प्रभात घिमिरे
डाँडाकाँडा भएको भू–बनोट र क्षण क्षणमा बदलाव हुने मौसमका कारण नेपाली आकाशलाई निक्कै जोखिमपूर्ण मानिन्छ । नेपाली आकाश हवाई उडान गर्नेको लागि निक्कै चुनौतीपूर्ण छ ।
त्यस माथि नेपाली आकाशमा उड्ने पुराना विमानलाई पनि हवाई उडानको चुनौतीको रूपमा विश्लेषण गर्ने गरिन्छ । हरेक दुर्घटना पछि छानबिन गरी प्रतिवेदन दिन समिति बन्दछन् । समितिले सुझाव सहित प्रतिवेदन पनि दिन्छन् तर त्यसको कार्यान्वयनको अवस्था कस्तो छ र कुन कुन कुरा कार्यान्वयन गर्न अझ बाँकी छ भन्ने विषय प्राय गौण नै हुने गर्दछ । दुर्घटनाको केही दिन सबै क्षेत्र तात्छ, त्यस पछि विस्तारै सबै कुरा सेलाउँदै जान्छ । पीडितका आफन्त र परिवार जीवनभर पीडाको घाउ बोकेर बाँच्छन् ।
२२ वर्षमा २० ठुला दुर्घटना
नेपाली आकाशमा सन् २००० यताका २२ वर्षमा २० ठुला दुर्घटना भएका छन् । जसमा ३ सय ९२ जनाले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ६१ जना भने बाँच्न सफल भएका छन् । दुर्घटनामा परेका मध्ये ८७ प्रतिशतको ज्यान गएको छ । १३ प्रतिशत भने बाँच्न सफल भएका छन् ।
सन् २००० यताको तथ्याङ्कलाई हेर्ने हो भने २००० को जुलाई २७ मा बझाङबाट धनगढी उडेको तत्कालीन शाही नेपाल वायु सेवा निगमको विमान डडेलधुरामा दुर्घटना भयो । जसमा चालक दलका ३ सदस्य सहित विमानमा रकेका सबै २५ जनाले ज्यान गुमाए ।
त्यस पछि २००२ को अगष्ट २२ मा साङ्ग्रिला एयरको जोमसोमबाट पोखरा आएको विमान पोखरा विमानस्थल नजिकै दुर्घटनामा पर्यो । सो दुर्घटनामा पनि विमानमा रहेका चालक दलका तीन सदस्य सहित सबै १८ जनाको ज्यान गयो ।
त्यस पछि २००६ जुन २१ मा यति एयरलाइन्सको विमान जुम्ला एयरपोर्टमा दुर्घटनामा पर्दा चालक दलका तीन सदस्य सहित विमान रहेका सबै नौ जनाले नै ज्यान गुमाए ।
सोही वर्षको सेप्टेम्बर २३ मा श्री एयरलाइन्सको फुङलिङबाट घुन्सा उडेको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका चार सदस्य सहित सबै २४ जनाको ज्यान गयो ।
त्यसको दुई वर्ष पछि २००८ को अक्टोबर ८ मा काठमाडौंबाट लुक्ला उडेको यति एयरलाइन्सको विमान लुक्ला एयरपोर्टमा दुर्घटनामा पर्दा १८ जनाको ज्यान गयो । सो दुर्घटनामा एक जना बच्न सफल हुनुभयो ।
२०१० अगष्ट २४ मा काठमाडौंबाट लुक्ला उडेको अग्नि एयरको विमान शिखरपुरमा दुर्घटनामा पर्यो । सो दुर्घटनामा पनि चालक दलका तीन सहित १४ जनाकै ज्यान गयो ।
सोही वर्षको डिसेम्बर १५ मा लामिडाँडाबाट काठमाडौं उडेको तारा एयरको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्यो । सो दुर्घटनामा चालक दलका तीन सदस्य सहित २२ जनाले ज्यान गुमाए ।
त्यस लगत्तै सन् २०११ सेप्टेम्बर २५ मा एभरेष्ट टुरमा हिँडेको बुद्ध एयरको विमान कोट डाँडा पहाडमा दुर्घटनामा पर्यो । जसमा चालक दलका तीन सहित सबै १९ जनाकै ज्यान गयो ।
२०१२ को १४ मेमा पोखराबाट जोमसोम गएको अग्नि एयरको जहाज जोमसोम विमानस्थलमा दुर्घटनामा पर्यो । जसमा चालक दलका तीन जना र १८ जना यात्री थिए । ती मध्ये १५ जनाको ज्यान गयो भने ६ जना बच्न सफल भए ।
२०१२ कै सेप्टेम्बर २८ मा काठमाडौंबाट लुक्ला उडेको सिता एयरको विमान काठमाडौंको मनोहरा खोलामा खस्यो । जसमा चालक दलका तीन सहित सबै १९ जनाले ज्यान गुमाए ।
२०१३ मे १६ मा नेपाल एयरलाइन्सको पोखराबाट जोमसोम उडेको जहाज जोमसोम विमानस्थलमा दुर्घटना पर्यो । सौभाग्य सो दुर्घटनामा चालक दलका ३ जना सहित सबै २१ जना बच्न सफल भए ।
२०१४ फरबरी १६ मा पोखराबाट जुम्ला उडेको नेपाल एयरलाइन्सको विमान खिदिममा दुर्घटनामा पर्यो । सो दुर्घटनामा चालक दलका तीन सहित सबै १८ जनाले ज्यान गुमाउनु पर्यो ।
२०१५ मे १२ मा युएसको राहत वितरणको लागि आएको विमान दोलखाबाट काठमाडौं आउने क्रममा चरिकोटमा दुर्घटनामा पर्यो । जसमा चालक दलका आठ जना र पाँच यात्रु सहित १३ जनाको ज्यान गयो ।
२०१६ फरबरी २४ मा पोखराबाट जोमसोम उडेको तारा एयरको विमान म्याग्दीमा दुर्घटनामा पर्दा २० जना यात्रु र चालक दलका तीन सदस्य गरी २३ जनाले ज्यान गुमाए ।
सो दुर्घटनाको दुई दिन पछि नै २६ फरबरीमा नेपालगन्जबाट जुम्ला उडेको एयर काष्टमाण्डपको विमान कालिकोटमा आकस्मिक अवतरण गर्दा दुर्घटनामा पर्यो । चालक दलका दुई सहित ११ जना यात्रु बोकेको सो जहाजका दुई जना यात्रीले ज्यान गुमाए भने नौ जना बच्न सफल भए ।
२०१८ मार्च २८ मा बङ्गलादेशको ढाकाबाट काठमाडौं उडेको यूएस बङ्गलाको जहाज काठमाडौं विमानस्थलमा ल्याण्डिङको क्रममा दुर्घटनामा पर्यो । चालक दलका चार सदस्य र ६७ जना यात्रु भएको सो विमान दुर्घटनामा ४९ जनाले ज्यान गुमाए । २२ जना भने दुर्घटनामा बच्न सफल भए ।
२०१९ फरबरी २७ मा ताप्लेजुङमा एयर डायनेष्टिको हेलिकप्टर दुर्घटनामा पर्यो । सो दुर्घटनामा चालक दलका एक सदस्य सहित सात जनाको ज्यान गयो ।
२०१९ अप्रिल १४ मा लुक्ला–रामेछापको समिट एयरको विमान विमान स्थलबाट उड्ने क्रममा लुक्लामा दुर्घटनामा पर्यो । सो दुर्घटनामा सह चालक र सुरक्षामा खटिएको दुई सुरक्षाकर्मीले ज्यान गुमाए । विमानमा रहेको अन्य दुई जना भने बाच्न सफल भए ।
२०२२ मे २९ मा जोमसोममा भएको तारा एयरको पोखरा जोमसोम विमान दुर्घटनामा चालक दलका ३ र १९ यात्रु सहित २२ जनाले ज्यान गुमाए ।
भर्खरै २०२३ जनवरी १५ मा काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको विमान पोखरामा दुर्घटना हुँदा चालक दलका चार जना सहित ७२ जनाले ज्यान गुमाएका छन् ।
हरेक वर्ष दुर्घटना, एक वर्षमा दुई वटासम्म दुर्घटना
नेपालमा भएको विमान दुर्घटनालाई हेर्ने हो भने सन् २०१० यता हरेक वर्ष विमान दुर्घटनामा परेका छन् । २०१० यता सन् २०१७ र २०२० बाहेक हरेक वर्ष एउटा न एउटा विमान दुर्घटनामा परेका छ ।
सन् २००० देखिको तथ्याङ्क केलाउने हो भने ६ वर्ष एकै वर्षमा दुई वटा दुर्घटना भएका छन् । सन् २०००, २००६, २०१०, २०१२, २०१६ र २०१९ मा एकै वर्ष दुई वटा दुर्घटना भएका छन् ।
४५ प्रतिशत दुर्घटना खराब मौसमका कारण
क्षण क्षणमा परिवर्तन हुने मौसम नेपालमा हवाई दुर्घटनाको कारण बनेको छ । दुर्घटना पछि गरिएको अध्ययनले सन् २००० देखि यता भएका २० वटा दुर्घटनामा ४५ प्रतिशत अर्थात् नौ वटा दुर्घटना खराब मौसमका कारण भएका छन् ।
त्यस्तै २५ प्रतिशत दुर्घटना विमानमा आएको खराबीको कारण भएको देखिन्छ । २० वटा दुर्घटना मध्ये पाँच वटा दुर्घटना विमानमा आएको खराबीको कारण भएको अध्ययनले देखाएको छ ।
यस बाहेक १५ प्रतिशत दुर्घटना मानवीय त्रुटिका कारण भएका देखिन्छन् । २० वटा मध्ये तीन वटा दुर्घटना मानवीय त्रुटिकै कारण भएको पाइएको छ ।
यस अवधिमा भएका दुर्घटना मध्ये १५ प्रतिशत दुर्घटना भने अन्य विभिन्न कारणले भएका देखिन्छ ।
सबैभन्दा धेरै विमान दुर्घटनामा पर्ने नेपालका तीन कम्पनी
सन् २००० यताको दुर्घटनाको शृङ्खलालाई हेर्दा तीन वटा कम्पनीका विमान सबैभन्दा धेरै दुर्घटना परेका छन् । सरकारी वायु सेवा कम्पनी शाही नेपाल वायु सेवा निगम हुँदादेखि नेपाल वायु सेवा निगमसम्म आइपुग्दा तीन वटा विमान दुर्घटनामा परेका छन् ।
त्यसै गरी यति एयरलाइन्स कम्पनीका तीन वटा र तारा एयरका तीन वटा विमान दुर्घटनामा परेका छन् । यस बाहेक अग्नि एयरका दुई वटा विमान दुर्घटनामा परेको छन् । अन्य १० वटा कम्पनीका एक÷एक वटा विमान दुर्घटनामा परेको तथ्याङ्कले देखाउँछ ।
सबैभन्दा धेरै दुर्घटना हुनेमा डीएचसीका विमान
नेपालमा २२ वर्षमा भएका विमान दुर्घटनालाई हेर्ने हो भने सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा डीएचसी एयरक्राफ्टका विमान छन् । दुर्घटनामा परेका २० वटा विमान मध्ये १० वटा डीएचसीकै विमान छन् ।
यस बाहेक डोर्नियरका तीन वटा विमान यस अवधिका दुर्घटनामा परेको छन् । अन्य विभिन्न कम्पनीले बनाएका एक÷एक वटा गरी सात वटा विमान दुर्घटनामा परेका छन् ।
दुर्घटना न्यूनीकरणका उपाय
नेपालमा विमान दुर्घटनाको कारणलाई हेर्दा सबैभन्दा बढी मौसमकै कारण दुर्घटना भएको देखिन्छ । त्यसैले आर्थिक लाभका लागि खराब मौसममा विमान उडाउन अनुमति दिने कार्यलाई कडाइका साथ रोक्न आवश्यक छ । त्यसै गरी मौसम पूर्वानुमान गर्ने अत्याधुनिक उपकरण सबै विमानस्थलमा जडान गर्ने हो भने मौसमका कारण हुने दुर्घटनालाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।
पुराना विमानलाई हटाई सञ्चालनमा रहेका विमानको नियमित कडा जाँच गरी विमानहरूलाई कण्डिसनमा राखेर चलाउने हो भने विमानमा आउने समस्या कम गर्न सकिन्छ । जाँचमा गरिने लापरबाही र जबरजस्ती विमान उडाउने कार्यले यात्रुहरूको ज्यान लिइरहेको छ । विमानस्थलमा नै धकेल्नुपर्ने विमान चलाएर कसरी सुरक्षित यात्राको प्रत्याभूति दिलाउन सकिन्छ ?
नेपालको जस्तो संवेदनशील आकाशमा चालक दलका सदस्यहरूको सावधानीले पनि दुर्घटना जोगाउन ठुलो सहयोग गर्दछ । त्यसैले चालकहरूले सावधानीका साथ विमान चलाउनु जरुरी त छँदै छ, उहाँहरूलाई समय अनुसारको अत्याधुनिक ज्ञान र सिप प्रदान गर्नु पनि त्यतिकै जरुरी छ ।
यस बाहेक दुर्घटना पछि बनेका अध्ययन समितिले दिएका सुझाव कडाइका साथ कार्यान्वयन गर्न सकियो भने दुर्घटना कम गर्न सकिन्छ । यसले मात्र नेपाली आकाशलाई सुरक्षित बनाउन सकिन्छ । विश्व समुदायलाई नेपाली आकाश र नेपाली जहाज सुरक्षित छन् भन्ने सन्देश पनि दिन सकिन्छ ।
