टेलिभिजनको पर्दामा देशको राजनीतिक विकृति विरुद्ध कडा प्रहार गर्ने, राजनीतिक दलका नेताहरूको उछित्तो काढ्ने, नाकको डाँडी नै भाँच्ने भन्दै उग्र अभिव्यक्ति दिने रवि लामिछानेमा एकाएक राजनीतिक मोह जाग्यो । नकारात्मक टिप्पणी गर्ने, उग्र भाषण गर्ने र अरूको उछित्तो काढ्नेलाई वाह वाह गर्ने नेपाली दर्शकहरूको समर्थन पाएर राजनीतिमा होमिने आँट, उत्साह र हिम्मत जागेको हुनुपर्छ, रवि लामिछानेलाई । जे होस् उहाँ राजनीतिमा प्रवेश गर्नुभयो । अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिक बन्नको लागि पूरा गर्नु पर्ने आवश्यक कागजात समेत पूरा नगरी उहाँले पार्टी दर्ता गर्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टी ।
नेपालका नियामक निकाय र त्यसका अधिकारीले उहाँको कागजी वैधतामा कुनै चासो दिएनन् । एयरपोर्टबाट किलोका किलो सुन छिराउँदा त थाहा नपाउने नेपाली अधिकारीले अवैध कागज छिराएको के गरी थाहा पाउन् । त्यो थाहा पाउन अदालत नै पुग्नु पर्यो । वकिलले अदालतमा नै मुद्दा हाल्नु पर्यो ।
पार्टी दर्ता गरेको ६ महिना नै नपुग्दै भएको प्रतिनिधि सभा निर्वाचनमा रविको पार्टीले राम्रो सफलता प्राप्त गर्यो । विद्रोही चेत, सत्ता र शक्तिका विरुद्ध लाग्ने नेपाली युवाको मनोविज्ञानलाई रविले राम्रैसँग क्याच गर्न सक्नु भयो ।
सहरी क्षेत्रका मध्यम वर्गीय युवाबाट रविको पार्टीलाई राम्रो समर्थन भयो । सहरबाट भोट हाल्न गाउँ छिरेका युवाले पनि गाउँमा राम्रैसँग घण्टी बजाउन भ्याए । प्रतिनिधि सभा निर्वाचनको परिणाम स्वयम् रवि लामिछानेले सोचेको भन्दा पनि राम्रो आयो । अन्य राजनीतिक दलले त रविको पार्टीले त्यति धेरै सिट र मत ल्याउला भन्ने सोचेकै थिएनन्, स्वयम् लामिछानेले पनि सोच्नुभएको थिएन होला सायद ।
चुनावमा रवि लामिछानेका कुनै नयाँ एजेण्डा थिएनन् । विचार, सिद्धान्त पनि थिएन । उहाँकै शब्दमा पार्टीका सदस्य पनि थिएनन् । केबल समर्थक थिए । मतदाता थिए । अनि केही नारा थिए ।
विधिको शासन, सामाजिक न्याय सहितको समानता, योग्यता र कर्मशीलता, भ्रष्टाचार प्रति शून्य सहनशीलता जस्ता नारा सो पार्टीले बनाएको थियो । त्यति मात्र होइन बुढाको होइन अब पालो युवाको, नट अगेन, जान्नेलाई छान्ने जस्ता नारा पनि सो पार्टीले घन्काएको थियो ।
निर्वाचनमा नेकपा एमाले विरुद्ध कांग्रेस, माओवादी, एमालेबाट फुटेर गएको समाजवादी लगायतका दलको एकातिर देशव्यापी गठबन्धन थियो । अर्कोतिर एमाले राप्रपा लगायतका केही साना दलसँग ठाउँ ठाउँमा तालमेल गरेर चुनावमा गएको थियो । पुराना दल प्रति युवाको निराशा बढ्दै थियो । त्यसैको बिचमा खेल्ने अवसर पाएको रवि लामिछानेको पार्टीले प्रत्यक्ष र समानुपातिक गरी २० सिट प्राप्त गर्यो ।
नेपालको अहिलेको संवैधानिक व्यवस्था अन्तर्गत कुनै पनि एउटा दललाई प्रतिनिधि सभामा बहुमत ल्याउन निक्कै गाह्रो छ । २ सय ७५ सदस्सीय प्रतिनिधि सभामा बहुमत ल्याउन १ सय ३८ सांसद् हुनुपर्छ । जम्मा ६० प्रतिशत सांसद् मात्रै प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर आउँछन् । बाँकी ४० प्रतिशत पार्टीले प्राप्त गरेको मतको आधारमा समानुपातिक प्रणालीबाट निर्वाचित भएर आउने संवैधानिक व्यवस्था छ । मिश्रित निर्वाचन प्रणाली भएको कारण कुनै एउटा दलले बहुमत पुर्याउन निक्कै कठिन हुन्छ ।
एउटा दलको के कुरा: कांग्रेस, माओवादी, माधव नेपालको एकीकृत समाजवादी लगायतका दल मिल्दा पनि प्रतिनिधि सभामा बहुमत पुग्ने अवस्था बनेर । त्यसैले निर्णायक चाबी रवि लामिछानेको हातमा पनि पुग्यो । त्यसैको लाभ उठाउँदै उहाँले उपप्रधानमन्त्री सहितको गृहमन्त्रीमा दाबी गर्नुभयो ।
हामीले राजनीति पद प्रतिष्ठाको लागि होइन, जनताको सेवा गर्न गरेको हो भन्ने रवि सबैभन्दा पहिला त्यहीँ स्खलित हुनुभयो । रवि लामिछाने आफैँले बनाएको मानकबाट स्खलित हुनुभयो ।
२० सिटे पार्टीलाई गृहमन्त्री चाहिने, त्यो पनि उपप्रधानमन्त्री सहित । हामीलाई नागरिकले सरकारमा जाने म्यानडेट दिएका होइनन् । सरकार बाहिर बस्छौँ, जनताका कुरा उठाउँछौँ, सरकारलाई खबरदारी गर्छौँ भन्न सक्नु भएन ।
तीन/चार जना उपप्रधानमन्त्री बन्ने अवस्थामा पनि उहाँलाई उपप्रधानमन्त्री नै नभई भएन । अझ लाजै पचाएर भन्नुभयो उपप्रधानमन्त्रीले छुट्टै सुविधा पाउने होइन, त्यो भएर के भयो र । उहाँलाई उपप्रधानमन्त्री नहुँदा चाहिँ के भयो त ? भन्ने प्रश्नै गर्न मिल्दैन । प्रश्न गर्यो भने उहाँको भाषामा उहाँका शुभचिन्तकहरूले अश्लील गालीको वर्षा सुरु गरिहाल्छन् ।
अमेरिकाको नागरिककै हैसियतमा नेपाल आएर टेलिभिजन सञ्चालन र रवि लामिछाने ट्रष्ट समेत खोल्नु भएका लामिछानेको आम्दानीको श्रोत के हो भन्ने विषय छानबिनको विषय बन्न सक्छ । टेलिभिजनमा काम गर्दा पनि आर्थिक लेनदेन र बार्गेनिङको कुरा पटक पटक उठेकै हो । उहाँको ट्रष्टमा लाखौँ रुपैँया चन्दा स्वरूप नगद जम्मा भएकै हो । लाखौँ रुपैँया मानिसले चन्दा किन दिन्छ ? त्यति ठुलो चन्दा दिनेको आम्दानीको श्रोत के हो ? चन्दा दिनुको नियत र उद्देश्य के हो ? अनि त्यसको खर्च कहाँ कसरी भएको हो ? प्रश्नै प्रश्न उब्जिन्छन् ।
एउटा टेलिभिजन कार्यक्रम चलाउने भनेर युवाहरूसँग ठुलो रकम उठाएर अर्को टेलिभिजन खोलेको कुरा त छताछुल्ल भएकै हो । युवाहरूसँग पैसा उठाएको कुरा त उहाँले सार्वजनिक रूपमा नै स्विकार्नु भएकै हो ।
क्रसर उद्योग र उद्योगीसँग उहाँको नाम पटक पटक जोडिएकै हो । गृहमन्त्री भएपछि पनि उहाँले सबैभन्दा पहिला क्रसर उद्योगलाई चलाउनु भएकै हो ।
जसलाई जे कुरा थाहा छ, पहिला त्यही काम गर्ने विज्ञानसम्मत कुरा हो । त्यसैले क्रसरसँग उहाँको कनेक्सन हुनुपर्छ भन्ने शङ्काको सुविधा लिन मिल्ने कि नमिल्न ? त्यो सुविधा लिन चाहनुभयो भने भन्नुस्, अनि अश्लील गालीको वर्षा खानुस् ।
टेलिभिजन चलाउँदा उहाँले अमेरिकी नागरिककै हैसियतले काम गरेको भन्दै नियामक निकायले अमेरिकी नागरिकता त्याग्न ताकेता गरेपछि अमेरिकी नागरिकता त्यागेको सूचना लामिछानेले अमेरिकी दूतावासलाई दिनुभयो । तर नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया नेपालका सरकारी निकायमा गर्नुभएन । नेपालको कानुनलाई उहाँले मिच्नुभयो, नेपाली अधिकारीलाई हेप्नुभयो । त्यसैले गृह मन्त्री भएपछि उहाँले नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै अदालतमा मुद्दा पर्यो । अदालतले सो कुरालाई पुष्टि गर्यो र नेपाली नागरिकता नलिएको व्यक्ति प्रतिनिधि सभा सदस्य बन्न नसक्ने भन्दै सांसद पद खारेज गरिदियो ।
सांसद पद गयो, मन्त्री पद गयो । अनि पत्रकारले तपाईँले किन कागजी प्रक्रिया पूरा नगरेको भनि प्रश्न सोध्दा म अनागरिकलाई प्रश्न नसोध्नुस् भनेर बम्किँदै हिँड्नुभयो । अरूलाई प्रश्न सोधेर र्याखर्याख पार्ने रविलाई प्रश्नै सोध्न नमिल्ने । उहाँ आइलाग्ने, उहाँका शुभचिन्तकको त झन् के कुरा, ‘जैसा गुरु वैसा चेला ।’
कानुनी शासनको कुरा गर्ने लामिछाने कानुनी प्रक्रिया पूरा नगरी त्यही आफूले बनाएको मानकबाट स्खलित हुनुभयो । त्यति मात्र होइन, जान्नेलाई चुन्ने कुरा गर्ने रवि सांसद् बन्ने के के प्रक्रिया पूरा गर्नुपर्छ भन्ने पनि नजान्ने प्रमाणित भयो । आफ्नो नागरिकता नबोक्नले के देशको एजेण्डा बोक्ला र भन्ने शंका गर्ने ठाउँ बन्यो । तर शंका गरेर के गर्नु अश्लील गालीको वर्षा ओइरिहाल्छ । आमनेसामने प्रश्न गर्यो भने रविको चड्कन नै खाइएला भन्ने डर ।
अदालतबाट सांसद् पद गयो । मन्त्री पनि गयो । पद गएपछि उहाँको बल्ल होस् आयो । जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर कागजी प्रक्रिया पूरा गरेर आउनुभयो । त्यसपछि सांसद् पद नभए पनि पुनः गृह बन्न उहाँले जोड जुलुम गरेको होइन र ? आफूलाई गृह मन्त्री नदिएपछि सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको होइन र ? फेरी चुनाव जितेर आएपछि उपप्रधानमन्त्री नै पड्काउनु पर्छ भनेर सरकारलाई विश्वासको मत दिएको होइन र ? नेपाली जनताले यी प्रश्न गर्न पाइँदैन र ? अनि यी प्रश्नको चित्त बुझ्दो जवाफ दिनु पर्दैन र ? सधैँ रन्किएर र सन्किएर हिँडेर उन्मुक्ति पाइन्छ र ? अनि आफ्ना सेनाबिनालाई तथानाम गाली गर्न लगाएर ठुलो मान्छे बनिन्छ र ? अरुलाई नट अगेन भन्ने आफू सांसद् पद गएपनि उपप्रधानमन्त्री अगेन बन्न कुन नैतिकताले दिन्छ ?
उहाँकै कारणले चितवनमा उपचुनाव हुँदै छ । उपचुनावमा पनि उहाँ उम्मेदवार बन्नुभएकाे छ । चितवनकाे उपचुनावमा मत माग्न जाँदा एकजना सर्वसाधारणले यही प्रश्न त गरेका थिए । सामाजिक सञ्जालमा देखिहालियो रवि रन्किएको । गाउँमा सानो खुजुरे पसल खोलेर बसेका व्यापारीलाई थर्काएको । जेल हालिदिन्छु भनेको । अनि पसलका समान नै फालिदिएर हिँडेको ।
गुरु नै यस्ता भएपछि चेला कस्ता हुनु ? अश्लील गाली नगरेर तिनीहरूले के गर्नु ? त्यस्ता गुरुलाई मुद्दा हालेर सांसद् र मन्त्री पद नै खुस्काइदिने युवराज पौडेल सफल जस्तालाई प्रहरीकै अगाडि कुट्ने र लखेट्ने नगरेर के गरुन् ? अझै ज्यान नै लिनु पर्ने थियो, धन्न पुलिसले कसो कसो जोगाए छ । जस्तो बिउ रोप्यो त्यस्तै फल्ने त हो नि । धतुरोको बिउ रोपेर मेवा खान खोजेर मिल्छ त ?
भ्रष्टाचार गर्दैनौँ र सहँदैनौँ भन्ने नारा उहाँको पार्टीले निक्कै घन्कायो । पुराना पार्टी र त्यसका नेताहरू भ्रष्ट भएको भन्दै निक्कै कुर्लिएको पनि सुनियो । तर एक महिना गृह हुँदै सात दिने बोलपत्र आह्वान गरेर लामिछानेले राष्ट्रिय परिचयपत्र जस्तो संवेदनशील विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिन भ्याइसक्नु भएछ । त्यहाँ कमिसनको राम्रै खेलो फड्को भएको समाचार सार्वजनिक भएपछि पहिला नै सुरु भएको प्रक्रियामा आफूले हस्ताक्षर गरेको स्पष्टीकरण दिनुभयो लामिछानेले । पहिलाकै निरन्तरता हो भने किन चाहियो रवि लामिछाने र उहाँको पार्टी ? यो प्रश्न गर्न त मन छ । तर के गर्नु, अश्लील गालीको वर्षा हुन्छ भन्ने डर छ ।
अझ पछिल्लो पटक ढाका कुमार श्रेष्ठको अडियो बाहिरिएपछि त कति प्रश्न सोध्न मन छ, कति । तर के गर्नु रवि आफैँ प्रश्न सोध्ने मान्छे । उहाँलाई अरूले कहाँ प्रश्न सोध्न मिल्छ र । उहाँ प्रश्न गर्ने हो, कहाँ जवाफ दिने हो र ।
प्रश्न सोध्यो भने उहाँको अनुहार रातो भइहाल्छ नि । उहाँका सेनाले सातो खाइ हाल्छन् नि । तै पनि एउटा प्रश्न सोध्न भने मन छ, ढकाकुमारले अगाडि भनेका जति सबै कुरा सही हुने, उहाँले पैसा मागेको कुरा सही हुने, तर कोर टिम छ, त्यही टिमले भने अनुसार पैसा मागेको हो भनेर भनेको कुरा चाहिँ गलत हो भन्ने कुरा नेपाली जनताले पत्याइदिनु पर्ने?
त्यो पनि पत्याइदिउँला रे, अनि भ्रष्टाचार गरिँदैन भ्रष्टाचारीलाई पनि छाडिँदैन भन्ने लामिछानेले पोखराको सहकारीको पसिना बगाउने सर्वसाधारणको एक करोड डुबाएर आएको, औषधि पसल सञ्चालन गर्ने अनुमति लिएर १५ बेडको अस्पताल नै चलाएको भ्रष्ट र अवैध धन्दा गर्ने ढाका कुमारलाई किन पार्टीमा लिएको ? किन सांसद् बनाएको ?
पार्टीले पैसा लिएर समानुपातिक कोटाबाट सांसद बनाएकोले त्यही पैसा उठाउन ढाकाले दुर्गा प्रसाईँलाई फोन गरेका हुनुपर्छ भनेर शंका गर्न मिल्ने कि नमिल्ने ? त्यस्ता मान्छे त्यो पार्टीमा अझै कति छन्, भनेर प्रश्न गर्न मिल्ने कि नमिल्ने ? रवि लामिछाने ज्यू आफैँले बनाएको मानकबाट कति स्खलित हुनुहुन्छ ? भनेर प्रश्न गर्न त मन छ नि, तर के गर्नु अश्लील गालीको वर्षा सहनु पर्ने होला ।
