आफ्नै सरकारको विरुद्ध २०७७ सालामा तत्कालीन नेकपाको एउटा समूह सडक आन्दोलनमा थियो । समूहका नेता पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल लगायत कहिले सडकमा हामी यहाँ छौँ भनेर पैँलेटी मारेर बस्थे, कहिले आफ्नो सरकार विरुद्ध कालो झण्डा बोकेर हिँड्थे । सडकमा तमासा गर्दथे, नाटक देखाउँथे, जग सहाउँथे ।
उनीहरू आफ्नै पार्टीको सरकार ढाल्न चाहन्थे । कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसलाई सरकार जिम्मा लगाउन चाहन्थे ।
सम्भवतः २०७७ साल माघ २८ गते पुष्पकमल दाहाल र माधव नेपाल समूहले काठमाडौंमा एउटा सभा गरेको थियो । सभाका धेरै वक्ता मध्ये एक वक्ता हुनुहुन्थ्यो माधव नेपाल र प्रचण्डकी प्रिय पात्र रामकुमारी झाँक्री ।
झाँक्री प्रतिगमन मुर्दावाद लेखेको कालो भोटो र मास्क लगाएर मञ्चमा पुग्नुभयो । पोडियममा पुगेपछि झाँक्रीले सबैभन्दा पहिला कालो भोटो खोल्नु भयो र दर्शक दीर्घमा फाल्नुभयो ।
त्यसपछि मुखमा लगाएको सर्जरी मास्क खोल्नु भयो । मास्क खोलेपछि अर्को तमासा देखियो । उहाँले आफ्नो मुख कालो टेप लगाएर टाँस्नुभएको थियो । विचित्रको नाटक गर्नुभएको थियो ।
कालो टेप मुखबाट खोलेर फुत्त फाल्दै झाँक्री बोल्न लाग्नुभयो, ‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ, नागरिकको मुखमा टेप टाँसिएको छैन, सर्वसत्तावादको विरुद्ध बोल्न पाइन्छ, संविधानको चीर हरण गर्नेका विरुद्ध बोल्न पाइन्छ, सेटिङ र अँध्यारा कोठा भित्र भएका षडयन्त्र विरुद्ध बोल्न पाइन्छ ।’
२०७९ चैत ७ गते मुख थुनेको अर्को एउटा दृश्य देखियो । तर त्यो दृश्य रामकुमारीको जस्तो नाटकको दृश्य थिएन । अनि घटना केपी ओली नेतृत्वको सरकारले गरेको पनि थिएन । स्थिति ठ्याक्कै उल्टो थियो । जसको पक्षमा लागेर रामकुमार बोल्न पाइन्छ भनेर भन्दै हुनुहुन्थ्यो, सरकार प्रमुख उहाँकै नेता अर्थात् पुष्पकमल दाहाल हुनुहुन्छ ।
मुख रामकुमारीको होइन एउटा साधारण नेपालीको थुनिएको थियो । मुख नेपाल प्रहरीले थुनेको थियो । जो रामकुमारीले महान् लोकतन्त्रवादी भनिएका नेता पुष्पकमल दाहालको सुरक्षामा खटिएका थिए । पुष्पकमल दाहालकै आँखा अगाडि घटना भएको थियो । भन्ने हो भने उहाँकै निर्देशनमा ।
मुख थुनिएका युवा प्रधानमन्त्री समक्ष आफ्ना कुरा राख्न चाहन्थे । प्रधानमन्त्री समक्ष बोल्न चाहन्थे । आफ्नो कार्यकारी प्रमुख समक्ष आफ्नो पीडा राख्न चाहन्थे । तर प्रहरीले उहाँलाई बोल्न दिएन ।
एउटा युवा, जो बोल्न चाहन्थ्यो, उहाँलाई पुष्पकमल दाहालको पुलिसले बोल्न रोक्यो । उहाँको आक्रोश रोक्न सकेन । कार्यक्रम स्थलमा नै युवा चिच्याए–‘बैँकको ब्याज घटा सरकार ।’
ती युवाको बोली दबाउन, आवाज रोक्न पुष्पकमलको राज्यको प्रहरीले अचम्मको उपाय अपनायो । ती युवाको मुख थुनिदियो । प्रहरीको एउटा जत्था नै जम्मा भएर उहाँको घाँटी दबायो, मुख थुन्यो ।
रामकुमारीले समर्थन गरेको सरकारका प्रमुखकै उपस्थितिमा एउटा युवाको मुख प्रहरी लगाएर थुनियो । प्रधानमन्त्रीले सो कार्य गर्न समर्थन जनाउनुभयो ।
कुरा त्यतिमा मात्र टुङ्गिएन, आफ्नो आँखा अगाडि एउटा युवाको मुख थुनेको कार्यक्रममा सहभागी अर्को युवालाई सह्यै भएन । ती युवा कार्यक्रम स्थलमा नै चिच्याए–‘मुख थुन्न पाइँदैन, युवालाई मार्न पाइँदैन ।’
ती युवालाई पनि प्रहरीले त्यसै गरी समात्यो र मुख थुन्यो । अर्का युवा कराए उनको पनि मुख थुनियो ।
नयाँ बानेश्वरमा भएको कार्यक्रम स्थलबाट मुख खोल्न चाहने युवाको मुख थुनेर प्रहरी भ्यानमा पुर्याइयो । प्रहरी भ्यानमा समेत उहाँहरूको मुख थुन्ने प्रयास गरियो ।
वाक स्वतन्त्रता, शान्तिपूर्ण आलोचना र विरोध गर्न पाउने संवैधानिक अधिकार भएको देशमा बोलेकै कारण एउटा युवाको प्रहरी लगाएर मुख थुनिन्छ । त्यो स्वतन्त्रताको कुरा गर्ने रामकुमारी कुन कुनामा बसेर त्यो दृश्य हेर्दै हुनुहुन्थ्यो । राम्रो नाटक प्रदर्शन गर्ने रामकुमारी रियालिटी सो भइरहँदा के हेर्दै हुनुहुन्थ्यो ? घटना भएको तीन दिनसम्म पनि नबोले कता गएको ?
आफू आफ्नो मुख टालेर नाटक गर्दै बोल्न पाइन्छ भन्ने रामकुमारी झाँक्री प्रधानमन्त्रीको अगाडि युवाहरूको मुख प्रहरीले हुल बाँधेर थुन्दा बोल्नु पर्दैन ? बोल्न पाइन्छ भन्नु पर्दैन ? कि प्रचण्डको राजमा बोल्न पाइँदैन ? उहाँको राजमा बोल्दा यसै गरी सबै नेपालीको मुख प्रहरी लगाएर टालिने त होइन ?
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री आफूलाई निकै उच्चो ठान्नु हुन्छ । उहाँ आफ्नो विरोध र आलोचन सुन्न पनि सक्नु हुन्न । हिजो सशस्त्र द्वन्द्वको बेलामा पनि माओवादी आफ्नो आलोचना सुन्न सक्दैन थ्यो । आफ्ना आलोचकलाई सुराकीको आरोप लगाइन्थ्यो । मुख मात्र होइन घाँटी नै थिचिन्थ्यो । मुखका के कुरा सास नै बन्द गरिन्थ्यो ।
सायद त्यो धङधङी अझै सकिएको छैन । त्यसैले उहाँका आलोचकहरूको मुख बन्द गरिन्छ । उहाँका प्रशंसकले मात्र बोल्न पाइन्छ । आलोचना गर्नेलाई प्रतिक्रियावादीको बिल्ला भिराइन्छ ।
माओवादीकै कारण व्यवस्था परिवर्तन भएको भन्दै माओवादीले निर्दोष मान्छेको हत्या गरेको कुरालाई पनि तिनका परिवारले चुपचाप सहनु पर्छ । कतै आवाज उठाउन पाइँदैन । जसले आवाज उठाउँछ त्यसलाई माओवादीलाई चिनेको छौ ? माओवादीलाई कमजोर ठानेको ? हामी हतियार बोकेर आएका हौँ भनेर धम्क्याउन पाइन्छ ।
धम्क्याउँदा पनि नमाने मुख थुन्न पनि पाइन्छ । माओवादीले जे चाह्यो, त्यो गर्न पाइन्छ । त्यसको कसैले विरोध गर्न पाइँदैन, विरोध गर्यो भने मजाले ठेगान लाइन्छ ।
यो कस्तो लोकतन्त्र ? यो कस्तो शासन व्यवस्था ? माओवादीको जयजयकार गाउँदा ठिक, आलोचना गर्दा बेठिक ? माओवादी सर्वेसर्वा अरू सबै प्रतिगमनकारी र प्रतिक्रियावादी । यो कहिलेसम्म चल्छ ?
हुन त पुष्पकमल दाहाल पछिल्लो समय निक्कै डराउनुभएको छ । खास गरी उहाँ विरुद्ध आमहत्याको मुद्दा अदालतमा दर्ता भएपछि उहाँ आतंकित हुनुभएको छ । यो आतंकको आगो प्रचण्डमा मात्र होइन, बाबुराम, मोहन वैद्य, नेत्रविक्रम चन्द लगायतका माओवादीका नेता र तलसम्मका कार्यकर्ताको मनमा पनि दन्किएको छ । कसको हत्याको कुन मुद्दामा कानुनी फन्दामा परिने हो कि वा नागरिक आक्रोशको सिकार बनिने हो भन्ने डर बढेको छ ।
प्रचण्डमा डर बढेको कुरा बिहीबार सामुदायिक रेडियो प्रसारक संघको वार्षिक उत्सव कार्यक्रममा नै देखियो । कार्यक्रमको सुरक्षा व्यवस्था हेर्दा लाग्थ्यो पुष्पकमल दाहाल रणभूमिमा हुनुहुन्छ, उहाँ रणभूमिको प्रहरीलाई उत्साहित गर्न रण मैदानमा पुग्नुभएको छ ।
त्यहाँ भएको सुरक्षा तामझाम गृहयुद्ध भएको देशका प्रधानमन्त्री कुनै कार्यक्रममा गएको भन्दा कम थिएन । यसले प्रष्ट हुन्छ पुष्पकमल दाहाल आफ्नै नागरिकसँग कति डराउनुभएको छ ? उहाँ नागरिकको मुख थुन्ने मात्र होइन नागरी स्वतन्त्रताको नै चीर हरण गर्न चाहँदै हुनुहुन्छ ।
रामकुमारीले मुखमा टेप लगाएर प्रचण्डलाई जनताको मुखमा यसरी टेप लगाउनु पर्छ हाम्रो शासन व्यवस्था आयो भने भनेर पाठ सिकाउनु भएको त थिएन ? नत्र किन नबोल्नु भएकी रामकुमारी अनि प्रचण्डलाई समर्थन गर्ने ११ राजनीतिक दल र तीनका नेताहरू एउटा नेपाली नागरिकको प्रधानमन्त्रीका अगाडि मुख थुन्दा पनि ।
प्रचण्ड सरकार जुन दिशामा अघि बढेको यसले देश र व्यवस्थालाई कता लैजाँदै छ ? नेपाली जनताले त्याग तपस्या र बलिदान गरेर ल्याएको यो व्यवस्थाको मर्म यही नै हो ? हामीले बोल्न खोज्नेको प्रहरी लगाएर मुख थुन्ने व्यवस्था ल्याउन खोजको हो ? यो प्रवृत्तिले नागरिक स्वतन्त्रता नै विलखबन्दनमा पर्न लागेको त होइन ?
