--कृष्णमुरारी भण्डारी--
मंसिर ४ नजिकिँदै जाँदा पूर्व प्रधानमन्त्रीहरूको तस्विर राखेर सामाजिक सञ्जालमा ‘नो, नट अगेन’ लाई व्यापक पार्न खोजिएको छ । यस अभियानमा ६ जना पूर्व प्रधानमन्त्रीहरु तारो बनेका छन् ।
शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओलीको नाम लिँदै अब यिनीहरुलाई चुनावमा भोट दिनुहुँदैन भनिदैछ ।
यस अभियानको अर्को गोलचक्कर के छ भने, नो नट अगेन भनिएका ६ जना पूर्व प्रधानमन्त्रीमध्ये पाँच जना फेरि ‘नो नट अगेन’ भनेर केपी शर्मा ओलीविरुद्ध कन्दनी कसेर लागेका छन् । उनीहरु गठबन्धन नै बनाएर ओलीविरुद्ध जेहाद छेडिरहेका छन् । यिनको तालमाल देख्दा सर्प र भ्यागुताको कथा सम्झना हुन्छ- 'भ्यागुतो, सर्पले निल्न लागिसक्दा पनि ऊ किरो मार्न जिब्रो निकालिरहन्छ !'
सत्ता गठबन्धनका ५ पूर्व प्रधानमन्त्रीको रोदन, क्रन्दन र विलाप जसरी भए पनि ओलीलाई रोक्नु रहेको छ । तर उनीहरुको आक्रोश बिलौनामा परिणत भैरहेछ । ओलीको लोकप्रियता दिनानुदिन बढेझैं देखिंदो छ । ओलीका चुनावी सभाहरुमा जनताको सहभागिता बढ्दो स्तरमा छ ।
सत्ता गठबन्धन र त्यसका परस्पर विरोधी ‘नायक’हरु यता छोप्यो उता ह्वाङ्ग, उता छोप्यो यता ह्वाङ्गको अवस्थामा पुगिरहेछन् । मानौं यिनीहरु जाडो महिनाको त्यस्तो छोटो सिरक हुन् जो टाउकातिर छोप्यो गोडातिर पुग्दैन, गोडातिर छोप्यो घाँटी भन्दा उँभो जाँदैन ! बढ्दो चुनावी रौनकले ‘नायक’हरु ‘खलनायक’मा रुपान्तरण हुँदैछन् ।
उनीहरुले ओलीमाथि लगाएका आरोप र उठाउन खोजेका मुद्दा सत्तास्वार्थका लागि गरिएको अरण्य रोदन मात्र सावित हुँदैछन् । मंसिर ४ गतेपछि यी सबै हर्कत सत्ता स्वार्थको बिलौना भए भने ? अब बाँकी तीन दिन न हो, चौथो दिन त हाल्न परो नि मत ! जनताको बढ्दो सहभागिता र एमालेको देशव्यापी संगठन परिचालनले हराउन उठेकाहरु नै हार्नुपर्ने अवस्थामा देखिएका त होइनन् ? निर्वाचनको मुखमा गठबन्धनका सशक्त खम्बा मानिने उपेन्द्र यादवको पारपाचुकेले पनि ओलीविरोधी साँठगाँठलाई उदांगो पारिसकेको छ ।
देशव्यापी रुपमा एमालेको सशक्ततासंगै ओलीको आत्मविश्वास, उत्साह र चम्कदो औराल, नीति कार्यक्रम र जनलहरले असंवैधानिक गठबन्धन झन् झन् कमजोर हुँदैछ, ऊ अलोकतान्त्रिक, अपवित्र सांठगाँठमा फेरिएको छ र आमजनता समक्ष मलिन, धुमिल र फिक्का देखिदैछ ।
मतदाता समक्ष यसपाली ओली र एमालेको उचित र चित्तबुझ्दो अर्को विकल्प देखिएन । गठबन्धनको घेराबन्दीले एमालेलाई बाह्र हातको टाँगाले पनि छुन नसक्ने भैरहेको जस्तो देखिन्छ । एमाले नै थियो जसले वामपन्थीहरुको छविलाई लोकतान्त्रिकरण गर्यो ।
वाम वर्चस्व भएको समाजलाई अन्तर्राष्ट्रिय समुदायले सन्देह गर्ने गर्थ्याे, उसलाई प्रतिष्पर्धामा विश्वास नगर्ने एकदलीय अधिनायकवादी नै ठान्ने गर्थ्याे । मार्क्सबाद चलनचल्तीको रुढीवादी व्याख्यालाई एमालेले नै तोडेको हो भन्ने कुरा अब अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गरिसकेको छ । निर्वाचनमा र निर्वाचित संस्थाहरुमा पुगेर एमालेले आफूलाई मुलुकको प्रमुख र जिम्मेवार लोकतान्त्रिक शक्तिको रुपमा स्थापित गरिसकेको छ ।
अचेल पश्चिमाहरु पनि एमालेलाई लोकतान्त्रिक ब्राण्डको राजनीतिक दलका रुपमा पहिचान गरिरहेका छन् ! स्वयं खाँटी कांग्रेसीहरु पनि एमालेलाई मित्रशक्ति नै मान्दछन् ।
मुलुकलाई समाजवादतर्फ अग्रसर गराउने मामलामै भनौं, सामाजिक प्रतिष्पर्धा सहितको समाजवाद ल्याउन अग्रसर एमाले बाहेक टाढासम्म पनि अरु राजनीतिक दलहरु देखिएनन् ।
बहुदलीय व्यवस्थामा विश्वास गर्ने र अरुलाई निषेध नगर्ने भने पनि कांग्रेसले नै हो नेकपामाथि प्रतिबन्ध लगाएको । संविधानमा मृत्युदण्ड खारेज गर्ने व्यवस्था गरेर टाउकाको मूल्य तोक्ने काम पनि अरुले होइन काँग्रेसले नै गरेको हो । र, तिनैसँग एकता गरेर घाँटी जोडेर सत्तारोहण गर्न कांग्रेस नै अघि बढेको हो ।
ठाउँ-ठाउँका मतदाताले उसलाई यो प्रश्न गरिरहेका छन् । खाँटी कांग्रेसीहरु पनि वाल्ल परिरहेछन् । बरु भोट त एमालेलाई दिने हो कि भन्ने निस्कर्षमा पुगे झैं देखिन्छन् उनीहरू ।
गठबन्धनले एमालेमाथि अधिनायकवादको जति नै आरोप लगाए पनि ओलीले अन्ततः गरेको भनेको मलाई आफ्नै पार्टी भित्रबाट काम गर्न दिएनन्, म जनतामा जान्छु भन्नु नै हो ।
त्यतिबेला संसद्मा रहेको सबै भन्दा ठूलो दलको हैसियतमा ओलीले निर्वाचनमार्फत् जनताको अनुमोदन खोज्न जानु कसरी अधिनायकवाद भयो ? लोकतन्त्र त्यही होइन र ? लोकतान्त्रिक बाटो त्यही होइन र ? खासमा संसदीय पद्धतिमा दलभित्रैबाट घेराबन्दी गरेर काम गर्न दिएनन् भन्ने नै ओलीको दुखेसो हो । जबकी पार्टीको संसदीय दलमा उनकै बहुमत थियो । उनी संसदीय दलका नेता थिए । उनी पार्टी महाधिवेशनबाट चुनिएर बनेका अध्यक्ष पनि थिए ।
आमचुनावमा पनि उनकै नामबाट मत मागिएको र पूर्ण कार्यकालसम्म सरकार सञ्चालन गर्ने विश्वास प्रकट गरिएको थियो । एमाले माओवादी पार्टी एकतापछि सहअध्यक्ष प्रचण्डले पनि ५ वर्ष ओलीले नै सरकार सचालन गर्ने सहमति जनाएका थिए ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पाँच वर्ष प्रतिपक्षमा बस्ने बताएका थिए । तर ओली घेराबन्दीमा पारिए । उनलाई शपथ लिएबमोजिम कार्यसम्पादन गर्नका लागि संवैधानिक नियुक्तिसम्म गर्न दिइएन । उनलाई जताततैबाट घेराबन्दी गरियो ।
देशको कार्यकारी प्रमुख र संसदीय दलका प्रमुखले नियमित काम गर्न नपाएपछि ताजा जनादेशका लागि जनता जनार्दनकहाँ जान्छु भनेर ओली अगाडि बढेका हुन्, जनतालाई पन्छाएर सेना, प्रहरी, प्रशासन र अदालतको आडमा अगाडि बढ्न खोजेका होइनन् ।
संसदीय व्यवस्थामा प्रधानमन्त्रीमा विशेषाधिकार हुन्छ । त्यसैले यस व्यवस्थालाई प्रधानमन्त्रीय व्यवस्था भनिएको हो । तर कपोलकल्पित, भ्रामक र गलत आरोप लगाएर उनलाई असंसदीय तरीकाले गलहत्याइयो । अदालतको परमादेशबाट सत्ता परिवर्तन गरियो ।
केपी ओली यसको विरुद्धमा आफ्ना जायज मुद्दा र मागहरुलाई अगाडि बढाइरहे । उनले जुन कारणले ताजा जनादेश लिन खोजेका थिए, आखिर त्यही जनादेशका अठार महिनापछि मंसिर ४ गते आम निर्वाचन हुन गैरहेको छ ।
ओली आफ्ना माग दोहाेर्याउँदै आफूले सुरु गरेका काम र चालेका कदमहरुलाई जनतासमक्ष लिएर आफ्नो वचनबद्धताको परीक्षण गरिरहेका छन् । उनी भन्दैछन्- मलाई जनताको अभिमत लिएर जान दिइएन, देशी विदेशी षडयन्त्र भयो ।
राजनीतिशास्त्रका एक प्राध्यापकले यस पूरै प्रसंगलाई इंगित गर्दै भने - संघारमा आएको निर्वाचनमा केपी ओलीलाई जनताले मत दिनुको अर्थ र महत्व छ । एमाले र उनलाई यो अन्तिम मौका पनि हो ।
कसले चुनाव किन जित्ने ? उनले जित्नु जरुरी छ किनभने उनी मात्र निर्वाचन महासंग्रामलाई निसानामा राखेर लगातार, आफ्ना नीति, योजना र कार्यक्रम अगाडि सारिरहेका छन् । उनले नै भुत्ते बनाउन लागिएको एमाले संगठनलाई जुझारु बनाइरहेका छन् ।
यसैबीच स्थानीय निर्वाचन सम्ममा सकियो भनिएको एमालेलाई देशको ठूलो पार्टी बनाउने सफलता पनि ओलीले पाए । अहिले पनि आफूमाथि न्याय गर्न मतदातालाई पुकारिरहेका देखिन्छन् । दिनरात सुगम दुर्गम नभनी खटिइरहेका छन् । पार्टीका नेता कार्यकर्ता र जनवर्गीय संगठनहरुलाई सशक्त बनाएर निर्वाचन अभियान हाँकिरहेका छन् ।
एमालेले भावी प्रधानमन्त्री उनैलाई तोकेको छ । प्राध्यापक प्रश्न गर्दै भन्छन्, दुई-दुई पटक मृगौला प्रत्यारोपण गरेर पनि उनमा देखिएको लोभलाग्दो पट्ठोपन र गतिशीलताको कारण के हो ? ओलीभित्रको आँधि-तुफानको कारण के हो ? खासमा उनलाई झेल गरेर पन्छाइएकोले आफूमाथि गरिएको अन्यायलाई उजागर गर्ने उनको जीजीबिषा देखिएको छ । यही कारणले उनीबाट पत्याउनै नसकिने सशक्तता प्रदर्शन भैरहेको छ ।
यी तिनै नेता हुन् जसको नामबाट उनको दलले ०७४ को आम निर्वाचन जित्यो । आक्रामक रुपमा राष्ट्रियता र राष्ट्रिय एकतामा अडान, गुमेको भूमि फिर्ता ल्याउने अग्रसरता, भारतमाथि मात्र निर्भर नरही छिमेकी चीनसँग पारवहन सन्धि, प्रशान्त महासागरसम्म नेपाललाई जोड्ने सफलता, वामपन्थीहरुबीच एकता, उग्रवादी र पृथकतावादी समूहहरुलाई शान्तिपूर्ण मार्गमा ल्याउने सफलता, जनतामा आशा जगाउने कार्यक्रम, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणमा अग्रसरता लिन थालेकोले उनकै दललाई तीन टुक्रामा विभाजन गरी छिन्नभिन्न पारियो । ओली आफ्नै सहयोद्धाको घेराउमा परे ।
त्यसैले यसपालि अन्तिम मौकाको लागि ओली र एमालेलाई मत दिनु उनलाई मात्र न्याय दिनु होइन कि विचलनमा पारिएको संसदीय व्यवस्थालाई ट्रयाकमा ल्याउनु पनि हो, ती प्राध्यापक भन्दै गए ।
एमालेको शक्ति
केपी ओलीलाई यसबीच जुन-जुन आरोप लगाएर होच्याइएको छ . वास्तवमा त्यो नै ओली र एमालेको शक्ति हो । रेल, पानी जहाज, विकास, स्वास्थ्य, शिक्षा, पुननिर्माणमा जसरी ओलीलाई तल झारेर हेप्न खोजियो । उनलाई उखाने र गफी भनेर उडाइयो । तर यिनै त नेपालका वास्तविक योजना हुन् जसलाई सम्बोधन नगरी समृद्ध नेपाल, सुखी नेपाली सम्भव छैन । गहिरिएर हेर्दा पशु र मानवको
बीचको भिन्नता पनि यहींनेर देखिन्छ । मानिस कल्पना गर्न सक्ने प्राणी हो । चेतना पशुमा पनि हुन्छ तर कल्पनाको क्षमता मानिसमा हुन्छ र त्यो क्षमता केपी ओलीमा अपूर्व रहेको छ । भारतले नेपालमाथि गरेको ज्यानमारा नाकाबन्दीको समयमा बेहोस हुन लागेका जनतालाई ब्यूँताउने ओली नै हुन् । कल्पनाशीलतामा ओलीलाई प्रोत्साहन नै दिनुपर्छ, होच्याउनु हुँदैन । उनलाई होच्याउनु आफैंलाई होच्याउनु हो ।
संसारभर मध्यमार्गीहरु नै बढी सफल भएको देखिन्छ, प्राध्यापक भन्छन् । संसारभर न घोर दक्षिणपन्थी न त उग्रबामपन्थी नै रुचाइन्छन् । मध्यमार्गीहरु नै सबैतिर रुचाइन्छन् पनि । भनौं न, यसै साता अमेरिकामा पूर्व राष्ट्रपति ट्रम्पले मध्यवर्ती चुनावमा एकछत्र जित्छन् भन्ने अनुमानलाई अमेरिकी मतदाताले रोकिदिए । किनभने ट्रम्पको उग्रतालाई उनीहरुले रुचाएनन् र भोट दिएनन् । इटलीकी उग्रदक्षिणपन्थी प्रधानमन्त्री उदारवादको पक्षमा काम गर्छु भन्न वाध्य भइन् ।
ओली मध्यमार्गी लोकतान्त्रिक वामपन्थी हुन् । उनी राम्रा कुरा दुबै पक्षबाट लिन सक्छन् । खराब कुरालाई खराब भनेर दूत्कार्न पनि सक्छन् । भनौं न, प्रचण्ड कांग्रेसलाई दक्षिणपन्थी भन्छन् भने कांग्रेस प्रचण्डलाई उग्रवामपन्थी भन्छ । जबकि कांग्रेस आफूलाई दक्षिणपन्थी नभनी मौन बस्छ ।
तर स्पष्ट छ, ओली मध्यमार्गी लोकतानित्रक वामपन्थी हुन् । ओली प्रचण्डलेझैं न शेयर बजारलाई साम्राज्यवादी दलाल भन्छन् न त कांग्रेसले जस्तो राज्यको सामाजिक दायित्वबाट पन्छिएर सबैथोक बजारलाई छाडौं भन्छन् ।
सामाजिक मामिलामा ओली आरक्षणको विरोधी र अवसरका पक्षपाती हुन् । उनी हाकाहाकी भन्छन्, आरक्षणले अल्छी, काम नगर्ने र लम्पट बनाउँछ । यसमा सचेत हुनैपर्छ । प्रतिष्पर्धा योग्यता अनुसार नै गर्नुपर्छ । डाक्टर कुनै जातको आधारमा बन्ने होइन, त्यो त योग्यताको आधारमा बन्नुपर्छ ।
ओली ब्यूरोक्रेसी पनि स्थायी होइन, पर्फर्मेन्सबेस्ड अर्थात् काम अनुसार करारमा लिनुपर्छ भन्छन् । उनी कर्मचारीतन्त्र पुनर्गठन गर्नुपर्छ भन्ने पक्षमा छन् । उनी समग्र विकास गर्नुपर्छ भन्ने भिजन भएका नेता हुन् भन्ने प्राध्यापकको ठहर छ । उनमा लोकतन्त्रलाई मान्ने र उग्रवामतर्फ नजाने कुरामा कहीं कतै भ्रम छैन ।
संविधानसँग सम्बन्धित मामिलामा पनि ओली प्रष्ट छन् । गठबन्धनले ओलीमाथि संविधान च्यात्यो भन्ने मनगढन्त आरोप थोपरेको छ तर ओली सुरुदेखि नै संविधानलाई स्वीकार गर्छन् । संविधान संशोधन गर्नुपर्छ भन्ने कुरामा पनि भ्रम र दोगलापन उनमा छैन । संविधानमा अत्यावश्यक संशोधन गर्ने आँट पनि उनमै छ ।
राष्ट्रियताको मामिलामा केपी ओली र एमाले छाती फुकाएर ठडिन सक्ने पार्टी र नेता हुन् । भारतले लादेको ज्यानमारा नाकाबन्दीलाई टक्कर दिएर मुलुकको शीर ठाडो पार्ने नेता ओली नै हुन् । कालापानी-लिपुलेकको नक्सालाई नेपालको संविधानको अंग बनाउन ओलीकै नेतृत्वमा सम्भव भएको हो । संविधान संशोधन गर्न सबै दललाई सहमत गराएर ओलीले चुच्चे नक्सालाई नेपालको संसदबाट सर्वसम्मत अनुमोदन गराउन नेतृत्व गरे ।
बत्तीमुनि उज्यालोका लेखक तथा अन्तर्राष्ट्रिय सम्बन्धमा शोधकार्य गरिरहेका अश्विन पुडासैनी अहिलेको अन्तर्राष्टिय सन्दर्भमा नेपालको हित रक्षा गर्न सक्ने क्षमता र आँट भएको नेता ओली हुन् भन्छन् ।
नेपालमा एमसीसी कार्यान्वयनमा गैरहेको र बीआरआइ पेण्डिङमा रहेको बेला सन्तुलित भएर नेपालले ओलीको नेतृत्वमा लाभ लिन सक्छ । त्यसैले उनलाई मत दिन आवश्यक छ ।
केपी ओली शासकीय क्षमता प्रदर्शन गर्न, अगाडि बढाउन र पारित कार्यक्रम लागु गर्न सक्ने नेता हुन् । उनमा लोकतान्त्रिक बाम मध्यमार्गी नेतामा हुनुपर्ने विशिष्ट गुण छ, शक्ति छ र त्यसलाई स्थापित गर्न सक्ने ल्याकत छ । उनी भीडको माग अनुसार बोल्दैनन् । स्पष्ट भिजन, बोल्ने सामर्थ्य राख्ने र क्षमता भएका नेता हुन् ओली ।
शक्ति सन्तुलन कायम राख्न सक्ने, पार्टीलाई एक ढिक्का बनाउन सक्ने भरपर्दा नेता हुन् ओली । संगठनात्मक हिसाबमा पनि यसबीच ओली चुस्त सावित भए । १५ वर्ष एमाले प्रमुख भएका माधव नेपालले पार्टी फुटाएर विरोधीसँग मिलेपछि अब एमाले सुक्छ भन्ने अनुमानलाई ओलीले शतप्रतिशत झूठो सावित गरिदिए ।
महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष ओलीलाई साधारण सदस्यताबाटै माधव नेपालले निकालेपछि प्रचण्डले वक्तव्य नै दिएका थिए, शत्रुको किल्लामा ठूलो क्षति पुर्याउन सफल भएका छौं । स्थानीय निर्वाचन परिणामबाट सबैले थाहा पाए कि ओली नै एमालेलाई चुस्त दुरुस्त राख्न सफल रहेछन्, माधव नेपाल होइन ।
पाँचतिर फर्किएको गठबन्धनले मुलुकमा स्थिरता ल्याउन सक्दैन । देशको सबैभन्दा ठूलो दललाई पन्छाएर साना दलहरु (कांग्रेस, माओवादी, समाजवादी, लोसपा, जनमोर्चा) हरु मिलेर राज्यसत्ता कब्जा गरेर भागशान्ति जय नेपाल गर्न सफल भए पनि सत्य कुरा के हो भने, भागबण्डाले अस्थिरता मात्र ल्याउँछ ।
यस कुरालाई मंसिर ४ गतेको परिणामले स्पष्ट संकेत मात्र होइन, दिशा निर्देश गर्नुपर्छ । सार्वभौम सत्तासम्पन्न जनताले विविधताभित्रको एकता प्रदर्शन गर्न सक्नुपर्छ । जनता जनार्दन हुन् । यिनको मतले नै भावी नेपालको स्पष्ट चित्र देखिनेछ ।
