--दयालबहादुर शाही--
निष्ठा नबुझ्ने, उधारो नरुचाउने, त्याग कुन चरीको नाम हो थाहा नपाउने अराजक जमातलाई अपच भएपनि आजको नेपालको सर्वश्रेष्ठ निर्माताको नाम जननेता मदन भण्डारी हो र मदन शिष्यहरु नै आधुनिक नेपालका सच्चा सारथी हुन् । एकै दिनमा जन्मिएको भए पनि घोडाको बच्चाले कैयौं कोसको यात्रा गरिसक्दा पनि बिरालाको बच्चाको आँखा उघ्रेका हुँदैन र डेग चलेको हुँदैन । प्रतिभा र परिपक्वताको गति र अदूरदर्शी एवं चरम महत्वाकांक्षीको गतिहीनताको हकमा पनि यस्तै हुन्छ । २०४९ सालतिर जननेता मदन भण्डारीले यो मुलुकको व्यापक बर्बादी र संभावित रक्तपातलाई रोक्न लोकतन्त्रवादीहरुको सहकार्य र सहअस्तित्वको फहराएको झण्डाको रुपमा जनताको बहुदलीय जनवाद प्रतिवादन गर्दे गर्दा आजको कुर्सी छोप्ने होडका पारंगत खेलाडीद्वय देउबा र दाहालको दशा पनि त्यति बेला आँखा नउघ्रिएको बिरालो बच्चाको जस्तो थियो ।
'गोलीका आँखा हुँदैनन्' यो कथन तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाको हो । यसो भनिरहँदा देउबामा विरोधी कम्युनिष्टहरुलाई बन्दुकबाट नै भुट्न सकिन्छ भन्ने विजय उन्माद भरपूर थियो । 'चुनाव लड्ने कम्युनिष्ट होइन, भेडाको खोल ओढेको ब्वाँसो हो ।' प्रचण्ड नेतृत्वका उग्रवामपन्थीहरुको मदनप्रतिको निन्दा वर्षाको चुरो थियो । आज आलोपालो सत्ता भागबण्डा मिलाउँदैमा र एउटै डाइनिङ टेबलमा कुखुराका साप्रा सँगै बसेर लुछ्तैमा अकालमै मट्टी हुन पुगेका ज्ञात अज्ञात शहीदहरुको रगतमासले क्षमा दिने छैन ।
जननेता मदन भण्डारीले दिएका देनहरु नै आजको नेपालका जीवनदायी अवयवहरु हुन् । मदनको देन नै आधुनिक नेपालका लागि हेर्नलाई आँखा हो, फेर्नलाई सास हो र उभिनलाई चाहिने मेरुदण्ड हो । मदनले दिएका देन, बसालेको विचार राजनीतिको बलियो जग, स्थापित गरेका आदर्श, निष्ठा, र त्यागको राजनीति, वर्गबैरी, दलाल, देशघाती र हस्तक्षेप विद्धको सम्झौताहीन संघर्षमा आजको नेपालको प्राण पखेरु हुन् । निम्न लिखित आँखीझ्यालहरुबाट एक श्वेत आत्मा जननेता भण्डारीको व्यक्तित्व र कृतित्वलाई हेर्न सकिन्छ ।
अग्रजको कदर
२००९ साल असार १४ गते जन्मिनु भएका भण्डारी ०५० साल जेठ ३ गतेसम्म ४१ वर्ष मात्र बाँच्नुभयो । हो, वहाँले आफ्ना पिता पुस्ताका मनमोहन अधिकारीसँग सहकार्यको राजनीति गर्नु भयो र ०४८ सालको आम चुनावमा कृष्णप्रसाद भट्टराईलाई हराउनुभयो । तर उहाँ अग्रजहरुको सम्मान गर्नु पर्ने संस्कारको दरो पक्षपाती हुनुहुन्थ्यो । ०४८ सालको चुनावमा उहाँ कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी लगायतका वयोवृध नेताहरुलाई सदनमा सहज उपस्थितिका लागि एमाले र कांग्रेसले १०-१० वटा सिटमा तालमेलको प्रस्ताव गर्नु भएको थियो । कांग्रेसले उक्त प्रस्ताव लत्यायो । एमालेले जित्ने ३०।३५ सिटमा १० सिट थप्ने भण्डारीको चलाकी भन्यो । युवा उमेरका मदनको उमेरलाई लिएर कांग्रेसले एमालेलाई केटाकेटीहरुको पार्टी भनेर उडायो । तर मदन राजनीतिक नेतृत्वको मापदण्ड उमेर होइन परिपक्वता र पहलकदमीलाई मान्नुहुन्थ्यो ।
२०४८ साल मंसिर २२ गते मदन भण्डारी नेतृत्वको नेकपा (माले) र मनमोहन अधिकारी नेतृत्वको नेकपा (मार्स्कवादी)को एकीकरण भई नेकपा (एमाले) गठन हुँदा पोलिटब्युरो र केन्द्रीय कमिटीमा दुबै खेमाबाट बराबरी समाबेस गरिएको थियो । जबकि २०५४ सालमा वामदेव-सीपीको लहैलहै र २०७८ सालमा माधव-झलनाथको गद्दारीका पछि लाग्दा तत्कालीन मार्स्कवादी हस्तीह?को व्यापक पलायन भैसकेको छ । आजको एमालेको झण्डै भार दर्जनको स्थायी कमिटीमा एक जना पनि मार्स्कवादी वा मनमोहन खेमाको नेता विद्यमान नरहेको सच्चाइँ हाम्रा सामु छ ।
यसबाट हामी अनुमान लगाउन सक्छौं कि जननेता मदनमा अरुको मान, सम्मान र इज्जत राख्ने जब्बर संस्कार थियो । बलियो खेमा नेकपा (माले) को शक्तिशाली महासचिव भए पनि मदन भण्डारीले मनमोहन अधिकारीलाई एक नम्बर वरियताको पार्टी अध्यक्ष, संसदीय दलको नेता र पार्टीभित्रका लगभग प्रतिपक्ष भूमिकामा रहेका सीपी मैनालीलाई संसदीय दलको उपनेता बनाउनुभयो । अग्रज र सहकर्मीको टहल गर्ने मदनको त्याग र सुझबुझ दलीय जीवन र दलीय व्यवस्थाको इतिहासमा एक आदर्शमय र अनुशरण योग्य कोशेढुंगाको रुपमा रहेको छ । आधुनिक नेपाल मदन भण्डारीले बसालेको त्याग, धैर्य, सत्य र निष्ठाको राजनीतिको लिकबाट केही उछिट्टिएको अवश्य छ तर निष्ठा कहिलै असान्दभिक हुँदैन र सत्य हराएर जादैन । मदनको विचार, सुझबुझ र आदर्शलाई असान्दर्भिक र बासी करार गर्दै अचेल आत्मकेन्द्रीत आवारा र अवसरवादीह?को जमात भदौको भांङ र धतुरोझै हर्लक्कै बढेर सलबलाइरहेको छ । जतिसुकै सलबलाए पनि देश र जनताको निम्ति गच्छेअनुसारको देन दिएका अग्रजहरुको कदर गर्ने गुणग्राही संस्कारको अखण्डज्योति निभ्ने छैन । अवसर र आस्थाको जितहारको चक्र रोकिनेछैन ।
जनतालाई भगवानको स्थान
जनतालाई भगवान करार गर्ने संसारको पहिलो राजनेताको कीर्तिमान पनि जननेता मदन भण्डारीको नाममा छ । 'हाम्रा भगवान भनेका नबोल्ने ढुंगाका देउताहरु होइनन्, जीवित जनता हुन् ।' जननेता भण्डारीको यो वाणी नेपालमा नेपाली जनताको सर्वाेच्चता स्थापित गर्ने लोकतान्त्रिक आन्दोलनको अमोघ अस्त्र सावित भएको छ । जनताको सर्वाेच्चताको पक्षका जति पनि अभिव्यक्ति र आवाजहरु छन्, जननेताको यो युगवाणी सबैभन्दा शक्तिशाली अभिव्यक्ति र आवाज हो । जनतालाई मुखले भगवान भनेर मात्र पुग्दैन, लोकतन्त्र जनताको चुलोसम्म पुग्नुपर्छ । लोकतन्त्रले जनताको आश र सास जगाउन सक्नुपर्छ । लोकतान्त्रिक शक्तिहरु नमिल्नु र झगडामा फस्नु भनेको पहलमानहरुको कमजोर र जीर्ण घरभित्रको भिडन्त जस्तो भन्ने मदनको बुझाई थियो ।
सहकार्य र टक्कर
मदन भण्डारीको आगमन पूर्व कम्युनिष्ट हुनु भनेको द्वन्द्ववादीको नाममा सबैसँग झगडा गर्नु हो भन्ने बाक्लै भ्रम थियो । भण्डारीकालीन एमालेले नै ०४६ को जनआन्दोलन र २०४७ सालको संविधान, ०४८ सालको आम निर्वाचन र ०४९ सालको स्थानीय निर्वाचन जस्ता लोकतन्त्रका बलिया आधारशिला खडा गर्याे । अर्काेतर्फ हद नाँघेर, स्वाभिमान र शालीनताको घाँटी रेटेर जोरिपारीको ढोका चहार्ने गल्ती गर्नेको अहिलेको भिडबाट मदन भिन्न रहेकाले नै कृष्णप्रसाद भट्टराईसँग टक्कर लिन सक्नु भएको थियो । मनमोहनलाई शिरमा राख्नु र कृष्णप्रसादलाई चुनावमा पराजित गर्नु मदनमा सहकार्यको राजनीति र टक्करको राजनीति दुबै कलामा कौशलता रहेको प्रमाण थिए । आज प्रचण्ड र माधवको मोदीका पाऊ मालिस र देउबाको जुत्ता पालिस गरेर जनवादी क्रान्ति गर्ने लाजघिन नभएको राजनीति जति दण्डित हुनुपर्ने हो, त्यति दण्डित नहुनुमा मदनको योगदान र आदर्शमाथि यथोचित युवापुस्ता माझ प्रकाश पार्न एमाले उदासिन र असमर्थ रहनु हो ।
शास्त्रको जीर्णाेद्धार
आचार्य चाणक्यको भनाईमा, देशलाई बाँच्नलाई वा बचाउनलाई चाहिने पहिलो शर्त हो - त्यस समाजको शास्त्र बल र शास्त्र बललाई पुनर्ताजकी गर्ने कला । शस्त्र बल र शास्त्र बलको जीर्णोद्धार गर्न नसक्ने देशले अस्त्विबाट हात धुनुपर्छ । जननेता मदन भण्डारीले मातृभूमि नेपाललाई जीवन बुटीको रुपमा शस्त्र वल र शास्त्र वल दिनु भएको छ । जनता, जनताको जागरण, जनताको एकता मदनले किटान गरेको मातृभूमि रक्षक शस्त्र बल हो । जनताको बहुदलीय जनवाद नेपाली जनताको हातमा रहेको शास्त्र वल हो । पुष्पलालबाट थालिएको वामपन्थी विचार र विश्वेश्वरप्रसाद कोइरालाबाट थालिएको लोकतान्त्रिक विचारको दही मथनी भएकाले जननेता मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवाद जति प्रगतिशील, लोकतान्त्रिक र मौलिक सिद्धान्त समकालिन विश्वमा अर्काे छैन ।
जबजको लिक र युवापुस्ता
भ्रष्ट र भगौडाबाट सृजित संकटका कारण यतिबेला युवा पुस्ता जबजको लिकबाट उछिट्टिएर अवसरका पछि कुँध्ने, निराश हतास हुने खतरा बढेको छ । छवि र बाबुरामको लहैलहैमा बहकिएर गोली मिसनमा लागेर उहिले एक पुस्ता बर्बाद भयो रवि र ढाकारामको लहैलहैमा बहकिएर गाली उद्योगमा लागेर अहिले अर्काे पुस्ता बर्बादीको ढोकानेर पुगिसकेको छ । युवाहरुलाई उद्यमशील र अध्ययनशील नबनाई जुवा, तास, जाँड, रक्सी र अतलवी बनाएर योजना शुन्य र सपना शुन्य बनाउने होड छ । यो सब मदनको चिन्तन, संगठन र जनसमर्थनको राजनीतिलाई बिथोल्न गरिएको साजिस हो । एमालेको देशभक्ति र गृहनिर्माणको यज्ञ विध्वंश गर्न युवालाई सचेत, संगठित र आन्दोलित हुनबाट विषयान्तर गरिदैछ । युवाहरुलाई उध्मशील हुन निरुत्साहित पारिदैछ । वैदेशिक रोजगारमा रहेका युवाहरुलाई लोकतन्त्रविरुद्ध उतारिदै छ । मदन भण्डारीको तप युवाहरुलाई जहाँ भए पनि हस्तक्षेपका विरुद्ध उतार्नु थियो । एकातिर मातृभूमिको सेवा अर्काेतिर मोदीजीको ताबेदारी, एकातिर लोकतन्त्र अर्काेतिर लैनचौरतन्त्र, एकातिर लिम्पियाधुरा अर्काेतिर विस्तारवादी छुरा, एकातिर जनताका छोरा अर्काेतिर विस्तारवादी घोडा आम्ने साम्ने भएको बेला मदन भण्डारीको विचार र युवा पूस्ताको विवेक एकाकार हुनु मातृभूमिको भाग्य र भविष्यसँग जोडिएको अहं महत्वको विषय हो ।
देशभक्ति
जननेता मदन भण्डारी एमालेलाई खरो भूमिकामा उतार्नुअघि नेपालको राजनीति जनतामा समर्पित थिएन । राज्यसत्ता दरवार, दिल्ली र कांग्रेसबीचको फुटवल थियो । जनताको कमजोर एकता र कमजोर चेतनाबाट अनुचित लाभ उठाउँदै ती शक्ति केन्द्रहरुले देशलाई आफ्नो मुट्ठीमा लिएका थिए । लोकतन्त्रलाई जनताको जीविकासँग जोडिनुहुन्न र जनताको चिसो चुलोसम्म पुग्नुहुन्न भन्नेमा उनीहरुबीच अघोषित एकता र सहमती थियो । राजनीति उनीहरुको आपसी द्वन्द्व, मेलमिलाप, शान र अभिमान प्रदर्शन गर्ने मञ्च मात्र थियो । जनताको दलन र देशको दोहन उनीहरुको मक्सत थियो । यही अभीष्टलाई उनीहरु कहिलै भद्दाढंगले त कहिलै कलापूर्ण ढंगले पूरा गर्थे । एमालेले यसमा पूर्णविराम लगायो र जनसर्वोच्चताको नौलो युग ल्यायो । सत्पात्रलाई थाम्न सक्ने र खलपात्रलाई डाम्न सक्ने महानायक शक्तिलाई चौडा छात्ती र निर्मम दण्डनीति दुबै कलामा निपूर्ण भएर उभिनलाई भिनलाई आवश्यक बलियो जमिन चाहिन्छ । एमालेलाई आवश्यक बलियो जग र जमिन खडा गर्नु जननेता मदन भण्डारीले आधुनिक नेपाललाई लगाएको बिर्सिन नहुने र बिर्सी नसकिने गुन हो ।
राजनीतिमा चुनौती पाउनु सौभाग्य हो भने त्यसको सामना गर्न नसक्नु पतनशीलता हो । महावली एमालेले पनि एकपछि अनेक चुनौतीको सामना गर्दै आयो । उत्कर्षकालको पञ्चायतको ओठतालु सुक्ने गरी जनताको शक्तिको पहिलो बिगुल फुक्ने शक्ति महावली एमाले नै थियो । उत्कर्षकालको राजतन्त्रको निदहरामको विषय महावली एमाले नै बन्यो । ०४८ सालतिर विजय उन्मादले मात्तिएको कांग्रेस र ०६४ सालतिर विजय उन्मादले भुइँ टेक्न छोडेको माओवादीलाई चेत खुलाउने गरी कुस्ती खेल्ने महावली एमाले नै थियो । महावली एमालेले नै जननेता मदन भण्डारी र मनमोहन अधिकारको अवशानले गर्दा केही समय नेतृत्व अभावको महासंकट भएर गुज्रनु पर्यो । दुई दुई पटक पार्टीको विभाजन र लगत्तै भएका चुनावको सामना गरी पुनर्जीवन प्राप्तीको महायुद्ध पनि महावली एमालेले नै जित्न सक्यो । पार्टीका महासचिव, अध्यक्ष भैसकेका, पार्टीको तर्फबाट प्रधानमन्त्री, उपप्रधानमन्त्रीको सम्मानित ओहोदामा पुगेका हस्तीहरु बाटको लगातार दशकौं लामो शक्ति ऐठन र गद्दारीको दोहोरा मर्म र दर्दहरु झेल्नु पनि महावली एमालेले मात्र पर्याे । यो सब एमालेको भाग्य कमजोर वा खराब भएकाले भएको पनि होइन । नेपाल राष्ट्र बलियो बनाउन र नेपाली जनतालाई सर्वाेच्च र सार्वभौम बनाउन एक नेतृत्वदायी शक्तिले यत्तिको कष्ट उठाउनु इतिहासको माग थियो । नेपाली जनताको तेजस्वी शस्त्र वल र ओजस्वी शास्त्र वल आजको विश्वलाई चिनाउनु थियो । जनताका जोरिपारीहरु निश्चिय पनि कमजोर थिएनन् । जननेता मदन भण्डारी, जनप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी र राजनेता केपी शर्मा ओलीप्रेरित एमालेले युगदेखि युगसम्म निरन्तर कष्टहरु उठाएर त्यो युगीन दायित्व पूरा गर्यो, जनताको काखमा रहेर, जनताको साथ लिएर ।
जननेता मदन भण्डारीद्वारा जीर्णोद्धार गरिएको शस्त्र बल र शास्त्र बलको प्रताप सूर्य मौजुद रहेकाले चुनौतीको चाङमा रहे पनि मातृभूमि नेपाल विश्व समुदायमाझ गौरवपूर्ण इतिहासको भएको मुहान देखिको मजबुत देशको रुपमा रहेको छ । नेपाल त्यस्तो देश हो, जसले बि.सं. १८२४ मा आजका बेलायत, अमेरिका र भारत एउटै देश छँदा कप्तान किनलकको नेतृत्वमा आएको उनीहरुको एकीकृत बललाई धोबी चुटाईसाथ चुटेर सिन्धुली गढी युद्ध जितेको थियो । यस हिसाबले महाशक्ति अमेरिका, वेलायत र भारतलाई प्रकारान्तरले हराएको कीर्तिमान नेपालको नाम छ । नेपालको इतिहासमा सिन्धुली गढी युद्ध र गत मंसिर ४ गतेको चुनाव मातृभूमि नेपाल सिध्याउने साजिसहरु असफल भएका महत्वपूर्ण ऐतिहासिक घटनाहरु हुन् ।
गत मंसिरमा सम्पन्न चुनाव सरदर चुनाव थिएन । यो त नेपाल र भारतबीचको छद्म युद्ध थियो । नेपाली जनताको स्वाभिमानको मेरुदण्ड भाँच्नु यस छद्म युद्धमा भारतीय रुचि थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पालित, पोषित, प्रेरित र परिचालित कांग्रेस नेतृत्वको विघठित गठबन्धनको अर्जुनदृष्टि नेपालको भूमिबाट एमालेलाई उखेल्नु थियो । ‘चुनावपछि एमालेलाई टर्च बालेर खोज्ने’ एमाले विरुद्ध खडा गरिएको शिखण्डीको उद्घोष थियो । एमालेविद्धका बन्चरीबिँडहरु एमालेले प्रत्येक्षतर्फ एक सिट पनि नजितोस् र समानुपातिकतर्फ थ्रेसहोल्ड पनि नकटावस् ठान्थे । लिम्पियाधुराको ह्रस्व ‘लि’ र ओलीको दीर्घ ‘ली’ उच्चारण गर्नेको हालत एमालेको जस्तो हुन्छ भन्ने देखाएर भारत युगयुगसम्म नेपाली जनतालाई तर्साउन हात धोएर लागेको थियो । किनकि लोकतन्त्रको आवरणमा लैनचौरतन्त्र सुदृढ पार्ने तत्कालीन सत्तारुढ गठबन्धनको इरादा थियो । जनताको धाप, छाप, विश्वास र आशिर्वादले एमाले जोगियो । जनताको अनुकम्पाले गर्दा गद्दारह?को गद्दारी र गठबन्धनको चव्रmब्यूह भेदन गर्न एमाले सफल भयो । ब? कृष्ण र अर्जुनले चव्रmब्यूहमा परेको अभिमन्युको रक्षा गर्न असफल रहे तर नेपालमा जागेका जनताले विश्व ओइरिदा पनि एमालेलाई बचाएरै छाडे । एमाले हार्दा अन्य दल वा गठबन्धनका पनि सुख र खुशीह? खोसिदा रहेछन् भन्ने नजीर स्थापित भयो । जनतालाई नै सबथोक ठान्ने र शस्त्र वल मान्ने जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र आदर्श अनुशरण गरिरहेसम्म एमाले चुनौतीको घानमा पर्न सक्छ तर पराजित कहिलै हुने छैन ।
दण्डनीति
महावली एमाले २०४६ साल यताको नेपालको मुल चिनारी बनेको छ । एमाले छ, त्यसैले त कांग्रेसको बेचैन बढेको छ । एमाले छ, त्यसैले त नेपालसँग स्वाभिमानको मेरुदण्ड छ । एमाले छ, त्यसैले त मातृभूमि नेपाल सुरक्षित छ । एमाले छ, त्यसैले त जनतामा आशा र उत्साह छ । एमालेलाई घेराबन्दी पार्नु नेपाललाई घेराबन्दीमा पार्नु हो । एमालेको गति रोक्नु देशको गति रोक्नु हो । एमालेसँग अकारण दूरि बढाउनु गृहनिमार्णबाट भाग्नु हो । मिल्नेसँग नौनीको डल्लो र चिल्नेसँग बिच्छीको चल्लो हुने एमालेको निष्ठा र तपोवलको प्रतापले ऊसँग सहकार्य गर्न पाउँदा अन्य राजनीतिक शक्तिहरु हाँन्ने राँगा जस्ता हुन्छन् भने टाढिने बित्तिकै हरुवा गोरुजस्ता बिजोगका प्रतिमूर्ति बन्ने गर्दछन् । एमालेको साथ लाग्ने र काँध चढ्ने राष्ट्रिय हिरो हुन्छ । एमालेसँग निहुँ खोज्ने भासिदै जान्छ र जिरो हुन्छ ।
एमालेको उदय नभएकाले नै विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको संघर्षमय जीवन निरंकूशतासामु रक्षात्मक र पराजित अवस्थामै बित्यो । जब एमालेको शक्ति बढ्यो ०४६ सालमा पञ्चायती तख्ता पल्टियो । एमालेको काँध चढ्न पाएपछि कांग्रेसका त्रयनेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको छविले राजा वीरेन्द्रलाई छायाँमा पारेको थियो । मनमोहन अधिकारीलाई कांग्रेसका नेतात्रय सिंह, भट्टराई र कोइरालाले समेत ईश्या गर्ने गरी देशको लोकप्रिय प्रधानमन्त्री बन्ने अवसर सृजना गर्ने एमाले शक्ति थियो । ०६५ सालमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्ने कांग्रेसी प्रपञ्चलाई विफल तुल्याइदिने एमाले नै थियो । ०६५ सालमा पछारिएको कांग्रेसभित्रको कोइराला खेमाको खुशियाली ०७० सालमा फर्काउने गरी सुशील कोइराला २२ महिना प्रधानमन्त्री बनाउने एमाले नै थियो । एमालेमाथि कृतघ्न हुनेको हरिबिजोग हुने गरेको छ । कृष्णप्रसाद भट्टराईले ०४८ सालको चुनावमा बेहोरेको चुनावी हार, ०५१ सालमा गिरिजाप्रसाद कोइराला सरकारको पतन, सेनापतिकाण्डमा गएर प्रचण्ड सरकारले पाएको मारमुग्री र ०७२ साल यता कोइराला खेमाले गुमाएको पार्टीसत्ता र राज्यसत्ताबाटको पकड एमालेलाई प्रत्येक्ष वा परोक्षरुपमा गरेका अटेरी र अपमानका परिणति थिए । एमालेबाट पलायन भएका र गद्दारी गरेकाले पनि बाटो पाएका छैनन् । सीपी र वामदेवपछि हस्तिनापुरीको राज जस्तो विगतदेखि र चपरीमुनिको बास जस्तो वर्तमान्सम्म माधव र झलनाथको हान्ने राँगाको जस्तो विगतदेखि हरुवा गोरुको जस्तो वर्तमानसम्म एमालेको चौडा छात्ती निर्मम दण्डनीतिका परिणाम हुन् ।
कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरण
सोभियत संघको विघठनपछि समाजवादी क्रान्तिको ढोका बन्द छ । सबै महादेशका कम्युनिष्टहरुको लय प्रतिष्पर्धाको राजनीतिमा पनि सन्तोषजनक छैन । जनताको साथ लिएर, जनताको काखमा रहेर जनताको बलमा नेपालमा बहुदलीय जनवादी क्रान्ति अर्थात् जनादेश क्रान्ति भने निरन्तर उकालोमा छ । अनेकौं फरिप, तिगडम, प्रताडना, आस, त्रास, भ्रम, जाल, निन्दा, प्रशंसा, दण्ड र फण्डका तगाराहरुलाई पन्छाउँदै बहुदलीय जनवादीहरुले लोकतन्त्र, देशभक्ति, सामाजिक न्याय, शान्ति, विकास र समृद्धिको झण्डा शानका साथ फहराइरहेका छन् । एमालेलाई भीरको डिलमा पुगाउने षडयन्त्र गर्ने जति उल्टै हरानमा छन्–कसरी एमाले जनताको दिलमा जरा गाडेर बस्न सक्यो भनेर ।
जननेता मदन भण्डारीले कम्युनिष्ट पाटीको लोकतान्त्रिकरण नगरेको भए एमाले एक अजेय शक्ति बन्ने थिएन । कम्युनिष्ट पार्टी, यसका नेता र कार्यकर्ताहरु जनताको परीक्षाका विषय हुने, प्रतिष्पर्धाको राजनीति, संसद व्यवस्थाप्रतिको निष्ठापूर्ण अभ्यासले एमाले विशेष धातुले बनेको छ । एमाले विचारको राजनीति गर्छ । नीति, नेतृत्व, नियत, नैतिकता, नियम र निर्णयमा एकरुपता भएको मुलुकको एक मात्र पार्टी एमाले हो । एमालेरुपी कस्तुरीमा भएको विशेष चिज भनेकै जनताको बहुदलीय जनवाद हो । मार्स्कवादको नवीनतम व्याख्या नै जनताको वहुदलीय जनवाद हो । यसले कम्युष्टिहरुलाई जडभगत र संशोधनवादी, विसर्जनवादी र अधिनायकवादी, असहिष्णु र आत्मकेन्द्रित हुनबाट जोगाउँछ । एमाले यस्तो पार्टी हो, जो जननेता मदन भण्डारीले बसालेको बलियो जगमा उभिएको छ ।
पार्टी, नेता र कार्यकर्तालाई सैद्धान्तिक रुपमा जनताको परीक्षणको विषय बनाउने संसारको पहिलो कम्युनिष्ट पार्टी एमाले हो । असल र योग्य नेताको धनकुवेर पार्टी पनि एमाले नै हो । सत्ता कब्जाको प्रयास असफल भएपछि मात्र एमालेले लोकतन्त्रको बाँसुरी फुकेको होइन, एमालेलाई लोकतन्त्रप्रति अटल निष्ठा छ । देशभक्ति र राष्ट्रियतालाई लोकतन्त्रबि?द्धको तरबार बनाउने मण्डले राष्ट्रवाद र लोकतन्त्रलाई लैनचौरतन्त्रको गुलामी, मलामी र सलामीमा सीमित बनाउने आत्मसर्मपणवादी लोकतन्त्र एमाले दुबैलाई अस्विकार र घृणा गर्छ । देशभक्त भएर पनि लोकतन्त्रवादी हुन सकिन्छ र लोकतन्त्रवादी भएर देशभक्त हुन सकिन्छ । यो एमालेले आफ्ना प्रतिद्वन्द्वीहरुलाई सिकाएको व्यवहारसिद्ध पाठ हो ।
सहकार्य नगरेर असहिष्णु हुने र स्वाभिमान गुमाएर विरोधी कित्ताका राजनीतिक दल र तिनका नेताको पाउ मल्ने दोहोरा गल्ती गर्ने भड्काव र वहकावसँग एमालेले टक्कर लिदै आएको छ । एमाले सामाजिक न्याय र अग्रगामी रुपान्तरणको अखण्ड ज्योति हो । गति र ग्रहणशीलता, जुझारु चरित्र र सहिष्णुता, जनताको सुखदुःख र शासकीय सुझबुझ एमालेले कायम राखेका बहुआयामिक सन्तुलनहरु हुन् । कसैलाई पनि इमान्दारितापूर्वक काँध थाप्नु, कृतघ्न हुने र गद्दारी गर्नेका करङ धुल्याउन सक्नु महावली एमाले प्रमुख चिनारी हो । एमालेको यही तप, सत, साधना र निष्ठा नै जनादेश क्रान्तिको सुगन्ध र सार हो ।
हात्तीको शिकार गर्ने सिंहको शरीरभरि निलडाम हुन्छ । शिकार सिंहले गर्छ तर मासु कब्जा अल्छी हुँडारको झुण्डले गर्छ । जंगली राजमा त एक सिंह पनि यसरी अन्यायमा परेको हुन्छ । जनताको राजमा एमाले सधैं अन्यायमा पर्ने छैन । एक होइन अनेक, एक पटक होइन अनेक पटक चुनौतीहरुको मुकाबिला गर्नु पर्दा एमाले पनि अस्तव्यस्त भयो होला र अनेकौं कमजोरी रहे होलान् । तर पनि एमाले एक मेहनती माझी हो भने उसका प्रतिद्वन्द्वीहरु बाढीले बगाएर ल्याएका माछा छोप्ने भाग्यमानी बटुवा मात्र हुन् । अवसरले सँधै सबैलाई साथ नदिन सक्छ र निष्ठा सँधैभर एमालेलाई भारी नपर्न सक्छ ।
