विज्ञ बन्न ठुलो अध्ययन, अनुसन्धान गर्नुपर्छ । वैज्ञानिक बन्नु पर्छ । अध्ययनले, व्यवहारले र अनुभवले सम्बन्धित विषय खर्लप्पै खानुपर्छ, तब मात्र विज्ञ बनिन्छ । नेपालमा भने विज्ञ बन्न खासै क्षमता चाहिँदैन । हल्लखल्ल गर्न सक्यो, ठुलो स्वर गर्न सक्यो, किर्ते, काइते गरेरै भए पनि दुई चार जना पछि लगाउन सक्यो, अलिकति सम्पत्ति जम्मा गर्न सक्यो भने नेपालमा विज्ञ र विशिष्ट व्यक्ति मान्ने चलन छ । समय परिवर्तनशील छ, विज्ञान र प्रविधिले संसारलाई सेकेण्ड, सेकेण्डमा परिवर्तन गरेको छ । ज्ञान विज्ञानको क्षेत्र क्षण क्षणमा परिणत भएको छ । एक छिन अगाडिको विज्ञ भनिएको व्यक्ति एकै छिन पछि अल्पज्ञ हुन्छ । उसले अरूसँग सिक्नु पर्छ, जान्नु पर्छ, बुझ्न पर्छ । नेपालमा भने यी सबै कुरा बकवास जस्तो लाग्छ । एक पटक कुनै विषयको विज्ञ भएको मान्छे अपडेट भए पनि नभए पनि आजीवन विज्ञ । एक पटक विज्ञ भएपछि खोज गर्नु नपर्ने, अनुसन्धान गर्नु नपर्ने, अध्ययन गर्नु नपर्ने स्वघोषित विज्ञ । कुनै एउटा व्यक्ति सार्वजनिक पदमा पुगेपछि त ऊ सर्वज्ञता नै हुन्छ । विज्ञान प्रविधिमा पनि ऊ आफैँलाई विज्ञ ठान्छ । समाज विज्ञानमा अब्बल ठान्छ । कानुन उसले जति अरूले जानकै छैन भन्छ । खेलकुद, शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, सडक, खानेपानी, सिँचाइ, धर्म कर्म सबैको ज्ञाता उही बन्छ । अरू सब बामपुड्के, ऊ हर्लक्कै माथि, अग्लो । उडाउनेदेखि गुडाउनेसम्मका कुरामा उही म नै जान्दछु भन्ने ठान्छ । पानी जहाजदेखि हवाई जहाजसम्मका कुरा उसैलाई आउँछ । भए पनि नभए पनि आफ्ना कुरालाई तर्कले जित्नु पर्छ । तर्कले नभए ठुलो स्वर गरेर बल मिच्याइँ गरेर पनि जित्नै छ । त्यो पनि नभए आफू उमेर र अनुभवले पाको भएकोले आफूले भनेकै कुरा सत्य हो भनेर जित्नुपर्छ । यथार्थ त्यो होइन । विज्ञ हुनलाई अध्ययन हुनै पर्छ । सम्बन्धित विषयमा नियमित अपडेट हुनै पर्छ । उमेर र अनुभवले केही कुरा त सिकाउँछ, तर विज्ञ बनाउँदैन । विज्ञ बन्न सबैभन्दा पहिला अध्ययन नै चाहिन्छ । साँच्चै भन्ने हो भने केश फुलेर मात्र विज्ञ होइँदैन, समय बिताएर मात्र अनुभवी होइँदैन, यी त काल पर्खने बाटो मात्र हुन् । ठुलो स्वर गरेर केही समय त जितिएला । हो लाई होइन, होइनलाई हो पनि बनाउन सकिएला । तर त्यो तर्क हुँदैन, कुतर्क हुन्छ । तर्कले मानिस र समाजलाई गन्तव्यमा पुर्याउँछ, कुतर्कले व्यक्ति, समाज र देशलाई नै भड्खालोमा हाल्छ, गलत नजिर स्थापित गर्छ, वर्तमानमा केही बेला रमाइएला, भविष्यमा सबैलाई पिरोल्छ । नेपाली समाजमा यस्तै विज्ञको बिगबिगी छ । तर्क होइन, कुतर्क गरेर जित्ने जिताउने कल्चर नै विकास भएको छ । यो सङ्ख्या राजनीति र कानुनी क्षेत्रमा बढी छ । आफूलाई विज्ञ ठान्नेहरू, समाजले पनि विज्ञ मानिदिएकाहरू समेत यस्तै कुतर्कले रजाइँ गरिरहेको छन् । कुतर्क गरेरै हो लाई होइन र होइनलाई हो बनाइ रहेका छन् । कुतर्ककै माध्यमबाट पेल पाल गरेर आफूलाई स्थापित गरी रहेका छन् । जब देशमा गम्भीर राजनीतिक संकट आउँछ, जब गम्भीर कानुनी समस्यामा देश फस्न लाग्छ, त्यस्तो बेला यस्ताका कुतर्कीहरू, स्वघोषित विज्ञहरू, अल्प ज्ञान भएका विज्ञहरू जमजमाउँछन् र आफ्नो अनुकूलको व्याख्या गर्दै कार्यान्वयनमा ल्याउन बाध्य बनाउँछन् । उनीहरूकै कारण नेपाल बारम्बार अप्ठेरोमा परेको छ, नेपाली जनताले सास्ती बेहोरेका छन् । नेपालको राजनीतिक र न्यायिक क्षेत्रमा दिउँसै रात पार्ने र रातीलाई उज्यालो बनाउने केही पात्र छन् । जसले नेपालमा प्रजातन्त्र पुनर्स्थापना भएदेखि लगातार खेली रहेका छन् । न्यायालयलाई आफ्नो पक्षमा पारिरहेका छन् । जस्तासुकै आपराधिक मुद्दामा पनि उनीहरू गएर उभिएपछि जितिन्छ भन्ने छाप छोडेका छन् । एक हिसाबले न्यायपालिकामा दादागिरी गरिरहेका छन् । उनीहरूको दादागिरीको अगाडि न्यायाधीशहरू समेत नतमस्तक छन् । उनीहरूले न्यायाधीशको बेञ्च फेरिदिन सक्छन् । मुद्दाको फैसला गराइदिन सक्छन्, फैसला रोकिदिन सक्छन् । तिनै पात्र मध्येका एक शम्भु थापा बुधबार पूर्व न्यायाधीश मञ्चको पत्रकार सम्मेलनमा झुल्किनुभयो । महाअभियोगको सामना गरिरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेरले पोलेका पूर्व न्यायाधीशको बचाउन गर्न । पत्रकार सम्मेलनमा उहाँ बहस गर्न आएका वकिल जस्तै प्रस्तुत हुनुभयो । न्यायाधीशहरुले चोलेन्द्रको विरुद्ध बोलेनन् शम्भु थापालाई बोल्न लगाए । पूर्व न्यायाधीशसँग फिस लिएर आएका वकिल जसरी उहाँहरूको बचाउमा बोल्नुभयो शम्भु थापा । संविधानका ज्ञाता मात्र होइन आफूलाई विज्ञ नै भन्ने शम्भु थापाले दिउँसै रात पार्ने अभिव्यक्ति दिनुभयो । संविधानको किताब उहाँ बाहेक अरू कसैको हातमा छैन जस्तो गर्नु भयो । उहाँ बाहेक अरू कसैलाई पनि साँवा अक्षर समेत पढ्न आउँदै भन्ने ठान्नुभयो । पत्रकार सम्मेलनमा शम्भु थापाले प्रधानन्यायाधीश विरुद्ध संविधानको धारा १०१ को उपधार १ बमोजिम महाअभियोग लगाएको झुटो कुरा सुनाउनुभयो । साँच्चै भन्ने हो भने थापाले दिउँसै रात पार्न खोज्नुभयो । संविधानको धारा १०१ को उपधारामा १ मा प्रधानन्यायाधीश विरुद्ध महाभियोग लगाउने कुरा नै लेखेको छैन । सो उपधारामा राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाअभियोग लगाउने व्यवस्था छ । जसमा स्पष्ट रूपमा लेखिएको छ : ‘यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्न सक्ने छन् । त्यस्तो प्रस्ताव संघीय संसद्को दुवै सदनको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदबाट मुक्त हुने छ ।’ प्रधानन्यायाधीश माथि महाभियोग लगाउने व्यवस्था सो धाराको उपधारा २ मा छ । जसमा लेखिएको छ : ‘यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारतापूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरीषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्ने छ । त्यस्तो प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने छ । ’ संविधानमा यति स्पष्ट भाषामा लेखिएको कुरालाई संविधानका विज्ञ वरिष्ठ अधिवक्ता शम्भु थापाले सबैलाई दिग्भ्रमित हुने गरी धारा १०१ को १ बमोजिम प्रधानन्यायाधीश विरुद्ध महाभियोग लागेको र प्रतिनिधि सभाको म्याद सकिएको अवस्थामा महाअभियोग राष्ट्रिय सभामा जाने बताउनुभयो । यो कुरा थापाले विज्ञ भएर भन्नुभएको हो कि ? उहाँको अल्प ज्ञानको उपज हो कि ? अथवा मैले जे बोल्यो त्यही कानुन हुन्छ भन्ने भ्रम छ ? वा उहाँले नेपालको संविधान नै पढ्नु भएको छै ? अथवा उहाँको संविधानको किताब नै फरक छ ? चोलेन्द्रसमशेर दोषी हुनुहोला, नहोला । उहाँ माथिको महाभियोग यही प्रतिनिधि सभाले टुङ्ग्याउन भ्याउला, नभ्याउला, त्यो अलग कुरा हो । तर विद्वान भनिएकाले, विज्ञ ठानिएकाले सत्य कुरा त बोली दिनु पर्यो नि । कसै माथि रिस उठेको छ भन्दै उसलाई भित्तामा पुर्याउन जे मन लाग्यो त्यही बोल्न त मिलेन नि । अनि आफूलाई सर्वज्ञ ठान्नु पनि भएन । पढेको छैन पढ्न पर्यो, बुझेको छैन भने बुझ्नु पर्यो । जानेको छैन भने सिक्नु पर्यो । आफूलाई विज्ञको संज्ञा दिँदै साँढे गोरु जस्तो सडक ढल्केर त हिँड्नु भएन नि ।
विज्ञ भनिएका अल्पज्ञानीहरू : झुटो बोल्दै, दिउँसै रात पार्दै
विज्ञ बन्न ठुलो अध्ययन, अनुसन्धान गर्नुपर्छ । वैज्ञानिक बन्नु पर्छ । अध्ययनले, व्यवहारले र अनुभवले सम्बन्धित विषय खर्लप्पै खानुपर्छ, तब मात्र विज्ञ...
SUNRISE KHABAR
5 min read
