--प्रा.डा. बद्रीविशाल पोखरेल--
जातभातको जब्बर पकड विभिन्न जात जातिमा सघन रुपमा फेला पर्छ । गोरेबहादुर खपांगी कम्युनिष्ट आन्दोलनबाट दीक्षित वरिष्ठ शिक्षक हुन् तर उनले नै कट्टर बाहुनवाद विरोधी आन्दोलन चलाए । आफ्ना जात, भात, नाक र नश्लका समुदायलाई चरम सरम जातिवादी नाममा ठग्नु ठगे । स्व. नरबहादुर राई पुष्पलालका सहयात्री इटहरी र धरानमा हुनुहुन्थ्यो । उहाँले खापुङले पार्टीको कार्यालय भनेर महँगो चन्दा सहयोग लिए भवनको नाम चाहिँ सबैले परबाट देख्ने गरी पार्टीकै नाम राखे तर काजगजात र श्रेस्तामा घर घडेरी उनकै आफ्नै नाममा राखे, यो कुरा पछि थाहा भयो भन्नुहुन्थ्यो ।
खपांगीले दशैं बहिष्कारको देशव्यापी संघर्ष गरे । आखिर झुठ प्रचारवाजी त्यागेर राजाका हातको दशैं टीका लगाएर अभियान समापन गरेका थिए । त्यसपछि पनि दशैं बहिष्कारको नारा विशेषतः धराने राईहरुले घरघर घुमेर खुब उकासे । तर यो पनि सही नभएपछि तुहेर गयो ।
नेपालमा जातिवाद, नाकवाद र नश्लवादको जगजगी सुरु भएको छ । हुन त यस्तो चित्र-विचित्रको दृश्य पहिले पनि भोगिएको हो । न्यून चेतनाका जनतालाई उचालेर, उफारेर, लडाएर र भिडाएर राजनीतिको रोटी सेक्ने काम माओवादी कालमा भीषण रुपमा सुरु र विकसित भयो । यसको दुष्परिणाम देशले अझै भोग्न बँँकी रहेको देखिन्छ । राज्य दिन्छु भनेर बन्दुक बोकाएपछि लोभमा परेर १७ हजार मारे-मारिए अझै मर्न तयार देखिन्छन् । यस्तो दुर्भाग्य पनि देखियो । हुन त केही बाहुन थरि पनि जातिगत, थर र गोत्रगत अति संकीर्ण घेृेरामा रहेको जग जाहेर छ ।
एक नेपालथरि आजीवन वर्ग पक्षधर भएर ज्यान हत्केलामा राखेर कम्युनिष्ट पार्टीका ठूलै नेता भएका थिए तर उनी नै जीवनको अन्त्यतिर नेपाल थरि नेताका टाङमुनि छिरे । तिनले आफूले विगत कालमा गौरवशाली आन्दोलन र अभियानलाई रछ्यानमा मिल्काए मात्र होइन आफैँ रछ्यानमुनि आफैँलाई परे, धिक्कार छ यस्तो जुनी र जिन्दगीलाई । एक पोखरेल थरि लाउके नेताले छोरीले निचा जातिसित बिहे गरी भनेर छोरीको जिउँदै किरिया गरे ।
जम्माजम्मी आफ्नो सात पुस्तामा आफूमात्र बीए पास गरेको छ भने उसमा उन्नत चेत हुने कुरो नै भएन । अनि यसमा किन रिसाउनु ? अज्ञानीसित त्यसै पनि किमार्थ रिसाउनु हुँदैन । तर यस खालका भ्रममा परेकाहरुलाई तथ्य, तर्क र वास्तविकताका सम्झाइ बुझाइ गर्ने एमाले र नेपाली कांग्रेसका नेता र अझ बुद्धिजीवी, लेखक र पत्रकार नहुनु अत्यन्त दुर्भाग्य हो । पत्रपत्रिकामा एउटा पनि आलेख आजका मितिसम्म यस विषयमा नआउनु दु:खद् हो । खोज पत्रकारिताका कुरा त निक्कै ठूला गरिन्छ तर व्यवहारमा खै ?
अहिले प्रदेश नम्बर-१ को नाम कोशी राखिसकेपछि सडकमा रडाको सुरु भयो । सबै विधि, विधान र प्रक्रिया पूरा गरेर प्रदेश नम्बर-१ को नाम कोशी राखियो । नामकरणमा चार सांसद् बाहेक सबैले समर्थन र सही गरेको कुरामा अहिले किन लिँडेढिपी र जिद हो ? चार पाँच जना सांसद्ले प्रदेश सभा सञ्चालन गर्ने हो र ? लोकतन्त्र कालमा पनि लाठोमुंग्राे गरेकै भरमा निर्णय हुन्छ ? शासन गरिन्छ ? र विधिसम्मत गरेको निर्णय उल्टिन्छ ? उल्ट्याउन मिल्छ र ? यस्तै विधि खोजेको हो भने तिनलाई राणा शासन चाहिने रहेछ भन्नुपर्ने हुन्छ । राणा शासनमा जस्तो हुकुमी शासन चाहिएको हो ? त्यस शासन कालमा जसको हातमा लट्टठी उसैको भैँसी हुन्थ्यो । लोकतन्त्रमा लोक वा जनताका भावनाको प्रतिनिधित्व हुन्छ । यस शासनमा सकेसम्म सर्वसम्मत नत्र अल्पमत र बहुमतका आधारमा निर्णय गरिन्छ । अल्पमतमा परियो भने खास अवधि पछि बहुमत ल्याएर फेर्न पनि सकिन्छ । मन नपरे पनि विधि र पद्धतिलाई स्वीकार गरेपछि त्यसलाई नमानी धर होला र ? नबोलेसम्म बोली आफ्नो बसमा हुन्छ तर बोलेपछि उक्त बोली आफ्नो हुँदैन त्यसैले वहुत विचार गरेर बोल र लेख भन्नु हो । तर तिमीले हिजो जे बोल्यौ अब त्यसमा तिमी अडिनुपर्छ । यति नैतिकता नेता र तिनका मतियारले स्वीकार गर्नैपर्छ ।
एक जना कांग्रेसी नेता विभिन्न आन्दोलनसित जोडेर कोशी नामकरण विषयको विवादमा वार्ता गर्नुपर्छ भनी कुतर्क गरेको देख्दा लाज नै लजाउला जस्तो भयो । वार्ता के-का लागि र किन ? के पँधेरे गफ गर्न वार्ता गर्ने हो र ? अराजकता र उदण्डतालाई प्रोत्साहन गर्न सुहाउँछ ? यस्तै नाकामका कारण संघीय शासन प्रणाली प्रति वितृष्णा अरु बढ्ने देखिन्छ ।
अहिले मुख्यमन्त्रीले संघर्षरत पक्षसित वार्ता गर्नुपर्छ भन्ने केही रत्यौली खेल्न मन पराउने सांसद्काे दबाब रहेछ । यस्तै हो तिमी सांसद् कस्ता हौँ ? हिजो कुन मन मति र मस्तिष्कले सही छाप गर्यौ हौ ? आँखाले हेरेर र विचार गरेर गर्यौ कि ? त्यति बेला सुरमा थियौ कि बेसुरमा थियौ ? तिमीले होसमा त सही गर्यौ ? समर्थन गर्यौ ? यस्ता बेसोमति मनलाई तिम्रा कतिवटा मुख छन् भनेर सोध्नुपर्ने देखियो । तिमीले अर्थ लगायत विभिन्न मन्त्रालय सम्हाल के कतिसम्म चरम आर्थिक अनियमितता वा घोटाला गर्यौ ? हामीलाई थाहा छ । तिमीले पुरस्कार दिने नाममा के कस्तो निकृष्ट पार्टीभित्रको पनि निकृष्ट लबीगत दुराग्रहपूर्ण निकृष्टतम व्यवहार गर्यौ । सब थाहा छ । प्रायः तिमीहरु जुनसुकै पार्टीका भए पनि अत्यन्त संकीर्ण चेत र चिन्तनका छौ । तिमीलाई आफू ठूलो मान्छे भएँ भन्ने होला । यो लेखक वा लेखकहरु तिमीलाई खासै गन्दैनन् । तिनले आफूलाई मन्त्र भन्छन् तिमी मात्र मन्त्री हौँ अर्थात् हामीले मिहेनतले लेखिदिएका मन्त्र पनि शुद्ध उच्चारण नगरेरै भए पनि आफ्नो दुनो मात्र सोझ्याउँछौ । माननीय र मन्त्री हुन्छौ । यस्तै कुरुप सांस्कृतिक विचलन,अपचलन र विद्रूपीकरण विषयलाई निरस्त पार्न एमाले कोसी प्रदेश संस्कृति विभागले सांस्कृतिक रुपान्तरण सन्दर्भ र समीक्षा नामको विषय पत्रसहितको विचार गोष्ठी आयोजना गरिएको थियो । मनको मैलो हटाउन मनलाई नै सफा गर्नुपर्छ भन्ने पनि नबुझ्ने कतिपय नेताका कारण मौकाको काम र बेलाको बोली बोल्न पनि पाइन्न । त्यसैले एमाले धन भएको तर मन नभएको पार्टी हो भन्न सकिन्छ । विभागले कति वर्षमा पूर्णता पाउँछ केही भन्न सकिन्न ।
कोशी प्रदेशकाे नामका विषयमा पनि बाहुन जति सबैलाई तारो बनाएको देखिन्छ । समाजमा राम्ररी चिनिएको जातीय सकीर्ण चेतको मान्छे नै बाहुन जति सबै चोर भन्दा रहेछन् । सरस्वतीको वाहन हाँस हो यो जीव दूध र पानी मजाले छुट्याउने सामर्थ्य राख्छ । तर नेता र अझ बौद्धिक वैचारिक व्यक्तिहरु राम्रो र नराम्रो तथा गुहु र गोबर छुट्याउन पनि नसक्ने भएर सबै चोर भन्न थालेपछि कसको के लाग्छ ? तर पनि मान्छे आफूलाई कतिले बुद्धिजीवी भनेको सुन्दा अचम्म र उदेक लाग्छ ।
काेशी नामकरण विरुद्धको कथित आन्दोलन वा संघर्ष सियो भएर पस्ने र फाली भएर निस्कने देशी विदेशी अतिवादी भड्काउ अभियान हो । अहिले किराँत नामकरण गरिएको भए लिम्बुवान पक्षधर, लिम्बुवान नामरण भए थरुहट, थरुहट नामकरण भए कोचिला आदि प्रदेश नामकरणको मुद्दा उठ्थ्यो र उठाइन्थ्यो । किनभने इटहरी उपमहानगर पालिकालाई सबैले आआफ्नो भनेर जोडदार दावा प्रस्तुत गरिएको छ हाल तत्काल अमुक जाति समुदायका विक्षमा चर्को स्वर नउराले पनि भोलिका दिनमा आफैँ आफैँ जुध्ने परिस्थितिको सिकार हामीले कतै तयार गरिरहेका त छैनौँ ? यस्तै पारा हो भने एकपछि अर्को कहिल्यै नसकिने जातिवादी संकीर्ण गतिविधिले ध्वंसात्मक स्वरुप ग्रहण गर्न सक्छ । देशी र विदेशी प्रतिक्रियावादीहरु जात,भात,नाक, नश्ल र धर्मभित्रका छिद्र बनाएर र खोजेर त्यसभित्र छिरी नेपाललाई गुह युद्धमा फसाउन उद्यत छन् । अब यो गम्भीर आशंका उत्पन्न हुन थालेको छ ।
नेपाल संसारकै अत्यन्त विशिष्ट भूगोलमा रहेको अत्यन्त संवेदनशील देश हो । बाह्य शक्तिले नेपालमा जातीय र धार्मिक द्वन्द्वको भुँमरीमा पार्ने प्रयत्न धेरै अघि देखि सुरु गरेका थिए । प्रतिनिधि सभामा दातृ संस्थाको लगानीमा अनेक थरि जात र भातका ककस सुरु गरेको होइन र ? त्यसलाई ओली सरकारले हटाइदियो । माओवादी उग्रताका कारण एमालेले निर्माण गरेका अनेक जातीय मोर्चा संगठनको सन्जाललाई वर्ग पक्षधर वा त्यसमा प्रतिबद्ध हुने गरी नयाँ ढङ्गले सोच्नु अपरिहार्य देखिन्छ नत्र भुसको आगोसरी फैलिने खतरालाई नजर अन्दाज गर्न सकिन्न । यसले पार्टीको नियन्त्रण र सन्तुलनको अंकुश अनुशासन विरुद्ध त जान्दैन ? कतिपय जात, थर,गोत्र र थरी नेतामा भित्रभित्रै भड्काउका गम्भीर संकेत देखिएका छन् ।
जात,जाति,नाक,नश्ल थर र गोत्र अत्यन्त गौण विषय हो । समाज विकासका क्रममा सुरु र विकसित हुन थालेको पद्धति हो । शिव र पार्वती प्रणयबाट को कुन जाति धर्म र नाक नश्लको मानिसको कुन जातको सन्तान जन्मियो ? कोही भन्न सक्छ ? कम्तीमा उपरोक्त विषयमा पहिले त हामी नै सुस्पष्ट हुनुपर्छ । अनि हामी मार्फत् गाउँ-गाउँमा यो सही चेतना व्यापक गराउनुपर्छ । काले राई गम्भीर अध्ययन गरेर स्वामी प्रपन्नाचार्य हुनुभयो । नत्र उहाँ पनि बाहुन द्वेषी हुनुहुन्थ्यो होला । डा. जगमान गुरुङ जत्तिको विद्वान् कमै छन् तर उहाँ जातीय नीच निकृष्ट र अति संकीर्ण चेत र चिन्तनको हुनुहुन्न ।संस्कृति विभागले सुझाए अनुसार कम्तीमा यस सबालमा बौद्धिक, वैचारिक तथा सांगितिक अभियानलाई प्रदेशव्यापी गर्नुपर्छ । यसले जातिवादी नाक नश्लवादी कुप्रभाव हटाउन मद्दत गर्छ भने प्रदेश नामकरण विषयको भ्रम चिर्न पनि यसले सघाउ पुर्याउने निश्चित देखिन्छ । यस खालका वैचारिक अभियानले जनतामा पनि सही सूचना भुइँ तहमा प्रवाहित गर्नेछ ।
