काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस्तो सायद सोच्नु भएको थिएन होला– एकाएक प्राप्त भएको मान, सम्मान सत्ता, शक्ति एकैसाथ झर्ल्यामझुर्लुम सिसा फुटेझैँ फुट्छ होला भनेर ।
लामिछानेको जीवनमा शुक्रबार नराम्रो झड्का लाग्यो । झड्का मात्र लागेन, उहाँको मान, सम्मान, इज्जत, प्रतिष्ठा, दम्भ र घमण्ड एकैसाथ चकनाचुर भयो । सारा देशले उठाएको आवाजको बेवास्ता गर्दै हिँड्नु भएका लामिछानेको दम्भ र घमण्डलाई सर्वोच्च अदालतको निर्णयले साइजमा ल्याइदियो ।
सर्वोच्च अदालतले लामिछानेकाे नेपाली नागरिकता नभएकोले नेपाको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने फैसला सुनायो । यो फैसलासँगै लामिछानेको गृह मन्त्री र प्रतिनिधि सभा सदस्य पद त गयो नै, आफैँले खोलेको पार्टीको सभापति पद पनि रहेन ।
मूल कारण दम्भ र घमण्ड
रवि लामिछाने जति बेलादेखि चिनिनु भयो त्यति बेलादेखि नै उहाँमा दम्भ थियो । त्यो भन्दा पनि बढी घमण्ड थियो ।
अमेरिकाको बसाई छाडेर नेपाल फर्किएपछि उहाँले टेलिभिजनमा काम सुरु गर्नुभयो । खास गरी समस्यामा परेका नागरिकको समस्या फुकाउने र सरोकारवालालाई र्याखर्याख पार्ने कार्यक्रम चलाउनुभयो रविले । यसबाट केही पीडितले राहत पनि पाए ।
प्राय नकारात्मक कुरा उठाउँदा चर्चामा आउने नेपाली समाजमा रवि छोटो समयमा नै चर्चामा आउनुभयो । रवि लामिछाने रविबाट एकाएक रवि दाइमा परिणत हुनुभयो । कतिले त उहाँलाई देवत्व करण गर्न पनि भ्याए ।
जति बेला उहाँ टेलिभिजनको पर्दामा चिच्याउँदै हुनुहुन्थ्यो, नेपालका जिम्मेवार अधिकारी र नेपालीलाई कानुन सिकाउँदै हुनुन्थ्यो, त्यति बेला पनि उहाँले गैरकानुनी रूपमा नेपालमा काम गरिरहनुभएको थियो । अमेरिकी नागरिकको हैसियतमा नेपालमा रहेर पत्रकारिता गरिरहनुभएको थियो । जुन कुरालाई नेपालको कानुनले गैरकानुनी मान्छ ।
लामिछानेको सो कार्य गैर कानुनी भएको आवाज बाक्लै उठ्यो । तर उहाँ त्यसलाई लत्त्याउँदै अघि बढ्नुभयो । बेवास्ता गर्नुभयो । दम्भ र घमण्डले सो कुरा उठाउने माथि नै प्रहार गर्दै जानुभयो ।
अन्तिममा केही लागेन, कारबाही हुने अवस्था बनेपछि बल्ल उहाँले अमेरिकी दूतावासमा अमेरिकाको नागरिकता त्यागेको सूचना दिनुभयो । तर पनि उहाँले नेपालको नागरिकता लिने नयाँ प्रक्रिया सुरु गर्नुभएन । पुरानै नेपाली नागरिकता लिएर हिँड्नुभयो ।
उहाँको पुरानो नागरिकता प्रतिको मोह थियो वा नेपालको कानुनलाई चुनौती दिने नियत । त्यो उहाँ नै जान्नुहोस् । अथवा नागरिकता दिने प्रमुख जिल्ला अधिकारी भन्दा आफूलाई माथि ठानेर त्यो लिन आवश्यक नठानेको पनि हुनसक्छ । अर्काको मनको कुरा कसरी जान्नु !
जे होस् अरूलाई कानुनको पाठ पढाउने रविलाई नेपालको कानुनले एक पटक विदेशको नागरिकता लिए पछि नेपाली नागरिकको हैसियत गुम्छ भन्ने राम्रैसँग थाहा थियो । त्यति मात्र होइन कुनै देशको नागरिकता त्यागेर पुनः नेपाली हुन चाहेमा नयाँ नागरिकता लिनु पर्न भन्ने पनि राम्रोसँग थाहा थियो ।
लामिछानेले न्युज २४ टेलिभिजन छाड्नुभयो । नयाँ टेलिभिजन खोल्नुभयो ।
सो टेलिभिजन छाडेर जाँदा प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्ने भनि युवाहरूसँग पैसा उठाएर हिँडेको कुरा पनि चर्चामा आयो । उहाँले जुन कार्यक्रमको लागि भनेर पैसा उठाउनु भएको थियो । त्यो प्रतिस्पर्धात्मक कार्यक्रम भएन । पैसा तिरेका युवाले पैसा फिर्ता पाए पाएनन्, उनीहरू नै जानुन् ।
जे होस् सार्वजनिक भएको विषयको उहाँले चित्त बुझ्दो जवाफ दिन सक्नु भएन । आफू बाहेक सबैलाई शंकाको घेरामा राख्ने लामिछाने सो विषयमा आफैँ शंकाको घेरामा पर्नुभयो र अझै हुनुहुन्छ ।
नयाँ टेलिभिजन खोलेको केही महिनामा नै उहाँलाई नेता बन्ने सोख जाग्यो । टेलिभिजनको पर्दामा सधैँ म नेता बन्दिन, त्यो मेरो क्षेत्र होइन भनेर बारम्बार भन्ने रविको बोली एकाएक बदलियो । गएको असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुभयो । सधैँ नेतालाई गाली गर्ने रवि आफैँ नेता बन्नुभयो ।
पुराना पार्टी र नेता प्रति लगातार विष वमन गर्नुहुने रविले पुराना दल र नेता प्रति वितृष्णा जागेका युवाको राम्रै समर्थन पाउनुभयो । पार्टी गठन गरेको ६ महिना पनि नपुग्दै भएको निर्वाचनमा रवि लामिछानेको पार्टी राष्ट्रिय पार्टी बन्यो । पुराना धेरै पार्टीलाई उछिन्दै सो पार्टी प्रतिनिधि सभामा चौथो दल बन्यो । प्रत्यक्ष र समानुपातिक गरी २० जना संसद् बने ।
रवि पहिला काठमाडौंबाट चुनाव लड्ने तयारीमा हुनुहुन्थ्यो । पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थर्काउन चितवन पुग्नुभयो । रवि चितवन पुगेपछि प्रचण्ड भागेर गोरखा पुग्नुभयो । चितवनबाट भारी मतान्तरले उहाँ निर्वाचन जित्न सफल हुनुभयो । काठमाडौ, चितवन, ललितपुर लगायतका सहरी क्षेत्रमा उहाँको पार्टीले राम्रो मत पायो ।
त्यसो त उहाँले पार्टी दर्ता गर्ने बेलामा पनि उहाँको नागरिकताको विषय उठेको थियो । उहाँले पुनः नागरिकताको लागि अपिल गर्नुपर्ने कुरा सबैतिरबाट उठेको थियो । तर उहाँले त्यसलाई टेर्नु भएन ।
प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ताको समयमा यो विषय अझ गम्भीरताको साथ उठेको थियो । त्यसलाई उहाँले लत्त्याउनुभयो । नेपालको कानुनलाई ठाडै चुनौती दिनुभयो । लामिछाने दम्भ र घमण्डकै कारण अटेर गरेर बस्नु भएको थियो । जसको परिणाम आजको दिन आयो ।
निर्वाचन आयोग पनि दोषी
रवि लामिछानेले पार्टी दर्ता गर्ने बेलामा नै उहाँको नागरिकताको विषय उठेको थियो । उहाँको नागरिकताको वैधताको विषयमा निर्वाचन आयोगले त्यति बेला नै बुझ्न सक्थ्यो । प्रश्न उठाउन सक्थ्यो ।
निर्वाचन आयोगले यसमा वास्ता गरेन वा लापरबाही गर्यो वा निर्वाचन आयोग र त्यसका अधिकारीले पनि नेपालको संविधान र कानुनको खिल्ली उडाउने काम गरे । यसको जवाफ आयोगका जिम्मेवार अधिकारीले पनि दिनुपर्छ ।
त्यति मात्र होइन लामिछानेले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिँदा पनि आयोगले यस विषयमा छानबिन गर्नु पर्दथ्यो । त्यही पार्टीबाट उम्मेदवार बनकी डा. तोसमा कार्कीको उम्मेदवारी आयोगले खारेज गरिदियो । पछि अदालतको आदेशबाट उहाँको उम्मेदवारी कायम भयो ।
तोसमा कार्कीको विषयमा त्यस्तो छानबिन र निर्णय गर्न सक्ने निर्वाचन आयोगले रविको बारेमा किन छानबिन गरेन ? निर्वाचन आयोग रविसँग डरायो ? उहाँसँगै मिल्यो ? वा कानुनको पालना गर्न गराउन चुक्यो ? यसको जवाफ पक्कै आयोगले दिनुपर्छ ।
जता हावा उतै उड्ने ?
पछिल्लो समय नेपाली समाजमा एउटा खतरनाक संस्कृति विकास हुँदै छ–‘जता हावा उतै उड्ने ।’ यो संस्कृति अत्यन्तै खतरनाक छ । यसले देशलाई खाल्टोमा हाल्छ । समाजलाई ध्वस्त बनाउँछ ।
रविको मामलामा हाम्रो समाज त्यस्तै भएको छ । उहाँले जे गरे पनि राम्रो । जे भने पनि राम्रो । कानुन भन्दा माथि । अझ देश भन्दा माथि । देशमा कानुन छ, कानुन भन्दा माथि संविधान छ, त्यो भन्दा पनि माथि राष्ट्र छ, अनि राष्ट्रपिता छ ।
जो मान्छे विदेशी नागरिक भएर फर्किएपछि फेरी म यही देशको नागरिक हुन्छु, मलाई यो देशको नागरिक बनाऊ भन्न सक्दैन, भन्दैन वा त्यसो भन्दा लाज लाग्छ । त्यस्तो मन्छेसँग के अपेक्षा गर्न सकिन्छ । अनि जता हावा चल्यो, त्यतै दौडिएर हुन्छ ? रवि लामिछाने समक्ष याे फेसलाले एउटा ठुलाे नैतिक संकट खडा गरेकाे छ । साथै उहाँलाई सच्चिन अवसर पनि दिएकाे छ ।
हुन त यो कुरा रविका मान्छेलाई मन नपर्न सक्छ । तर उहाँहरूले आफूलाई अप्ठेरो पर्दा कानुनका कुरा गर्ने, आफ्नालाई अप्ठेरो पर्दा कानुन मिच्ने काम गर्नु सामाजिक न्यायको सिद्धान्त विपरीत हुन्छ । रावि लामिछानेको पक्षमा सर्वोच्च अदालत अगाडि शुक्रबार उहाँहरूले गरेको प्रदर्शन त्यही नै हो । उहाँहरू पनि कानुनको शासनको पक्षमा उभिनु पर्छ । रवि लामिछानेलाई कानुनको दायरामा ल्याउनु पर्छ ।
अदालतले रवि प्रति लचकता अपनाएकै छ । उहाँ कानुनी प्रक्रिया पूरा गरेर पुनः नेपाली नागरिक बन्न सक्नुहुन्छ । वैधानिक रूपमा नेपाली नागरिक भएर पुनः चुनाव लड्न सक्नु हुन्छ । उपप्रधानमन्त्री मात्र होइन, प्रधानमन्त्री र राष्ट्रपति पनि बन्न सक्नुहुन्छ । तर देशकाे कानुन भन्दा माथि छु भन्ने दम्भ र घमण्ड त्याग्नु पर्छ ।
कुनै पनि नागरिक अनागरिक बन्न सक्दैन भन्ने सिद्धान्तको व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ । एउटा देशको नागरिकता त्याग्ने, अर्को देशको नागरिकता नलिने भए पछि त मानिस अनागरिक बन्छ नै । नागरिक बन्नलाई विधि त पुर्याउनै पर्यो नि । विधि मिचेर दम्भ र घमण्ड गर्यो भने त खाल्टामा परिन्छ ।
आफैले खाल्टो खनेर आफैँ खाल्टोमा पस्नेलाई रोक्न सकिँदैन । अहिले उहाँको अनागरिकको अवस्था आफैँले खनेको खाल्टोमा आफैँ पसेको हो । नेपालीमा उखान नै छ नि ‘भिरमा लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।’ नागरिकता काण्डमा रवि लामिछाने पनि भिरबाट लडको गोरु नै हो । उहाँलाई काँध थाप्नु मूर्खता मात्र हो ।
रविको दम्भ, निर्वाचन आयोगको लापरबाही, क्षति देशलाई
रविले दम्भ र घमण्ड त्यागेर नेपालको कानुनको पालना गर्नु भएको भए उहाँले पहिले नै नेपाली नागरिकता पाउनु हुन्थ्यो । उहाँले पुनः नेपाली नागरिकता नै नलिई दल दर्ता गर्दा, चुनावमा उम्मेदवारी दिँदा निर्वाचन आयोगले लापरबाही नगरी छानबिन गरेको भए उहाँले उम्मेदवारी दिनै पाउनु हुन्थ्यो । त्यसो भएको भए अहिले एउटा प्रतिनिधि सभा सदस्य पद रिक्त हुँदैनथ्यो ।
मङ्सिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवनको सो क्षेत्रमा निर्वाचन गराउन राज्य कोषको कति पैसा खर्च भयो होला ? अनि चुनाव लड्ने उम्मेदवारको कति पैसा खर्च भयो होला ?
अब सो निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराउनु पर्ने भयो । त्यसमा पुनः राज्य कोषको ठुलो रकम खर्च हुन्छ । उम्मेदवारको त्यतिकै खर्च हुन्छ । एक त नयाँ प्रतिनिधि नआउँदासम्म सो क्षेत्रको आवाज प्रतिनिधि सभामा पुग्न नसक्ने भयो । अर्को अघिल्लो चुनाव गराउँदा खर्च त्यतिकै खेर गयो । अर्को चुनाव गराउन त्यति नै खर्च हुने भयो । यसले देशलाई नै क्षति पुगेको छ ।
