काठमाडौं । नेपालीमा एउटा भनाइ छ ‘मुख बजार्न सजिलो छ, काम गर्न गाह्रो छ ।’
यो आहान त्यसै बेनेको होइन । लामो अभ्यास पछि निस्किएको निष्कर्ष हो यो । भन्न जति सजिलो छ, गर्न त्यति नै गाह्रो छ । आदर्शका कुरा गर्न सजिलै हुन्छ, तर त्यसलाई व्यवहारमा उतार्न धेरै गाह्रो हुन्छ ।
नेपालको राजनीतिक क्षेत्र होस् वा सामाजिक क्षेत्र, हरेक क्षेत्रमा मुख बजार्नेको ठुलो जमात छ । तर व्यवहार उनीहरूकै भद्रगोल छ ।
कुरा गर्ने तर कुरा जसरी काम नगर्ने प्रवृत्तिकै कारण नेपाली समाज झन् झन् पछि पर्दै छ । विश्व विकासमा दौडिएको छ, हामी बामे सर्दै छौँ । संसार उड्दै छ, हामी घस्रँदै छौँ ।
बेथिति, अव्यवस्था, सामाजिक र पारिवारिक बोझ थाम्न नसकेर मंगलबार एक युवाले आत्मदाह गरे । यसमा केही उनको पनि दोष होला, आफूले सम्हाल्न नसक्ने व्यवहार गर्नु उनको दोष होला । त्यसमा परिवारको पनि केही दोष होला, समाजको दोष होला । सबैभन्दा बढी नागरिकलाई सहज रूपले बाच्ने वातावरण बनाउन नसक्नुको पछाडि राज्यको दोष त छँदै छ ।
उनले आत्मदाह गरेपछि राज्यका जिम्मेवार निकायमा बसेका केही अधिकारीले मुख बजारेको देखियो । फेरी उही नेपाली भनाई दोहोराउन बाध्य बनाइयो ‘भन्न सजिलो छ, गर्न गाह्रो छ ।’
प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि गृह मन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्नुभयो ‘आत्म दाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो’ भनेर ।
अरूलाई दोष दिन सजिलै हुन्छ, तर आफूले गर्न गाह्रो हुन्छ । हिजोलाई दोष दिने गृहमन्त्री लामिछानेले आफूले चाहिँ के नयाँ गर्नुभयो त ?
‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्म दाहको निर्णय फेर्न सकेन’ भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखिरहँदा रवि र उहाँको पार्टीले चाहिँ नयाँ कुरा के दियो ?
उही उपप्रधानमन्त्रीको पगरी नै गुथ्नु पर्ने । स्वार्थ बाझिने विवादित मानिसहरू नै मन्त्री बन्नु पर्ने, बनाइनु पर्ने । अनि ‘यसमा हामी दोषी छौँ, म दोषी छु’, भनेर उम्कन पाइने ?
‘नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकिनौँ’ भनेर मुख मात्रै बजारेर हुन्छ कि, व्यवहार पनि आशा जगाउन लायकको हुनुपर्छ ? गफले चिउरा भिज्दैन, चिउरा भिजाउन त दूध, दही नै चाहिन्छ ।
अर्का सार्वजनिक व्यक्तित्व काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले त सो विषयमा निक्कै लामो स्ट्याटस फेसबुकमा लेख्नु भएको छ । सबैलाई गाली गर्दै उहाँले राज्यका सबै संयन्त्र असफल भएको टिप्पणी गर्नुभएको छ । सबै असफल हुँदा उहाँले आफूलाई कहाँनेर सफल देख्नु भयो ? आफैँ राज्यको जिम्मेवार पदमा बस्ने अनि आफै राज्यका सबै संयन्त्र असफल भए भन्ने टिप्पणी गर्ने ? साँच्चिकै उहाँले बुद्धत्व प्राप्त गर्नुभएको हो वा सिद्धि प्राप्त गर्नुभएको हो ? असफल भएँ भनेर फेरी राज्य सत्तामा नै बसिरहन मिल्छ । राज्यको सेवा, सुविधा लिने, अनि फेरी असफल भयौँ भन्दै आफूले आफैलाई गाली गरिरहने ? नैतिकता हुनेले त्यो पद छाड्न पर्छ भन्ने प्रश्न उठाउन मिल्छ कि मिल्दैन ?
‘एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्, त्यो आत्म दाहका धेरै कारण र धेरै संकेतहरु होलान्, तर सबै भन्दा ठुलो कारण राज्य हो र सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ, राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन्’, यसो भनिरहँदा यसमा काहीँ न काहीँ त बालेन्द्रको स्थान पनि होला नि ?
अन्य वैकल्पिक व्यवस्था नगरी सडक पेटीमा पोलेको मकै बेच्नेहरूको काम खोसिएको छ । ठेला गाडा ठेल्नेहरूको ठेला भाँचिएको छ, खोसिएको छ, लुटिएको छ । सुकुम्वासीका टहरा भत्काइएको छ । सहरमा डोजर आतंक छ । त्यसले पार्ने मनोवैज्ञानिक प्रभावको कत्तिको लेखाजोखा गरिएको छ ?
‘नागरिकका रूपमा, जनप्रतिनिधिका रूपमा, सत्ताका अगुवाका रूपमा, सञ्चार माध्यमका रूपमा हामी सबै असफल भइरहेका छौँ, नागरिकले गर्नु पर्ने सामान्य दायित्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन, हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन, जनप्रतिनिधिका रूपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन, प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ, सत्ताका अगुवाका रूपमा त्यो सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्ता स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ, सञ्चार माध्यमका रूपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार पार्ने बारेमा रुचि छैन, कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्न, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ’, भनेर महानगर प्रमुखको कुर्सीमा बस्ने बालेन्द्रले आदर्श वाक्य लेखिरहँदा आफू कहाँनेर छु भन्ने पनि हेर्ने कि ? फेसबुकमा सबै भन्दा छुच्चा स्ट्याटस र कमेन्ट गर्नेमा उहाँ पनि माहिर नै हुनुहुन्छ ।
कुनै अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भन्ने कामना हरेक नेपालीको छ । अझ भन्ने हो भने विश्व समुदायकै छ । तर यो अवस्था दोहोरिन रवि र बालेन जस्ता जो आफूलाई अलग्गै ग्रहबाट आएका जस्तो ठान्नुहुन्छ उहाँहरूको व्यवहारले पनि मलजल त गरिरहेको छैन ? एक पटक सोच्ने कि ?
बालेन्द्रले लेख्नु भएजस्तै काठमाडौँ महानगरले सिप सिक्ने र ती सिपको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा अहिले गरेको कामको गतिले महानगरमा बस्ने नागरिकलाई सजिलै बाँच्ने वातावरण बनाउला त ? अरूलाई अर्ती दिनेले अहिले गरिराखेका यस्तै कामले नागरिकको बाँच्ने आधार तयार होला त ?
फेरि पनि प्रेमप्रसाद आचार्य जस्ता नेपालीले आत्मदाह गर्ने दिन नआओस् । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली । अनि जिम्मेवारीमा रहनेलाई मुख बजार्ने होइन, काम गर्ने सद्बुद्धि पलाओस्, यही कामना ।
