नेपालमा लोकतान्त्रिक आन्दोलनको इतिहास लामो छैन भन्दा भन्दै पनि ८० वर्ष पार गरेको छ । जय तु संस्कृतम आन्दोलनबाट सुरु भएको प्रजातान्त्रिक आन्दोलनले विक्रम संवत् १९९७ मा आइपुग्दा उग्र रूप लियो । प्रजातन्त्रको माग गर्दै राणा विरुद्धको आन्दोलनमा लागेका युवाहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली ठोकेर मारियो । उहाँहरूको रगतले पोल्यो । अन्ततः राणा शासन अन्त्य भयो ।
राणा शासन अन्त्यसँगै नेपालमा राजनीतिक दल स्थापना भए । नेपाली राष्ट्रिय कांग्रेस, राष्ट्रिय प्रजा परिषद्, नेपाल कम्युनिष्ट पार्टी, गोर्खा दल लगायतका पार्टी खुले । २००३ सालमा भारतमा बीपी कोइरालाले स्थापना गर्नुभएको नेपाली कांग्रेसलाई पुरानो प्रजातान्त्रिक पार्टी मानिन्छ । कांग्रेससँगको समकालीन पार्टी नेकपा र त्यसको निरन्तरता नेकपा एमाले देशको ठुलो पार्टीको रूपमा स्थापित भएको छ भने नेपाली कांग्रेस प्रजातान्त्रिक धारको सबैभन्दा ठुलो र देशका दोस्रो ठुलो पार्टीको रूपमा रहेको छ ।
बीपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेस, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता त्यागी नेताले जोगाएको कांग्रेस । २०१५ सालमा दुई तिहाइ बढी बहुमत ल्याएर सरकारमा पुगेको कांग्रेस । २०४६ को पञ्चायत विरुद्धको जनआन्दोलनको नेतृत्व गरेका कांग्रेस, २०६२–०६३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आन्दोलन गरेको नेपाली कांग्रेस । नेपालको हरेक राजनीतिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको कांग्रेस । जसको नेतृत्व अहिले शेरबहादुर देउवाको हातमा पुगेको छ ।
डडेलधुराको ठकुरी परिवारमा जन्मनु भएका शेरबहादुर देउवालाई नेपाली राजनीतिमा चिट्ठा परेर उदाएका नेता भन्दा हुन्छ । बीपी कोइरालासँगको सङ्गतले २०२८ नेपाल विद्यार्थी संघको सभापति बन्ने अवसर देउवाले पाउनुभयो । २०४६ सालमा देशमा पञ्चायत विरुद्धको आन्दोलन चलिरहँदा देउवा विदेशमा हुनुहुन्थ्यो । देशले स्वतन्त्रता खोजिरहँदा उहाँ लण्डनमा स्वतन्त्रतापूर्वक घुमिरहनुभएको थियो ।
नेपालमा बहुदल स्थापना भएपछि देउवा २०४७ सालमा नेपाल फर्कनु भयो र कांग्रेसमा पुनर्स्थापित हुनुभयो । सुदूरपश्चिमको डडेलधुरा विकास, चेतना, शिक्षा सबैले पछि परेको ठाउँ, विदेशमा पढेर आएको, नेविसंघको सभापति पनि भइसकेको, यिनै ट्यागले देउवालाई साथ दियो । २०४८ सालको आम निर्वाचनमा उहाँ डडेलधुराबाट निर्वाचित हुनुभयो । त्यस पछि २०५१, २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचनमा पनि उहाँले जित्नु भयो ।
भूगोल, अध्ययन र नेविसंघको पूर्व सभापति समेत भएको सबै कुरा मिलाउँदा २०४८ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारमा देउवा गृहमन्त्री बन्नुभयो । जसले देउवालाई गिरिजाप्रसाद कोइरालासँग टक्कर गर्न सक्ने बनायो । सन्त नेता कृष्णप्रसाद भट्टराईले च्यापिदिएको कारण देउवा कांग्रेसमा वैकल्पिक शक्तिको रूपमा स्थापित हुनुभयो ।
नेपालमा हुने हरेक राजनीति अस्थिरता देउवाको लागि फलिफाल हुँदै आएको छ । तर त्यो समय नेपाल र नेपाली जनताको लागि अभिसाप जस्तै बनेको छ । देउवा २०५२ सालमा राप्रपाको सहयोगमा पहिलो पटक प्रधानमन्त्री बन्नुभयो ।
राजाले माओवादी विरुद्ध सेना परिचालन गर्न नदिएपछि २०५८ सालमा गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । फेरी अस्थिरतामा खेलेर पुनः शेरबहादुर प्रधानमन्त्री बन्नुभयो ।
देशमा संकटकाल लगाएर सेना परिचालन गर्दै देउवा माओवादी विरुद्ध आक्रामक रूपमा उत्रिनुभयो । संकटकाल थप्दै जाने र आफ्नो प्रधानमन्त्री पद जोगाउँदै जाने योजना बनाएर निरङ्कुश रूपमा प्रस्तुत भएपछि देउवा विरुद्ध प्रतिनिधि सभामा अविश्वास प्रस्ताव ल्याउने तयारी भयो । त्यस्तो वातावरण बनेपछि शेरबहादुरले २०५९ जेठ ८ गते प्रतिनिधि सभा विगठनको सिफारिस गर्नुभयो ।
पार्टीको निर्णय विपरीत प्रतिनिधि सभा विगठनको सिफारिस गरेको भन्दै उहाँलाई कांग्रेसले कारबाही गर्यो । उहाँले कांग्रेस पार्टी नै फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाउनुभयो । जसको नाममा देउवाले २०६४ सालसम्म राजनीति गर्नुभयो ।
२०७४ साल जेठ २४ गते पनि अस्थिरताकै बिचमा देउवा चौथो पटक प्रधानमन्त्री हुनुभयो । चुनावको मुखमा एमाले बाहेकका सबै दललाई साथ लिएर देउवा प्रधानमन्त्री बन्नुभएको थियो । जसले २०७४ सालको निर्वाचन गराउने अवसर प्राप्त गर्यो ।
अहिले पाँचौँ पटक देउवा प्रधानमन्त्री बन्नु भएको छ । यस पटक त उहाँ संसदबाट होइन सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री हुनुभएको छ । चरम राजनीतिक अस्थिरतामा खेल्दै प्रधानमन्त्री हुनुभएको छ ।
देउवाले प्रधानमन्त्री हुन र गठबन्धन बनाउन कस्ता हतकण्डा अपनाउनुभएको रहेछ भन्ने पोल प्रधानन्यायाधीश माथिको महाअभियोग प्रकरणले छ्याङ्ग बनाएको छ । पछिल्ला घटनाक्रमले देउवामा लोकतान्त्रिक मूल्य मान्यता र आचरण छैन भन्ने प्रमाणित गर्दै गएको छ ।
प्रधानन्यायाधीशलाई निवासमै थुन्ने र सर्वोच्च अदालतको गेटमा प्रहरी परिचालन गरेर न्यायालयलाई बन्धक बनाउने उहाँको गतिविधिले लोकतन्त्र र न्यायिक स्वतन्त्रता प्रति देउवाको अलिकति पनि विश्वास छैन भन्ने कुरा पुष्टि गर्दछ । देउवाको यो गतिविधिले भन्न करै लाग्छ, ‘देउवा हिजो पनि लोकतन्त्र प्रति प्रतिबद्ध हुनुहुन्नथ्यो, आज पनि हुनुहुन्न ।’
शेरबहादुर देउवा जब जब सत्तामा पुग्नुहुन्छ, कुनै न कुनै उपद्रो मच्चाएरै छाड्नुहुन्छ । लोकतन्त्र र प्रजातन्त्रलाई मास्ने, निरंकुशतलाई उकास्ने खेल देउवाले खेलिरहनुहुन्छ ।
शेरबहादुर देउवाको ससुराली खाल राणा खानदान हो । उहाँकी सासू प्रतिभा राणा त राप्रपाकी नेता नै हो । जो यो व्यवस्थाको पक्षमा हुनुहुन्न । प्रतिभा राप्रपा भए पनि देउवाको राजनीतिबाट लगातार लाभ उठाइरहनुभएको छ । देउवाकै कारण उहाँ जापानको लागि लामो समय नेपालको राजदूत बन्न पाउनुभयो ।
अहिले पनि शेरबहादुर देउवाको निर्णयमा राणा खानदानकै हात छ । सासू प्रतिभा राणा, श्रीमती डा. आरजु राणा र राणा खानदानले देउवालाई मुट्ठीको माखो बनाएर राखेका छन् । उनीहरूले चाहे देउवालाई खुल्ला छाडिदिन सक्छन्, उनीहरूले नचाहे देउवालाई मुट्ठी भित्रै किची दिन सक्छन् ।
देउवा सत्ता र शक्तिमा पुगे पछि गरेका लोकतन्त्र विरोधी गतिविधिका घटनाक्रम हेर्दा लाग्छ उहाँलाई लोकतन्त्र विरोधी शक्तिले मुट्ठीको माखो बनाए बनाएको छन् । उहाँलाई लोकतन्त्र र प्रजातन्त्र मास्ने खेलमा नचाएका छन् । त्यसैले त देउवा बारम्बार यस्तो उपद्रो गरिरहनुहुन्छ ।
देउवा सधैँ तनावमा रहनु, कोहीसँग नबोल्नु, जत्तिखेर पनि रिसाउनु र छाडा गाली गलौचमा उत्रिनु, विशेष कार्यक्रमहरूमा समेत कि त निदाउनु, कि त अति आक्रामक हुनुले पनि उहाँ गम्भीर पारिवारिक तनावमा हुनुहुन्छ भन्ने पुष्टि गर्दछ । जो मान्छे पारिवारिक तनावमा हुन्छ, ऊ राती सुत्दैन, अनि दिउँसो निदाउँछ ।
जो मान्छे पारिवारिक तनावमा छ, ऊ सधैँ निराश, उदास र रिसाहा हुन्छ । रिसको झोकमा छाडा गाली गलौचमा उत्रिन्छ । यी सबै लक्षण देउवासँग मिल्छ । त्यो तनावको कारण कतै देउवा पत्नी र उहाँको ससुराली त होइन ? अनि त्यही उक्साहटमा देउवाले देश र व्यवस्था माथि नै पटक पटक आक्रमण त गर्नुभएको होइन ?
देउवाका कुनै पनि क्रियाकलाप लोकतन्त्रको पक्षमा छैनन्, कानुनी राज्यको पक्षमा छैनन्, प्रेस स्वतन्त्रता पक्षमा छैनन्, राष्ट्रको पक्षमा छैनन्, राष्ट्रिय स्वाभिमानको पक्षमा छैनन्, राष्ट्रिय स्वतन्त्रताको पक्षमा छैनन् । देशको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीका नेता लोकतन्त्रको लागि अभिशाप देशको दुर्भाग्य
