–कमल चौलागाईं-
आजकै दिन १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको चाङ्सामा विश्व कम्युनिष्ट आन्दोलनका नेता माओ त्सेतुङ जन्मनुभएको थियो । संयोगको कुरा आज कै दिन नेपालले नयाँ कम्युनिष्ट प्रधानमन्त्री पाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री हुनुभएको छ । सबैभन्दा पहिला देशको ४४ औँ प्रधानमन्त्री नियुक्त हुनुभएकोमा प्रचण्डलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना ।
वामपन्थी प्रति नेपाली जनताको ठुलो विश्वास र भरोसा रहेको छ । जनताको आशा र विश्वासलाई ख्याल गर्दै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखी यो सरकारले काम गर्नु जरुरी छ । त्यसो गर्न सक्नु भयो भने मात्र उहाँलाई बधाई र शुभकामना दिएको सार्थक हुने छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विद्यमान गति र चाल अतुलनीय र अनुकरणीय छ । यसलाई बुझ्दै पूर्वाग्रह रहित ढङ्गले राजनैतिक दिशा दिन सक्ने निर्णय क्षमता प्रचण्डले राख्नु पर्दछ । त्यसो गर्नुभयो भने मात्र नयाँ समीकरण र मेहनतको अर्थ हुने छ ।
अहिले देश गम्भीर आर्थिक संकटमा छ । देशको अर्थतन्त्र अस्तव्यस्त भएको छ । यो सरकारले देशको अर्थतन्त्रलाई विद्यमान संकटबाट जोगाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्न जरुरी छ ।यसको लागि तत्काल योजना बनाएर अघि बढेन भने ढिला हुने छ ।
यति बेला नेपाल विदेशीको चलखेलको थलो बनेको छ । नेपालको हरेक विषयको निर्णयमा विदेशी हस्तक्षेप हुने गरेको छ । यो सरकारले देशमा अचाक्ली बढिरहेको विदेशी शक्तिको चलखेल र चासोलाई सीमाबद्ध गरी राष्ट्रिय सहमति कायम गर्न जरुरी छ । पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति निर्माण गर्नमा सरकार सक्षम बनोस् । यही शुभकामना छ ।
नेपाल भ्रष्टाचारको कारण बदनाम भएको छ । भ्रष्टाचारले देशलाई थिलथिलो बनाएको छ । देश विकासले गति लिन सकेको छैन ।
यो सरकारले भ्रष्टाचार र कुशासनबाट देशलाई बचाउनु पर्ने छ । देशलाई माथि उठाउनु पर्ने छ । भ्रष्टाचार र कुशासनबाट ग्रसित राज्य यन्त्र र राजनीतिलाई बचाउन सशक्त पाइला चाल्न सक्नु पर्ने छ । यसमा सरकारलाई सफलता मिलोस् । यही शुभकामना ।
नेपालमा अहिले हरेक क्षेत्रमा अनावश्यक रूपमा राजनीतिकरण भएको छ । राजनीतिकरण भन्दा पनि बढी पार्टी करण भएको छ । यो सरकारले चौतर्फी रूपमा भइरहेको पार्टी करणबाट राज्य यन्त्रलाई मुक्त गराउन पर्ने छ । यसको व्यवसायीकरण र स्थायित्वको प्रवर्धन गर्न सरकार सक्षम बनोस् । यही शुभकामना ।
देशको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको छ । सरकार देशको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन सबल बन्न सकोस् । यसमा सरकार अब्बल बन्नै पर्दछ । त्यसो भयो भने मात्र नागरिकले सरकारको अनुभूति गर्ने छन् । नागरिकलाई सरकारको अनुभूति दिन सरकार सफल बनोस् । यही शुभकामना ।
नेपालको सिमाना ठाउँ ठाउँमा मिचिएको छ । हामीले संसद्बाट सर्व सहमतिमा चुच्चे नक्सा जारी त गर्यौँ, तर त्यसको व्यवहारिक कार्यान्वयन हुन बाँकी नै छ ।
सीमा विवादको समस्या र मिचिएको नेपाली भूमि फिर्ता गराउने विषयमा झुकेर होइन सरकारले छिमेकीसँग आँखा जुधाएर कुरा गर्न सक्नुपर्छ । आफ्नो धारणा प्रष्ट रूपमा राख्न सक्नु पर्दछ । हाम्रा आधार र दस्ताबेजहरू स्वतन्त्र रूपले प्रस्तुत गर्न सक्नु पर्छ । यो काममा सरकार लागोस् र लाग्न सकोस् यही शुभकामना ।
सहकारी अहिले जनताका अर्थतन्त्रको रूपमा स्थापित भएको छ । सरकारले जनताको अर्थतन्त्रको रूपमा चिनिएको सहकारी क्षेत्रलाई वर्तमान वित्तीय संकटबाट जोगाउन आवश्यक छ । धेरै सहकारी वित्तीय संकटको कारण अप्ठेरोमा परेका छन् । यस्तै अवस्था रह्यो भने धेरै सहकारी बरबाद हुनेछन् ।
त्यसैले सरकारले सहकारीको प्रभावकारी नियमन गर्ने संयन्त्र तत्काल बनाउनु पर्छ । यसको व्यवस्था गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको महत्त्वपूर्ण साधनको रूपमा रहेको सहकारीको संरक्षण र प्रवर्धन गर्न सरकार सक्षम बनोस् । यही शुभकामना ।
