प्रधानमन्त्री पुष्ष्पकमल दाहालको भारत भ्रमण असफल भएको छ । तर, व्यक्ति प्रचण्डका लागि भने यो भ्रमण अत्यन्त सफल भएको छ ।
प्रचण्ड र उहाँकी छोरी गंगा दाहालका लागि वास्तवमै भ्रमण ऐतिहासिक भएको छ । देशका लागि असफल र बेकार सिद्ध भारत भ्रमण यी पिता पुत्रीका लागि चाहिँ कसरी सफल भयो ? यसको बेलिविस्तार तल लगाइन्छ ।
प्रधानमन्त्रीको भ्रमण क्रममा नेपाल राष्ट्रका लागि कुनै ठोस उपलब्धी भएन । बरु, देशले ठूलो र दीर्घकालीन क्षति ब्यहोर्नुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री पदमा बसेका बेला भारतको राजकीय भ्रमण गर्ने व्यक्ति प्रचण्डको चाहनाले गर्दा नेपालले कैयन जलविद्युत आयोजनाहरु भारतलाई सुम्पिएको छ ।
प्रचण्डको भ्रमणका लागि देशले ठूलो मूल्य चुकाउनु परेको छ । महंगो कोसेली बोकेर नआउने भए भ्रमण नगराउने भारतको स्पष्ट नीति देखिएको थियो । त्यही भएकाले प्रचण्डले भारत जानकै लागि कैयन जलविद्युत आयोजनाहरु कोसेली लैजानुभएको थियो । भारत लगिएको सबैभन्दा मूल्यवान कोसेली थियो– नागरिकता विधेयक ।
भारत जाने दिन पारेर प्रचण्डकै टिमका राष्ट्रपति रामचन्द्र पौडेलले सारा नेपाल र नेपालीलाई चकित पार्दै असंवैधानिक तरिकाले नागरिकता विधेयक प्रमाणिकरण गर्नुभएको थियो ।
भारत भ्रमणमा नगई कुनै पनि देश जान्न भनेर अड्डी कस्नुभएका प्रचण्डले भारत गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास जित्नुलाई मुख्य प्राथमिकता दिनुभएको थियो । जानकारहरु भन्छन्, नेपालको संसद्मा मात्र विश्वासको मत लिएर पुग्दैन, दिल्ली गएर त्यहाँको संस्थापन तथा मोदीको पनि विश्वासको मत लिएपछि मात्र आफ्नो प्रधानमन्त्री पद टिकाउ हुन्छ भन्ने प्रचण्डको नीति देखिन्छ । सोही नीति कार्यान्वयन गर्ने काम मात्र प्रचण्डको भ्रमण भएको छ ।
प्रचण्डले भ्रमणको क्रममा ‘मोदी रिसाउन सक्छन्’ भन्दै नेपालको हितको तर भारत बेखुस हुने खालको कुनै पनि कुरा उठाउनुभएन । कतिसम्म भने नेपाल भारत प्रवुद्ध समूह (इपीजी) को रिपोर्ट भारतीय प्रधानमन्त्रीले बुझ्नुपर्छ भन्न समेत प्रचण्डले सक्नुभएन । वातावरण बिग्रन्छ भन्ने लागेर आफूले इपीजी रिपोर्टको कुरा नउठाएको प्रचण्डले सार्वजनिक रुपमा बताउनुभएको छ । प्रचण्डले वातावरण बिग्रन्छ भन्नुको अर्थ मोदी रिसाउँछन् भनेको प्रष्टै छ । मोदीलाई चित्त नबुझ्ने खालका कुनै पनि कुरा आफूले नउठाएको प्रचण्डले संकेत गरिसक्नुभएको छ ।
लिखितम्मा छैन, बकितम्मा ठूला कुरा
भ्रमणका क्रममा प्रचण्डले नेपालका कैयन जलविद्युत परियोजना भारतलाई सुम्पनुभएको छ । भारतलाई उपहार दिइएका केही आयोजनाहरु चीनले बनाउने भनेर प्रकृया अगाडि बढिरहेको थियो । त्यस्ता आयोजना समेत भारतलाई दिइएको छ । प्रचण्डले जलविद्युत आयोजनाहरु कोसेली बोकेर आएको देखेपछि भारतीय प्रधानमन्त्री मोदीको मुखबाट यस्तो घोषणा भयो– आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत किन्छौं । मोदीको यो कुरा बकितम् मात्र हो, लिखितम् होइन । भारतले १० हजार मेगावाट किन्ने भनेर कुनै लिखित सम्झौता गरेको छैन । लिखितमम्मा १० हजारको निर्णय नभए पनि प्रचण्डले भने मोदीको मौखिक कुरालाई नै ब्रेक थ्रू भनिरहनुभएको छ । नेपाल भारत सम्बन्धमा मौखिक कुरा कसरी ब्रेक थ्रू हुन्छ ? प्रचण्डको ब्रेक थ्रू वाला गफ सुनेर नेपालका बुद्धिजीवीहरु चकित परेका छन् ।
भारत जानु अघि प्रचण्डले आफ्नो भावी भारत भ्रमण नेपालका लागि ऐतिहासिक हुने घोषणा गर्नुभएको थियो । नेपालको भाविष्यलाई निर्णायक प्रभाव पार्ने सन्धि सम्झौता गरिने पनि उहाँले बताउनुभएको थियो । तर, नेपालको भविष्यलाई डरलाग्दो दुष्प्रभाव पार्ने खालका सहमति भ्रमणको क्रममा भएको छ । भारतसँगको जलविद्युत व्यापार वर्षेनी नवीकरण गर्नुपर्छ । यसलाई तोडेर २५ वर्षको सम्झौता गर्ने नेपालको चाहना थियो । तर, भारतले सम्झौता गर्न मानेन । कालापानी लिपुलेक नेपाली भूमि हो भन्ने पनि भारतले स्वीकार गरेन ।
जहाँसम्म कालापानी लिपुलेकको सवाल छ, यसमा प्रचण्डले भयानक राष्ट्रघात गरेको प्रष्ट संकेत मिलेको छ । भ्रमणका क्रममा प्रचण्डले कालापानी लिपुलेक नेपालको हो भनेर दावी नगरेको छनक मिलेको छ । यसको सट्टा प्रचण्डले कालापानी लिपुलेक भारतलाई नै सुम्पने, त्यस वापत बङगलादेश तर्फ जान नेपाललाई बाटो दिन माग गरेर नेपाल राष्ट्रपति भयानक गद्दारी गरेको बुझिन्छ । बुझ्नुपर्ने कुरा के छ भने बङगलादेशसम्म पुग्न भारतले नेपाललाई स्वत बाटो दिनुपर्छ, यो नेपालको नैसर्गिक अधिकार हो, बङगलादेशसम्म पहुँच मार्ग दिए वापत भारतलाई कुनै नजराना दिन पर्दैन ।
भुत्ते बनाइयो खुकुरीको धार
कालापानी लिपुलेक नेपालको भूमि हो भनेर नेपाल राष्ट्रले लिँदै आएको खुकुरी जस्तै धारिलो अडानलाई प्रचण्डले दिल्ली पुगेर मोदीका सामु पूरै भुत्ते बनाउनुभएको छ । नेपाल र भारत बीच समस्या राजनीतिक हो तर प्रचण्डले दिल्ली पुगेर मोदीका सामु कुनै पनि राजनीतिक विषय उठान गर्नुभएन । प्रचण्डका अनुसार माहौल बिग्रन्छ भनेर राजनीतिक कुरा नउठाएको रे । विगतमा नेपालका जतिसुकै नालायक र लम्पसारवादी प्रधानमन्त्रीले पनि भारत पुगेर राजनीतिक कुरा उठाउने गरेका थिए । राजनीतिक विषयको उठान नगरेर प्रचण्डले आफूलाई इतिहासकै सर्वाधिक नालायक प्रधानमन्त्री सावित गर्नुभएको छ । जानकारहरु भन्छन्, राजनीतिक कुरा नउठाउनु लम्पसारवादको पराकाष्ठा हो ।
भारतले नेपालका नयाँ विमानस्थलहरुलाई अन्तराष्ट्रिय हवाई रुट दिन पनि मानेन । भ्रमणका क्रममा भारतले नेपाललाई कुनै ठूलो आर्थिक सहयोग पनि दिएन । न त भारतले नेपाललाई आवश्यक पूर्वाधार निर्माणमा नै सघाउने प्रतिवद्धता जनायो । तेस्रो मुलुकबाट हुने पारवहनमा भारतले नेपाललाई अनेक दुःख दिने गरेको छ । त्यस्ता दुःख हटाउन प्रचण्डबाट कुनै पहल भएन । नेपाललाई व्यापारमा सुविधा दिने विषयमा पनि प्रचण्डको मुखबाट चुईंक्क आवाज निस्किएन ।
प्रधानमन्त्रीको भ्रमण कि प्रचण्डको पारिवारिक भ्रमण ?
हो, यो भ्रमण ब्रेक थ्रु नै हो, यो ब्रेक थ्रु नेपालका प्रधानमन्त्रीका लागि होइन, व्यक्ति प्रचण्डका लागि मात्र हो । यो राजकीय भ्रमण नेपालका प्रधानमन्त्रीको भइरहेको छ कि प्रचण्डको परिवारको भइरहेछ भनेर छुट्याउन बेलाबखत मुस्किल पर्यो । भ्रमण टोलीमा नेपालको मन्त्रिमण्डल नै थियो, पाँच जना मन्त्री टोलीमा थिए । तर, प्रचण्डले आफ्नो देशका परराष्ट्र मन्त्री सहित अन्य मन्त्रीहरुलाई कुनै प्राथमिकता दिनुभएन । मिडियासँग बोल्ने क्रममा पनि आफ्ना मन्त्रीहरुका बारेमा चर्चा नै गर्नुभएन । बरु, आफ्नी छोरी गंगालाई हाइलाट गराउने उद्देश्य मात्र प्रचण्डले राखेको देखियो । आफ्नी छोरी गंगा, आफू र भारतीय प्रधानमन्त्री मोदी सँगै बसेर खिचेको फोटो नेपाली मिडियामा प्रवाहित गर्नमा मात्र प्रचण्डको विशेष अभिरुची देखियो । प्रधानमन्त्री प्रचण्डले आफू नेपाली प्रतिनिधिमण्डलको साथमा छु भन्ने नै बुझ्नुभएन, छोरी गंगालाई लिएर मोदीलाई भेट्न दिल्ली गएको जस्तो व्यवहार प्रचण्डले गर्नुभयो । नेपाली प्रतिनिधि मण्डलका एक सदस्यले भने– प्रधानमन्त्रीजीले नेपालको प्रतिनिधित्व गरेर भारत आएजस्तो व्यवहार नै देखाउनुभएन, छोरीसँग दिल्ली घुम्न आएजस्तो गर्नुभयो । आफ्नै प्रधानमन्त्रीले प्रतिनिधि मण्डलका सदस्यहरुको गर्नसम्म अपमान गरेको ती सदस्यले बताए ।
यो भ्रमण दलमा सबैभन्दा सम्मानित गंगा दाहाल बन्नुभयो भने सबैभन्दा अपमानित परराष्ट्र मन्त्री एनपी साउद बन्नुभयो । परराष्ट्र मन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले कुनै भूमिका नदिएको सार्वजनिक रुपमा नै प्रष्टसँग देखियो ।
प्रचण्डपथदेखि गेरुपथको बाटो हुँदै मोदीपथ
व्यक्ति प्रचण्डका लागि यो भ्रमण अत्यन्त सफल भयो । माओवादका नाममा १७ हजार मानिस मार्नुभएका प्रचण्डले आफ्नै नाममा प्रचण्डपथ नामको विचार ल्याउनुभएको थियो । अहिले आएर उहाँले मोदीपथ अंगाल्दै गेरु वस्त्र धारण गर्नुभएको छ । मन्दिर भत्काउने र हिन्दू तथा बौद्ध धर्म संस्कृति मान्नेहरुलाई निषेध गरेर कथित जनयुद्ध चलाउनुभएका प्रचण्डले दिल्ली भ्रमणको दौरानमा मोदीको इच्छा र रुची बमोजिम हिन्दू कट्टरपन्थको नयाँ विचार धारणा गर्नुभएको आशंका गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले भ्रमणको दौरानमा गर्नुभएको देशहित विरुद्धका कर्तूतहरु आगामी दिनमा अरु पनि खुल्दै जाने विश्वास गरिएको छ । नेपाल राष्ट्रका लागि यो भ्रमण अभिशाप ठहरिए पनि प्रचण्ड र उहाँकी छोरीका लागि भने यो भ्रमण ब्रेक थ्रू भएको छ ।
