--भेषराज दाहाल--
नेपाली राजनीतिमा फेरि कालाे बादल मडारिएकाे छ ।
अस्थिरताका नायकहरुले जनमतमाथि खेलेर नेपाली राजनीतिलाई दूषित बनाउन खाेजिरहेका छन् । बेलगाम राजनीतिक अभ्यासलाई प्रश्रय दिइरहेका छन् ।
हरेक मानिस नीति, नियम र कानुन अनुसार चल्नुपर्छ । राजनीतिक दल र तीनका नेता त झन् लगाममा बाँधिन जरुरी हुन्छ । दलीय अनुशासन र इमानदारितालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ । तर त्यसकाे ठिक विपरित नेपाली राजनीतिलाई गलत दिशामा लैजान खाेजिएकाे छ । त्यसकाे नेतृत्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहनुभएकाे छ ।
जसले अगाडि बढाउँछ उसैलाई आफ्नाे निश्चित स्वार्थ पूरा गरेपछि धक्का दिने अस्थिर राजनीतिक चरित्र बाेक्नुभएका प्रचण्डकाे पछिल्लाे कदमले जनतामा निराशा छाएकाे छ । आफैंले गरेकाे सहमति आफैंले ताेडेर देशलाई अस्थिरताकाे खाडलमा लैजाने काम प्रचण्डले गर्नुभएकाे छ ।
राजनीतिक निकासपछि विकासको सपना बोकेर आन्दोलनमा होमिएका युवाहरुले त्यतिबेला थाहा पाए जतिबेला नेतृत्वको स्वार्थ बाझियो । निस्वार्थ मुलुकका लागि बलिदान दिने शहीदलाई के थाहा यो रगतमा कस्को होली चल्दैछ भनेर ? देशलाइ सिंगापुर बनाउने सपना बाँडदै राष्ट्रघाती कदममा जनतालाई साक्षी बनाउँछन भनेर ।
जनताको जनमतको चरम दुरुपयोग गर्दै जनतामाथि चारैतिरबाट आक्रमण हुन थालेको छ भने राष्ट्रमाथि राष्ट्रघात । जनमतको हवाला दिँदै राष्टघाती र जनघाती सन्धिमा हस्ताक्षर हुनु के राष्ट्रघात होइन र ? गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पनि देश र जनताको हितमा नभै राजनैतिक पार्टी र पार्टी नेतृत्वका अपराधको ढाकछोप र सुनपानी छर्नहो जस्तो बन्दै गइरहेको छ ।
कानुन र नीति निर्माण गर्ने थलो संसद्लाई गुटबन्दीको अखडाको रुपमा विकास गरिएको छ । जनअपेक्षा अनुसार काम गर्न दिइएको मतको दुरुपयोग गर्दै पारिवारिक हित र भ्रष्ट्राचारको लाइसेन्स बनाइएको छ ।
यसरी समग्र मुलुकलाई बन्दक बनाएर बलात्कार गर्ने कार्यको नायक पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक देश र जनताप्रति गद्दारी गर्ने संकेत देखाउनुभएकाे छ । मुलुकलाई अस्थिरतामा धकेलेर सुरक्षित रहन रुचाउने प्रचण्डको मुखौटो फेरि पनी उदांगाे भएको छ । उहाँले देश र जनताप्रति उत्तरदायी हुन, शान्ति सुव्यवस्था र सुशासन कायम गर्दै समृद्धिको दिशामा ऐक्यवद्धता जनाउने शर्तमा गठन भएको सरकार तहसनहस पार्ने काम थालनी गरिसक्नुभएकाे छ । जसकाे दुरगामी परिणाम निकट भविष्यमा देखापर्ने निश्चितप्राय छ ।
प्रचण्ड र उहाँको राष्ट्रिय सहमतिकाे रटान कुनै नीति र सिद्धान्त होइन । प्रचण्डको राष्ट्रिय सहमति एउटा सुन्दर जाल हो जस्मा एकपटक पसेपछि जिवनभर पछुताउनु सिवाय केही बाँकी रहने छैन । यतिखेर फलाक्ने गरेको राष्ट्रिय सहमति उहाँको अपराधमाथि आँखा चिम्म गरेर ल्याप्चे लगाइदिनु नै हो । उहाँकाे राष्ट्रिय सहमति उहाँमाथि लागेको भ्रष्टाचारको अभियोगमा उन्मुक्तिका लागि स्वीकृति प्राप्त गर्नु र विभिन्न समयमा भारतसँग गरेका गोप्य सम्झौताको कार्यान्वयन गर्नु हाे । राष्ट्रिय सहमतिको अन्य विषय प्रचण्डसँग किमार्थ हुन सक्दैन । त्यसैले त उहाँले पुस १० काे सहमति ताेडेर कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने नयाँ प्रपञ्च सुरु गर्नुभएकाे छ ।
राजनीतिक स्थिरताका लागि नेकपा एमालेकाे विशेष पहलमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले ६१ दिनमै आफ्नाे असली रुप देखाउनुभएकाे छ । देश र जनताप्रति जिम्मेवार राजनैतिक दललाई निषेध गर्न सिण्डिकेट तयार गरी स्वार्थ समूहको गुटबन्दीका नायक प्रचण्डले मुलुकलाई विघटनको संघारमा लैजाँदै हुनुहुन्छ । नेपालकाे राजनीतिलाई फेरि एकपल्ट दूषित बनाउने काम उहाँले गर्नुभएकाे छ । तर जनता अब बाठा भइसकेका छन् । सही र गलत छुट्याउन सक्छन् । त्यसैले जनआवाज र जनचाहनालाई अनदेखा गर्नु प्रचण्डको महाभूल हुनसक्छ ।
मानवता विरोधी अपराध, जनहत्या, भ्रष्टाचार, गोप्य रुपमा गरिएका सम्झौता, विवादित नागरिकता विधेयक, एमसीसी सम्झौता जस्ता राष्ट्रघाती विषयमा निर्णय गराउँदै सार्वभौमिकता सुम्पने रणनैतिक योजनामा गोलबद्ध थालनी भएको छ । सीमा अतिक्रमण र विदेशी हस्तक्षेप विरुद्ध मौन रहने प्रचण्डको भित्री उद्देश्य बुझ्न गार्हो छैन ।
संसद्मा विदेशी मोहरा राखेर मुलुकलाई विधिवत सिक्किमीकरणको बाटोमा लैजाने प्रपञ्च हुँदैछ । त्यसैले यस गलत अभ्यासकाे भण्डाफोर गरी असफल बनाऔं । भावि सन्ततिले जयजयकार गर्नेछ ।
