--श्यामल अधिकारी--
विगत करिब तीन साता म माैन थिएँ । यसै अवधिमा मैले सामाजिक सञ्जालका नाममा क्रियाशील तर हामीकहाँ असामाजिक जञ्जालका रुपमा रहेका थुप्रै युट्युब च्यानलहरु, समाचार, फेसबुक आदि इत्यादिमा आँखा दौडाएँ ।
शीर्ष भनिने नेताहरुले मतदान पूर्वान्हको मुहुर्तमा जनतालाई कस्तो सन्देश दिइरहेका छन् भनी खुट्याउनु मेरो उद्देश्य थियो । स्वतन्त्र भनिने केही ताजा अनुहारहरु ‘बुढा नेताहरु‘ र उनीहरुले काम नलाग्ने ठानेका दलहरुबारे के भन्छन् भनी बुझ्नु पनि मेरो उद्देश्य थियो । र, त्यो उद्देश्य अब पूरा भयो ।
यो लेख लेख्दालेख्दै कपुरबोट मिडिया नामक च्यानलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अन्तर्वार्ता हेरेँ । अन्तर्वार्ताकारले बडो शालीन मुद्रामा लामो समयदेखि प्रचण्डलाई लागेका आरोपहरुको खण्डन गर्ने सु-अवसर जुराएका रहेछन् । कुरा तिनै थिए - 'सीता आमाको स्वास्थ्य, युद्धकालमा छोरी रेनु र बुहारी विना मगरले बनाएको इतिहास, अहिले देउवासँग मिल्नुपर्ने थियो भने ०५२ सालमै मिलेको भए कमशेकम १७ हजारको ज्यान जाने त थिएन, चितवन छाडेर गोर्खा गएकोमा अन्तर्वार्ताकारले हँसिया हथौडामा भोट हाल्न नपाएको गुनासो ।
मिडियाका अन्तर्वार्ताकार प्रचण्डप्रति अति नै झुकेको प्रतीत हुन्छ । मुलुकको राज्य व्यवस्थालाई परिवर्तन गर्ने श्रेय उनले प्रचण्डलाई नै दिएका छन् । २ सय ४० वर्षदेखिको लामो निरंकुश राजतन्त्रलाई अन्त्य गर्ने एउटै व्यक्तिका रुपमा प्रचण्डको महिमागान गरिएको यस अन्तर्वार्ताले हजारौं माओवादी नेता कार्यकर्ताको बलिदानको उपहास मात्र गरेको छैन, निरंकुश राजतन्त्रविरुद्ध लडेर जीवन उत्सर्ग गरेका टंकप्रसाद, पुष्पलाल, वीपी, मनमोहन, मदन भण्डारी लगायतका वाम प्रजातान्त्रिक नेताहरुको ऐतिहासिक योगदानको पूरै अवमूल्यन गरेको छ ।
राजनीतिक परिवर्तनमा प्रचण्डको भूमिकालाई स्वीकार गर्दागर्दै मुलुकले बेहोर्नुपरेको क्षतिबारे सोच्ने जो कसैले पनि प्रचण्डको यस अन्तर्वार्तालाई अवस्तुवादी, यथार्थविरोधी, मित्रहन्ता, र मपाईंवादी नै भन्ने छ । ‘शक्ति सन्तुलन नबुझ्ने लेम्यानहरु‘ लाई उनले निकै ठूलो ज्ञान दिएका छन् । माओवादी विद्रोह नभएको भए परिवर्तन नै हुने थिएन रे । यसरी आफ्नै महिमागान गर्दा इतिहासप्रति न्याय गर्न नचाहनु तर आफूले र परिवारले न्याय चाहनु विरोधाभासपूर्ण कुरा होइन र ?
प्रचण्डका जवाफ तिनै थिए, 'वस्र्ट कन्डिसन' का लागि आफूलाई र पार्टीलाई तयार राख्ने गरेको इतिहासको उत्खनन, आफ्नी छोरी बुहारीको निरवच्छिन्न हकको वकालत, ०५२ सालमै मिलेको भए क्रान्ति हुने थिएन भन्ने दलील । यी सबै आरोप लगाउने गरेकोमा उनले काठमाडौंका इलिट (अभिजात वर्ग) लाई दोष दिएका छन् । र, पहिले झैं, आफुलाई यो देशको संघीय लोकतान्त्रिक गणतन्त्रको एक्लो नायक वा मसीहा सावित गर्ने प्रयास गरेका छन् । यसको जस न उनले अन्य सहयात्रीहरुलाई दिने कष्ट गरेका छन् न त अरु कसैको भूमिकालाई स्वीकार गर्ने हिम्मत गरेको पाइन्छ । जसरी भए पनि यस्तो उचाई हासिल गरेको नेता निकट विगतको इतिहासप्रति यति कृतघ्न हुन मिल्दैनथ्यो भन्नेहरु नै हुन् त काठमाडौंका एलिटहरु ?
माओवादीलाई एक्लै सरकारले दबाएर दब्ने अवस्था नरहेको बताउँदै अन्तर्राष्ट्रिय ताकत, उनको भनाइमा विदेशी सेना, ले भने माओवादीलाई कमजोर बनाउन हस्तक्षेप गर्नै थालेको समयमा मैले चुनवाङ बैठकबाट शान्ति सम्झौता अघि बढाएको हूँ । यस्तो विरोधाभासपूर्ण भनाई पनि राखे । यो सरासर नमिल्दो कुरा हो ।
अन्तर्वार्ताकारले कटुवाल प्रकरण प्रचण्डका कारणले होइन भन्ने बुझुन् भने झैं गरी प्रश्न सोधेका छन् र प्रचण्डले पनि आफ्नो नितान्त गलत भूमिकालाई ढाकछोप गर्न आफ्नो दायाँबायाँ, यताउता रहेका साथीहरुलाई दोष दिँदै पानीमाथिको ओभानो बन्न खोजेको प्रष्ट बुझिन्छ । यति अग्लो कद बनाएको नेतालाई मतदानको यस्तो बेला यति ठूलो असत्य बोल्ने साहस कहाँबाट आयो ? त्यतिबेला उनको भूमिकालाई नजिकैबाट नियालेकाहरुले आश्चर्य मान्नुपर्ने हो । 'मैले यति धेरै सामान्य मानिसलाई संघ र प्रदेशमा मन्त्री बनाएको हो' - अन्तर्वार्तामा उनले दावी गरे ।
यसै अन्तर्वार्तामा अन्तर्वार्ताकारको जोडबलमा उनले डा. भोजराज अधिकारीलाई स्वास्थ्यमन्त्री बनाउने समेत बताए । अन्तर्वार्तामा कतै पनि मुलुकको राज्य प्रणालीमा आम नागरिकको सहभागिता र त्यसको लाभबारे उनले केही भनेको पाईंदैन, तर आफुलाई किङमेकर सावित गर्न भने कुनै कसर बाँकी राखेको देखिन्न । गोरखामा शिक्षक हुँदा पनि आफुले नतिजा शून्य ल्याएको विद्यालयलाई आठ जना पास गरेर विशिष्ट शिक्षक बनेको प्रसंग पनि ल्याए ।
अर्को एउटा प्रसंगमा एमालेका निर्वाचित वडा सदस्यहरु समेत आफूकहाँ चितवन नछाड्न गुहारेको र तपाईंले चितवन छाडे चितवनको विकास रोकिने बताएको समेत भने । एमालेका निर्वाचित सदस्यहरु आएर उनलाई त्यसो भनेको हुन सक्छ, तर तिनले प्रचण्ड नभई चितवनको विकास नहुने बताएका हुन् भने कस्तो राजनीतिक प्रणाली खडा गरेको भनेर प्रचण्ड र उनका अनुयायीले गर्व गर्ने त ?
त्यसैपनि जहाँको प्रधानमन्त्री र शक्तिशाली मन्त्री छ, त्यहिँ मात्र विकास भएको, बजेटको ठूलो अंश त्यहिँ जाने गरेको हामी नेपालीजनले पञ्चायत कालदेखि नै अनुभव गरिआएका छौं । सूर्यबहादुर थापा हुँदा मोरङ, धनकुटा, लोकेन्द्रबहादुर चन्द हुँदा बैतडी, मरीचमान सिंह श्रेष्ठ हुँदा सल्यान, गिरिजाप्रसाद कोइराला हुँदा मोरङ सुनसरी, शेरबहादुर देउवा हुँदा डडेलधुरा, माधव नेपाल हुँदा कोटेश्वर र रौतहट, प्रचण्ड हुँदा चितवन र गोरखा, ओली हुँदा झापा वा अन्य हुँदा तत् तत् जिल्लामा सडक सञ्जाल, शिक्षा सञ्जाल र सन्चार सञ्जाल जाने हो भने गृह जिल्लाका प्रतिनिधि प्रधानमन्त्री नहुने जिल्लाका जनताले कसको आश गर्ने ? हुम्ला, जुम्ला, डोल्पा, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बझांग, खोटाङ, सोलु, संखुवासभा र बाजुरा जस्ता पचासौं जिल्लाका प्रतिनिधि प्रधानमन्त्री हुन सकेका छैनन् । त्यसैकारण त्यहाँ विकास नहुने हो भने प्रचण्डले ल्याएको भनिएको संघीय लोकतान्त्रिक गणतन्त्रको उपादेयता के हो ? के यस्तो व्यवस्था आमजनताका लागि हो ?
निश्चय नै विगत करिब तीन दशक हामीले राजनीतिक नेताहरुका अल्पदृष्टि र अल्पबुद्धिले दुःख पाएका छौं । अब धेरै समय नेपाली जनताले दुःख पाउने खालका अराजनीतिक अभ्यास बन्द नगरी सुखै छैन । आफूले राजनीतिक परिवर्तनको जस लिन चाहने तर सहयात्री राजनीतिक शक्ति र आमजनताको सहभागितालाई किन्चित नठान्ने हो भने, कुनै दिन यस्तो पनि आउने छ । यिनले जनताको अभूतपूर्व तिरस्कारको सामना गर्नुपर्ने छ । क्षणिक पारिवारिक वा दलगत राजनीतिक लाभका लागि सिद्धान्तच्यूत राजनीतिक अभ्यास गरिरहँदा जनताको कठोर इजलासमा उभिने दिन पनि टाढा रहने छैन ।
आफू विचारबाट चुकिसकेपछि, आफ्नो उद्घोषित राजनीतिक अभीष्टबाट छेउ लागेर अन्तै गएपछि र असत्यलाई बारम्बार सत्य सावित गर्ने कसरत गरिरहेपछि रहेबचेको साख पनि बचाउन मुश्किल हुन्छ । यसै अन्तर्वार्तामा अन्तर्वार्ताकारले ‘१० वर्षे जनयुद्धको जगमा आएको राजनीतिक परिवर्तन‘ भनिरहँदा प्रचण्डका मुखबाट १९ दिने जनआन्दोलन भन्ने निस्कनु पर्ने थियो र आफ्ना अनुयायीलाई सत्यबाट विमुख हुनबाट जोगाउनुपर्ने थियो । तर उनी त अन्तर्वार्ताकारले तयार गरिराखेको चास्नीमा डुबे । साँच्चै बोल त, त्यो जनआन्दोलन नहुँदो हो त, माओवादी एक्लैले ल्याउँथ्यो त संघीय लोकतान्त्रिक गणतन्त्र ? धेरैलाई थाहा छ, यसअघि कम्तीमा ‘१० वर्षे सशस्त्र युद्ध र १९ दिने जन आन्दोलन‘ भन्ने गरिएको थियो । हुन त परिवर्तनको श्रेय अरुलाई दिन नचाहने माओवादी सुप्रिमोले अहिले आफ्नै १० वर्षे सहयोद्धा कामरेडहरूलाई समेत बिर्सिसकेका छन् भने १९ दिने जन आन्दोलनलाई सम्झने इमानदारी कसरी देखाउन सक्छन् ? प्रचण्डको महान् जनयुद्धकालीन कमरेडहरु, यो अन्तर्वार्ता हेर्नुस्, र भन्नुस्, प्रचण्डले कहाँनिर तपाईंहरुको र तपाईंले रगत पसिना बगाएको पार्टीको योगदानको स्मरण गरेका छन् ?
इतिहासलाई यसरी लात मार्न सकिन्न
वास्तवमा सामाजिक सञ्जालहरु इमानदारीपूर्वक सूचना सम्प्रेषण गर्ने द्रुत माध्यम हुनुपर्ने थियो । यस्ता सामाजिक सञ्जालहरु हाम्रो समाजका असल अभ्यासहरुलाई प्रसार गर्ने काममा लाग्नुपर्ने थियो । यस्ता प्रभावकारी माध्यमहरु आम जनताले सत्य थाहा पाउने अस्त्र हुनुपर्ने थियो । यस्ता सामाजिक सञ्जालहरु जनताका आवाज र अवस्थालाई नेताका आँखा र कानसम्म पुर्याउने माध्यम बन्नु पर्ने थियो । दुर्भाग्यवश, हाम्रा राजनीतिक दलहरु र तिनका मठ्याहा अभियन्ताहरुले सामाजिक सन्जाललाई परस्पर गालीगलौज गर्ने कुरुप माध्यम बनाइरहेका छन् । मिडियाले गर्न त आफ्ना महान् नेताको जयगान गरेको होला, तर त्यसले केही दशक यता नेपाली राजनीतिलाई नरिवल झैं खेलाइरहेका प्रचण्डको व्यक्तित्वलाई असत्य र मपाईवादको पुञ्ज बनाइदिएको छ ।
म सानै कक्षामा पढिरहँदा कुनै पाठ्यपुस्तकमा मालिकप्रति वफादार बाँदर नोकरको कथा पनि समावेश थियो । त्यसमा रुखको छहारीमा मालिक सुस्ताइरहेको बेला झिंगो आएर मालिकको शरीररका विभिन्न भागमा बस्छ । बाँदरले मालिकलाई दुःख दिने त्यस झिंगालाई हटाउन अनेक उपाय गर्छ, तर झिंगा फेरि कहिले मालिकको गालामा, कहिले निधारमा, कहिले नाकमा बसिदिन्छ । बाँदरलाई झोक चल्छ र नजिकै रहेको तरबार उठाएर मालिकको नाकमाथि बसिरहेको झिंगामाथि प्रहार गर्छ । झिंगा उडेर जान्छ, तर मालिकको नाक भने काटिएर मरणान्त हुन्छ । यति भने पछि सायद कथासार बुझिन्छ होला - मिडियाकर्मी साथी हो, होशियार । यस अन्तर्वार्तामा प्रचण्डजी फसेका छन् । यसैगरी कसैले ओलीलाई, कसैले शेरबहादुरलाई, कसैले माधवलाई, कसैले झलनाथलाई, कसैले भीम रावललाई, कसैले घनश्यामलाई नाकमा बजारिरहेका होलान्, नेताहरु हो, आफ्ना इमानदार देखिने मिडियाकर्मी वा सन्जालेहरुको स्वार्थबारे बुझिराख्नु राम्रो ! विवेकहीन व्यक्तिले चलाएको हतियार कुठाउँमा लाग्छ ।
