–दयालबहादुर शाही-
एकादेशमा एउटा सिंह थियो । ऊ धेरै दिनदेखि भोकै थियो । त्यही वनमा ब्वाँसो, वनकुकुर र स्याल पनि बस्थे । उनीहरु पनि भोकले आलसतालस थिए । उनीलाई जम्मा गरेर सिंहले भन्यो– ‘केटाहरु हो ! म बुढो भएँ । मसँग तागत र गति रहेन अब । मृग मार्न नसकेर फटिंग्रा छोपेर प्राण धान्न खोजेँ, नहुने रहेछ । मैले गरेको शिकारको रहलपहलमा बाँच्ने तिमीहरुको पनि बिजोग छ । अब उपाय लगाएर एउटा मृग मारौं । म यही चौरको छेउमा घाँसभित्र पल्टिरहन्छु । तिमीहरु मृगलाई धपाएर यतै ल्याऊ । दौडिरहेको मृग एकाएक यता मलाई देखेपछि दोधारमा पर्ने छ । त्यही मौका छोपेर हामी त्यसको काम तमाम पार्नेछौं ।’ सिंहको योजना सबैले माने ।
ब्वाँसो, बनकुकुर र स्याल एकापट्टि र सिंह अर्काेपट्टि भएर उनीहरुले एउटा मृग मारे । आफ्ना दाँत कमजोर भएकाले सिंहले मासुका चार भाग लगाउन निर्धाहरुलाई अह्रायो । आदेश बमोजिम मासुका चार भाग तयार भए । मासु बाँढ्न सिंह आफै अघि सर्यो । उसले गर्जदै भन्यो– ‘मासुको यो पहिलो भाग मेरो होे । किनभने यो जंगलको राजा म हुँ । यो दोश्रो भाग मेरै भयो । किनकि यो मृग यसरी मार्नु पर्छ भन्ने योजना मेरो थियो । यो तेश्रो भाग पनि मेरै भयो किनकि हामी चार जना मध्ये एक भाग मलाई पर्ने नै थियो । अब रह्यो बाँकी एक भाग । यो जसले पहिले लिन सक्यो उसैको हो । नाथेहरु हो ! हिम्मत छ भने तिमीहरु छोएर त हेर । यहाँ हेर, मैले छोएँ । यो भाग पनि मेरै भयो ।’
सिंहको रौद्र रुप र गर्जन सुनेर ब्वाँसो, वनकुकुर र स्याल ज्यान जोगाई भागे । धेरै पर पुगेपछि उनीहरुले एक स्वरले भने– ‘ठूलाबडाहरुसँग काम गर्दा मेहनत त खुब गर्नुपर्छ तर खाने पाउने बेला हिस्स बुढी हरिया दाँत हुनुपर्छ ।’
गत मंसिर ४ गते सम्पन्न चुनावपछि प्रतिनिधि सभामा ठूलो दल बनेपछि नेपाली कांग्रेसले पनि तत्कालिन सत्तारुढ गठबन्धनसँग लोककथाको सिंह जस्तै सर्वेसर्वाको रबैया देखायो । राष्ट्रपति र प्रधानमन्त्री आफै राख्ने जनाऊ दिएर कांग्रेस २०४८ सालतिरको जस्तै सर्वसत्तावादी स्वरुपमा आयो । ओली र प्रचण्डको तुष साम्य नहुने उसको सोझा अनुमान थियो । उसको सबैभन्दा गलत आँकलन भनेको प्रचण्डलाई पनि ईख सकिएका र आश मरिसकेका माधव, झलनाथ, वामदेव, वाबुराम र चित्रबहादुरहरुको घानमा हाल्नु थियो ।
बाल्कोटको बार्दलीमा आजको नेपालका दुई शिर्ष वामपन्थी हस्तीको पुनर्मिलन होला भन्ने कल्पना नगरी कांग्रेसले बालुवाटारबाट प्रचण्डलाई अपमान गरी रित्तो हात पठाएको थियो । वामपन्थीको दरारमा छिना चलाएर बाँचेको नेपाली कांग्रेस त्यहाँनेर नराम्ररी पछारियो जहाँनेर ऊ नेपालमा हस्तक्षेपको राजनीतिको दिग्विजय भएको र घरेलु पहलको राजनीति फेरि उठ्नै नसक्ने गरी पछारिएको निष्कर्षमा पुग्यो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको देशभक्त र वामपन्थी शक्तिको वर्तमान सरकार घरेलु राजनीतिक पहलको उपज हो । कांग्रेस भने फेरि राजनीतिक सहमतीको नाममा हस्तक्षेपको मुर्छित राजनीतिलाई पानी छम्केर होशमा ल्याउने दाउमा छ । एमालेको घरेलु राजनीतिक पहल गर्ने ह्याऊ र कांग्रेसको हस्तक्षेपको ढोका खोल्ने दाऊ बीचको द्वन्द्व सिलसिला युगदेखि युगसम्म चल्दै आएको छ ।
कांग्रेसको बैगुन र एमालेकाे गुन
दरबार, दिल्ली र नेपाली कांग्रेस बाटको निरन्तरको दमन, दलन र दोहनबाट देश र जनतालाई मुक्त पार्न चाहिने शास्त्रबल र शस्त्रबलको जोहो एक इतिहास माग थियो । तीसको दशकदेखि नै एमाले र एमालेका संगठनहरुले मातृभूमिका लागि खून, पसिना र आँसु दिएर उक्त माग पुर्ति गरेकाले एमालेदेखि कांग्रेस र दिल्ली जहिलै जल्ने गर्छन् । जनता बलियो बनाएकाले उनीहरु एमालेलाई आँखाको कसिंगर ठान्छन् ।
युगदेखि युगसम्म एमाले निरन्तर घेराबन्दी र शक्ति ऐठनको चरण भएर गुज्रिनुको कारण यही हो । एक्काइसौं शताब्दिको नेपाललाई चाहिने सगरमाथा जस्तै मजबुत, अग्लो र ठाडो स्वाभिमानको मेरुदण्ड प्रदान गरेकोमा उनीहरु एमालेदेखि खुशी छैनन् । आधुनिक नेपालको लागि चाहिएको सहिष्णुता, सहकार्य र सहअस्तित्वको तराई जस्तै चौडा छात्ती प्रदान गरेको उनीहरुलाई रुचेको छैन ।
लोकतन्त्र, समानता र देशभक्तिको त्रिकोणमा नेपाली जाति अटाएको र उठेको उनीहरुलाई सैह्य छैन । नेपाललाई चाहिएको दिल, दिमाग, दृष्टिकोण, दम, द्रब्य र दलबलको सदावहार जोहो गरेको हुनाले नेपालको अस्तित्व समाप्त पार्न गौंडो कुरेर बसेका शक्तिहरु एमालेदेखि हैरान छन् । यसैले एमाले उखेल्नु नै उनीहरुको प्राथमिकता हो ।
एमालेको कांग्रेस र भारतीय शासक वर्गप्रतिको हेराई भने उनीहरुको जस्तो निषेधकारी र शत्रुतापूर्ण छैन । यसबारे जननेता मदन भण्डारीको यो कथनले प्रष्ट पारेको छ– ‘पराधीनता स्विकार्य छैन, शत्रुता हाम्रो चाहना होइन ।’ कवि मनु मञ्जिलको दुष्मन कविता जस्तै छ, एमालेको कांग्रेस र भारतीय शासक वर्गसँगको नीति रहेको छ– ‘जो मलाई फोहर जत्तिकै घृणा गर्छ तर म उसलाई फूल जत्तिकै मन पराउँछु ।’
पञ्चायती व्यवस्था यस्तो चक्रब्यूह थियो, जुन २०१७ सालमा जनस्तरबाट उठेको नेपाली कांग्रेसका बिरुद्ध रचिएको थियो । उक्त चक्रब्युह राजा र भारतले रचेका थिए । लोकतन्त्र बलियो हुँदा; जनता सचेत र संगठित हुँदा; सुखी, सम्पन्न, सर्वोपरी र सर्वाेच्च हुँदा नेपालमा खेल्न नपाइने भारतको स्वार्थ र राजाको तानाशाह बन्ने महत्वाकाक्षा मिलेकाले लोकतन्त्रको गला रेटिएको थियो । पञ्चायत व्यवस्था दिल्ली र दरबारबाट जन्मिएको वर्णशंकर सन्तान थियो ।
२०१७ सालको ‘कु’ बाट लोकतन्त्र कमजोर भएपछि निरंकुशता र हस्तक्षेप बलशाली भए । यसबाट प्रचूर र प्रत्येक्ष लाभ दरबार र दिल्लीले उठाए । आजको नेकपा(एमाले)को पूर्वरुप झापा विद्रोहले निर्वासनमा रहेको नेपाली कांग्रेसका लागि नेपालमा उभिने धरातल खडा गर्यो ।
झापाली क्रान्तिकारीलाई देखाएर निर्वासित अवस्थाका पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले मेलमिलाप नीतिको कार्ड फाले र राजासँग मेरो घाँटी जोडिएको छ भन्न समेत भ्याए । बीपीको अवसरवाद र अहंकारले सीमा नाँघ्यो । जुन झापा बिद्रोहले उत्कर्षमा रहेको पञ्चायतको ओठतालु सुकाएको थियो, त्यसको बारेमा एक शब्द नबोली उनी जनमत संग्रहमा सहभागी भए । झापा विद्रोह माथिको दमनचव्रmलाई आँखा चिम्लिएर गरिएको जनमत संग्रह धाँदलीको शिकार बन्यो । सत्ताबाट उपेक्षित, अपहेलित र पराजित अवस्थामै बीपी कोइरालाको इहलिला समाप्त भयो ।
नेकपा(एमाले)को उदय अघिसम्म कांग्रेसका नेताहरु दरबार र दिल्लीका दयाका पात्र थिए । धनीबाबुका पुल्पुलिएका छोरा भएकाले कांग्रेसका युवानेताहरु पञ्चायत र कांग्रेसको दोहोरा सदस्यता लिन्थे, विदेश जान्थे र कतिपय त पञ्चायतमै प्रवेश गर्थे । एमालेको पूर्वरुप माले भने झापा बिद्रोह कालदेखि नै आत्मनिर्भर अर्थतन्त्र, सुव्यवस्थित कमिटी प्रणाली, जुझारु संगठन र भूमिगत राजनीतिक सव्रिmयताले गर्दा भित्रैदेखि मजबुत थियो ।
एमालेकै बकर्तले गर्दा २०४६ सालको जनआन्दोलन सफल भयो । एमालेको काँध चढ्न पाएपछि कांग्रेसमा अहंकार पलायो । उनीहरु आफुलाई सगरमाथा भन्दा अग्ला ठान्न थाले । एमालेको आड पाएका कांग्रेसका नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको उचाईँ, राजालाई समेत ईश्या जगाउने खालको थियो ।
साठीको दशकमा आइपुग्दा एमाले पुर्न खनिएको खाडलमा कांग्रेसले आफुलाई भेटायो । साह्रोगाह्रोमा कांग्रेसलाई एमालेले सघायो र प्रचण्ड समेत लोभिने गरी फेरि उठायो । एमालेमाथि कुम्लो भारी तै बोक, तेरी आमा तै टोक गर्ने कांग्रेसी नीति कोइराला परिवारको उत्कर्षकालमा पराकाष्ठामा पुग्यो । एमालेको आडमा २० महिना प्रधानमन्त्री भएका सुशील कोइराला पालोको पैँचो तिर्ने बेला इमान्दार रहेनन् ।
२०७२ सालमा प्रधानमन्त्री पदका लागि राजनेता केपी शर्मा ओली र बहालवाला प्रधानमन्त्री सुशील कोइरालाको आम्नेसाम्ने भयो । राजनेता ओलीको उक्त जितबाजी सत्यको विजय थियो । सुनारको सय चोट लोहारको एउटै चोट । सत्यले असतमाथि, निष्ठाले कुण्ठामाथि, साधनाले अवसरमाथि, इमानले कपटमाथि यसरी नै हिसाब माग्छ र बदला लिन्छ । एमालेको काँध चढ्ने सगरमाथा पुगेको ठान्छन् र साथ छाड्नेका मुखमा झिँगा भन्किन्छन् । पूर्वराजा र कांग्रेसभित्रको कोइरालाको हान्ने राँगाको जस्तो बिगत र हरुवा गोरुको जस्तो वर्तमान यसका दृष्टान्तहरु हुन् ।
मनमोहन, प्रचण्ड र ओली सरकारमाथि कांग्रेसको कुदृष्टि
कांग्रेसले २०५२ सालमा मनमोहन अधिकारीको सरकार ढाल्यो । २०६६ सालमा प्रचण्डलाई सत्ताच्युत गर्नबाट पनि कांग्रेस छुटेन । ओली नेतृत्वका दुई दुई सरकारको विस्थापनमा पनि कांग्रेस चुकेन । आज एमाले र माओवादीलाई भैँसीको मासु सिंङको अचानो गर्ने कांग्रेस अजंग अवस्थाको, उत्कर्षकालको माओवादीप्रति कम्तिको पूर्वाग्रही थिएन ।
२०६४ सालको संविधान सभामा माओवादी सबैभन्दा ठूलो पार्टी बनेपछि कांग्रेस हात धोएर लाग्यो । प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न कांग्रेसले कुनै कसर बाँकी राखेन । प्रचण्डको नेतृत्वमा सरकार गठन भएदेखि नै उक्त सरकारलाई पछार्न कांग्रेस गौंडो कुरेर बसेको थियो । सेनासँग नठोक्किन सक्कली एमालेले गरेको आग्रहलाई हावामा उडाइयो । राप र तापका प्रचण्डमा तारा टिप्ने साहस थियो । केही नाम मात्रका एमालेहरुको गलत सल्लाह प्रचण्डलाई भारी साबित भयो । सेनापतिकाण्ड प्रचण्डको पदत्यागमा गएर टुंगियो ।
२०६५ सालमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेको समर्थन र साथ थियो तर कांग्रेस रोक्न सक्रिय थियो । लुकेको सत्य के हो भने सबैभन्दा ठूलो वामघटक एमाले होस् कि माओवादी होस्, दुबैप्रति इतिहासमा कांग्रेस इमान्दार र सकारात्मक रहेको छैन । कांग्रेसले ठूलो वामघटक जोकोहीलाई पनि सिध्याउन, ताछ्न, पिर्न, घेर्न र सेर्न पछि नपर्ने गरेको नजीर छ ।
कांग्रेसको धृतराष्ट्र आलिंगन र खिया लागेका नटबोल्टहरु
राजतन्त्र नरहेपछि र दिल्लीले देखिने गरी खेल्ने स्थिति नरहेपछि कांग्रेस नै अब जनताको आन्दोलन र अभियानलाई कमजोर पार्ने औजार बनेको छ । कांग्रेस आफै र अरुको ईशारा समेतका कारण खुबै कम्युनिष्टद्वेषी भएर आएको छ । गरिखाने कम्युनिष्टलाई नरुचाउने नेपालीे कांग्रेस मरिजाने कम्युनिष्टहरुलाई भने काखीमा चपक्कै टाँस्छ ।
स्वावलम्वी र स्वाभिमानी कम्युनिष्टप्रति आग्रह पाल्ने र ईश्र्या राख्ने नेपाली कांग्रेस लम्पसारवादी कम्युनिष्टको संकलन गर्छ र संरक्षण गर्छ । जनताको आशिर्वाद पाएर उठेका वामपन्थी उसलाई मनपर्दैन । उसको रोजाईमा टुटेफुटेका, झरेका, खिया लागेका नटबोल्टहरु पर्ने गर्छन् । वामपन्थीको नर्शरीमा एसिड छर्कने कांग्रेस बन्चरी बिँडको भने टहल गर्छ ।
ईखको खडेरी र भीआईपी लाटाहरु
एमालेको काँध चढेर माधव नेपाल, झलनाथ खनालहरु प्रधानमन्त्री भए । वामदेव गौतम, चित्रबहादुर केसीहरु उपप्रधानमन्त्री भए । उनीहरुको अहिलेको काम एमालेलाई नोक्सान पु¥याउनु हो । यी भीआईपी लाटाहरुमा ईखको खडेरी छ । शत्रुको दया र अनुकम्पा भन्दा वीर र स्वाभिमानीलाई मृत्यु प्रिय हुन्छ । लेनिनवाद छाडेर लम्पसारवाद अँगालेकालाई आज कांग्रेसको आँगन प्यारो छ ।
जससँग लडेर जुनी बित्यो उसैको जुठोपुरोमा आज उनीहरुको गुजारा चलेको छ । उनीहरुको गद्दारी यतिमै सीमित छैन । मदन, मनमोहन, ओलीपछि कांग्रेसको ओठतालु सुकाउने एमालेको विरासतको नजिक पुगिसकेका प्रचण्डलाई फर्काएर दिल्ली र कांग्रेसको जुवामा जोत्न भीआईपी लाटाहरुको सव्रिmयता बढेको छ ।
प्रचण्डको पृष्ठभूमि र दोमन
एमालेको काँध र साथलाई कम आँक्ताको परिणाम हरेकलाई महंगो पर्छ । २०४७ सालको संविधान च्यात्ने राजा, २०७२ सालमा पालोको पैँचो तिर्नबाट भागेको नेपाली कांग्रेस, अझ खास गरी कोइराला परिवार र सेनापतिकाण्डको बेलाको माओवादी यसका उदाहरण हुन् । दुई से– (१) सेनापति काण्डको से पछि (२) शेरबहादुर देउबाको शे प्रचण्डलाई भारी पर्दैछ ।
ओली र प्रचण्डले एक युगभरलाई जनताको राजनीतिलाई दिग्विजय गर्ने भए भन्ने निष्कर्ष निकाल्दै उता कांग्रेसको ओठतालु सुकेको छ र दिल्लीको निदहराम छ । यता प्रचण्डमा छाक कटुवा राजनीतिप्रतिको हतारो र हिमचिम नमरेको जस्तो छ ।
ओलीसँग सहकार्य गरेपछि बिदेशीले हैरान पार्ने डर हुँदैन भने पनि प्रचण्डको नोयडाबास, संविधानसभा असफल पार्न एस जयशंकरको नेपाल आगमनदेखि अहिले राष्ट्रपति चुनावमा देखिएको कांग्रेस मोहमा प्रचण्डबाट हस्तक्षेपको राजनीतिले आस गर्न नछाड्ने सिलसिलाको निरन्तरता हो । वामपन्थलाई देशभक्तिको स्वाभिमानी मेरुदण्डमा उभ्याउने ईखले प्रचण्डको दिलमा स्थान पाएनछ भने प्रचण्डको दोमन भत्कने छ र हस्तक्षेपको राजनीतिको ताण्डव नृत्य सुरु हुनेछ ।
प्रकाश दाहाल फ्याक्टर र एमाले
प्रचण्डको एमाले रोजाई स्वर्गिय प्रकाश दाहाल फ्याक्टरसँग जोडिएको विषय पनि हो । एमाले र माओवादी, ओली र प्रचण्ड बीचको २०७४ सालको तालमेल र सहकार्यबाट प्रकाश दाहाल अति उत्साहित र हर्सित हुनुहुन्थ्यो । पिताजी र पार्टीको भविष्य उहाँले एमालेसँगको मेलमा देख्नु भएको थियो । २०७४ साल असोजको २८ गतेको कुरा हो ।
बालकाेट बार्दलीमा ओली, प्रचण्ड र देवी ज्ञवाली बीच मिसन चितवनबारे छलफल हुनेवाला थियो । प्रकाश दाहाल प्रशन्न मुद्रामा प्राङगणमा भला कुसारी गर्दै हुनुहुन्थ्यो । ओली–प्रचण्ड टसलका सबैभन्दा भुक्तभोगी देवी ज्ञवाली पनि झन् खुशी हुनुहुन्थ्यो । आफुमाथिको अपमान र खेलबाडलाई जनता र देशको वृहतहित हेरेर बिर्सिदिने ज्ञवाली कमरेडको महानता एमालेले पाएका सौभाग्य मध्ये एक हो । कुसल ड्राइभरको परीक्षा युटर्न मोडनेर हुन्छ भने अनुशासित नेताको परीक्षा अरुचिको निर्णयमा हुन्छ ।
दुःखको कुरा प्रकाश दाहालले एमाले र माओवादीको उक्त तालमेलको जादुगरी परिणाम देख्न पाउनु भएन । २०७४ को चुनावको बेला उहाँको असामयिक निधन भयो । नेकपाको जटिल बनावटले एउटा सौभाग्य टरे पनि ओली र प्रचण्डको यो पुनर्मिलनबाट देश, जनता र वामपन्थी आन्दोलनको हित सुरक्षित छ ।
ओली र प्रचण्डको मेल प्रकाश दाहालको अन्तिम ईच्छा र रोजाईसँग गाँसिएको भावनात्मक सवाल पनि हो । ओली र प्रचण्डको समन्धलाई पानी र माछाको जस्तो, बाघ र वनको जस्तो बनाउनु पर्दछ । अनि मात्र मामुली एक दूतावासबाट शासित हुने नियतिबाट नेपालले मुक्ति पाउने छ । लोकतन्त्रको आवरणमा लैनचौरतन्त्रको सेवा गर्नु छैन भने नेपालमा एमाले र माओवादीले आपसमा जुगजुग बित्ने माया लगाउनुको बिकल्प छैन ।
