-गोविन्द थापा-
शरीरमा पेट्रोल खनाएर प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहलाई नेपालको संघीय संसद्ले कसरी बुझेको छ ? प्रेमप्रसादले जुन ठाउँमा आत्मदाह गरेको भए पनि संसद्ले थाहा पाउनुपर्छ । झन् प्रेमप्रसादको आत्मदाह संघीय संसद् भवन अगाडि नै भएको छ । प्रेमप्रसादले शरीरमा पेट्रोल खनाएर आत्महत्या गर्न संघीय संसद् अगाडिको ठाउँ नै किन रोजेको होला ? यो प्रश्नको जवाफ प्रेमप्रसादको सुसाइड नोटले नै दिएको छैन र ?
संसद्ले के बुझोस् भने प्रेमप्रसादको शरीर पेट्रोलले होइन, आँशुले जलेको हो । त्यो आँशु प्रेमप्रसादको मात्र होइन, सारा दुःखी पीडित नेपाली जनताको पनि हो । जनताको आँशु पुछ्ने र आँशुलाई सम्बोधन गर्ने थलो संसद् हो ।
प्रेमप्रसादको शरीरमा लागेको आगो निभाउन सकिएन, प्रेमप्रसादको ज्यान गइसकेको छ । प्रेमप्रसादको ज्यानसँगै आगो निभेको भ्रममा नपरौं । प्रेमप्रसादको शरीरको आगो भुसभित्रको आगो झैं देशभरी भित्रभित्रै फैलँदै छ । यो कुरा संसद्ले बुझ्नुपर्छ, सबैले बुझ्नुपर्छ ।
वेलायतको संसद्ले पुरुषलाई नारी र नारीलाई पुरुष बनाउन सक्दैन, अरु सबै काम गर्न सक्छ भन्ने मान्यता राखिन्छ । अर्थात्, वेलायतमा संसद् सर्वशक्तिमान छ । वेलायती प्रणालीको अनुसरण गरेर नेपालमा संसदीय लोकतन्त्र स्थापित गरिएको हो ।
नेपालमा जस्तो वेलायतमा प्रदेश संसद् छैन । आम जनताको आशा र भरोसाका दृष्टिले नेपालको केन्द्रीय संसद् वेलायतको भन्दा कमजोर छैन । संसद्लाई जनताले अत्याधिक विश्वास गर्छन् । आमचुनावमा जनताले ठूलो आशा र भरोसासाथ प्रतिनिधि सभा निर्माणका लागि मतदान गर्ने गरेका छन् ।
प्रतिनिधि सभाले काम थालेपछि या प्रतिनिधि सभा पूरानो हुँदै गएपछि भने जनविश्वास घट्दै जाने गरेको नेपालको तीतो इतिहास छ । विगतका प्रतिनिधि सभाहरु कार्यकालको अन्तिमतिर खासै लोकप्रिय हुन सकेका थिएनन् । यसकारण नेपालमा संसदीय व्यवस्था नै बेलाबखत धरापमा पर्ने गरेको छ । अहिलेको प्रतिनिधि सभाले पनि जनचाहना अनुसार काम गर्न सकेन भने संसदीय प्रणाली र लोकतन्त्र नै धरापमा नपर्ला भन्न सकिन्न ।
यो प्रतिनिधि सभाले सुरुआतमै प्रेमप्रसादको आत्मदाह देख्नुपरेको छ । प्रेमप्रसादको आत्मदाहको एक साता अगाडि मात्रै प्रतिनिधि सभाले सभामुख पाएको छ । निष्ठावान, इमानदार र जनताप्रति समर्पित राजनीतिकर्मीका रुपमा प्रतिष्ठित देवराज घिमिरेले सभामुखका रुपमा प्रेमप्रसादको आगो र आँशुलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने कुराले नेपालमा संसदीय लोकतन्त्रको भविष्य निर्धारण गर्न सक्छ ।
त्यसो त प्रेमप्रसादको आगो र आँशुलाई सम्बोधन गर्ने जिम्मेवारी संसद्को मात्र होइन, सरकार र समग्र राज्य प्रणालीको पनि हो । तथापि, प्रतिनिधि सभाले खास तरिकाले आगो र आँशुलाई सम्बोधन गर्नुपर्छ भन्ने जनआवाज तथा जनचाहनाको सुनुवाई हुनैपर्छ । यस्तो सुनुवाईको सम्बोधन गर्ने अगुवाको काम सभामुख देवराज घिमिरेले गर्नैपर्ने हुन्छ ।
विगतमा प्रतिनिधि सभाले सुवासचन्द्र नेम्वाङ जस्ता लोकप्रिय र सक्षम सभामुख पाएको थियो । देवराज घिमिरेले अब सुवासचन्द्र जस्तो मात्र बनेर पुग्दैन, संसद्लाई जनताको दैनिक जीवनका समस्या सम्बोधन गर्ने थलोका रुपमा विकास गर्न पनि आवश्यक छ । अर्थात्, अब प्रतिनिधि सभा विगतको जस्तो रुपमा चलेर मात्र हुँदैन ।
समस्याका आयाम बढेका छन्, जनचाहना बढेको छ, देश र संसद् अझ धेरै अनुभवी बनेको छ । केही गरेर देखाउँ, जनताको समस्या र चाहनालाई सम्बोधन गरौं भन्ने भावना भएका नयाँ सांसद्हरु यसपटक प्रतिनिधि सभामा प्रशस्त आएका छन् । उनीहरुको उर्जा र उत्साहलाई उपयोग गर्ने जिम्मेवारी पनि सभामुखकै हो ।
प्रतिनिधि सभाले आफ्नो कार्यशैलीमा व्यापक परिमार्जन गर्न जरुरी छ । प्रतिनिधि सभाको वैठक निर्धारित समयमै सुरु गर्ने परिपाटी समाभुखले कडाईसाथ पालना गर्न जरुरी छ । बदनाम बनेको नेपाली समयको छवी सुधार्ने काम प्रतिनिधि सभाको वैठक तोकिएकै घडीपलामा गरेर गर्न सकिन्छ ।
प्रतिनिधि सभा कार्यकारी निकाय होइन तर यसले सरकारलाई प्रभावकारी ढंगले मार्गनिर्देशन गर्न सक्नुपर्छ । प्रतिनिधि सभा भनेको २७५ सांसदको वैठक मात्र होइन । संसदीय समितिहरुको प्रभावकारी भूमिकाले प्रतिनिधि सभाको प्रभावकारीता वृद्धि गर्छ ।
संसदीय समितिहरुले जनताको दैनिक जीवनका समस्याहरुमा गहिरिएर छलफल गर्ने, त्यस्तो छलफलपछिको निष्कर्ष स्वरुप सरकारलाई आवश्यक निर्देशन दिने, निर्देशन अनुरुपका कामहरु भए कि भएनन् भनेर अनुगमन गर्ने काम कडाईसाथ गर्न जरुरी छ । यसमा सभामुख देवराज घिमिरेले देखिने गरी अगुवाई गर्न आवश्यक छ ।
आम जनताको समस्या र जनचाहनाका बारेमा सभामुख देवराज घिमिरे निकै राम्रो जानकार हुनुहुन्छ । उहाँ साधारण राजनीतिकर्मी मात्र हुनुहुन्नथ्यो, नेकपा एमालेका संगठक पनि हुनुहुन्थ्यो । नेकपा एमालेको ग्रास रुटबाट उठेका नेता हो देवराज घिमिरे । तसर्थ, जनचाहना र आवश्यकताको पहिचानको मामिलामा उहाँको योग्यता र विज्ञतामा प्रश्न उठाउने ठाउँ छैन । यसकारण पनि वर्तमान प्रतिनिधि सभाप्रति जनताको आशा र भरोसा बढेको छ । तर, के यसलाई देवराजले प्रभावकारी ढंगले सम्बोधन गर्न सक्नुहुन्छ ?
प्रतिनिधि सभा भनेको कुरा उठाउने थलो मात्र होइन । जनप्रतिनिधिहरुले उठाएका विषयवस्तुलाई सरकारले सम्बोधन गर्न सक्नुपर्छ । यसो भयो भने मात्र प्रतिनिधि सभाको साख रहन्छ । हाम्रो प्रतिनिधि सभा अन्य देशको भन्दा निक्कै फरक चरित्रको छ ।
संसदीय समितिहरुले जनताको दैनिक जीवनका समस्याहरुलाई प्रत्यक्ष सम्बोधन गर्ने गरी सरकारलाई निर्देशन दिन सक्छन् । यो काममा सम्पूर्ण संसदीय समितिहरुलाई परिचालित गर्ने र तदअनुरुप सरकारलाई निर्देशित गराउने काममा सभामुख देवराज घिमिरेको भूमिका हुनसक्नुपर्छ ।
प्रतिनिधि सभा र प्रेमप्रसादलाई जोडेर यहाँ चर्चा गरिनुको खास कारण छ । प्रेमप्रसादको आत्महत्या गलत नै हो तर प्रेमप्रसादले उठान गरेका विषयहरु भने गम्भीर छन् । ती विषयहरुमा संसदीय समितिहरुमा छलफल गराइनुपर्छ । संसदीय समितिहरु चाँडै गठन होला, समिति बन्नासाथ सभामुख देवराजले ती विषयहरुमा छलफल गर्न समितिहरुलाई निर्देशित गर्नुपर्छ ।
सरकार अलोकप्रिय हुनसक्ला, अलोकप्रिय बन्न पनि सक्छ तर प्रतिनिधि सभालाई अलोकप्रिय बन्ने छुट छैन । प्रतिनिधि सभालाई लोकप्रिय बनाउने भनेको यसलाई जनताको दैनिकीसँग जोडेर हो । यो काममा सभामुख देवराज घिमिरे सफल बन्नुहोला भनेर विश्वास गर्न सकिन्छ । तर, सभामुखको एक्लो बलमा मात्र प्रतिनिधि सभा बलियो र लोकप्रिय बन्न सक्दैन ।
यसका लागि प्रतिनिधि सभाका सबै सदस्यहरुको उत्तिकै योगदान हुनुपर्छ । प्रतिनिधि सभा सफल भयो भने मात्र सांसद्हरु पनि सफल हुन्छन् र राजनीतिक दलहरु र संसदीय प्रणालीप्रति पनि जनताको भरोसा बढ्छ । यो कुराको हेक्का सबै सांसद्ले राख्नुपर्छ ।
सभामुख देवराज घिमिरेलाई सफल बनाउनु सम्पूर्ण नेपाली नागरिकको दायित्व भएको छ ।
