–दयालबहादुर शाही
लोकतन्त्रमा सरकार जनताले चुन्छन् । नेपालका शासकको चयनमा लैनतन्त्रको हस्तक्षेप निर्णयक रहने गरेको छ । यो सिलसिला युगदेखि युगसम्म चल्दै आएको छ । बेलायत गयो, भारत आयो तर व्यवहारमा अन्तर आएन । सामन्ती युग सकियो, लोकतन्त्रको नयाँ उषाकिरण आएको छ, राजतन्त्र गयो, गणतन्त्र आएको छ तर हाम्रा अन्तरद्वन्द्वमा खेलेर अरुले गोल हान्ने र जितबाजी कुम्ल्याउने अनाचार र अत्याचार रोकिएको छैन ।
जसरी कागले गुँड लगाउँछ, फुल पार्छ तर कोइलीका चल्ला कोरलिने गर्छन् र हुर्किने गर्छन्, त्यसरी नै नेपालको लोकतन्त्रलाई लैनचौरतन्त्रले सताउनु सताएको छ । जनादेशले ओली चुनेको थियो । जनमतले ओली भनेको थियो । परमादेशले देउबालाई थपना गर्यो । यो सब लैनचौरतन्त्रको कमाल हो । कागभन्दा कोइली चंख हुने पशुपन्छीको राज जागेका जनतालाई सैह्य र सुपाच्य हुँदैन । यसैले मंसिर ४ गतेको चुनाव लोकतन्त्र र लैनचौरतन्त्र बीचको आमनेसामने युद्ध हो ।
नेपालको लोकतन्त्र, जसका लागि सबैभन्दा मतीबुद्धि जननेता मदन भण्डारी र जननायक विश्वेश्वरप्रसाद कोइरालाको परेको छ । मन, बचन र आचरणले एमाले अध्यक्ष केपी ओलीले मदन र बीपीले छोडेको विरासत बोकेको कतिलाई मनपरेको छैन । राजनेता ओलीले लोकतान्त्रिक आन्दोलनको अखण्डज्योतिमा तेल थपेको लैनचौरतन्त्रको जुठोपुरोमा हुर्केका सत्ता गठबन्धनका लेण्डुप दोर्जेहरुलाई रुचेको र पचेको छैन । सत्ता गठबन्धनका हस्तीहरुलाई लोकतन्त्रप्रति निष्ठा छैन । उनीहरुले लैनचौरतन्त्रको झण्डा बोकेर परतन्त्रको फण्डा गरेका छन् । जनताको सर्वाेच्चता, जनताको रोजाई, जनताको जागरण, जनताको तागत उनीहरुका लागि फगत हो । जनतासँग जिस्कने यही विनाशकाले विपरीत बुद्धि नै समस्याको जड हो । चुनावमा उनीहरुलाई जनताले दिने जनदण्ड नै यस परावलम्वी चेतको रामवाण हो । यसैले यस चुनावले लोकतान्त्रिक आन्दोलनको विरासत रक्षा गर्ने ओलीलाई न्याय गर्ने छ । सत्ता गठबन्धनका लेण्डुप दोर्जेहरुलाई दण्डित गर्ने छ ।
लोकतन्त्रमा आफ्नो भूगोलभित्र जनता जनाद्र्धन नै राजनीतिक दलका सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता हुन् । बेला बेला जनताले चुनावको माध्यमबाट अहंकारी र अदूरदर्शी राजनीतिक दललाई रामधुलाई नपार्ने हो भने लोकतन्त्र लोकतन्त्र रहँदैन, लुटतन्त्र हुने गर्छ । नेपालमा जनताको अदालतले मै हुँ भन्ने शक्तिका हड्डी पिसेको, करङ धुल्याएको र घाटमा उतारेको सुनौलो सिलसिला छ ।
जनताको सर्वाेच्चता कसैको टिठ, दया र अनुकम्पाले स्थापित हुँदैन । जनतामा भएको जनदण्डको तागत नै जनताको सर्वाेच्चताको आधार हो । तानाशाहीको सकस त्यो देशका जनताले बेहोर्नुपर्छ जहाँका जनतालाई केही थान महत्वाकांक्षाका व्यापारीहरुले टेर्न छोड्छन् । जनताबाट डर र भर गर्न देउबा र प्रचण्डले पनि छोडेका छन् । आफु दुईको चोचोमोचो मिल्नासाथ पृथ्वीले आफ्नो वरिपरि चक्कर मार्नुपर्छ भन्ने खालको अहंकार दुबैको भावभंगीमा झल्कन्छ । आफुहरु बीचका बन्दा र भत्किदा समीकरणको हत्केलामा जनता नाँच्नु पर्ने अहंकारको घैटा भरिपुरी छ । यसप्रकार जनता जुटाउनु नपर्ने, जनता रिझाउनु नपर्ने, लैनचौर रिझाए पुग्ने अहंकारले टाउको उठाएको छ । यसैले लैनचौरतन्त्रको छाता ओढेको सत्ता गठबन्धन जनदण्डको भागेदार छ ।
नेपाली जनतामा दण्डनीतिको चेत काफी छ । नेपाली जनताले २०५१ सालमा छत्तीसे र चौहतरेको यदुवंशी कलहमा फसेको उत्कर्षकालको मैमत्त कांग्रेसका करङ धुल्याएकै हुन् । एकाएक मदनको विरासतमा बाघको छालामा स्यालको रजाइँ गर्न पाएपछि असली औकात देखाइरहेका माधव नेपाल र वामदेव गौतमको नग्नता रोक्न नसक्दा एमाले २०५६ सालमा जनताको भकुराईमा परेकै हो । दशक दशकदेखि दलीय द्वन्द्वको नदी किनारमा निरंकुशताको खेती फस्टाउन खोज्ने राजतन्त्रलाई जनताको कोपले सदाको लागि उखेलिदियो ।
लोकतान्त्रिक पार्टीभित्र आन्तरिक लोकतन्त्रको घाँटी निमोठ्नुमा रमाउने गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई २०६४ सालको संविधानसभाको चुनाव कालदण्ड भएर आयो । २०७० सालको चुनावले प्रचण्डलाई पुनर्मुसिको भव गरेर सदावहार रन्चे बनायो । कुनै बेला गिरिजाप्रसाद कोइरालालाई ठग्ने प्रचण्डलाई आज देउबालाई ढोग्ने भएका छन् । पतनका सिङ, कान हुँदैनन् । पतन बाजा बजाएर आउदैन । जनदण्डलेकांग्रेस, एमालेलाई पनि थचारेकै हो तर फेरि उठ्न सके । पुर्वराजा र प्रचण्ड थलिएको थलियै छन् । फेरि उठ्न नसक्ने गरी अब जनताबाट दण्डित हुने पालो छ– लैनचौरतन्त्रको ।
अलौपर्वदेखि ओलीपर्वसम्म लैनचौरले सबैप्रकारका हद पार गरेर नेपाल र नेपालीको शक्तिऐठन गरेको छ । १८०५ सालको नुवाकोट विजयबाट उठेको नेपाल एकीकरणको अभियान लैनचौरमा वेलायती दूतको आगमनपछि सुस्तायो । १८३१ सालमा पृथ्वीनारायण शाहको मृत्युपछिको दरबारिया दाउपेचमा गोल हान्ने अंग्रेजहरु थिए । पछि आफ्नै बलबुत्ताले उठेका र जमेका भीमसेन थापा उनीहरुको रजगजमा तगारो बने । अब उनीहरुले भीमसेन थापा उखेल्नु थियो । नवयुवक राजा राजेन्द्रलाई भड्काइयो । वास्तवमा भीमसेन थापाको पतन पाण्डे खलकलाई अचानो बनाएर अंग्रेजले हानेको मार थियो । पाकापुराना र जनतामा जरा बलिया भएका राजनीतिकर्मी कठपुतली हुन नचाहने हुनाले हस्तक्षेपको रोजाईमा सिकारुखालका महत्कांक्षाका व्यापारीहरु पर्ने गर्छन । पाकापुराना भारदारहरुको एकचिहान पार्ने कोतपर्व, भण्डारखाल पर्व र अलौपर्व खडा गरी जंगबहादुर आविस्कार गर्ने पनि अंग्रेज नै थियो ।
१९४२ सालको पर्वमा समशेर खलकले जंग खलकको काम तमाम पार्नुमा पनि अंग्रेजको रोजाइ प्रमुख कारक तत्व थियो । जंगबहादुरको पुस्तापछि आउने नयाँ पुस्ताका शासक चयनमा अंग्रेजले चलाकी गर्यो । शक्तिहीन र कुण्ठित समशेर खलक अंग्रेजको रोजाईमा पर्यो । किनभने देशको साह्रोगाह्रो बुझेको तुलनात्मक रुपले पाकापुराना भएकाले जंग खलकको निरन्तरतामा अंग्रेजलाई लाभ थिएन । भारत स्वतन्त्र भएपछि पनि पुरानै रबैया कायम छ । २००७ सालमा भारतले पनि अंग्रेजकै शैलीमा राणालाई भन्दा राजा र कांग्रेसलाई काखी च्याप्यो ।
जगैदेखिका बलिया बीपीलाई उठ्न नदिएर मातृकाप्रसाद कोइरालाहरुको आविस्कार गर्यो । सशक्त आन्दोलन उठाउने सामथ्र्य देखेर कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने, भीमदत्त पन्तको विद्रोह दबाउने, दरबार र सिंहदरवार थिएनन्, लैनचौर दरबार थियो । वीपी र महेन्द्रको आम्नेसाम्नेमा पनि जित लैनचौरकै भयो । पछि राजा महेन्द्र देशभक्तिको मेरुदण्डमा उभिए बेग्लै कुरा हो तर लोकतन्त्र बलियो हुँदा लैनचौरतन्त्रले आफु घाटमा पुग्ने देखेरै २०१७ सालको कुमा बाहिर मौनता र भित्र समर्थनको नीति अपनाएको थियो ।
२०४६ सालमा नेपालमा लोकतन्त्र आयो । कांग्रेसको होश र एमालेको जोशले २०४६ सालको जनआन्दोलन सफल भएको यियो । सिघ्रतापूर्वक २०४७ सालको संविधान बन्यो । राजा, कांग्रेस र वामपन्थी बीचको त्रिपक्षीय शक्ति सन्तुलनमा लैनचौरतन्त्रलाई स्थान थिएन । उसले नेपालको एकतामा छिना चलायो । सत्ता उन्मादको कांग्रेस र निषेधको राजनीतिलाई पहिलो रोजाई गर्ने उग्रवामपन्थीहरु लैनचौरतन्त्रको जुवामा नारिन पुगे । हस्तक्षेप भने जस्तै, खोजे जस्तै गोटी भेटायो ।
कांग्रेस र एमाले बीचको सहकार्यले नेपाल बन्न सक्थ्यो । कांग्रेस त्रय नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको मिलन र तीँ मध्ये एकको दरो उपस्थितिमा पनि भारतले आफ्नो हित देखेन । २०५१ सालमा कांग्रेसभित्र गरिएको छत्तीसेको आविस्कार, २०५२ सालमा गरिएको प्रचण्डको नोयडाबास, देउबा कांग्रेस र राप्रपाको साँठगाँठ र प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउबाको थपना लैनचौरले नेपाल बिरुद्र हानेका ह्याट्रिक गोल थिए ।
सिक्कममा संविधानसभाको नाटक गराएर, लेण्डुप दोर्जे रोपेर र त्यहाँ टाईकुन अखबारहरु किनेर भारतले कामफत्ते गरेको थियो । नेपालमा प्रचण्डको आविस्कार प्रेस किनेर र दुई दुई पटक संविधानसभा असफल पारेर भारतले नेपालको घाँटी थिच्न खोजेको थियो । जनताको चेतना र एकताले प्रचण्डको क्षयीकरण भयो र लैनचौरको सपना ध्वस्त भयो ।
नाकाबन्दीपछि घेराबन्दी गरेर भारतले उठेको एमालेको बेग रोक्न खोजेको छ । अलौपर्वदेखि बन्चरीबिँड खडा गर्न पल्केको हस्तक्षेपले जनताको जागरण र लोकतन्त्र सामु हात उठाउनु पर्ने छ । ईशारा बुझ्ने जनता भएको देश हो नेपाल । जुन नियति दरबारको भयो, त्यही हाल हुनेछ– हस्तक्षेपको । आगामी चुनावमा एमालेले पाउने पुरस्कार र कठपुतली भोग्ने जनदण्डसँगै नेपाल प्रकट, अप्रकट, भद्दा वा कलापूर्ण, कुटनीतिक मर्यादाको आवरणमा वा कपटपूर्ण स्वरुपमा आउने लैनचौरतन्त्रबाट उन्मिुक्ति पाउने छ । शकुनीलाई जगा दिनु कौरवहरुको पतनको मोटो कारण थियो । युगदेखि युगसम्म नेपालका धृतराष्ट्रहरुले लैनचौरलाई बेलगाम छोडेर आफु पतनको भागेदार भएका छन् ।
जागेका जनताले लैनचौरलाई शकुनीमामाको छुट दिने छैनन् । पराधीनता स्विकार्य छैन, शत्रुता हाम्रो चाहना होइन भनेर मदन भण्डारीले तय गरेको सही लिकमा उभिएरै निरन्तरको हस्तक्षेपलाई परास्त गरिने छ । हाम्रो सत्य, हस्तक्षेपको सिंह भन्दा वलशाली छ । आउँदो चुनावमा जनताले जब ओली युगलाई स्वागत गर्ने छन् तब नेपालीको पोल्टामा सौभाग्य नै सौभाग्य पर्ने छ । लोकतन्त्र, सामाजिक न्याय, देशभक्ति, शान्ति र समृद्धिको एमाले यज्ञ पञ्चशीलमा अडिएको छ ।
कवि मनु मञ्जिलको यो– ‘दुष्मन’ कवितामा झै जनताको बहुदलीय जनवादीहरुको नर्शरी एमाले पनि अरुको बिगार नगर्ने, आफ्नो बिगार गर्नेको पनि भलो गर्न चाहन्छ र अरुको हेलाँहोचो र थिचोमिचो नसहनुको सन्तुलनमा रहेर नेपालले हार्न नहुने युद्धको अग्रमोर्चामा उभिएर डटिरहेको छ–
‘मेरो एउटा दुष्मन छ जो मलाई फोहोर जत्तिकै घृणा गर्छ तर म उसलाई फूल जत्तिकैै मन पराउँछु । ऊ मेरो अनुहारमा घाम नउदाउनु भन्छ मेरो बगैँचामा बसन्त नआउनु भन्छ मेरो घरका झ्यालढोकाबाट हावा नपस्नु भन्छ मेरो आँगनका फूलले नमग्मगाउनु भन्छ मेरा बालबचेराले उसले सुन्ने गरी नकराउनु भन्छ उसलाई दुख्ने गरी नरमाउनु भन्छ ।
ऊ आफ्नो बार्दलीमा बस्छ र परबाट बाटो हिड्ने जोकोहीलाई मनमनै मेरो घर नपस्नु भन्छ कोसेली वा उपहार बोकेका कोही नपसुन् भन्छ मन्दिरबाट आशिर्वाद लिएर फर्केका बुढाबुढीलाई मेरो घर अगाडिको चौतारोमा नबसुन् भन्छ
उसलाई मेरो घरमाथि चरा बसेको मन पर्दैन जुन मेरो छानामाथि बसेको मेरा खेतबारीमा भाग्य लहलह झुलेको आँपका रुखमा आशाका फूलहरु फूलेको कुलाको पानी मेरो गैरीखेतमा डुलेको उसलाई केही मन पर्दैन ।
यो वर्षा किन मेरो घरको छानो भत्काउँदैन ? पल्लो गाउँको खोलो किन मेरो घरको बाटो आउँदैन ? आगो किन अगेनोमा चुपचाप छ ? किन झिल्को जुनकीरी जस्तो माथि माथि उठ्दैन ? किन केही जलाउँदैन ? ऊ मेरो सपनामा मरुभुमि पसोस् भन्छ । मेरो घरमा आँधी आएर बसोस् भन्छ राती चोर आएर भकारीमा घुसोस् मेरो ओठबाट मुस्कान उडेर बालुवामा गई खसोस् भन्छ । तर म उसलाई फूल जत्तिकै मनपराउँछु ।
यत्रो दुनियाँमा एउटा ऊ बाहेकको अरु मेरो साथी, सगोत्री आफ्नो अर्काे ठूलो सानो परिचित अपरिचित एउटै कतै कोही छैन, जसले आफ्ना रहर र सपना भूलेर घाम, पानी, फूल, जून र चराहरु भूलेर घर, धर्ती र आकाश भूलेर मबारे यति बिघ्न सोचोस् मलाई यति बिघ्न सम्झोस् दुष्मन नहुनु भनेको त आफुतिर हर्दम फर्किरहने जीवनको एउटा पाटै नरहनु रहेछ । म उसलाई फूल जित्तिकै मनपराउँछु ।’
