नेपालीमा एउटा भनाइ छ ‘बाँचिरहे अनेक देख्न पाइन्छ ।’
पुर्खाले यो आहान त्यसै बनाएका होइनन् । बाँच्नु पर्छ, अनेक देख्न पाइन्छ, हेर्न पाइन्छ, सुन्न पाइन्छ ।
नेपालमा माओवादीले जति बेला सशस्त्र युद्ध घोषणा गर्यो त्यति बेला मानिसहरूलाई एउटै त्रास थियो आफ्नो धर्म, संस्कार र परम्परा कसरी जोगाउने ? कुल, पितृ कसरी बुझाउने ? श्राद्ध कसरी गर्ने ? वर्षको एक पटक घरमा रुद्री, पूजा कसरी लगाउने ? क्रिया बस्न पाइने हो कि नपाइने हो ? छारो, नातिको व्रतबन्ध गर्न डर मर्दो, बाजा बजाएर छोरा, छोरीको विवाह गर्ने कुरा त सोच्नै नसकिने । त्राहि ग्राहीको अवस्था ।
माओवादीले २०५२ बाट सुरु गरेको सशस्त्र युद्धको समयमा धर्म र नेपाली संस्कृति माथि धावा बोल्यो । नेपालमा विभेद र असमानताको जड नै धर्म हो, धर्मले नै सामन्ती व्यवस्थालाई जोगाएको छ, त्यसैले धर्म मान्नु हुँदैन, संस्कृति धान्नु हुँदैन भन्यो । यसलाई मास्नु पर्छ भन्यो ।
बाजा बजाएर विवाह गर्नेलाई जनविरोधी ठान्यो । सामन्त भन्यो । कतिपय ठाउँमा त जग्गे गरेर विवाह गर्न पनि दिइएन । जनवादी विवाह भन्दै बेहुलाले बेहुली लैजानु पर्ने नियम बान्यो । भोज भतेरको त कुरै हट्यो । भोज भतेर गर्ने कसको आँट ? विवाह गर्न माओवादीले अनुमति दिनु पर्ने । माओवादीबाट पत्र लिनु पर्ने । माओवादीले स्वीकृति दिएपछि बल्ल बुहारी भित्र्याउन पाइने ।
२०५२ पछि १० वर्ष गाउँमा पञ्चे बाजाको धुन सुन्न पाइएन । विवाहमा बेहुली लिन जानेहरू मलामी गएजस्तै गरी गयो, बेहुली लियो, त्यसै गरी फर्कियो । न जमघट, न रमाइलो भेटघाट । माओवादीले भेट्लान् र अप्ठेरो पार्लान् भन्ने डर ।
पञ्चेबाजा सबै थन्किए, खिया लागे । ट्याम्को, दमाहा र ढोलक मुसाका गुँड बने । गाउँमा पञ्चे बाजा नै मासिए । अहिले तिनै मासिएका पञ्चेबाजालाई जगाउन स्थानीय सरकारहरू पञ्चेबाजा वितरण गर्दै छन् ।
गाउँ घरमा हुने कुल पूजा लुकी लुकी भए । रुद्री, सत्यनारायणको पूजा सबै रोकिए । यजमानले लगाउन चाहँदा पनि पुरोहित डराउने । मानिहरूँ भेला भए भने गाउँ नै उठाएर लैजालान् भन्ने डर ।
अरू त अरू हिन्दु धार्मालम्बिले आफ्ना बाबु–आमा मर्दा क्रिया बस्न समेत डराउनु पर्ने दिन आयो, माओवादीकै कारण । माओवादी कार्यकर्ताले कतिपय क्रिया बसेका मानिसलाई क्रिया बस्दै गर्दा त्यहीबाट उठाएर लगे । क्रिया बसेकै अवस्थामा अपहरण गरेर हत्या गरियो ।
माओवादी कार्यकर्ताले पुरोहितहरूलाई क्रिया कर्म नगराउन दबाब दिए । श्राद्ध नगर्न भने, पूजा नलगाउनु उर्दी जारी गरे ।
पुरोहितहरूको भागाभाग चल्यो । कतिपय क्रिया गराउन क्रियापुत्रीको घर गएका पुरोहितहरू आफ्नो घर फर्कन भ्याएनन्, पाएनन् । उनीहरूको अवस्था के छ भन्ने अझै अत्तोपत्तो छैन । बेपत्ताको सूचीमा नाम टाँगिएको छ । ती सबै घटना माओवादीका कारण भए ।
माओवादी कार्यकर्ताले जनयुद्धको नाममा कतिपय देवालय भत्काइदिए । मूर्ति फालिदिए, मन्दिरमा बम पड्काइदिए ।
बाबुको श्राद्ध गर्दै गरेको मानिसलाई भगाए । पिण्ड किन नास पारेको भन्दै कोच्याई दिए । कूल, धर्म, संस्कार, रीतिरिवाज मान्नेलाई अपराधीको लिष्टमा राखे । कति खेदिए, कति कुटिए, भाटे कारबाहीमा परे, कति मारिए । आँखा अगाडि धेरै घटना परिघटना भए ।
दशैँका टिका रोकियो । जमरा राख्न बन्द भयो । टिका लगाउनेलाई त्यही टिका खान लगाइयो । जमरा चपाए निल्न लगाइयो । के के गरियो, के के ।
माओवादीका कार्यकर्ता भन्ने गर्दथे समाज परिवर्तनको लागि पुराना परम्परा, रीतिरिवाज र सोच बदल्नु पर्छ । पुरानो संरचना भत्काउनु पर्छ, विनाश नगरी निर्माण हुँदैन । पुरानो सोच नभत्काई नयाँ बन्दैन । विकासको लागि पहिला विनाश गर्नुपर्छ ।
माओवादीको त्यो आन्दोलनले तत्कालीन समाजमा केही परिवर्तन पनि ल्यायो । डरले नै सही, विवाहमा हुने मानीहरूको ठुलो जमघट र खर्च घट्यो । साटाकसुटुक विवाह हुन लागे । पाठ, पूजा, भोज रोकियो । त्यसमा पनि खर्च घट्यो । काज क्रिया पनि मानिसहरूले डराई पानीबाट उक्सने गरी मात्र गर्न लागे । त्यसले पनि समाज हुने खर्च कम भयो ।
जातीय विभेदका घटना कम हुने लागे । कतै त्यस्तो घटना भयो भने माओवादीको जनअदालत र श्रम शिविरमा पर्ने डरले मानिसहरू चुइँक्क बोल्न छाडे । दलित समुदायमा केही आत्मबल बढ्यो । यसलाई सकारात्मक परिवर्तन नै मान्नु पर्छ ।
जब माओवादी शान्ति प्रक्रियामा आयो, क्रान्तिकारी नेताहरू सार्वजनिक हुनुभयो । उहाँहरूका क्रान्तिकारी व्यवहार देखियो । एउटै परिवारको एउटा छोरो बाबु आमाको क्रिया बसिरहेको बेला अर्को छोरो मृत शरीरलाई लाल सलाम ठोकेर एक मिनेट मौन धारण गरेपछि पार्टी काम तिर लाग्यो । निक्कै क्रान्तिकारी बन्यो ।
छिमेकमा मर्दा, पर्दा पनि त्यस्तै गराउने खोज्यो । तर सकेन, छिमेकीले मानेन । ऊ जस्तो क्रान्तिकारी छिमेकी बन्न सकेन । शान्ति प्रक्रियामा आइसकेकोले सार्वजनिक रूपमा त भाटे कारबाही भोग्नु परेन तर पुरातनवादी सोच भएको परम्परावादीको बिल्ला भिर्नु पर्यो आफ्नो रीतिरिवाज र संस्कार मान्नेले ।
माओवादीका ठुलै नेताहरूले, कमान्डरहरूले, सुप्रिमोहरुले दशैँ बहिष्कार गरे । दशैँको टिका लगाएनन् । यो अति हिन्दुवादी, सामन्तवादीहरूले बसालेको परम्परा भने ।
तिहारको टिका लगाएनन् । लक्ष्मी पूजा गरेनन् । चाडबाड मान्नेहरूलाई समेत धम्क्याइयो । अपमानित गरियो । परम्परावादी सोच त्याग्नु पर्छ भन्दै पाठ सिकाइयो । क्रान्तिकारी बन्न, देखिन वा ठहरिन हरेक कुरामा क्रान्तिकारी । धर्ममा क्रान्तिकारी, संस्कारमा क्रान्तिकारी, संस्कृतिमा क्रान्तिकारी । सामन्ती व्यवस्थाका उपज सबैमा सकेसम्म प्रतिबन्ध, नसके पनि बहिष्कारको आन्दोलन चल्यो ।
महान् क्रान्तिकारी पार्टी नेकपा माओवादी भरभराउँदो आगो जसरी संसदीय राजनीतिमा प्रवेश गर्यो । राजाले विगठन गरेको प्रतिनिधि सभा ब्युँतियो । माओवादी चुनाव नै नलडी सत्तामा पुग्यो । माननीय सांसद् भए । ईश्वरको नाममा शपथ खान मानेनन्, देश र जनताको नाममा मात्र खान्छौँ भने । अर्को क्रान्तिकारिता देखिए ।
माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले नेपाली पोसाक दौरा, सुरुवाल, कोट सामन्तवादी शासन व्यवस्थाको पोसाक हो, लगाउँदिन भन्नुभयो । लवाइमा पनि क्रान्तिकारी बन्यो माओवादी र त्यसका सुप्रिमो । नेपाली दौरा, सुरुवाल, कोट सामन्ती पोसाक भयो । सर्ट, पाइन्ट, कोट र टाई क्रान्तिकारी पोसाकमा दर्ज भयो ।
क्रान्तिको कुरा गर्ने समाजका सबै पुराना संरचना हटाउनु पर्छ भन्ने माअोवादी सुप्रिमो प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएपछि भैँसी पूजा गर्न जानुभयो भन्ने चर्चा एकाएक आयो । उहाँलाई यामराजले दुःख दिएकोले भैँसी पूजा गरेपछि त्यो दोष कटिन्छ भनेर कसैले सुझाव दियो र उहाँ भैँसी पूजा गर्न जानुभयो भन्ने हल्ला चल्यो । त्यसको सत्य के हो उहाँ नै जान्नुहोस् । कि पूजा गर्न सुझाव दिनेले जानुन् , कि पूजा गर्न लगाउने जानुन् । जे होस् हल्ला निक्कै चल्यो । देश भरि नै हल्ला भयो ।
यस पटक प्रधानमन्त्री भएपछि उहाँको पोसाक फेरियो । विभिन्न स्पष्टीकरण दिँदै उहाँले नेपाली पोसाक दौरा, सुरुवाल, कोट लगाउनुभयो । लोक लाजको डरले भन्नुभयो ‘अप्ठेरो लाग्दै छ, खिसी नगर्नुस् है ।’
तै पनि माओवादी धार्मिक हिसाबले क्रान्तिकारी नै देखिइरह्यो । माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खास गरी हिन्दु धर्मको कट्टर विरोधीकै रूपमा देखिनुभयो । उहाँले हिन्दु धर्म, संस्कार र संस्कृतिको आलोचना गरिरहनुभयो । नेपालमा प्रचण्ड हिन्दु धर्म विरोधी चरित्रको रूपमा स्थापित भइरहनुभयो ।
तिनै प्रचण्डको पार्टीका एक जना क्रान्तिकारी सांसद केही दिन अघि प्रतिनिधि सभामा निक्कै धार्मिक भएर प्रस्तुत हुनुभयो । भ्रष्टाचारका विभिन्न काण्डका कुरा गर्दै उहाँले पशुपति नाथमा सुनको जलहरी राख्ने नाममा पित्तलको जलहरी राखेर ठुलो अपराध भएको भन्दै संसदमा गर्जिनुभयो । धार्मिक स्थलमा समेत भ्रष्टाचार भएको भन्दै उहाँ पुरै धार्माशक्त बन्नुभयो । धार्मिक स्थल प्रति ठुलो सद्भाव व्यक्त गर्नुभयो ।
माओवादीका क्रान्तिकारी कार्यकर्ता धार्मिक स्थलको बारेमा यति धेरै चिन्तित किन भए भन्ने धेरैले चर्चा गरे । तर उहाँले त आफ्नो अध्यक्षको लाइनबाट बोलिरहनुभएको रहेछ । उहाँका अध्यक्ष प्रचण्डलाई नेपालमा धर्म विरोधी भनेर गर्ने गरिएको विश्लेषण मिथ्या साबित भइसकेको रहेछ । उहाँ त धार्मिक बनिसक्नु भएको रहेछ, अति धार्मिक । मन्दिरमा चढाउन रुद्राक्ष जम्मा गर्न लागिसक्नु भएको रहेछ प्रचण्ड । गेरु वस्त्र जुटाउँदै हुनुहुँदो रहेछ सुप्रिमो प्रचण्ड ।
नेपालमा धर्म विरोधी, त्यसमा पनि हिन्दु धर्म विरोधीको पहिचान बनाउनुभएका प्रचण्ड भारत भ्रमणमा लागेपछि एकाएक धार्मिक, त्यो पनि अति हिन्दुवादी हुनुभयो । भारतको उज्जयन स्थिति महाकालेश्वर मन्दिरमा पुग्दा उहाँको एकाएक रूप बदलियो । महान् क्रान्तिकारी नेता प्रचण्ड महाकालेश्वर मन्दिरमा जोगीको अवतारमा देखिनुभयो । पुरै गेरु वस्त्र, सम्पूर्ण रूपमा जोगी भेष ।
प्रचण्ड आफू मात्र जोगी बन्नु भएन आफ्नो टिममा गएका आफ्नो पार्टीका अर्का क्रान्तिकारी नेता शक्ति बस्नेत सहितका मन्त्रीहरूलाई पनि जोगी नै बनाउनुभयो । जोगीको भेष धारण गरेर मन्दिरमा पूजा गर्नुभयो । भव्य पूजा, त्यो पनि १ सय ८ किलो रुद्राक्ष चढाए ।
नेपालमा कहिल्यै मन्दिर नछिर्ने प्रचण्ड भारतमा गएर कुन दैविक शक्ति प्राप्त गरेर मन्दिर छिर्नुभयो ? नेपालका देवालय र देवतासँग नेपाली जनतासँग विश्वास नभए जस्तै पटक्कै विश्वास नभएका प्रचण्डलाई भारतमा रहेका देवतासँग भने के कुराले विश्वास जाग्यो ? अनि उहाँले १ सय ८ किलो रुद्राक्ष के कुराको मोक्षका लागि चढाउनुभयो ? कुन पाप मोचनको लागि यी सबै काम गर्नुभयो ?
खासमा प्रचण्डको महाकालेश्वर पूजा सैद्धान्तिक विचलन हो वा सत्ता जोगाउने मेलोमेसो । सैद्धान्तिक विचलन हो भने एउटा क्रान्तिकारी योद्धाको लागि यो भन्दा दुर्भाग्य अरू हुन सक्दैन । अझ सत्ता जोगाउने मेलोमेसो हो भने त आफैँ माथिको अपराध नै भयो । यो कार्यमा उहाँको आत्माले उहाँलाई कसरी क्षमा देला ?
उग्र वामपन्थी बिग्रिएपछि चरम दक्षिणपन्थी बन्छन् भनिन्थ्यो । त्यो प्रमाणित भएको छ । महान् क्रान्तिकारी माओवादी सुप्रिमो गेरु वस्त्रमा दक्षिणपन्थीको भेसमा देखिनुभएको छ ।
हुन त माओवादीका केही कार्यकर्ताहरू प्रचण्ड नेपालका विभिन्न जाति, समुदायको कार्यक्रममा सो समुदायको भेसभुसामा मञ्चमा देखिएको फोटो हालेर उहाँले सबैलाई सम्मान र समान गरेको दुहाइ दिँदै हुनुहुन्छ, सामाजिक सञ्जाल मार्फत ।
सबैले सहजै बुझेको कुरा के हो भने जात जातिको कार्यक्रममा लगाएको पोसाक आयोजकले लगाइदिएका हुन् । उहाँले स्वइच्छाले धारण गर्नुभएको होइन । तर भारतको मन्दीमा प्रचण्ड आफैँ धाएर जानुभएको हो । आफ्नो इच्छाले पाप मोचन गर्न पुग्नु भएको हो । अझ राज्य कोषको रकम दुरुपयोग गरेर मन्दिर पुग्नु भएको हो । उहाँलाई कसैले लगेको होइन, बोलाएको पनि होइन । प्रचण्ड आफैँ जानुभएको हो । यसको अर्थ उहाँ आफ्नो इच्छाले मन्दिर पुग्नु भएको हो, पूजा गर्नुभएको हो, गेरु वस्त्र लगाउनुभएको हो ।
जे होस् हिजो धर्म र संस्कार माथि आक्रमण गर्ने माओवादी र त्यसका अध्यक्ष प्रचण्ड आज जुन रूपमा प्रस्तुत हुनुभयो यसको जवाफ उहाँसँग छ कि, उहाँका कार्यकर्ताले दिन्छन् ? कि सामाजिक सञ्जालमा अरूलाई मुख छाडेरै बसिरहने हुन् ? आफू नाटकी बन्ने, अनेक खालका नौटंकी गर्ने, अनि यो नाटक नै हो, नौटंकी नै हो भनेर अरूलाई गाली गर्ने कुरा सधैँ हामी नेपाली जनताले पत्याइदिनु पर्ने ? कि उहाँलाई अब अलौकिक ज्ञान प्राप्त भएको हो ? कतै सत्ता, शक्ति, घर व्यवहार र सारा सांसारिक जञ्जाल त छाड्न लाग्नु भएको होइन प्रचण्डले ? कतै नेपालका धर्म विरोधी प्रचण्डलाई भारतले जोगी त बनाइदिएको होइन ?
