-ज्ञानकुमार श्रेष्ठ-
रामेछाप जिल्ला नेपालको सुख्खा ग्रस्त जिल्ला मध्येमा पर्दछ । दुई नगरपालिका र ६ गाउँपालिका भएको रामेछापको सबैभन्दा सुक्खा ग्रस्त क्षेत्र मध्येमा खाँडादेवी गाउँपालिका पनि पर्दछ ।
स्रोत नभएर होइन, स्रोत छ । यही गाउँपालिकालाई छोएर सुनकोसी नदी बग्छ, तामाकोसी बग्छ । अनि गाउँपालिकालाई बिचबाट चिरेर भटौली खोला पनि अविरल बग्छ । तर नदी र खोला माथिका जमिन सुक्खा छन् । पानी लाग्दैन । सधैँका मरुभूमि जस्ता छन् ।
प्रविधिको प्रयोग र लगानी गर्ने हो भने खाँडादेवीलाई हराभरा बनाउन सकिन्छ । बाह्रै महिना हरियाली बनाउन सकिन्छ । सुक्खा पाखामा बाह्रै महिना कृषि उपज उत्पादन गरेर नागरिकको जीवनमा आमूल परिवर्तन ल्याउन सकिन्छ । कृषिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सकिन्छ ।
भटौली खोलाको पानी ड्याम बाँध्ने हो भने बहुप्रयोजनमा प्रयोग गर्न सकिन्छ । खोलामा ड्याम बाँधेर पानीको अभाव हुने सुक्खा मौसममा पिउने पानीको लागि यहाँको पानी प्रयोग गर्न सकिन्छ ।
वर्षाको समयमा सिँचाइको लागि खोलाको पानी प्रयोगमा ल्याउन सकिन्छ । अलि बढी लगानी गरेर ठुलो जलाशय बनाउन सक्यो भने विद्युत् उत्पादन पनि हुनसक्छ ।
भटौली खोलाको ड्यामको चर्चा गरिरहँदा खाँडादेवीका जनताको समग्र जीवन रूपान्तरणको आयोजना हो यो भन्ने कुरा बुझ्न आवश्यक छ । यसमा खाँडादेवीको सुख र समृद्धि मिसिएको छ । खाँडादेवीवासीको सपना साकार पार्ने शक्ति लुकेको छ ।
सुनकोसीको पानी ड्याम बाँधेर सुरुङ मार्गबाट मरिण निकालेर तराइमा सिँचाइ गर्न सकिन्छ भने भटौलीमा ड्याम बनाएर खाँडादेवीका सुक्खा पाखामा सिँचाइ गर्न सकिन्छ भन्ने कुरा कुनै सपना होइन यो साकार हुने परिकल्पना हो । यसको लागि इच्छाशक्ति चाहिन्छ, राज्यको ध्यान जानु पर्छ । कृषि उत्पादन बढाउने र गाउँमा नै बस्ने वातावरण बनाउने हो भने खाँडादेवीको लागि भटौली खोलाको ड्याम बनाउनै पर्छ । कुरा ढिलो–चाँडोको मात्रै हो ।
भटौली खोलाको ड्याम समग्र खाँडादेवीका नागरिकको जीवनलाई रूपान्तरण गर्ने परियोजना हो । दोरम्बाबाट आउने खोला अनि गाल्पा र अग्लेस्वरीबाट आउने चोप्राङ खोला, दुवै खोला मिलाएर ड्याम बाँधेर खोलको पानीलाई कुलोबाट ल्याउँदा वडा नम्बर ७ को धेरै भूभाग सिञ्चित हुनेछ । वडा नम्बर ६ को साउनेदेखि वडा नम्बर ५ को सम्पूर्ण भाग र वडा नम्बर ४ को कम्तीमा भिमसेनथान, सान्ने राम्चे आदि स्थानमा पानी पुर्याउन सकिन्छ ।
कुलोबाट पानी लैजाँदा पनि गोगनपानीसम्म पानी निस्कने छ । अलि तलै पुग्यो भने पनि लिफ्ट सञ्चालन गरेर खत्री गाउँ पुर्याउन सकिन्छ, गोगनपानी पुर्याउन सकिन्छ । त्यसो भयो भने भीरपानी र खत्री गाउँका सम्पूर्ण भूभागको खानेपानी समस्या समाधान हुने छ ।
वर्षामासमा वडा नम्बर ७, ६, ५, ४ का अधिकांश भूभागलाई सिञ्चित गर्न सकिने छ । जसले गर्दा सुक्खा र बाँझो जमिनमा सिँचाइ पुग्ने छ ।
यो परियोजना सम्पन्न भएपछि कुलो मुनिको ७५ प्रतिशत जमिन कृषियोग्य बन्नेछ । कुलो माथिको एक हजारदेखि एक हजार ८ सय मिटरसम्म क्षेत्र आवासको लागि उपयुक्त हुनेछ । वस्तिलाई एकीकृत र आधुनिक सहरको रूपमा विकास गर्न सकिने छ।
व्यक्ति/व्यक्तिका घरभन्दा ठूल्ठूला अपार्टमेन्ट बनाउन सकिने छ । भव्य र नमुना सहर बनाउन सकिने छ । खाँडादेवीका सम्पूर्ण नागरिकलाई सुरक्षित क्षेत्रमा कुलो भन्दामाथि राम्रो र सुरक्षित हावापानी भएको ठाउँमा स्थानान्तरण गर्न सकिने छ ।
वडा नम्बर ७, ८ र ९ को माथिल्लो भाग दम्सिलो छ तर रसिलो छ । सो भूभागमा त्यहाँको माटो र हावापानीले सबैभन्दा बढी मन पराउने, धेरै उत्पादन दिन सक्ने बाली किवी, आलु , खुर्पानी, अलैँची, नास्पाती, आरु व्यावसायिक रूपमा लगाउन सकिन्छ । यो क्षेत्र आवासको लागि भन्दा उत्पादनको लागि उपयुक्त रहेको छ ।
त्यो भन्दा मुनिको भूभाग पशुपालन लागी उपयुक्त छ । डाले घाँसको लागि उपयुक्त छ । त्यस्तै खाद्यान्न बालीको लागि पनि त्यतिकै उपयुक्त छ ।
त्यो भन्दा तल्लो पानी लाग्ने अर्थात् कुलो लाग्ने जमिन जहाँ अहिले पनि खाद्यवस्तु उत्पादन हुन्छ यसलाई त्यहीअनुसार विकास गर्न सकिन्छ । अझै आधुनिक प्रविधिको खेती गर्न सकिन्छ । उन्नत जातको बिउ, उन्नत प्रविधिको प्रयोग गरे उत्पादन अझै बढाउन सकिन्छ ।
वडा नम्बर १, २, ३ र ४ को हावापानी र भूभाग प्राय एकनासको छ । जहाँ पानी कम पर्छ, घाम बढी लाग्छ । उत्पादन कम हुन्छ तर पनि त्यस खालको हावापानीमा राम्रो मूल्य दिन सक्ने कृषि कर्म हुनसक्छ ।
त्यहाँ उन्नत र आधुनिक खालको बेलको व्यावसायिक खेती गर्न सकिन्छ । च्यवनप्रास उत्पादनको लागि तीन वर्ष उमेरको बेलको जरा सबभन्दा महत्त्वपूर्ण कच्चापदार्थ मानिन्छ । बेलको फल, पातदेखि जरा समेत उपयोगी छ ।
खयर आफैँमा रक्त चन्दन जस्तै उपयोगी छ । काठ मात्र होइन, मसला र औषधीको रूपमा पनि खयरको धुलो प्रयोग हुन्छ । यसको सो क्षेत्रमा राम्रो उत्पादन गर्न सकिन्छ ।
ड्राइगन फ्रुट्स एक रोपनी जमिनमा ३ लाखको फल फल्छ । नदी तटीय क्षेत्रमा साना सोलार लिफ्ट सञ्चालन गरेर पानी तान्न सकिन्छ । यसरी तानेको पानी प्रत्येक बोटको जरामा पुर्याएर थोपा सिँचाइ गर्न सकिन्छ र मनग्य उत्पादन गर्न सकिन्छ ।
सो क्षेत्रका माथिल्लो भागमा राम्रो माटो छ । पानी संकलन गर्ने पोखरीहरू बनाउने, आकाशबाट परेको पानी जमिनभित्र पठाउने, थप संकलन गर्न सम्भव भए थोपा सिँचाइ गर्न सकिन्छ । यो क्षेत्रमा प्राकृतिक रूपमा अहिले मकैको खेती भइरहेको छ । त्यसको ठाउँमा एभोकार्डो जस्ता राम्रो फल दिने वनस्पति लगाएर आम्दानी बढाउन सकिन्छ ।
त्यो भन्दा अझै माथिल्लो क्षेत्रमा डाले घाँसको खेती गरी बाख्रा पालन गरेर जीवन रूपान्तरण गर्न सकिन्छ । ६ र ७ नम्बर वडा ठिक्कको हावापानी भएकोले मानव वस्तिको लागि बढी उपयोगी हुन सक्छ ।
हाम्रो प्राकृतिक स्रोतसाधनको समग्र उपयोग गरेर गाउँमा बस्ने जनताको जीवनमा आमूल परिवर्तन गराउने दीर्घकालीन योजना सहित भटौली खोला ड्यामको कुरा उठाइएको हो । यो कुनै लहडमा वा सपनामा देखेर उठाएको कुरा होइन । यसमा आधार छन्, तथ्य छन् र लक्ष, अनि उद्देश्य छन् ।
केहीले यसलाई हावा गफ भनेर आलोचना गर्ने गरेका छन् । कसैले यसलाई पूरा नहुने सपना भनेका छन् । यो कुनै हावामा गरिएको गफ होइन, अनि पूरा नहुने सपना पनि होइन । यो त सक्षम, सभ्य र समृद्ध खाँडादेवीको लागि गरिएको परिकल्पना हो ।
नाङ्गो आँखा र अलि साँघुरो दिमागले हेर्दा यो कुरा महत्वकांक्षी र हावादारी लाग्न पनि सक्छ । तर हामी हिजो जसरी चल्दै आएको थियौँ, हिजो जसरी काम गर्दै आएका थियौँ, हिजो जसरी सोच्दै आएका थियौँ, आज पनि त्यसै गरी चल्ने, सोच्ने र काम गर्ने हो भने समाज परिवर्तन गर्न सक्दैनौँ, देश बनाउन सक्दैनौँ । अनि सुखी नेपाल समृद्धि नेपालीको परिकल्पना पूरा गर्दै समाजवादको बाटोमा पनि अघि पनि बढ्न सक्दैनौँ । हामी साँच्चिकै समाजवादमा पुग्ने हो भने, देश परिवर्तनको बाटोमा लम्कने हो भने केही कदम फड्को मार्नै पर्छ । केही कदम अघि बढेर सोच्नै पर्छ र काम गर्नै पर्छ । तिनै मध्येको एउटा योजना हो भटौली खोलाको ड्याम ।
यदि यसरी नसोचिएको भए आज मरिण डाइभर्सनको काम हुने थिएन । कुलेखानीको ड्याम बन्ने थिएन । तामाकोसी जलविद्युत आयोजना सञ्चालन हुने थिएन । फास्ट ट्र्याक निर्माणको काम अघि बढ्ने थिएन । अनि सुरुङ मार्गको काम पनि अघि बढ्ने थिएन ।
त्यस्ता योजना त सम्भव भए भने भटौलीको ड्याम किन सम्भव छैन ? भटौली खोलाको पानीले खाँडादेवीको सुक्खा पाखोलाई रसिलो बनाउने र यहाँका नागरिकको प्यास मेटाउने कुरा किन सम्भव छैन ? सम्भव हुनुपर्छ, सम्भव गराउनु पर्छ । को को लाग्नु पर्ने हो सबै लाग्नु पर्छ । सबैलाई लाग्न बाध्य बनाउनु पर्छ । यसको लागि राजनीतिक मात्र होइन नागरिक दबाब पनि सिर्जना गर्नुपर्छ ।
यस पटक सो योजनाको लागि प्रदेश सरकारले समपूरक योजना अन्तर्गत एक करोड रुपैँया विनियोजन गरेको छ । पालिकाले कम्तीमा एक करोड राख्दा २ करोडको बजेट हुने छ । यसले सम्भाव्यता अध्ययन डीपीआर साथै मुहानको डाम बन्नेछ । केही सय मिटर कुलो पनि बन्न सक्छ ।
जे होस् यो आयोजना सुरुवात हुने भयो । यो क्रमागत योजना हुनेछ । अब यो योजना बन्ने छ, बनाउनै पर्छ । यो खाँडादेवीका नागरिकको जीवनसँग जोडिएको योजना हो । त्यसैले पनि यो बन्नु पर्छ ।
यो योजनामा करोडौँ नभई अर्ब पनि लगानी हुन सक्छ । तर यसले खाँडादेवीका नागरिकको सिङ्गो जीवन रूपान्तरण गर्नेछ । खाँडादेवी गाउँपालिकाको रूप फेर्ने छ ।
यदि यो आयोजना सम्पन्न गरेर एकीकृत बस्ती सहितको सहर बनाउन सक्यौँ भने एउटा स्कुल र गाडी राखेपछि सबै नानीहरू घरैबाट त्यो स्कुलमा आउन सक्ने छन् । अस्पताल र प्रहरी चौकी एउटाले पुग्ने छ । यो नेपालको पहिलो नमुना एकीकृत बस्ती भएको सहर हुने छ । यसले सबैले खोजेको समृद्ध नेपाल निर्माणको आधार तयार गर्ने छ, सिङ्गो नेपाललाई एउटा सन्देश दिने छ । आधुनिक समाज निर्माणको नयाँ मोडल हुने छ ।
(लेखक खाँडादेवी गाउँपालिका अध्यक्ष हुनुहुन्छ )
