काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सबैभन्दा चलन चल्तीको वाक्य हो– ‘नाटक नै हो, नौटंकी नै हो ।’
अरूले गरेको सबै कामलाई नाटक र नौटंकी देख्ने प्रचण्ड खासमा आफैँ नाटक र नौटंकी गर्न माहिर हुनुहुन्छ । बन्दुकको नालबाट मात्र सत्ता प्राप्ति हुन्छ भन्ने उद्घोषका साथ जनयुद्धको घोषणा गरेर जङ्गल पस्नुभएका प्रचण्ड १७ हजार नेपालीको ज्यान गएपछि एकाएक नाटकीय रूपमा परिवर्तित हुनुभयो ।
जनयुद्ध न टुङ्गोमा पुग्यो न माओवादीले सत्ता कब्जा नै गर्न सक्यो । माओवादीले न हार स्विकारो, न जीत प्राप्त गर्यो । हार न जितको दोसाँध, गर न मरको अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले नौटंकी देखाउँदै क्रान्ति सफल भयो भन्दै जसलाई शत्रु ठान्नुभएको थियो, जसका टाउका काट्न लगाउनुभएको थियो, जसका खुट्टा भाँच्न लगाउनुभएको थियो, तिनै कांग्रेस–एमालेसँग आत्मसमर्पण गर्न पुग्नुभयो । युद्ध विरामको घोषणा गर्नुभयो । शान्ति सम्झौता गर्नुभयो । त्यति बेला पनि प्रचण्डले नाटक मात्र होइन नौटंकी नै गर्नुभयो ।
माओवादीका लडाकुलाई ब्यारेकमा राख्ने र चुनामा जाने सहमति भयो । त्यो बेला प्रचण्डले झन् ठुलो नाटक गर्नुभयो । नाटक मात्र कहाँ हो र नौटंकी नै गर्नुभयो । लडाकु जतिलाई शिविर बाहिर निकाल्नुभयो । चुनावमा जुध्न र भिड्न पठाउनुभयो । माओवादीको सशस्त्र युद्धमा नहिँडेका नयाँ केटाकेटीलाई ब्यारेकमा राखेर उनीहरूको पारिश्रमिक बुझ्नुभयो ।
माओवादी लडाकुको नाममा भएको राष्ट्रिय सम्पत्तिको अपचलनको जवाफ न प्रचण्डले अहिलेसम्म दिन सक्नु भएको छ । न माओवादी केन्द्रले नै दिन सकेको छ । न त्यस बेलको सरकार र मन्त्रीले दिन सक्छ ।
त्यो एउटा नाटक थियो, नौटंकी नै थियो । त्यसैले त्यो दिने, लिन, देख्ने देखाउने सबै चुप चाप छन् । इतिहासको कुनै कालखण्डले त्यसलाई केलायो भने अलग कुरा हो ।
त्यस बेला प्रचण्डले राम्रै नाटक देखाउनुभयो । सशस्त्र द्वन्द्व पछि भएको पहिलो निर्वाचनमा माओवादी देशको पहिलो दल बन्यो ।
नाटक न हो, त्यो सधैँ कहाँ सत्य हुन्छ र, नौटंकी न हो, त्यो सधैँ कहाँ टिक्छ र । प्रचण्ड र माओवादी पार्टीको बहुमत पनि त्यस्तै भयो । नाटकको पर्दामा जस्तै देखिएको बहुमत नाटक सकिएसँगै सकियो ।
बहुमतको आडमा कहिले सेनका प्रमुख चलाउने त कहिले पशुपतिका पुजारी चलाउन प्रचण्ड पुग्नुभयो । आफू मात्रै जितेर आएको अरू सबैलाई हरुवा भन्दै हिँड्नुभयो । पहिलो संविधान सभा निर्वाचनमा पहिलो दल बनेको माओवादी, दोस्रोमा पुग्दा तेस्रो भयो, तेस्रो पटकको निर्वाचनसम्म पुग्दा त फुच्चे दल पो बन्यो ।
प्रचण्डले माओवादी समाप्त हुने अवस्था आए पछि अर्को नाटक गर्नुभयो । नाटक मात्रै के भन्नु नौटंकी नै थियो त्यो । नेकपा एमालेसँग माओवादीलाई मिसाउने र नेकपा एमाले नै कब्जा गर्ने नौटंकी रच्नुभयो । रातारात कतै छलफल नै नगरी २०७४ सालमा एमालेसँग तालमेल गरेर निर्वाचन लड्नुभयो । नाटकै गरेर माओवादीलाई जोगाउनुभयो । एमालेको अन्तर्विरोधमा खेलेर पार्टी नै कब्जा गर्ने योजना बनाउँदै पार्टीलाई नौटंकीपूर्ण तरिकाले एमालेमा मिसाउनुभयो ।
माओवादीलाई एमालेमा मिसाए लगत्तै प्रचण्ड अर्को नाटक खेल्न लाग्नुभयो । पार्टीमा अन्तर्विरोध बढाउँदै लैजाने । आफ्नो पक्षमा एमालेका नेताहरूलाई बढाउँदै लैजाने । सके आफैँ प्रधानमन्त्री खाने नसके केपी ओलीको प्रधानमन्त्री पद खुस्काइदिने... नौटंकी ।
अन्तः केपी ओलीलाई प्रधानमन्त्रीबाट खुस्काउन उहाँ सफल हुनुभयो । त्यो बेला पनि प्रचण्डले नाटकै गर्नुभयो, नौटंकी नै गर्नुभयो । आफ्नै पार्टीको सरकार विरुद्ध माधव नेपाल समेतलाई लिएर हामी यहाँ छौँ भन्दै सडकमा नौटंकी देखाउनुभयो । सत्तारुढ दलको दोस्रो अध्यक्ष सडकमा पुग्नुभयो । प्रचण्डले नाटक नै गर्नुभयो, नौटंकी नै गर्नुभयो ।
त्यो भन्दा अर्को नाैटंकी त प्रचण्डले वर्ग शत्रुको रूपमा रहेको कांग्रेसका सभापति शेरबहादुर देउवाको दौराको फेर समातेर गर्नुभयो । आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर, झण्डै दुई तिहाइ नजिकको कम्युनिष्ट पार्टीको सरकार हटाएर कांग्रेसलाई सरकारमा पुर्याएर नाटक र नौटंकी मात्र गर्नुभएन, प्रचण्डले कम्युनिष्ट विचारलाई धोबी खोलाको ढलमा नै बगाइदिनुभयो । आफ्नै टाउकाको मूल्य तोक्नेसँग गएर घाँटी जोडेर नौटंकी देखाउनुभयो ।
त्यति मात्र कहाँ हो र प्रचण्डले त्यहाँ भित्र बसेर कति नाटक गर्नुभयो कति, कति नौटंकी गर्नुभयो कति । ... भन्दा देख्नेलाई लाज भनेजस्तो अधिकार नै नभएको व्यक्तिले एमसीसी पास गर्ने भन्दै प्रधानमन्त्रीले अमेरिकालाई लेख्नु भएको पत्रको किनारमा साक्षी बसेर सही गर्नुभयो । बाहिर भने एमसीसी धोका हो भन्दै कार्यकर्तालाई उफार्नुभयो । बानेश्वरमा प्रहरीलाई इँटा हान्न लाउनुभयो । विदेशीसँग ऋण लिएर बनाएको सडकको पर्खाल र रेलिङ भत्काउन लगाउनुभयो ।
एमसीसी लगत्तै एसपीपी आयो । नेपाली सेनालाई अमेरीको सेनाको मातहतमा राख्ने सम्झौता गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रचण्डले उक्साउनुभयो । सडकदेखि सदनसम्म, अन्य पार्टीदेखि आफ्नै पार्टी भित्रसम्म विरोध भएपछि उहाँ नाटकीय रूपले पछि हट्नुभयो । त्यो पनि नाटक नै थियो, नौटंकी नै थियो ।
मङ्सिर ४ को लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा भए पछि प्रचण्डको अर्को नाटक र नौटंकी सुरु भएको छ । गठबन्धन भित्र आफ्नो पक्षमा बढी सिट ल्याउन प्रचण्ड अनेक नाटक र नौटंकी गर्दै हुनुहुन्छ ।
त्यो भन्दा पनि बेजोडको नाटक र नौटंकी त प्रचण्डले केही दिन यतादेखि सुरु गर्नुभएको छ । गठबन्धन भित्र कांग्रेसका तलका नेता कार्यकर्ता माओवादीको पक्षमा नउभिने देखेपछि प्रचण्डले आफूले कतैबाट पनि चुनाव जित्ने सुनिश्चितता देख्नुभएको छैन ।
केही दिन अघिसम्म चितवनबट चुनाव लड्ने सार्वजनिक रूपमा बताउँदै आउनुभएका प्रचण्ड अहिले त्यहाँबाट चुनाव नलड्ने भन्दै तलका कार्यकर्ताबाट प्रचार गराउँदै हुनुहुन्छ । प्रचण्डले चितवनबाट चुनाव नलड्ने भनेर गराएको प्रचार पनि नाटक नै हो, नौटंकी नै हो ।
यो नाटक र नौटंकीको पछाडि दुई वटा कारण छन् । एउटा त कांग्रेसका तलका कार्यकर्ताले चुनावमा सघाएनन् भने प्रचण्डले चितवनबाट मात्र होइन देशभरि काहीँबाट पनि चुनाव जित्ने अवस्था छैन । चितवन कांग्रेसमा देखिएको असन्तुष्टिको कारण आफूले चुनाव नजित्ने निश्चित भए पछि प्रचण्ड त्यहाँबाट भाग्ने योजना बनाउँदै हुनुहुन्छ । एक जना राजनीतिक विश्लेषकले पहिलेदेखि नै भन्दै आउनुभएको छ कि, ‘प्रचण्ड चितवनबाट चुनाव लड्दैनन्, उनी चुनावबाट नै भाग्छन्’ भनेर ।
दोस्रो कारण प्रचण्ड चितवनबाट चुनाव नलड्दा चितवनको विकासमा आउने बजेट रोकिने भन्दै चितवनका जनतासँग प्रचण्डका कार्यकर्ता बार्गेनिङ गर्दै छन् । चितवनवासीलाई मनोवैज्ञानिक प्रभाव पारेर ‘होइन प्रचण्ड त चाहिन्छ’ भन्ने पारेर आफ्नो पक्षमा मत पार्ने नाटक गर्दै हुनुहुन्छ प्रचण्ड ।
प्रचण्ड भए बजेट जाने नभए नजाने भन्ने काहीँ हुन्छ ? त्यो राज्यको सिद्धान्त भित्र पर्छ ? प्रचण्डले आफ्नो सम्पत्ति लगेर चितवनमा लगानी गर्ने हो ? राज्यको बजेट प्रचण्डले जितेको ठाउँमा पठाउने तर अरूले जित्दा नपठाउने भनेको राजनीतिक अपराध होइन ? यस्ता अपराधीलाई दण्डित गर्नु पर्दैन ? प्रचण्ड चितवन जाँदा देशको बजेट जति उहाँले जितेको क्षेत्रमा मात्र जाने हो भने देश भरिका नेपालीले भन्नुपर्छ–‘प्रचण्ड राजनीतिबाट आउट ।’
किनकि देश सबैको हो । सांसद् सबै बराबर हुन् । चितवन पनि नेपाल हो, नेपालको नक्सा भित्रको अन्य भूभाग पनि नेपाल हो ।
प्रचण्ड जहाँ उभिनुहुन्छ, उहाँले जहाँ टेक्नु हुन्छ, त्यहाँ बढी विकास हुने अन्त नहुने हो भने कम्युनिष्ट पार्टीको समानताको सिद्धान्त, सबैभन्दा कमजोरलाई पहिला भन्ने सिद्धान्त, गरिब दुःखी, पीडित, श्रमजीवी जनतालाई पहिलो प्राथमिकता भन्ने सिद्धान्तको के अर्थ । के यो सबै नाटक नै हो, नौटंकी नै हो त ?
