-अमित लामा-
राष्ट्रिय युवा संघ नेपाल राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सुशासनका पक्षमा निरन्तर लड्दै आएको संगठन हो ।
राष्ट्रिय युवा संघ नेपालको जन्मन नै सामाजिक विकृति र विसङ्गतिको अन्त्य, नागरिक स्वतन्त्रता, राजनीतिक अधिकार स्थापना, सामाजिक अधिकारको प्रत्याभूति, नागरिक सरोकारका हरेके विषयमा सहकार्य गर्न भएको हो । नागरिकका हरेक समस्या राष्ट्रिय युवा संघ नेपालका समस्या हुन्, देशका हरेक अप्ठेरोको साथी हो राष्ट्रिय युवा संघ नेपाल । राष्ट्रिय युवा संघ नेपाल नेपाल र नेपाली जनताको सुख–दुःखको साथी हो ।
यस संगठनले विकास र समृद्धिको पक्षमा साथ दिन्छ । सामाजिक परिवर्तनको पक्षमा वकालत गर्दछ । समृद्ध नेपाल सुखी नेपालीको मार्गमा समाजलाई अघि बढाउन काँध थापेर लागि पर्छ ।
अग्रगमनको पक्षमा र प्रतिगमनको विरुद्धमा राष्ट्रिय युवा संघ नेपाल सतिसाल जस्तै उभिन्छ । यी कुरामा राष्ट्रिय युवा संघ नेपाल कहिल्यै पनि ढुलमुलिँदैन, लकपकिँदैन । राष्ट्रिय युवा संघ नेपाल र त्यसका नेता कार्यकर्ता जस्तोसुकै कठिन परिस्थितिमा पनि राष्ट्र, राष्ट्रियता, सुशासन र समृद्धिको पक्षमा उभिन्छ र उभिइन्छन् ।
वर्तमान सरकार जनताको काममा उत्तरदायी छैन । देश प्रति जिम्मेवार छैन । सरकार र सरकारमा रहेकाहरू कसरी लामो समयसम्म सत्तामा टिक्ने ? कसरी देशको दोहन गर्ने ? कसरी आफू र आफ्नाको हितमा काम गर्ने भन्ने कुरामा केन्द्रित छन् । उनीहरूलाई न देशको मतलब छ, न जनताको मतलब छ । न त जनजीविकाको सवालमा नै कुनै चासो र चिन्ता छ ।
अहिले देश चरम आर्थिक संकटमा छ । देशको अर्थतन्त्र दिन दिनै कमजोर बन्दै गएको छ । देशमा राजश्व संकलन ठप्प जस्तो छ । उत्पादनशील काममा राज्यको लगानी छैन । युवाको विदेश पलायन बढ्दो छ । देशमा रोजगारीको अवस्था छैन । भएका उद्योग धमाधम बन्द हुँदै छन् । साना पसलका सटर समेत दिन दिनै लाग्दै छन् ।
राष्ट्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी भएको छैन । देशको मुद्रा सीमित व्यापारीको हातमा छ । सरकारी उद्योग कौडीको भाउमा बिक्री भएका छन् । देश दिन दिनै कङ्गाल बन्दै छ । जनताले अनेकौँ दुःख झेलेका छन् । नागरिकका कुनै पनि काम समयमा हुँदैनन् । नागरिकले हैरानी भोगेका छन्, सरकारमा बस्नेहरू मस्तीमा छन् । उनीहरूलाई यसको कुनै वास्ता छैन ।
पुराना पुस्ताका नेतालाई गाली गरेर नथाक्ने युवा भन्ने सरकारमा बसेकै नेताहरू पनि कसरी सेटिङ गरेर छिटो धन आर्जन गर्न सकिन्छ भनेर मन्त्री पदमा बसेका देखिन्छन् । उनीहरूलाई देश बनाउनसँग मतलब छैन । नागरिकका समस्या समाधान गर्ने कुरामा चासो छैन । देशका गम्भीर समस्यामा ध्यान छैन । केबल कसरी कमाउन सकिन्छ ? कसरी छिटो भन्दा छिटो धनी बन्न सकिन्छ ? भन्ने चिन्ता छ ।
त्यसो त आफूलाई अरूभन्दा फरक देखाउने, आफूलाई स्वच्छ छविको देखाउने, आफू असल, आफू बाहेक सबै खराब हुन्न भन्ने भ्रम फिँजाएर भाइरल बन्ने होड पनि अहिले सत्ता राजनीतिमा चलको छ । आफूलाई अब्बल देख्ने, अरू सबैलाई खराब देख्ने । आफूले गरेको सबै ठिक हुने, अरूले गरेको सबै खराब हुने । आफू गङ्गाको पानीले नुहाएको पवित्र, अरू सबैलाई भ्रष्टाचारी भन्ने तर भित्र भित्र सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त हुने प्रवृत्ति सरकारमा रहनेमा देखिएको छ ।
मन्त्रीहरू अहिले आफूलाई भाइरल बनाउन चाहन्छ । अरूलाई पाइता मुनी धसाएर आफू पानी माथिको ओभानो बन्न चाहन्छन् । आफ्नो सबै कमजोरी लुकाउन काँक्रो आफू खाने बियाँ अरूका गालामा दलिदिने गर्न गर्दछन् । ‘जो चोर, उसकै ठुलो स्वर’ छ, ‘जो भ्रष्टाचारी, उही भ्रष्टाचार विरुद्धको अभियन्ता’ जस्ता देखिएका छन् ।
आफूलाई भाइरल मन्त्रीको रूपमा चिनाउन चाहने सुदन किराँतीले कागेश्वरी मनोहरा नगरपालिमा गरेको जग्गाको अनियमितताको प्रकरण अहिले सार्वजनिक भएको छ । आफूबाट अनियमितता भएको भए राजनीति गर्दिन भनेर किराँती अहिले चोरको खुट्टो काट भन्दा हत्तपत्त खुट्टा झिक्दै हुनुहुन्छ ।
साबिक गोठाटारमा रहेको पशुपतिको ५ सय ३५ रोपनी ३ आना जग्गा मध्य उहाँले भूमफियासँग मिलेर ३१ रोपनी जग्गा गायब बनाएर ५ सय ४ रोपनी ३ आना हालसाबिक गरेको कुरा सार्वजनिक भएको छ । त्यहाँको जग्गा खोजिबिन गर्ने बहानामा कथित आयोग बनाएर ३१ रोपनी जग्गा हिनामिना गर्ने निर्णय किमार्थ मान्न सकिँदैन ।
हामी प्रश्न गर्न चाहन्छौँ, आम नेपालीले प्रश्न गरिरहेका छन्–सुदन किराँती मन्त्रीज्यू जग्गा हालसाबिक गर्ने निर्णय गरेर ३१ रोपनी जग्गा कहाँ गायब गर्नुभयो ? यो भ्रष्टाचार होइन ? भ्रष्ट मन्त्रीलाई तत्काल छानबिन गरी कारबाही गर्नुपर्दैन ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँतीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गर्नुभएको छ । उक्त जग्गाको बजार मूल्य अरबौँ पर्छ । अपचलन भएको कोषको नाममा रहेको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५ सय ३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै जग्गा खोजी नगरी किराँतीले हालसाबिक गर्ने निर्णय किन गर्नुभयो ? यस्तो काम गर्न उहाँलाई कसले उत्प्रेरित गर्यो ? यसमा कस–कसको मिलेमतो छ ? के यसमा छानबिन हुनु पर्दैन ?
कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको पशुपतिको ५ सय ३५ रोपनी ३ आना जग्गा एकाएक कता हरायो ? देखादेखि पुर्जामा भएको जग्गा कहाँ हराउँछ ? त्यहाँको ३१ रोपनी जग्गा हावामा उड्यो कि, समुन्द्रमा डुब्यो ? वा माफियासँग मिलेर हजम गरियो ? नागरिकलाई जवाफ दिनु पर्दैन ?
३१ रोपनी छुटेको हाल साबिक मान्य छैन, मान्य हुनै सक्दैन । पशुपतिको ५ सय ३५ रोपनी ३ आना सहितको साबिक जग्गा चाहियो । ३१ रोपनी विनाको ५ सय ४ रोपनी ३ आना हालसाबिक गरेर ३१ रोपनी जग्गा खोजविन गर्ने आयोग बनाउने नाममा ३१ रोपनी जग्गा गायब गर्ने निर्णय किमार्थ मान्न सकिँदैन । ३१ रोपनी विनाको हालसाबिक गर्ने निर्णय किन गर्नुभयो ? यसको जवाफ दिनु पर्दैन ? कि अरूलाई आरोप लगाएर आफू उम्किन सकिन्छ भन्ने लाग्छ ?
सरकारी सम्पत्तिमा गिद्धे नजर लगाएर बसेका मन्त्री वा अन्य पदमा रहेका जो कोही व्यक्तिलाई पनि राष्ट्रिय युवा संघ नेपालले छाड्दैन । सरकारी सम्पत्तिको रक्षा कसरी गर्न सकिन्छ भन्ने कुरा राष्ट्रिय युवा संघ नेपाललाई राम्रोसँग थाहा छ । राज्यका जिम्मेवार निकायले यसको निष्पक्ष छानबिन गरुन् । राष्ट्रको सम्पत्ति कसरी संरक्षण गर्नुपर्छ भन्ने कुरा राष्ट्रिय युवा संघ नेपालले मन्त्रीज्यूलाई सिकाउनु नपरोस् ।
(लामा राष्ट्रिय युवा संघ नेपालका कार्यवाहक अध्यक्ष हुनुहुन्छ)
