-दयालबहादुर शाही-
‘शरीरमा सन्चो छैन देख्खिदो घाउ छैन आफ्नै लोग्ने आफ्नो छैन, ढंगिलो बाउ छैन ।’
यस्तो पीडामा रहेकी चेलीको जस्तो छ निरन्तरको हस्तक्षेप र थुपारिएका कठपुतलीहरु बाटको चिथोराईले गर्दा आक्रान्त मातृभूमि नेपालको विरह र दुदर्शा । नेपाली जनताले यस स्थितिबाट उन्मुक्ति पाउने संकल्प गरिसकेकाले मंसिर ४ गते हुने चुनाव महाभारत युद्धको एक नयाँ संस्करण हो । यो चुनाव नेपालको इतिहासमा एक युगान्तकारी घटना हुनेछ । महाभारत युद्धको मुहान द्रौपदीको चीरहरण भए जस्तै यस चुनावी संग्रामको मुहान पनि नेपालमाथिको निरन्तर विदेशी हस्तक्षेप हो ।
चीरहरणका स्वरुप
नेपालमाथिको चीरहरण विभिन्न आयामको छ । बाँधहरु उठाएर, नेपालको उब्जाउ भूमि डुबानमा पारेर, भारतले कोशी र गण्डकीबाट विद्युत उत्पादन गरी मस्ती उठाएको छ । अलिकता निरिहता, अलिकता कमजोर शासकबाट फुत्किएको वचन, अलिकता छिमेकीको खुशीमा रमाउने बानीका कारण नेपाल यसमा चुपचाप सहन गरेर बसेकै छ । महाकालीमा भारतले बोलेको कबोल पूरा गरेको छैन । नेपालमाथि लेण्डुप दोर्जे मोडेलको प्रचण्ड सास्ती थोपरेकाले महाकाली सन्धि पछिको थिचोमिचो पनि घरेलु कारणले ओझेलमा छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठको काँधमा जिम्मा लगाएर सीमा अतिक्रमणमा लाटोकोसेरो बन्नु नेपालको चिनारी नै हो । सन् १९६२ को भारत–चीन युद्धमा चीनबाट लखेटिनु परेपछि भारतीय सेना कालापानी आएर मात्र दम लिन पुगेको थियो । लोकतन्त्रको शिकार गरिरहेका राजा, नेपालको शिकार गरिरहेको भारत र व्यापार गरिरहेको चीनको चोचोमोचो मिल्यो । छिमेक नीतिमा राजनीति र कूटनीति तपसिलमा राखेर व्यापार गर्ने चीनका कारण भारत र चीन बीच लिपुलेक मुद्दामा स्वार्थ मिलेको छ । यो सबको एकमुष्ट झटारो स्वरुप मातृभूमि नेपाल लिम्पियाधुरामा चीरहरणमा परेको छ ।
चीरहरणको विभत्स रुप यतिमै सीमित छैन । भारतको रुचिमा नपर्दा नेपालका प्रधानमन्त्रीले बारीको काँक्राेले जसरी सजिलै चुडिनु र छिनालिनु पर्ने जुन सिलसिला छ, यो नियति नै नेपालको चीरहरणको निर्मम स्वरुप हो । यसमा देख्न सकिन्छ मातृभूमिले भोग्दै आएको पीडा विद्रूप दृश्य । सशस्त्र आक्रमण गरेर, शहरका शहर खरानी पारेर, पुटिनले युक्रेनको सत्तापलट गर्न सकेका छैनन् तर मोदी महोदयले नेपालमा कठपुतली खडा गरेर छद्म युद्धमार्फत ओलीलाई सहजै बालकोट बार्दलीसम्म पुगाएको घटनाले एउटा खतरनाक नजीर स्थापित गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ सालमा दिल्ली बोलाएर प्रचण्डलाई आलोपालोको निहुँ खोज्न उकासेपछि ओली नेतृत्वको दुईतिहाई बहुमतको सरकार विस्थापनको षडयन्त्रले गति लिएको थियो । शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने दृढ अठोटका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा जारी गरेपछि लोकलाजले आजको सत्ता गठबन्धनका लेण्डुप दोर्जेहरुले संसदमा ओलीलाई साथ दिएका थिए । चुच्चे नक्शा छापिएको ठीक एक वर्षपछि मोदीको इशारामा जोरजम्मा भएका लेण्डुप दार्जेहरु सक्कली अनुहारमा आए ।
जनादेशलाई छायामा पार्ने गरी सेटिङ हानेर परमादेश सृजियो र ओली सरकार ढालियो । यसरी नेपाली भूमिमा नेपाली जनताले चुनेको प्रधानमन्त्री भारतले नचाहेको अवस्थामा टिक्न नसक्ने नियति नै मातृभूमि नेपालको चीरहरणको कुरुप र निर्मम स्वरुप हो । केपी ओली जस्तो स्वाभिमानको मेरुदण्ड भएको लौहपुरुषलाई समेत पाखा लगाउने हस्तक्षेपले सत्ता गठबन्धनका कठपुतलीहरुलाई आफ्नो हत्केलामा नचाइरहेको छ । यसैले यो चुनाव नेपाल भारत बीचको छद्मयुद्ध हो ।
यसप्रकारको चीरहरणबाट मातृभूमिलाई बचाउन जनताको कृष्ण स्वरुप अपरिहार्य छ । जनताको सर्वाेच्चता स्थापित गर्न र ‘हर हर मोदी’ गर्ने लेण्डुप दोर्जेहरु थान्को लगाउन जनदण्डको दरकार छ । जनताले एमाले र ओलीलाई शरण नदिने हो भने मंसिर ४ गते पछिको नेपालले स्वाभिमानको मेरुदण्ड गुमाउने छ । ओलीलाई शरणको मरण गर्नु जनताको लागि आफ्नो खुट्टोमा बन्चरो हुनेछ । हिजो हाम्रा पुर्खाहरु अलमोडा, कुमाउँ, गडवाल र पंजाबसम्मका साना ठूला राज्यहरुलाई हात्तीले केराको थाम उखेलेझै उखेल्थे । नेपाल आफ्नै बलबुत्ताले बनेको देश हो । बरु भारत बेलायतको बैशाखीमा उठेको देश हो । चीनले पनि जापानको टेको लिएको हो । तिब्बत र काँगडामा खाँडो पखालेको नेपालले कसैको बैशाखी टेकेन र शेरपर्वत हिमालयको मूलभाग यस भूखण्डले झुक्न र लुक्न जानेन ।
आज पनि सौभाग्यवश नेपालले बलभद्र कुँवर जस्तो शूरो र चाणक्य जस्तो भित्रैदेखि दरो एक नक्षत्रका रुपमा केपी ओली जस्ता रत्न पाएको छ । दक्षिण एशियामा आँधीझै बढेको मोदी लहरबाट नेपाललाई जोगाउनकै लागि नेपाली जनताको काखमा राष्ट्रिय विभूतिका रुपमा राजनेता ओलीको मौजुदी छ । ओली नेतृत्वको एमाले बाहेक दक्षिण एशियामा उत्कर्षकालको भाजपा र मोदीसँग आँखा जुधाएर टक्कर गर्ने र ट्याक्कल गर्ने अर्काे शक्ति छैन । मोदी लहर कम भीषण छैन । यसले भारतमा कांग्रेस आई जस्तो लामो इतिहास बोकेको पार्टीको रजगजलाई घाटमा उतारेको छ र गान्धी परिवारको शिरधज उडाएको छ ।
केजरिवालको करिस्मालाई यसले थपक्कै रोकेको छ । भारतका साना–ठूला लोकतन्त्रवादी दलको सातोपुत्लो गएको छ । डिबी त्रिपाठीहरुका नाङ्ले पसलहरु सुके । सिताराम यचुरीहरुको मागिखाने भाँडोको रुपमा रहेका वामपन्थी दलहरुले पनि पिण्ड खाइसके । नेपालमा कांग्रेस, माओवादी, समाजवादी, फोरम र लोसपाहरु थर्कमान छन् । भारत रिसाउदा नाङ्ले पसल बन्द हुने भय छ । अस्तित्व रक्षाको संकट टार्न सरिसृप पार्टीहरुले हात उठाइसकेका छन् । हर हर मोदीको धूपबत्ती बालेर एमाले र ओलीलाई धारे हात लगाउनु उनीहरुको दिनचर्या हो ।
हरेक युगका कौरवहरुले कृष्ण र पाण्डवहरुको मौजुदीलाई खिल्ली उडाउदै चीरहरणको कुकृत्य गर्छन् । नेपाली जनताको चेतना र विवेकको अखण्डज्योति निमेको छैन । हात्तीमाथि हमला गर्ने हिम्मत भएको सिंह जस्तो एमाले जनताको साथमा छ । बहुदलीय जनवादी मानव डमरुहरुले निरन्तरको हस्तक्षेपको जरा उखेल्ने संकल्प लिएसके । यति भएर पनि नेपालको चीरहरणको कृत्य जारी छ । सूक्ष्म व्यवस्थापनको कमालका कारण नेपालमा लेण्डुप दोर्जेहरुको जुन लर्काे लागेको छ, यो नेपालको चीरहरणको सबैभन्दा संगीन प्रयास हो । विश्व मानचित्रबाट नेपालको नाम मेटाउने र नेपालको अस्तित्वको अखण्डज्योति निभ्न नदिने बीचको महाभारत युद्ध मानिएको यस चुनावमा हरेकले आफ्नो भूमिका र कर्म अनुसारको फल भोग्ने छन् । नेपालको शक्ति ऐठन पार्नमा यहाँ बिगतकालमा ककस्को भूमिका कस्तो भूमिका रह्यो र अहिले छ, चित्रण बान्छनीय छ ।
देउबा: आधुनिक धृतराष्ट्र
नेपाली कांग्रेसको पोल्टामा चिन्तन, संगठन र जनसमर्थनको सौभाग्य थमाएर दिल्ली, दरबार र वामपन्थीहरुको एकैसाथ ओठतालु सुकाउने र ईश्याले जल्न बाध्य पार्ने विश्वेश्वरप्रसाद कोइरालाले सिंगो जीवन खर्चिएर खडा गरेको पार्टी नेपाली कांग्रेसमा निष्ठाशुन्य, योजना र सपनाशून्य शेरबहादुर देउबालाई पार्टी सभापतिको रुपमा भूराजनीतिक दाउपेचका खेलाडीहरुले गरेको थपना राजा कुरु, सन्तनु र भीष्मको पौरखले धपक्क बलेको र उठेको हस्तिनापुरको सत्तामा धृतराष्ट्रको थपना जस्तै एक क्रुरतम मजाक हो ।
सुदूरपश्चिमको सोझो क्षेत्री, कांग्रेस भित्रको कोइराला र कोइराला रजगजविरोधी मनोविज्ञान र संवेग, शेरबहादुर देउबा र राप्रपा नेतृ प्रतिमा राणा पुत्री डा.नआरजु राणाको बिबाहसँगै एमालेबिरुद्ध कसिएको कांग्रेस र राप्रपाको समन्धको डोरी समेतलाई टालाटुली बटुली गरेर विगत तीन दशकदेखिको अस्थिर राजनीतिको स्थिर खम्बाको रुपमा भूराजनीति दाउपेचका विधाताहरुले आजका देउबा र देउबा प्रवृत्तिको जन्म गराएका थिए । कुनै पनि व्यक्ति ननिको भएर अरुलाई पिर्न सक्छ तर अन्ततः उसले सबैभन्दा बढी अन्याय गर्ने भनेको आफैलाई हो । धृतराष्ट्रले अग्रज, आफु, उत्तराधिकारी कसैलाई पनि न्याय नगरे जस्तै देउबाले पनि आफ्ना अग्रज, समकालीन र उत्तराधिकारी सबैको अपमान र अन्याय गरेको सिलसिला छ ।
जीवनगुरुहरु– गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले बगाएका आँशु, भोगेको तिरस्कार र कांग्रेस परित्यागको घटनाकै बीचमा महापञ्चहरुको आडभरोसामा प्रधानमन्त्रीको पदमा दोहोरिने तेहेरिने लालशामा पढ्न सकिन्छ देउबामा सवार धृतराष्ट्र प्रवृत्ति । २०४८ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसको बहुमतको सरकार र २०७४ सालमा गठन भएको केपी ओली सरकारले पाँच वर्ष ढुक्कले काम गर्न पाउनुपथ्र्यो । ती दुबै सरकारको विस्थापनमा आधुनिक धृतराष्ट्र देउबाको हात छ । देउबा नै गिरिजा सरकार ढाल्ने कांग्रेसका माकुरेभ्रूण छत्तीसेहरुका सृष्टिकर्ता, संचालक र संरक्षक थिए । ओलीलाई ठुग्ने गोर्वाचोभका नेपाली संस्करण माधव र झलनाथलाई माना, नाना र छाना दिने पनि देउबा नै परेकाले बिगत तीन दशकदेखिको अस्थिर राजनीतिको जड कहाँ छ, प्रष्ट छ ।
राजा र प्रचण्डसँग टक्कर लिइरहेका जीवनगुरु गिरिजाप्रसादलाई गरेको घात र राजाप्रतिको बफादारिता र साथमा देखिन्छ देउवामा रहेको निष्ठाको खडेरी र इमान्दारिताको अभाव । गोलीको आँखा हुँदैन भन्ने कथन पनि देउबाकै दर्शन हो । टाउकोको मूल्य तोक्ने अलोकतान्त्रिक उर्दी पनि देउबा सनकको उपज थियो । अस्थिरता र देशको दोहनको लागि प्रचण्डको ज्यानी दुष्मनबाट जिव्रmी दोस्तसम्मको देउबा छलाङले वीपीको विचार, जनाधार र सदाचारको एकैसाथ धज्जी उडाएको छ । आजको कांग्रेसमा महापंचका पुत्रपुत्रीहरु सुनिलबहादुर थापा हाँस्नु र पोसिनुमा, कर्णबहादुर मल्ल र रिता खनालहरु रुनु र लखेटिनुमा, प्रचण्डहरु प्रफुल्ल रहनु र नजिकिनुमा, लक्ष्मण घिमिरे र शेखर कोइरालाले अटेसमटेस महसुस गर्नुमा पुष्टि हुन्छ, देउबा नेतृत्वको आजको कांग्रेस बीपी ब्राण्डको लोकतन्त्रको मियो कांग्रेस होइन । देउबा युगको यो कांग्रेस त मसाले र मण्डलेबाट जन्मेको वर्णशंकर कांग्रेस हो । कांग्रेसलाई वैचारिक, राजनीति, देशभक्ति, स्वाभिमान, योजना र सपना सबै हिसाबले खण्डहर बनाउनमा देउबाको धृतराष्ट्रिय भूमिका प्रमूख कारण हो । कौरवहरुले धृष्तराष्ट्रको छहारी ओढ्नुको फल कुरुक्षेत्रको मैदानमा कृष्णबाट दण्डित भएर भोग्नु परेको थियो । देउबालाई कांग्रेस सभापति चुन्नुको मूल्य चुक्ता कांग्रेसले चुनावी संग्राममा चुकाउनु पर्ने छ ।
प्रचण्ड र माधवको शल्यसेनापतिय भूमिका
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल मध्ये कुनै एकजना देशभक्त र इमान्दार परेको भए कांग्रेसले पिण्ड खाइसक्थ्यो र नेपालमाथिको भारतीय हस्तक्षेप एकादेशको कथा भैसक्थ्यो । कांग्रेसको रिसले ओली बोक्ने र ओलीको रिसले देउबाको दैलो धाउने प्रचण्ड र माधवको शल्यसेनापतिय भूमिकामा टेकेर नेपालमा नेपाली जनताको सर्वाेच्चताको सत्यलाई उखेलेर ‘हर हर मोदी’ गर्ने गरी मोदीको सर्वाेच्चता स्थापित गर्ने कपटले काम पाएको छ ।
समाज चरित्र उत्पादन गर्ने कारखाना हो । कांग्रेस र कम्युनिष्ट दुबै शक्तिका लागि हामी आफ्नै हौं भन्ने प्रचण्ड र माधव यस महायुद्धमा शल्यको भूमिकामा छन्, जता पनि ठिक्क । मद्रासका राजा शल्य कान्छा दुई पाण्डव– नकुल र सहदेवका मामा थिए । महाभारत युद्धमा उनी भान्जाको पक्षमा लड्ने भनेर सेनासहित मद्रासबाट कुरुक्षेत्रतिर हिडेका थिए । बाटामा दुर्योधनले दिएको सत्कारबाट मोहग्रस्त भएर उनले कित्ता बदलेका थिए ।
सुरुका दिनमा कम्युनिष्ट कार्यकर्र्ताको लेबीबाट प्रचण्ड र माधवका चिसा चुलामा आगो बलेको हो । दुबैका भुँडीले टाकनटुकुन भुँडीबाट हाँडीघोप्टे भुँडीमा हानेको छलाङमा कम्युनिष्ट पार्टीका असंख्य भोका नांगा कार्यकर्ताहरुको खुन, पसिना र आँशु खपत भएको छ । प्रचण्ड र माधव भने आरजु राणा र सुनिल थापा जस्ता महापंचहरुका पुत्ररत्न र पुत्री रत्नको सौन्दर्यकर्मी, सुसारे, बाउरे र धुपौरे लागेका छन् । यस चुनावमा सबैभन्दा महंगो मूल्य शल्यप्रवृत्तिले उकाउनु पर्ने छ ।
कर्णको भूमिकामा कांग्रेसको लोगो
जेलजीवन, कठोर यातना र लोकतान्त्रिक संस्कारको छहारीमा हुर्केको नेपाली कांग्रेस सत्ता प्राप्तीको लागि जे पनि गर्ने देउबाबाट पराजित र दण्डित होला भन्ने सोचिएको थिएन । सुशील कोइरालाको मृत्युसँगै एक खतरापूर्ण संभावना वास्तविकतामा बदलिएको छ । माओवादीबाट आएका प्रचण्डले दरा ओलीको मौजुदीका कारण एमाले कब्जा गर्न नसके पनि तान्त्रिक कांग्रेसबाट आएका शेरबहादुर देउबाले लुरे रामचन्द्र पौडेलको हातबाट मूल कांग्रेसको लगाम खोसेर नेपाली कांग्रेस कब्जा गरिसकेका छन् ।
देउबाकालको नेपाली कांग्रेस नैतिक रुपमा निर्वस्त्र छ, विचारको हिसाबले टाट पल्टेको छ, स्वाभिमानका हिसाबले दण्डवत आसनमा छ, देशभक्तिका हिसाबले मातृभूमिको चीरहरणको आधार बनेको छ । प्रजातन्त्रसँग प्रधानमन्त्रीको पद साँटेको भए पंचायत कालभर बीपी नै प्रधानमन्त्री हुने बचन र आस्वासनको ओइरो आएको थियो । बीपीको रोजाईमा कष्ट पर्यो, कुर्सी परेन । तर देउबाकालिन कांग्रेस मातृभूमिको चीरहरणको बेला पराईको हातको कठपुतली बनेको छ । कांग्रेसलाई हस्तक्षेपको जुवामा जोत्न सकेपछि नेपालको समृद्धि र स्थिरताका बैरीहरु हौसिएका छन् । भनिन्छ, अर्जुन हाराहारीको दुर्घर्ष वीर योद्धा कर्ण पाएपछि नै दुर्याेधनलाई पाण्डवहरु कुल्चेर अघि बढ्ने साहस पलाएको थियो ।
एक हिसाबले भन्ने हो भने जसरी कर्णको आड पाएपछि नै द्रौपदी वस्त्राहरणदेखि महाभारत युद्धका कृत्यमा कौरवहरु उत्रिए । धेरै पटक प्रधानमन्त्री भएको कीर्तिमान राख्ने छुद्र स्वार्थमा लिप्त कांग्रेस भेटाएपछि नै लिम्पियाधुरा हडप्ने आयामको चीरहरणको साजिसलाई साकार पार्ने हिम्मत जुटेको छ । यस चुनावमा कुर्सीमा टाक्सिने अरु केही पनि विवेक र सुझबुझलाई भाउ नदिने धृतराष्ट्र प्रवृत्तिका दीर्घवाहुहरुलाई जनताले ताछ्ने छन् ।
लैनचौर: सदावहार शकुनी
कोतपर्वदेखि ओलीपर्वसम्मको भूमिका हेर्ने हो भने नेपालको लय, जय र गति रोक्नमा लैनचौरको भूमिका शकुनी मामा प्रवृत्तिको छ । लैनचौरमा गोरा बसून् कि गहुँगोरा, जमाना सामन्ती युग होस् कि लोकतान्त्रिक, व्यवहारमा कुनै अन्तर आएको छैन । नेपालका प्रधानमन्त्रीलाई भेट्दा महामहिमहरुलाई कोटका टाँक लगाउन झ्याउ लाग्छ, जुत्ताको तुना कस्नु भन्दा चप्पलमै सजिलो लाग्छ, आर्य मर्यादाको उलंघन गर्दै उपर्खुट्टी आसनमा बसेर मेख मार्न र तेजोवध गर्न आनन्द आउँछ ।
कुनै बेला नेपालको उत्तरी सीमानामा भारतीय चेक पोष्टहरु थिए । नेपालको क्याबिनेट बैठकमा भारतीय प्रतिनिधि रहन्थे । अचेल यी सब इतिहासमा सीमित छन् । लैनचौरमा राजदूतको आवरणमा भाइसरायको जुन मौजुदी छ, यसलाई जनताको अदालतले खारेज गर्नेछ । नेपालमा भारतको हैकम अब एकादेशको कथा हुनेछ । हाम्रो अन्तरविरोधमा खेलेर हिजो बेलायत र आज भारतले गोल हान्ने खेललाई मंसिर ४ गते जनताले सदाको लागि अन्त्य गर्ने छन् ।
एमाले: राजनीतिक अचानो
‘प्वालै प्वालले भरिएको नाथे चाल्नोले हात ठड्याउँछ, छियाछिया मेरो दिलको दशा देखेर घाउ नै घाउले भरिएको अचानोको समेत आँखा रसाउँछ ।’
दुःखमा परेकाको आँसु पुछ्ने र मैमत्थहरुलाई तेल नगाउने एमालेमाथि कांग्रेसको कपट, माओवादीले पस्केको कृतघ्नता, माधव, झलनाथ, वामदेवहरुले दिएको धोकाघडी हेर्ने हो भने प्वालको धनी चाल्नो र चोटको धनी अचानो पनि रुने अवस्था छ । जनआन्दोलन २०४६ सालको महानायक हुँदा गणेशमान सिंहलाई काँध थाप्ने एमाले थियो । २०४७ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा काँध थापेर साथ दिने एमाले थियो । गिरिजाप्रसाद कोइरालालाई २०६२/६३ को जनआन्दोलनमा मैलोधैलो पखालेर राष्ट्रिय हिरो बनाउने एमाले थियो । सुशील कोइरालालाई दोश्रो संविधान सभाको कार्यकालभरि सघाउने एमाले थियो भने सताउने माओवादी थियो ।
काग्रेसले माओवादी बस्ती आगो लगाउँदा माओवादी कार्यकर्ताहरुको आँशु पछ्ने एमाले थियो । माओवादीले निहत्था कांग्रेसजनको घाँटी रेट्दा अमानवीय हर्कतको निन्दा गर्ने एमाले थियो । प्रचण्डलाई पहिलो पटक प्रधानमन्त्री हुनबाट रोक्ने कांग्रेसी चेष्टामा सामेल भएन एमाले । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिने र सेनापति हटाएर सत्ताकब्जा गर्ने प्रचण्डको चलाकी बुझ्ने एमाले थियो ।
यसरी एमालेले नै कांग्रेस र माओवादी गरेका नकारात्मक काम रोक्ने र भएका राम्रा काममा एमालेको नेतृत्वदायी भूमिका रहेको छ । देशको साह्रोगाह्रोमा र लोकतन्त्र खतरामा रहेको बेला एमाले जुँगाको लडाइँ लड्दैन । जटिल मोडमा एमालेले सहायकमै चित्त पत्याएर कांग्रेस र माओवादीलाई महानायक शक्ति बनाउन कुनै कसर बाँकी राखेको छैन । बदलामा कांग्रेस र माओवादीले कृतघ्नता, निन्दावर्षा, कपट, घेराबन्दी र प्रभुको बोलावटसम्म पुगेर औकात देखाउने गरेका छन् ।
बहुदलीय जनवादीहरु चिन्तन, संगठन र जनसमर्थन कलामा कांग्रेस र माओवादी आफ्नो पराजय र पतन देख्छन् । विचार, जनाधार र सदाचारको त्रिवेणी बनेकोमा एमालेप्रति उनीहरुलाई डाह छ । दरबार, दिल्ली, कांग्रेसलाई टक्कर दिएर आधुनिक नेपालको मियोको रुपमा एमाले उठेकोमा उनीहरुलाई जलन छ । एमालेलाई सही लिक उभ्याउने कामको शिलान्यास गर्नु जननेता मदन भण्डारीको गल्ती थिएन । कपडा पेल्ने मसिनले पुराना कपडा पेलेर रुई बनाए जस्तै माधव–झलनाथ कालको एमालेको झुर प्रदर्शन हेरेर एमालेलाई घाटमा पुगाउने दाउमा रहेका कांग्रेस र माओवादीले हेरेका थिए ।
उनीहरुलाई जिल खुवाएर एमालेको पोल्टामा पुनरोदयको सौभाग्य थमाउनु राजनेता ओलीको अपराध थिएन । कस्तुरी मृग आफुसँग भएको चीजका कारण जोखिममा परेझै एमाले पनि आफुसँग भएको देशभक्त रसायन, लोकतन्त्रप्रतिको अटल निष्ठा, एकदलीय अधिनायकवादप्रतिको घृणा, सामाजिक न्याय, समानता, विकास र समृद्धिका प्रतिको हुटहुटी आदि सद्गुणले गर्दा केही महत्वाकांक्षाका व्यापारीहरुका लागि टाउको दुःखाईको विषय बनेको छ ।
जनताको अदालतले न्याय अन्याय छुट्याउँछ । आगामी चुनावमा एमालेको महानायकीय चरित्र पुरस्कृत हुनेछ । एमालेको मति, गति र सरस्वतीमा ईश्र्या गर्ने खलनायकी चरित्रका कारण कांग्रेस र माओवादी जनताको कोपमा परी भिरको डिलमा पुग्ने छन् ।
