबाको महत्वाकांक्षाका लागि कालदण्ड हुन् । लिम्पियाधुरा मुद्दा र नेपाल गौरवको झण्डा उठाउदै सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने दीर्ध राजनीतिक जीवनधारी राजनेता केपी ओलीको साधना, जनतप, हिम्मत वल र दह्रो नेतृत्व दाहाल, देउवा र माधवको अनुहारमा औंसीको अवतरण गराउने कारकतत्व हो । महानायक हुनलाई आफू असल भएर मात्र पुग्दैन, जनताको काखमा रहने, जनताको साथ लिने, युवापुस्तालाई उद्धेलित पार्ने, राष्ट्रिय संवेग उठाउन सक्ने, जनताको एकतालाई मजबुत पार्ने कला र साधना चाहिन्छ । यो महायज्ञको व्यास आसनमा बसेका ओलीसँग यी सबै योग्यता र सर्जामहरु छन् ।
ओली र ओली लहर एकाएक वर्षायाममा उम्रिएका च्याउ होइनन् । देशभक्ति, लोकतन्त्र, सामाजिक न्याय, बहुलवाद, प्रतिस्पर्धाको राजनीति, जनताको सर्वाेच्चता, अधिनायकवादी विरोधी अठोट, साँस्कृतिक राष्ट्रवाद, सुखी नेपाली र समृद्ध नेपालको ओली विरासत नेपाली जातिले हासिल गरेको महत्वपूर्ण प्राप्ति हो । ओली विरासत र ओली लहर यो कालखण्डको प्रतीक पनि हो । यो नेपाली जातिको चेतना, विश्वास, साझा प्रयास, हिम्मत वल, शस्त्रवल र शास्त्रवलको ब्राण्ड हो । विश्वास र भरोसाको यो बैंक नै नेपालका दुष्मनहरुको आँखाको कसिंगर पनि हो ।
किन हिजो गिरिजालाई ठग्ने प्रचण्ड आज देउबालाई ढोग्दै छन् ? कुनै बेला एमालेलाई आफ्नो रखैल बनाउन सकिने सपना सजाउने कांग्रेस र एमालेलाई आफ्नो चखैल बनाउन सकिन्छ भन्ने दुष्साहस गर्ने प्रचण्ड किन आज हरुवा जुवाडे शैलीको गठजोड गरेर एमालेविरुद्ध चक्रब्यूह किन रच्दैछन् ? शस्त्र वलको रुस र पुटिनभन्दा शास्त्र वलको नेपाल र ओली किन दिल्लीको टाउको दुःखाईको विषय बने ? किनकी आउँदो मंसिर ४ गते ओली लहरको उछाल आउँदैछ र ओली विरासत जनताबाट अभिनन्दत र अनुमोदित हुँदैछ । यो चुनावले अस्थिरताको जरो उखेल्ने छ र भारतबाट परिचालिन राजनीतिक रोबोटहरुको लागि सामूहिक चिहान हुनेछ । ओली विरासत नेपाल र नेपालीको सुनौलो बिहान हुनेछ ।
नेपालको आजको दलीय राजनीतिको मेरुदण्ड जान्नलाई गिरिजाप्रसाद कोइराला र केपी ओलीको भुक्तभोगी जीवनको अध्ययन खास पाठ्य सामग्री हो । विद्रोहीको भूमिका, विपक्षी दलको धर्म र शासकीय सुझबुझ एक राजनीतिकर्मीको जीवनमा आइपर्ने पृथकपृथक भूमिका र कार्यभार हुन् । यी तीनै फेजको सामना गरेकाले नेपालमा जीपी र केपी विशेषधातुले बनेका जब्बर राजमनिषीहरु हुन् । काँध थाप्ने र करङ धुल्याउने शास्त्र र कलालाई व्यवहारमा उतार्नमा जीपी र केपीको दीर्घ राजनीति मिल्दोजुल्दो छ । दह्रो ईच्क्षा शक्तिका जीपी र केपी नभएको भए नेपालले जुम्ल्याहा तानाशाह ज्ञानेन्द्र र प्रचण्डलाई कुल्चन सक्ने थिएन बरु दुई मध्ये एक तानाशाहको खेलौना बन्ने थियो । अझ ज्ञानेन्द्रको निरंकुशताको अन्त्यमा जीपीको दीर्घराजनीतिक साधना खपत भएको छ भने प्रचण्डलाई अधिनायकवादी तानाशाहरुपी विषधर सर्पबाट देउबाको दैलो र मोदीकृपाको भैलो गर्ने स्वरुपको जसले पनि कुल्चन सिर्फ काँचुलीमा सीमित पार्नमा ओली र ओलीटिक्स अमोघ अस्त्र बनेको छ भन्दा अत्युक्ति नहोला ।
अझ दलीय राजनीति नै जनतामा निहित सार्वभौम सत्ता प्रयोगको माध्यम भएकाले दलीय जीवनको साह्रोगाह्रो र संंवेदनाको अध्ययन राष्ट्ररक्षा जस्तो अनिवार्य कार्यभारसँग समन्धित विषय हो । दलीय जीवन मियोको भूमिकामा रहेर अटल रहेकाले पनि जीपी र केपीको संघर्षमय जीवन युवापुस्ताका लागि प्रेरणा श्रोत हुन् । चोटैचोटले भरिएको अचानोझै उपकार र साथको बदलामा घातैघातले भरिएका जीपी र केपीका जीवनरथहरु आफैमा अलग अलग विश्वविद्यालय हुन् । विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण समशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलाई काँध थाप्नमा जुनी बिताएका गिरिजाप्रसादले कसरी आफूलाई पालोको पैँचो तिर्नुको सट्टा कृतघ्न बनेपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउबाका करङ धुल्याउन सके भन्ने सत्यको गहिराईमा नपुगी कांग्रेसप्रतिको बुझाई र अध्ययन अधुरो र अपुरो हुन्छ । सीपी मैनाली, झलनाथ खनाल, मदन भण्डारी, मनमोहन अधिकारी र माधव नेपाललाई काँध थाप्नमा जुनी बिताएका केपी ओलीले कसरी पालोको पैँचो तिर्नु त परै जावस् लय, जय र उदय रोक्न तेस्र्याएका तगारा पन्छाउदै कृतघ्नताका प्रतिमुर्तिहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमदेखि पछि थपिएका प्रचण्ड र नारायणकाजीहरुसम्मको करङ धुल्याउन सके ? यस्ता सत्यको अध्ययन बिना राजनीतिका साधक र अध्येताहरुको जुनी तरकारी चलाउने तर तरकारीको स्वाद थाह नपाउने डाडुको जस्तै रहने छ ।
यो चुनावले ओलीलाई राम्ररी चिन्ने छ र मजैले चुन्ने छ । त्यसैले यो चुनाव असामान्य आमचुनाव हो । यो चुनाव एक युगान्तकारी घटना हुनेछ, रस्साकसी तानतानबाट मुलुकको राजनीति ओलीको एक ध्रुवतिर जाने युगान्तकारी घटना हुनेछ । यो चुनाव नेपाललाई स्वाभिमानको मेरुदण्डमा उभ्याउने देशभक्त वा भारतसामु लम्पसार पार्ने जनमत संग्रह पनि हो । अझ भनौं देशभक्त र देशद्रोही बीचको जीवनमरणको लडाईँ हो ।
देउबा र दाहालको नेतृत्वमा रहेको आधादर्जन लेण्डुप दोर्जेहरुलाई जनताले आयो मछली तेरो काल, पर्लास् मछली मेरै ढडिया मोडेलको निर्मम चुनौती र कठोर दण्डनीति नअपनाउने हो भने नेपालको अस्तित्व संकटमा पर्नेछ । नेपालमा हुन गइरहेको यो चुनाव नेपाल र भारत बीचको छद्मयुद्ध पनि हो । नेपाल र चीनको तुलनामा भारत निकै कान्छो राष्ट्र हो । बेलायतबाट अलग भएपछि जन्मिएको कान्छो राष्ट्र भारतले विगतका सात दशकमा आर्य मर्यादा र पञ्चशीलको एकै पटक धज्जी उडाउँदै छिमेकी मुलुकसँग व्यवहार गरेको छ । गएका ७३ वर्षमा भारतले विदेश नीतिका नाममा विद्वेष नीतिमा प्रबाह गरेको छ । भारतले सिक्किम, भुटान, बंगलादेश, नेपाल, पाकिस्तान, चीनसँग उनीहरुको जागरण स्तर र प्रतिरोधी क्षमता अनुसार भिन्न भिन्न खालको व्यवहार गर्दै आएको छ । भारतले सिक्किम जस्तो प्रतिरोधी क्षमता कम भएको, लेण्डुप दोर्जे जस्तो गद्दारको भ्रुण बोकेको र जनताको चेतनामा फ्युज गएको देशलाई सर्पले भ्यागुत्तो निलेझै निलेको छ । भुटानलाई सुरक्षा र सम्पन्नता दिएर पनि उसको स्वाभिमान मेरुदण्ड छिनेको छ । नेपालमाथि भारतले सिक्किम र भुटानलाई जस्तै दोहोरो नीति लाद्न खोजे पनि शस्त्रवल र शास्त्रवलमा काबिल नेपाली जातिको जागरण र चेतनासामु जोर चलेको छैन । भूपरिवेस्ठित नभएकाले बंगलादेशलाई चौखु¥याउने भारतीय इरादा सतहमा आउन सकेको छैन । भारतसँग पंगा लडाउने औकात भएकाले पाकिस्तान आफ्नो पौरखले टिकेको छ । शक्ति र सामथ्र्यले निकै भारी परेकाले चीनको सामना गर्न केही दशक रुस त केही दशक अमेरिकाको चरणचुम्बनको बाटो रोज्नु भारतका लागि नियमित आकस्मिकता बनेको छ । यसरी भारत दक्षिण एशियामा सबैभन्दा अक्कड र अमिल्दो राष्ट्र हो ।
सिक्किमले संविधान सभाको बाँसुरी बजाएर भारतरुपी सर्पलाई आफ्नो भूमिमा आमन्त्रण गर्ने लेण्डुप दोर्जे रुपी सपेरालाई समयमै दण्ड दिन सकेन । एउटा देशले अफ्नै गर्भबाट पैदा हुने यसप्रकारका गद्दारलाई समयमै चिन्न नसक्दा पिण्ड खानु पर्छ भन्ने सत्यको उदाहरण सिक्किम हो ।
प्रचण्डले पनि नेपाली भूमिमा भारतरुपी सर्प बोलाउन संविधान सभाको बाँसुरी बजाएका थिए । नक्कली दाउरेको बन्चरो गुम्छ । लेण्डुप दोर्जेको सिको गर्ने प्रचण्डको हालत जोई न जुँगा मोही न सातुको स्थितिमा छ । सिक्किमका लेण्डुप दार्जेले जस्तै संविधान सभाको बाँसुरी बजाएर नेपालीको भूमिमा भारतलाई आमन्त्रण गर्न खोज्ने प्रचण्डको मनोरथ नेपाली जनताको सचेतनाले चूर्ण चूर्ण भयो । प्रचण्डलाई जनताले पत्याउन छोडेको दशक नाघिसकेको छ । अझ जनताले प्रचण्डलाई निर्मम दण्ड दिने पारो चढेको चढ्यै छ । प्रचण्डको रुन्चे भाषण, आत्महत्याशास्त्रको शरण, सदाबहार चिडचिडाहट, छात्ती पिटाई र आफ्नो जगल्टा हाफै लुछाई नेपाली जनताको चेतनाको अखण्डज्योतिको परिणती हो । जनता आस, त्रास, भ्रम, जाल, निन्दा र प्रशंसाबाट प्रभावित नभएकोमा प्रचण्डलाई ठूलो रोइलो र गुनासो छ । मातृभूमि नेपालको जीवनरथलाई कसैका आग्रर र रोइलो सुन्ने फुर्सद छैन । जनताको चेतना र एकता देशरुपी रथका दुई पांग्रा हुन् । जनताको जागरण, एकता, हिम्मत र विवेक राष्ट्ररक्षाका अबयबहरु हुन् । चेतनाको अखण्डज्योति ननिभेको देश महाशक्ति लागि समेत जलनको विषय बन्छ भन्ने सत्यको जिउँदोजाग्दो उदाहरण आजको नेपाल हो । आफु अझै निभर्यसँग बाँच्नलाई नेपाली जनताले लेण्डुप दार्जेहरुको विष नर्सरीका रुपमा रहेको सत्तारुढ गठबन्धनमाथि आगामी चुनावमा डोजर चलाउनै पर्ने हुन्छ ।
दाहाल र देउबा गुट यो देशको उन्नति, प्रगति, लय र जयका लागि तगारो भएकाले जनदण्डको भागेदार छ । २०५१ साल यताका २८ वर्षमा देउबा र दाहालले मिलेर, चिलेर, गोली जुधाएर तथा घाँटी मिलाएर अनेक तरहले मातृभूमिलाई घात र भारतलाई साथ दिएका छन् । कसैको जरो नउखेली कसैको औषधी हुँदैन । सत्तारुढ गठबन्धनरुपी विषवृक्षले गरेको गद्दारी र अपराध अक्ष्यम्य प्रकारका छन् । निम्न कारणले गर्दा यो गठबन्धन आगामी चुनावमा जनदण्डको भागेदार छ:–
(१) यही सत्तारुढ गठजोडका प्रमुख हस्ती शेरबहादुर देउबासँग २०५१ सालमा तत्कालिन अमेरिकी राजदूत जुलिया चांङ ब्लकले राप्रपा नेतृ प्रतिभा राणाकी छोरी डा. आरजु राणाको लगन गाँठोको प्रपञ्च गरिदिए पछि नै भूगोलको यो खण्डका आकाशमाथि राजनीतिक अस्थिरताको कालो बादल मडारिन थालेको हो । देउबाको उदयसँग कांग्रेस र वामपन्थीको सहकार्यको सूर्यास्त भयो । कांग्रेस र एमाले जस्ता दुई ठूला दलले पनि पाँच वर्षसम्म स्थिर सरकार नदिनुमा देउबा नै युगदेखि युगसम्म कारक र बाधक हुन् । लोकतान्त्रिक आन्दोलनका दुई महाशक्ति एमाले र कांग्रेसको मित्रवत प्रतिस्पर्धाको चरण समाप्त पार्नमा देउबा जगको ढुंगा हुन् । देश नै समाप्त पार्न यो यज्ञ रचिएको थियो । त्यति बेलाको राप्रपाको संस्थापनमा खास अर्थ र हैसियत राख्ने सशुराली खलकका प्रतिमा राणा र पशुपति समशेर जबराको आड लिएरै शेरबहादुर देउबा पहिलो पटक प्रधानमन्त्री भएका थिए । देउबाको आविस्कार गरेर पालैपालो गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी जस्ता नेपाल रत्नहरुलाई अपमान र तिरस्कारको शरशैयामा सुताइएको थियो । हिसाबकिताब सहित देशलाई उभो लाग्न नदिन वामपन्थी र कांग्रेसको कटुता बढाएर कांग्रेस र राप्रपाको अप्राकृतिक सत्ता यात्राको आधार देउबाबाट नै खडा भएको थियो ।
नेपालको राजनीति आकासमा छत्तीसेहरु राहु बनेर आउनुमा देउबाको हात छ । अस्थिरताको राहु छत्तीसेहरुका संरक्षक नै देउबा नै थिए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको पहिलो जननिर्वाचित सरकारले पाँच वर्ष निर्वाधरुपमा काम गर्न पाउनुपथ्र्याे । छत्तीसे गुटका बाजुरेली सांसद देवराज जोशीले २०५१ साल असाढमा संसद गिरिजाप्रसाद कोइरालाको राजीनामा माग्नु र लामो समयपछि तिनै जोशीलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख बनाएर पुरस्कृत गर्नुले गिरिजाप्रसाद कोइरालाको सरकार ढाल्ने देउबा नै रहेको प्रष्ट हुन्छ । मनमोहन सरकार ढालेर देउबालाई प्रधानमन्त्री बनाउन राप्रपाले हतार गर्नुले पनि वामपन्थी र कांग्रेसको दूरि बढाएर कांग्रेस राप्रपाकोे प्राकृतिक लसपस गराउने गेम प्लानर देउबा नै रहेको सिद्ध हुन्छ ।
(२) जेएनयुमा डा. बाबुरामको सजधज र नोयडामा प्रचण्डको रजगजदेखि दोस्रो संविधान सभा पनि असफल पार्न हालका भारतीय विदेशमन्त्री एस जयशंकर विशेषदूतका रुपमा नेपाल आउनुले प्रचण्डरुपी रोबोट आविष्कारको अन्तर्य भारतले नेपालमा चाहेको निरन्तरको हस्तक्षेप, सूक्ष्म व्यवस्थापन, राजनीतिक अस्थिरता र कठपुतलीहरुको थपना रहेको प्रष्ट हुन्छ ।
(३) जननेता मदन भण्डारीको असामयिक हत्यापछि एकाएक अप्रत्यासितरुपमा एमालेको महासचिवका रुपमा माधव नेपाल आएपछि अर्काे घटकका नेताहरु एमालेमा समाहित हुने र अटाउने व्रmम मात्र रोपिएन, २०५४ सालमा एमाले विभाजन भयो । २०७८ सालमा माधव नेपालले फेरि एमालेमा विभाजन ल्याए । शेरबहादुर देउबाले पनि २०५९ सालमा कांग्रेस फोरेर तान्त्रिक कांग्रेस खोलेका थिए । महत्वाकांक्षामा ठेस लाग्दा यसरी लोकतन्त्रको आधारशिलाको रुपमा रहेका इतिहास बोकेका ठूला दल फोर्न घिन शरम नमान्ने पार्टी फोरुवाहरुको जमघट नै भारतले चाहेको अस्थिरताको मूल श्रोत हो ।
(४) माधव नेपाल र झलनाथ खनाल जस्ता जुम्ल्याहा गोर्बाचोभ पनि यही सत्तारुढ गठबन्धनका हस्ती हुन् । जुन पार्टीले आफूलाई प्रधानमन्त्री बनायो, त्यही पार्टी तहसनहस पार्नु जस्तो कृतघ्नताको पराकाष्टामा पुग्नु गद्दार बन्नलाई चाहिने यथेष्ट आधार हो । शत्रुको दाना खाएर, नाना लगाएर, छाना ओढेर मातृपार्टी र मातृभूमि विरुद्ध उभिन माधव–झलनाथलाई धक लागेन । चौध चौध वर्ष आफूहलाई काँध थापेका केपी ओलीलाई घात गरेर माधव झलनाथले केही दिनलाई पाउना बनेर आएका प्रचण्डलाई दिएको साथ घर लुट्न आएको डाँकुको रुपरंग, जिउडाल, र मोहजालमा परेर पत्नीले पतिधर्म बिर्सिएर लोग्ने मराएर डाँकुसँग फरार हुनु जस्तै विनाशकाले विपरीत बुद्धि थियो ।
(५) गुरुनिन्दा, मित्रघात, राष्ट्रघात जस्ता कुकत्यले भरिएको घृणित जीवन बाँचेका खलनायकहरुको डफ्फा भएकाले पनि सत्ता गठबन्धन जनदण्डको भागेदार छ । देउबाको बफादारिता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता जीवनगुरुप्रति कहिलै रहेन । यतिमा मात्र सीमित नभई राजनीतिक जीवनको उत्कर्षको बेला देउबाले जीवनगुरु, पार्टी र साथीलाई घात गर्दै राजाप्रति भक्तिभाव देखाए । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक आन्दोलनको मियो शक्तिका बिरुद्ध उत्रिएर पार्टी फोर्नु जस्तो कालो इतिहास रचे । गठबन्धनका अर्का हस्ती प्रचण्डका लागि त आँखा र उत्साह दिने जीवनगुरु, ज्यान काटेर ज्युनार लगाउने सखा सहयात्रीहरु, काँध थाप्ने निर्दाेष मनका युवापूस्ता सबैसबै हातपुछेर डस्बिनमा फालिने न्याप्किन पेपर सरह हुन् । निर्मल लामा, मोहनविव्रmम सिंह, मोहन बैद्य जस्ता जीवनगुरुलाई प्रचण्डले सडकमै ल्याए, एकबार होइन जीवनभर रुवाए । निरञ्जन गोबिन्द बैद्य, नारायण काजी श्रेष्ठ, डा. बाबुराम भट्टराई, रामबहादुर थापा, देव गुरुङ पनि जीवनको खास कालखण्डमा प्रचण्डद्वारा चपाइएका अनुहारहरु हुन् । यसरी लुगाधुने पाउडरको विज्ञापन झैं कसैलाई पनि डुबाउनुस्, निचोर्नुस् र सुकाउनुस्को नीति लिने चरम उपयोगीतावादी व्यक्तिले कसरी जनतालाई शिरमा राख्छ, कसरी देश बनाउँछ र युवापुस्ताको मनोवल उचो राख्छ ? यतिमा सीमित नभै देशलाई ठुँग्ने र भारतलाई ढोग्ने प्रचण्डको जटिल जीवन मातृभूमि नेपालको मुटुमा गडिएको काँडा हो ।
(६) सत्ता गठबन्धनका अन्य हस्तीहरु डा. बाबुराम, वामदेव गौतम र उपेन्द्र यादवको नियत, मक्सत र हैसियत पनि परिवार र पविारवाद हो, देश होइन, भुँडी हो, राष्ट्र होइन । यो गठबन्धन स्वास्नी सिँगार्ने देश बिगार्नेहरु डफ्फा हो ।
र अन्त्यमा
एमालेले यिनीहरुलाई लोकतान्त्रिक विधिबाट, जनमतका माध्यमले जनताको वलले थान्को लगाउने छ भन्ने बाक्लै विश्वासका कारणले मात्र जनता व्यक्तिगत तहमा उत्रिएर सत्ता गठबन्धनका हस्तीहरुलाई कार्यबाहीको तहमा उत्रिएका छैनन् । एक हिसाबले आगामी चुनावमा पाउने दिग्विजय सत्ता गठबन्धनको सम्मानजनक व्यवस्थापन पनि हुनेछ । लिम्पियाधुरा मुद्दा, जयसिंह धामी प्रकरण, नागरिकता विधेयक, सैन्य साझेदारी, एमसीसी लगायतका मुद्दामा गरेको राष्ट्रघात हेर्दा सत्ता गठबन्धन जनमतबाट विस्थापित नहुने हो र जनताबाट दण्डित नहुने हो भने देश बचाउनलाई चाहिने निष्ठाधर्म, त्यागदेवी, धैर्य देवता, अनुशासन र मर्यादामा रहने जनदेवताको राज र सर्वाेच्चता छिनिने छ । देश बन्न र बचाउनलाई चाहिने तन्तुहरु नष्ट हुनेछन् । देशको मियो हुने योग्यता र हक सत्ता गठबन्धनका राष्ट्रिय आवाराहरुसँग छैन । यसैले आगामी चुनावमा जनताबाट दण्डित भएर गठबन्धनका हस्तीहरुले घरमुलीमा सीमित हुनुको बिकल्प छैन । नायकमा पाइने कुनै लक्षणहरु कसैमा नभएकाले दाहाल, देउबा र उनीहरुका अनुचरहरुले योग्यता अनुसारको काम पाउनै पर्छ, त्यो हो– सिर्फ घरमुली ।
