- ज्ञानकुमार श्रेष्ठ -
मानव सभ्यता भन्दा धेरै पुरानो छ प्रकृतिको सभ्यता । मानव जीवन भन्दा पनि धेरै पुरानो छ प्रकृतिको जीवन । प्रकृति छ र त मानव छ । मानव आयु छोटो छ, प्रकृतिको जीवन अनन्त छ ।
प्रकृतिले मानव सिर्जना गरेको हो । मानवले प्रकृति होइन । मानिसले प्रकृति बनाउन सक्दैन । त्यसैले जुन कुरा बनाउन सकिँदैन त्यसलाई बिगार्ने हक पनि हामीलाई छैन । त्यसको संरक्षण गर्ने र त्यसको जीवनमा प्रभाव नपर्ने गरी समुचित उपभोग गर्नेसम्मको अधिकार मात्र हामीलाई छ ।
हामीलाई हिमाल दिएको छ, पहाड दिएको छ । तराइको सम्म फाँट दिएको छ, पहाडका थुम्का दिएको छ । हिमालका उच्च चुचुरा दिएको छ । नदी दिएको छ, खोला दिएको छ, ताल दिएको छ, खर्क दिएको छ । हामीलाई अनुपम उपहार दिएको छ ।
प्रकृतिले दिएको यो उपहार हामीलाई सिद्धाउन र रित्याउन होइन । यसको आफूले पनि समुचित प्रयोग गरेर नयाँ पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्न दिएको हो । मास्न दिएको होइन, उकास्न दिएको हो । सिद्धाउन दिएको होइन जगाउन दिएको हो ।
हाम्रो दीर्घकालीन सोचको अभाव, क्षणिक लाभ र मानवीय स्वार्थपूर्ण व्यवहारको कारण प्राकृतिक सम्पदा नष्ट हुँदै गएका छन् । हामीले प्रकृतिको अथाह दोहन गरेका छौँ । हाम्रो कामले प्रकृति रमाउने होइन, प्रकृतिले हामीलाई माफी नै दिन नसक्ने गरी यसको दोहन गरिरहेका छौँ ।
जसको परिणाम पनि हामी क्रमशः भोग्दै गएका छौँ । पानीका मुहान सुक्दै छन् । उत्पादन घट्दै छ । मरुभूमि करण बढ्दै छ । अति वृष्टि, अनावृष्टि बढ्दै छ । जाडो याममा अति जाडो र गर्मीमा अति गर्मी बढ्दै छ । प्राकृतिक असन्तुलन बढ्दै गएको छ । हिमाल नाङ्गिँदै छन् । चुरे खोलिँदै छ, तराइ मरुभूमि बन्दै छ । यो सबैको कारण हामी हौँ । हामी मान्छे हौँ ।
हामी काहीँ नदीको बहाव नै रोकेर सहर बनाउने काम गर्छौँ । कहिले अत्यन्त कमजोर भू बनोट भएको चुरे पहाड भत्काएर ढुङ्गा, गिट्टी र बालुवा बेच्ने कुरा गर्छौँ । कहिले कोदालो समेत लगाउन नमिल्ने कमजोर भूमिमा डोजर चलाउँछौँ । अनि प्रकृतिले दिएको जैविक विविधताको संरक्षण गर्नुपर्ने ठाउँमा मानव बस्ती र सहर बसाउने कुरा गर्छौँ । प्रकृतिको अनुपम उपहार बुझ्दैनौँ वा बुझ्न चाहँदैनौँ ।
प्रकृतिले दिएको अनुपम उपहार मध्येको उपहार शैलुङ पनि हो । शैलुङलाई चुरे पहाडको सबभन्दा अग्लो चुचुरो मध्येमा मानिन्छ । यो क्षेत्र आफैँमा एउटा महत्त्वपूर्ण क्षेत्र हो । प्रकृतिको अनुपम उपहार हो
शैलुङ हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र पनि हो । प्रकृतिको वरदान हो । मानव जातिलाई प्रकृतिले दिएको कोसेली हो ।
झण्डै ३२ सय मिटर अग्लो शैलुङ आफैँमा सुन्दर र मनोरम त छँदै छ । दृश्यावलोकनको लागि पनि यो स्थान त्यतिकै महत्वको छ । यहाँबाट धेरै हिमशृङ्खला देख्न सकिन्छ, अवलोकन गर्न पाइन्छ ।
शैलुङबाट नियाल्दा हिमालको काँठमा लागेको कुहिरो सम्म फाँट जस्तो देखिन्छ । त्यो फाँट माथि ताँती लागेको हिमाल हर्दा मन फुरुङ्ग हुन्छ । आनन्दित हुन्छ, अल्लादित हुन्छ ।
प्रकृतिले दुवोको सधैँ गलैँचा ओछ्याइदिने शैलुङमा हिउँदमा प्रकृतिले नै हिउँको गलैँचा ओछ्याइदिन्छ । विभिन्न जातका फूलको बगैँचा बनाइदिन्छ । अनि चैत बैशाखमा विभिन्न जातका गुराँस फुल्दा स्वर्ग अन्त काहीँ होइन यही हो जस्तो लाग्छ ।
शैलुङमा धेरै खर्क खाली छन् । सो क्षेत्र संरक्षण गर्ने हो भने चियाको बगानको रूपमा विकास गर्न सकिन्छ । जसले शैलुङको सौन्दर्यता अझ बढाउँछ भने पर्यटकलाई थप लोभ्याउँछ ।
यसको तल्लो भेग राजभिर आलुको लागि अति उपयोगी छ । राजभिरमा नेपालकै सबैभन्दा गुणस्तरीय आलु उत्पादन हुन्छ । जसको स्थानीय किसानले व्यावसायिक उत्पादन र रोजिटा जातको उन्नत बिउबाट सुरुवात गरेका छन् ।
त्यसको केही तल दोरम्बा, टोकरपुर, डडुवा लगायतको क्षेत्रमा कोदोको राम्रो उत्पादन हुन्छ । यसको साथै तरकारी लगायतका अन्य अर्ग्यानिक खानेकुरा पनि त्यो भूभागमा राम्रो उत्पादन हुन्छ ।
शैलुङमा चौँरी पालनलाई थप व्यवस्थित बनाउन सकिन्छ । चौँरी चरनको क्लष्टर छुट्याएर यसलाई व्यवस्थित गर्न सकिन्छ । यसबाट चौँरीले गर्ने विनाश रोक्न सकिन्छ । व्यवसायीक चौँरी पालन पनि गर्न सकिन्छ । यहाँ व्यावसायिक रूपमा भेडा र लेकाली बाख्रा पालनको पनि राम्रो सम्भावना छ ।
जे जे गरे पनि शैलुङको सुन्दरतालाई बचाउनु पर्छ । यसलाई हामीले एक पटक विगार्यौँ भने फेरि फर्काउन सकिँदैन यसमा सबैको ध्यान जानु पर्छ ।
शैलुङ क्षेत्रमा हजारौँ घर बनाउने कुरा जुन दोरम्बा शैलुङ गाउँपालिकाले ल्याएको छ, त्यो सर्वथा अनुपयुक्त छ । यो प्राकृतिक सुन्दर भूमिलाई घर बनाएर कुरूप बनाउनु हुँदै । यस्ता विषयमा हेलचेक्र्याइँ वा खेलाँची गर्नु हुँदैन ।
खोलाखर्क लगायतको शैलुङ क्षेत्र त्यसै पनि मानव वस्तिको लागि उपयुक्त ठाउँ होइन । मानव वस्तिको लागि १ हजार मिटरदेखि २ हजार मिटरसम्मको भूमि उपयुक्त मानिन्छ । ३ हजार मिटर माथिको त्यो भूमि मानव वस्तिको लागि उपयुक्त हुँदै होइन ।
१ हजार मिटरदेखि १२ सय मिटरसम्मको उचाइमा आधुनिक सहर बसाउन सकिन्छ । त्यो भूमि दोरम्बा शैलुङ गाउँपालिकामा पर्याप्त छ । सहर नै बसाल्ने हो भने त्यस्तो भूमि रोज्नु पर्छ ।
अब व्यक्ति व्यक्तिका छुट्टाछुट्टै घर बनाएर भएको जमिन सिद्धाउने होइन । एकै पटक १ हजार वटा घर बनाएर भएको जमिन सिद्धाउने होइन । ठुला ठुला अपार्टमेन्ट बनाउने सोच अघि बढाउनु पर्छ । जसले गर्दा एउटै घरमा २० औँ परिवार बस्न सकुन् । जग्गा थोरै खर्च होस्, विद्युत्, सडक लगायतका पूर्वाधार निर्माणमा धेरै खर्च गर्न नपरोस् । अब एउटा सिङ्गो गाउँलाई एउटा अपार्टमेन्ट बनाउने तर्फ लाग्नु पर्छ । कहाँ शैलुङको खर्क सबै घरै घरले ढाक्ने कुरा गरेर हुन्छ ।
हामीलाई प्राकृतिक सुन्दरता चाहिन्छ, घर चाहिन्छ, सुविधा चाहिन्छ । त्यससँगै मानवलाई चाहिने खानेकुरा उब्जाउने जमिन पनि चाहिन्छ । अब जमिन कसरी बचाउने र जोगाउने भन्ने तर्फ सोच्नु पर्छ । त्यही अनुसार व्यवस्थापनको काममा अघि बढ्नु पर्छ ।
जहाँ भू बनोट राम्रो छ, जहाँ पिउने पानी शुद्ध र पर्याप्त छ, जहाँ पूर्वाधार निर्माणमा सहज छ, जहाँ राम्रा हावा पानी, जुन जमिनमा राम्रो उत्पादन हुँदैन, अब बस्ती बसाल्न ती ठाउँ खोज्नु पर्छ । गाउँपालिकामा कसले जितेको छ, कसको सरकार छ भन्ने कुरा प्रमुख होइन । मानव समुदायको हितमा कसरी काम गर्न सकिन्छ, प्रकृतिलाई कसरी जोगाउन सकिन्छ, हाम्रा सन्तानलाई कसरी राम्रो र सुन्दर पृथ्वी हस्तान्तरण गर्न सकिन्छ, भन्ने कुरा प्रमुख हो ।
कुन गाउँपालिकामा को छौँ, कुन पालिका कसको हो भन्ने कुरा पनि अब प्रमुख रहेन । प्रमुख कुरा त यो धर्ती सबैको साझा हो, यसमा सबैको हक छ, कसैले पनि यसलाई बिगार्न पाइँदैन ।
धर्तीको कुनै एउटा ठाउँको वातावरण बिग्रियो भने त्यसको प्रभाव सिङ्गो मानव समुदायलाई पर्छ । त्यसैले शैलुङमा हजारौँ घर बनाउने कुरा दोरम्बा शैलुङ गाउँपालिकाको सवाल मात्र होइन । यो त सबैको साझा सवाल हो । सबैको सवाल बन्नु पर्छ ।
मानव बस्ती र सहर कहाँ बसाल्ने भन्ने विषयमा व्यापक अध्ययन गर्नुपर्छ । विज्ञबाट राय लिनु पर्छ र त्यस आधारमा मात्र निर्णय गर्नुपर्छ । जहाँ असल माटो छ, राम्रो माटो छ, जहाँ पानीको पर्याप्त छ, त्यो भूमिमा हामीले खाद्यवस्तु, जडीबुटी, फलफूल लगाउनु पर्छ । तब पो मानिसलाई बचाउन सकिन्छ ।
यसरी नेपालको समग्र विकास गर्न सके मानवलाई चाहिने बस्तु उत्पादन गर्न सकिन्छ । मानिसलाई बचाउन सकिन्छ । यस तर्फ हामी लाग्न जरुरी छ । यस तर्फ हामीले सोचेर योजना बनाउन आवश्यक छ । अझ जनप्रतिनिधिले यस्ता विषयमा एक पटक होइन, पटक पटक सोच्नु पर्छ । सोचेर निर्णय लिनु पर्छ ।
(लेखक रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष हुनुहुन्छ )
