-गोविन्द थापा-
आमचुनावले कुनै पनि दलको सपना पूरा भएन । चुनावमा सबै दलको आआफ्नो उद्देश्य थियो । सबैको उद्देश्य एउटै थिएन ।
यहाँ केन्द्रको चुनावको सन्दर्भमा केही चर्चा गरिन्छ । चुनावमा एमालेले बहुमत नै ल्याउन खोजेको थियो । तर, सकेन । यो संविधान र निर्वाचन प्रणाली अनुसार कुनै पनि दलको बहुमत आउन सजिलो छैन भन्ने एमालेलाई थाहा थियो । तैपनि राजनीतिक स्थिरताका लागि एमालेको बहुमत आवश्यक थियो । त्यसैले एमालेले बहुमत ल्याउन प्रयास गरेको थियो । बहुमत ल्याउने प्रयासमा एमाले असफल भएकै हो ।
माओवादी केन्द्रको उद्देश्य धेरै ठूलो थिएन । मुखले एमालेभन्दा ठूलो पार्टी बन्छौं भने पनि त्यो चुनावी स्टन्ट मात्र थियो । ४० सीट हाराहारी मात्र उम्मेदवारी दिएर एमालेभन्दा ठूलो पार्टी भन्छु हास्यास्पद थियो । माओवादीको भित्री उद्देश्य चाबी पार्टी बन्ने थियो । एमाले या कांग्रेस ठूलो पार्टी बन्छन्, आफ्नो समर्थन बिना एमाले या कांग्रेसको सरकार बन्न नसकोस् भन्ने प्रचण्डको एकमात्र उद्देश्य थियो ।
जति सीट आए पनि चाबी बनियोस् भन्ने प्रचण्डको सपना पूरा भएन । अब प्रचण्ड बिना पनि सरकार बन्छ । सरकारमा नजाँदा यो पार्टीको हालत पानी बिनाको माछा जस्तो हुन्छ । त्यसैले कुनै पनि हालतमा प्रचण्डको पार्टी सरकारमा जान्छ । कसैको बहुमत आउन हुँदैन, अस्थिर सरकार बन्नुपर्छ भन्ने प्रचण्डको सपना साकार भयो तर त्यो अवस्थामा आफू नै चाबि बन्नुपर्छ भन्ने सपना भने भताभुंग भयो ।
माधवकुमार नेपालको पार्टीले पनि सपना ठूलै देखेको थियो । बिशाल एमालेबाट विभाजित भएको हुनाले एमालेको जनमतको ठूलो हिस्सा आफ्नो साथमा हुने भ्रममा माधवको पार्टी थियो । झन्, सरकारमा भएको हुनाले एकखाले कमिसन व्यवसायी, माफियाहरु पनि माधवको पार्टीको साथमा थिए । कांग्रेसको काख र एमालेको काँध पाएको हुनाले चुनावमा चमत्कार नै गरिन्छ भन्ने माधवको पार्टीलाई लागेको थियो ।
यस्तो चुनाव परिणाम आओस्, आफ्नो पार्टी बिना एमाले, कांग्रेस र माओवादीले सरकार बनाउन नसक्ने अवस्था आओस् भन्ने सपना थियो । त्यो सपना चकनाचुर भएको छ । चुनाव परिणामले के देखायो भने माधवको पार्टी नै रहेनछ । कांग्रेसको काख र माओवादीको काखमा मात्र माधवको पार्टीको हैसियत रहेछ । तैपनि माधवले झिनो उपस्थिति देखाएको छ । यही बलमा अब पाँच वर्ष यो पार्टीले जिविकोपार्जन गर्नुपर्ने भएको छ ।
अब चर्चा गरौं कांग्रेसको । गत चुनावमा कांग्रेसको भूमिका रहस्यमय देखियो । यो पार्टीका सभापति शेरबहादुर देउवा हुनुहुन्छ तर कांग्रेस कार्यकर्ताहरु चाहिँ टिकट माग्न प्रचण्डकोमा पुगेको देखियो । कांग्रेसको धारणा के हो भन्ने माधव नेपाल, मेटमणि र रामकुमारीहरुको मुखबाट सुन्नुपर्ने भयो । कम्युनिष्टहरु विभाजित भएको बेला एक्लै चुनावमा जानुपर्छ भन्ने कार्यकर्ता पंक्तिको आवाज शेरबहादुर देउवाले पटक्कै सुन्नुभएन ।
उहाँको यावत भूमिका रहस्यमय देखियो । कांग्रेस सिध्याउने तर आफू र आफ्नो परिवार बनाउने मात्र देउवाको उद्देश्य देखियो । त्यही भएकाले कांग्रेस ८० सीटमा मात्र चुनाव लड्यो । बहुमतको रेसबाट कांग्रेस सुरुमै बाहिरिइसकेको थियो । संसद्देखि अदालतसम्म, राष्ट्रिय राजनीतिदेखि नेपालको वैदेशिक सम्बन्ध सम्ममा विध्वंश मच्चाएको कांग्रेसले पनि देशमा अस्थिरता नै चाहेको देखियो ।
मधेस आधारित जसपा र लोसपाको मधेस प्रदेशमै समेत खासै भूमिका देखिएन । निरन्तरको विभाजनले कमजोर बनेका ती दुई पार्टीका मुख्य नेताहरु पार्टीलाई कसरी जिताउने भन्नेमा लागेनन्, आफू कसरी जित्ने भन्नेमा मात्र लागे । तैपनि उनीहरुले संघीय संसदमा उपस्थिति जनाएका छन् । अति तरल अवस्थाको संघीय संसदको गणितमा उनीहरुको पनि भूमिका हुने नै छ ।
पर्दा पछाडिको खेल
गत आमचुनाव अघिका मुख्यमुख्य शक्तिहरुले हासिल गरेको चुनावी परिणामको संक्षिप्त समीक्षापछि अब चुनावको पर्दा पछाडि मञ्चन भएको राजनीतिक खेलको चर्चा गरौं ।
चुनावमा बहुमतको माग गर्ने एउटा मात्र पार्टी थियो, नेकपा एमाले । प्रतिस्पर्धी राजनीतिक शक्तिहरुको एकमात्र उद्देश्य आफू जित्ने भन्दा पनि एमालेको बहुमत रोक्ने देखियो । एमालेलाई बहुमत ल्याउनबाट रोकियो भने आफूहरुको दिन फेरि फर्कन्छ भन्ने मनोविज्ञान उनीहरुमा देखिन्थ्यो । नेपालमा कसैको पनि बहुमत नआओस्, नेपाल निरन्तर अस्थिरतामा फसोस् भन्ने विदेशी चाहना स्पष्ट रुपमा सत्ता गठवन्धनसँग मिल्न पुग्यो । वास्तवमा गत चुनाव एमालेलाई बहुमत ल्याउन दिने कि नदिने भन्नेमै केन्द्रीत रहेको थियो ।
स्वदेशी तथा विदेशी सम्पूर्ण शक्तिहरु एमालेलाई हराउन एकढिका भएका थिए । एमाले प्रतिपक्षमा थियो । संसदीय लोकतन्त्र भएको देशमा सत्तापक्षलाई हराउन बाँकी सबै एक ढिक्का हुन्छन् तर नेपालमा अस्वाभाविक भयो । प्रमुख प्रतिपक्षीलाई पराजित गर्न सबै एकढिक्का भए । त्यतिमात्र होइन, न्यायालयदेखि निर्वाचन आयोगसम्मलाई उपयोग गरियो । प्रहरी प्रशासन एकलौटी रुपमा एमालेको विरुद्ध प्रयोग गरियो ।
चुनावका बेलाको परिदृष्य यस्तो देखिन्थ्यो कि कसलाई निर्वाचित गर्ने भनेर चुनाव भइरहेको छैन, कसलाई पराजित गर्ने भनेर चुनाव गरिएको जस्तो देखियो । कतिपयले एमालेले पनि गठवन्धन गरेको थियो भन्ने गरेका छन् । एमालेले कुनै गठवन्धन गरेको थिएन, सीमित ठाउँमा चुनावी तालमेल मात्र गरेको थियो । चुनावी तालमेल र गठवन्धन बीच आकाश पातालको फरक छ ।
आगामी परिदृष्य
अब मुलुकको बाटो सहज छैन । घोर दक्षिणपन्थी, अराजकतावादी, अस्थिरतावादीहरु संघीय संसदमा पुगेका छन् । कथित गठवन्धनमा रहेका दलहरु तथा अन्य कतिपय दलहरु संविधान भित्रको भन्दा बाहिरको एजेण्डा धेरै बोक्छन् । स्वदेशको भन्दा विदेशको एजेण्डा धेरै बोक्छन् । चुनावको मुखमा दिल्ली पुगेर गोप्य सम्झौता गर्नेहरुको भित्री उद्देश्य प्रकट हुन अझै बाँकी नै छ ।
कांग्रेसले अब वामपन्थीरहित सरकार बनाउन सक्छ । वास्तवमा कांग्रेसले त्यसो गर्नु पनि पर्छ । नेपालमा कम्युनिष्ट शक्तिको सच्चा प्रतिनिधित्व एमालेले मात्र गर्छ भन्ने चुनावले प्रमाणित गरिसकेको छ । एमाले र माओवादी एकीकृत भएर बनेको नेकपा विभाजित भयो, नेकपाको विभाजनपछि एमाले पनि विभाजित भयो ।
नेपालको कम्युष्टि मूलधार कुन हो भन्ने कैयनले प्रश्न उठाउने गरेका थिए । कम्युनिष्ट मूलधार भनेको एमाले मात्र हो भन्ने चुनावले स्थापित गरेको छ । त्यसैले कम्युनिष्टसँग सरकार बनाउने हो भने कांग्रेसले एमालेसँगै मिलेर बनाउनुपर्छ । तर, अहिलेको वस्तुगत परिस्थितिले यो विचारलाई सम्बोधन गर्न सक्दैन ।
त्रिशंकु संसद्मा फोहोरी खेल खेलेर सरकारको नेतृत्व नलिने एमालेको नीतिपछि सरकार निर्माणको हकदार स्वाभाविक रुपमा कांग्रेस हो । कांग्रेसले गैरकम्युनिष्टहरुलाई एक ठाउँमा राखेर सरकार बनायो भने आश्चर्य नमाने हुन्छ । अहिले त्यसो नगरे पनि भविष्यमा कांग्रेस त्यो बाटोमा जान सक्छ ।
कांग्रेसले सरकार बनायो भने उसले आरामसँग बहुमत पुर्याउने छ । त्रिशंकु संसदको व्यथा के हो भने बहुमत पुराउन सजिलो हुन्छ तर त्यसलाई टिकाउन गाह्रो हुन्छ । निरन्तर बहुमतमा रहिरहन भ्यागुताको धार्नी पुराउनभन्दा गाह्रो हुन्छ । बहुमत पुराउनका लागि प्रधानमन्त्रीले जस्तोसुकै अवाञ्छित हर्कत गर्नुपर्ने हुन्छ । खासगरी विदेशीको खेलौना बन्नुपर्ने हुन्छ ।
त्यसैले नेपालको राजनीतिक अस्थिरतासँगै आगामी दिन राष्ट्रियतामा पनि आँच आउन सक्ने चिन्ताजनक परिदृष्य देखिँदै छ । सत्ताका लागि जे पनि गर्न सक्ने शक्तिहरु सरकारमा पुग्नु देशको दुर्भाग्य हो । चुनाव परिणामले हाम्रो शिरमा बोकाइदिएको यो दुर्भाग्यको उपचार प्रमुख प्रतिपक्षीका नाताले एमालेले खोज्नुपर्छ, निरन्तर खबरदारी गर्नुपर्छ, एमालेको पक्षमा अब देश गोलवद्ध हुनुपर्छ ।
