--दयालबहादुर शाही--
शान्ति प्रकियासँगै मूलधारको राजनीतिमा आएपछि र ०६४ सालको संविधानसभा चुनावसँगै सत्ता राजनीतिमा छाएपछि प्रचण्डमा कतिपय कांग्रेसजनले विश्वेश्वरप्रसाद कोइरालाको छनक, एमालेजनले मदन भण्डारीको छनक र माओवादीजनले माओत्सेतुङको छनक नदेखेका होइनन् । कुनै बेलाका प्रचण्ड कतिपयको नजरमा डरलाग्दो, भरलाग्दो र रहरलाग्दो त्रिवेणी थिए ।
आज देउवालाई ढोग्न विवश प्रचण्ड कुनै बेला गिरिजाप्रसाद कोइरालालाई ठग्न सक्थे । आज देउवाकाे दैलोमा दयाको भिख माग्न विवश प्रचण्ड राष्ट्रपति पदको याचक गिरिजाप्रसाद र माधव नेपाललाई रित्तो हात पठाउने औकात राख्थे । सिस्ने हिमालको बाज भनी सिउरिएका नक्कली पखेटा झरेर नोयडाबाट भारतले पठाएको कागको असली अनुहार उदांग नहुँदासम्म प्रचण्डको पहिचान विष भएको सर्प र ईख भएको मानिसकै हाराहारीमा थियो ।
विश्वेश्वरप्रसाद कोइरालाबाट लोकतन्त्रको विरासत, मदन भण्डारीबाट जनताको बहुदलीय जनवादको विरासत र राजसंस्थाको नाममा थुप्रिएको वा थुपारिएको राष्ट्ररक्षा वा देशभक्तिको विरासत आफ्नो ब्राण्डमा ढाल्ने सुन्दर अवसर प्रचण्डसामु थियो । विश्वेश्रप्रसाद कोइराला र मदन भण्डारीको अवशान, अस्ताचलमा पुगेका गिरिजाप्रसाद कोइराला र राजतन्त्रको अन्त्यले ल्याएको रिक्तता जस्ता बहुआयामिक संकटलाई चिर्दै सुन्दर अवसरमा बदल्न सक्ने अनुकूलताले पनि प्रचण्डलाई नै पछ्याइरहेको थियो ।
जीवनयात्राको दौरानमा मोहनविक्रम सिंह, निर्मल लामा, मोहन बैद्य जस्ता जीवनगुरु र सीपी गजुरेल, रामबहादुर थापा, डा. बाबुराम भट्टराई जस्ता सहकर्मीको वरदान पनि प्रचण्डलाई उपलब्ध थियो । बाध्यताले, लोकलाजले, शंकाको फाइदा दिने विवशताले वा एकअर्का विरुद्धको हतियार बनाउने गलत अनुमान र आँकलनका कारणले एमाले र कांग्रेसले बोक्नुसम्म बोकेका र पोस्नुसम्म पोसेका एक मात्र भाग्यमानीको कीर्तिमान पनि प्रचण्डकै नाममा रह्यो । यी सबका बाबजुद पनि प्रचण्डलाई पतनले खेदिरहेको छ ।
०७० साल यता प्रचण्डको ओरालो झराई ओरालो लागेको मृगको जस्तै छ । जीवनको उत्तरार्धमा आइपुग्दा प्रचण्ड एकैसाथ भीरको डिलमा र ज्वालामुखीको मुखमा उभिन पुगेका छन् । अझ खासमा भन्नु पर्दा प्रचण्ड यही मंसिर ४ को चुनावमा प्रकट हुने कहालिलाग्दो पतन र सर्मनाक पराजयल पर्खिरहेका छन् । समयको यो निर्मम उलटफेर आखिर किन ?
प्रचण्डमा रहेको शीलको अभाव नै प्रचण्डलाई भारी परेको छ । कांग्रेसका समाजवादी चिन्तक सी के प्रसाईको भनाई छ- 'परिस्थिति प्रतिकूल हुन सक्छ, प्रतिस्पर्धाले भित्तामा ठेल्न सक्छ तर राजनीतिमा बहुदा व्यक्ति असफल हुन्छ आफ्नै असावधानी र कमजोरीले ।' प्रचण्डलाई परेको दुःख प्रकृति प्रकोप वा दैविक विपत्तिका कारणले होइन । बिग्रियो मंगले आफ्नै ढंगलेका जिउदाजाग्दो उदाहरण हो प्रचण्डको हान्ने राँगाको विगत र हरुवा गोरुको जस्ता हविगत । आफैले नष्ट पारेको शीलले प्रचण्डलाई दलबल सहित राजनीति नर्कमा धकलेको छ ।
महाभारतको शान्ति पर्वमा युधिष्ठिरको एक प्रश्नको जवाफ दिदै भीष्म भन्छन् - 'जब कुनै शत्रुलाई समाप्त पार्नु छ भने सर्वप्रथम उसको शील नष्ट पारिदिनु पर्छ ।' भीष्मनीतिले भन्छ - कुनै पनि समाज, जाति वा राज्य शीलमा अडिएको र उत्कर्षमा पुगेको हुन्छ । भीष्मका अनुसार शीलमा सदाचार अडिएको हुन्छ । सदाचारमा धर्म, धर्ममा कर्म, कर्ममा अर्थ, अर्थमा बल र बलमा राज्यसत्ता अडिएको हुन्छ । जब सबै कुराको जग शील नष्ट हुन्छ तब सबै कुरा खलबलिन्छ । प्रचण्डको पतन र माओवादीको चार दिनको चाँदनी फेरि अधेरी रातमा पनि शीलको खडेरी र सदाचारसँगको दुष्मनी प्रमुख कारण हो । पंछी अरुको पासामा पर्छ तर मानिस आफ्नै फन्दामा फस्छ । अति घमण्ड, चरम असहिष्णुता र औकात भन्दा बढी चुलिएको महत्वाकांक्षाले प्रचण्डको पतनलाई सुलभ र सहज पारिदियो ।
जीवनगुरुका प्रतिका कपट र अनादर, सहकर्मीमाथिको भैँसीको मासु सिंङको अचानो गर्ने भेदनीति, जहाँ गयो त्यहीँ भ्वाङ पार्ने भष्मासुर शैली, रावणको जस्तो घमण्ड, दुर्योधनको जस्तो अरुका प्रतिको ईश्र्या र जलन, गोर्वाचोभको जस्तो वामपन्थी आन्दोलनको विघठन मोहोरा, लेण्डुप दोर्जेको जस्तो परिचालित र देशविरोधी हर्कत आदिले सृजित जनताको कोपको एकमुष्ट झटारो प्रचण्डमाथि पर्न गएको छ । नेपाली जनताले प्रचण्डलाई माफ गर्ने स्थिति छैन । जनताले प्रचण्डका प्रति पालेको कोप विष्फोटक ढंगले प्रकट हुँदैछ । सत्ता कब्जाका प्रयासहरु, सेना, न्यायालय, कोइरालाकालीन कांग्रेस, ओली युगको एमाले जस्ता शक्ति माथिको कपट र निषेधनीति, पालैपालो सबैलाई सास्ती दिने प्रचण्डबाट कसैले पनि सम्मान र सुरक्षाको आश गर्ने स्थिति छैन । शक्तिशालीलाई नपुछ्ने प्रचण्ड एक नागरिकलाई गन्दैनन् र टेर्दैनन् भन्ने जनतालाई थाह छ ।
प्रचण्डको घमण्डको रामबाण जनदण्ड मात्र हो । प्रचण्डलाई दण्डित नगरी नेपालको समृद्धि र स्वाभिमानको मेरुदण्ड मजबुत नहुने हुनाले प्रचण्डको पतनमा मात्र नेपालको उत्थान छ र जीवन छ । जनताले लिएको यही दृढ अठोटले प्रचण्डको हातमा पतन थमाउँदै छ । परिणाम चुनावपछि आउने नै छ तर प्रचण्डको उत्थान, उत्कर्ष, उन्माद, अहंकार, जनतामा बढेको कोप, जनतामा निहीत असीम शक्तिमाथिको प्रकाश यहाँ बान्छनीय रहेको छ । प्रचण्डको पतनका मूलभूत कारणहरु यसप्रकार छन्ः
१. एमालेप्रतिको ईश्या
पाण्डवप्रतिको जलनले दुर्योधनको पतन भएको महाभारत कथा एमालेका प्रतिको ईश्र्याले प्रचण्डलाई पतनसम्म पुर्याउने छ भनेर लेखिएको थिएन । यथार्तमा भएको छ त्यस्तै । ०४८ सालको चुनावमा एमाले उदीयमान शक्तिका रुपमा देखा परेपछि नै नेपाल र नेपालीका देशी विदेशी दुष्मनहरुको ओठतालु सुक्यो र निद हराउन थाल्यो । अनि प्रचण्डलाई दरबार, दिल्ली र कांग्रेसले एमाले बिरुद्ध प्रयोग गरेर नेपालको लय, जय र गति रोक्ने खेल सुरु भयो । आज प्रचण्ड भात खाने थिएँ, लात खाने भएँको गति भोग्न बाध्य छन् । किनकी जनताको अदालत प्रचण्डले कल्पना गरे भन्दा बढी सचेत, शक्तिशाली, निर्मम र सर्वाेपरी छ ।
कुलक्षिनको बालकले सानो छँदा रोई सतायो, ठूलो छँदा चोरी सतायो गरेझै प्रचण्डले पनि एमालेमाथि गरेको कपट र थोपरेको हैरानी किस्ता किस्ताको छ । भारत र गिरिजाप्रसाद कोइरालाको काँध चढेर एमालेको टाउकोमा लाठी वर्षाउने प्रचण्ड, माधव, झलनाथ र वामदेवको कानमा चिनी हालेर एमालेको शक्ति ऐठन पार्ने प्रचण्ड, ओलीको कमजोर स्वास्थ्य हेरेर सुध्रिएको नाटक गर्दै एमालेसँग एकताको हात मिलाउने प्रचण्ड, विभिन्न भावभंगी र किसिम प्रकारका प्रचण्ड एमालेले देखेको छ, जानेको छ, भोगेको र बेहोरेको छ ।
कसैले चोर औंला ठड्याउँदैमा कुहेर जाने एमाले फर्सी कुभिण्डो होइन । नेपाली जनताले खून, पसिना र आँसु दिएर एमालेलाई जन्माए, हुर्काए र बढाएका हुन् । आजको एमाले नेपाली जातिको चेतना र विवेको भण्डारगृह हो । आजको नेपालको स्वाभिमानको मेरुदण्ड नै एमाले हो । त्यही एमाले समाप्त पार्न प्रचण्डले देशी विदेशी प्रतिक्रियावादीसामु गरेको भाकाकबोलको छरप्रष्टीले प्रचण्डलाई पतनको हकदार र भागेदार बनाएको छ ।
२. गिरिजाप्रसादप्रतिको कृतघ्नता
आचार्य चाणक्य भन्छन् - पतित व्यक्ति र नदीको गिराइ र विलोप उस्तै प्रकारको हुन्छ । उनको कथन छ - 'जसरी महानदीहरु उच्च हिमालमा उत्पन्न हुन्छन्, त्यहाँबाट लेकमा झर्छन्, लेकबाट बेसी, बेसीबाट मैदान र मैदानबाट समुन्द्रमा गएर हराउँछन्, त्यसरी नै पतित व्यक्ति पनि झन् गिर्छन् झन् झन् गिर्छन् र अन्तमा गएर हराएर जान्छन् ।'
प्रचण्डको पतन पनि किस्ता किस्ताको छ । एक होइन अनेकमाथिको कपट र धोकाले मात्र प्रचण्डलाई धक्का दिएको छ । वामपन्थी कित्ताका सबै हस्तीलाई सोतर पारेर पनि एउटै गिरिजाप्रसाद कोइरालासँगको सहकार्य र सहमतीको राजनीतिमा इमान्दार भएको भए प्रचण्डलाई कसैले छुन नसक्ने स्थिति अटल र स्थायी हुन सक्थ्यो । सुध्रियो भने प्रचण्ड कसरी प्रचण्ड हुने स्थिति छ । देशविरुद्ध गद्दारी गरेर भारतको लालनपालन र उक्साहटमा नेपालमा नरसंहार मचाएको भए पनि गिरिजाप्रसादले प्रचण्डलाई दिएको माफी र ज्यान दाउमा राखेर दिएको काँधको मूल्यांकन इतिहासले गर्ने छ ।
गिरिजाप्रसाद कोइराला, जसले राजासँग घाँटी जोड्ने बीपीको निष्कर्षलाई त्यागेर कोरोना भाइरस जस्ता प्रचण्डसँग हात मिलाए, गिरिजाप्रसाद कोइराला जसले युगदेखि युगसम्मको लोकतान्त्रिक आन्दोलनको सहयात्री शक्ति एमालेलाई पाखा पारेर प्रचण्डको हातमा अन्तरिम व्यवस्थापिका संसदमा ७३ जना सांसदको भिख दिएर काखमा राखे, गिरिजाप्रसाद कोइराला, जसले सुशील कोइराला, शेरबहादुर देउबा, रामचन्द्र पौडेलको कुरा नसुनेर अन्तरिम सरकार प्रचण्डको भर परेर चलाए, तिनै गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिएर राजनीतिबाट रिङ आउट गराउने कृतघ्नता प्रचण्डले देखाए । यो एउटा गल्ती मात्र थिएन । यो त प्रचण्डको मूल प्रवृत्ति थियो ।
प्रचण्डलाई समयमै चिनेर पनि एमाले र कांग्रेसनै प्रचण्डको फन्दामा फसे पछि राजनेता केपी ओलीलाई गाह्रो परिरहेको बेला गिरिजाप्रसाद कोइरालाले प्रचण्ड भोग्नु र चिन्नु एक महत्वपूर्ण घटना थियो । लगभग एक्लो परेर पनि देश, लोकतन्त्र र एमालेको उत्थान र उद्धारको दाउ हेरिरहेका राजनेता ओलीको आडमा गिरिजाप्रसाद कोइरालाले सेनापतिकाण्डमा प्रचण्डको यसरी करङ धुल्याए कि आजसम्म पनि प्रचण्डको शरीरमा सन्चो छैन तर देखिने घाउ छैन ।
३. सत्ता गठबन्धनका लाेभिपापी
प्रचण्डको खराबी बहुआयामिक छ । उनलाई समयमै सुध्रिन नदिने सत्ता गठबन्धनका लोभीपापी राष्ट्रिय आवाराहरु उनको पतनका अर्काे कारक तत्व हुन् । संविधानसभाको निहुँमा भारतलाई नेपालमा टेको दिने प्रचण्डको गद्दारी लेण्डुप दोर्जेको जस्तो छ । जातीय र क्षेत्रीय संवेदनशीलता उछालेर राष्ट्रिय एकताका तन्तुहरु नष्ट पार्ने गद्दारी गोर्वाचोभको जस्तो छ । अरुलाई खुशी पार्न कम्युनिष्ट पार्टीको विभाजनको बाटो रोज्ने गद्दारी केशरजंग रायमाझीको जस्तो छ । समस्याका पोका प्रचण्डलाई सुधार्न लोकनिन्दाको दरकार रहेको बेला सत्तास्वार्थका कारण सत्ता गठबन्धनका राष्ट्रिय आवाराहरुले काँध थापेका छन् ।
देशको हितलाई तपसिलमा राख्नमा गठबन्धनका प्रमुख हस्तीहरु को भन्दा को कमको स्थितिमा छन् । देउवा र मोहनविक्रमलाई सुरसा अवतारकी तरुनी श्रीमतीको मात्र चिन्ता छ । सासु भन्दा जेठा यी दुई ज्वाइँसाहेबहरुलाई महामुखा पत्नीको मन थाम्न देश दाऊमा राखेर भए पनि सत्तामा रजगज गर्नुपर्ने बाध्यता छ । माधव, झलनाथ, वामदेव र बाबुरामको देशका प्रतिको गद्दारीको अन्तर्य पनि नातापातामै रोपिएको छ । यस्तै लोभीपापीहरुले गर्दा प्रचण्डले सुध्रिनै पर्ने बाध्यतालाई तपसिल परेका छ । लातको बातले जान्दैन । आफै नसुध्रिनेलाई जनदण्ड दिने जनताको स्वभाव हुन्छ । असल साथीले सुधार्ने कुरा जनदण्डको जिम्मा लगाउने लोभीपापीहरु प्रचण्डको पतनका अन्तिम र अनिवार्य कारकतत्व हुन् ।
