-गोविन्द थापा-
युग परिवर्तन हुन्छ तर युगको गतिसँगै हामी नेपाली परिवर्तन हुँदैनौं । विश्व जुन गतिमा अगाडि बढिरहेको छ, जुन गतिमा कुदिरहेको छ त्यो गतिमा हामी नेपाली अगाडि बढिरहेका छैनौं । यही कारण नेपाल र नेपाली झन्झन् पछाडि पर्दै आएका छौं ।
हामी कति पिछडिएका छौं भन्ने उदाहरण अहिलेको मौसममा पनि देख्न सकिन्छ । हामीले असार १५ मनायौं । अर्थात् धान दिवस मनायौं । धान भनेको हाम्रो खाना मात्र होइन, संस्कृति पनि हो । वृहत् नेपाली समाजलाई जोड्ने कैयन साझा चिज छन् । ती चिजमध्ये खेतको हिलो, गाउँको कुलो र धान पनि हो । हिलो कुलो र धान भनेको हाम्रो भात हो । हाम्रो जीवनको अभिन्न अंग भात हो ।
हामी कति धान फलाउँछौं ? नेपालको औसत प्रति हेक्टर धान उत्पादन ३ दशमलव ८२ हेक्टर छ । विश्वको औसत उत्पादन चार दशमलव २५ हेक्टर भन्दा धेरै छ । विश्वको उत्पादनभन्दा हामी धेरै पछाडि रहेको तथ्यांकले देखाउँछ । जुन देशका लागि धान भनेको खाना मात्र नभएर जीवनको अभिन्न अंग र सामाजिक सांस्कृति आधार पनि हो, त्यो देश धानको उत्पादकत्वमा विश्वको औसत स्तरभन्दा पछाडि छ । यो तथ्यांकले हरेक नेपालीको मन दुख्नुपर्छ ।
हामीले धान उत्पादकत्व किन बढाउन सकेनौं ? किनभने हामीले परम्परागत तरिकाले मात्र खेती गर्यौं । युग परिवर्तनसँगै प्रविधि परिष्कृत हुँदै आयो, खेती गर्ने नयाँनयाँ तौरतरिकाहरु आए । मल बीऊ नयाँ नयाँ आए । बाँकी विश्वले प्रविधिमा निरन्तर परिष्कार गरे, हामीले ती प्रविधि पर्याप्त मात्रामा भित्राउन र सिक्न सकेनौं । त्यसैले हामी पछाडि परेका हौं । धान खेतीमा मात्र नभएर अन्य खेतीबालीमा पनि हामीले परम्परागत ज्ञान र सीपलाई परिष्कृत गर्न सकेनौं । त्यसैले पछाडि परेका हौं ।
धानकै प्रसंगको कुरा गर्ने हो भने विगतमा नेपालले धान निर्यात गर्ने गरेको थियो । विश्वको प्रमुख धान निर्यातक देश थियो नेपाल । अहिले आयात गर्छाैं । हुनत कतिपय बुद्धिजीवीले धान आयातलाई फरकफरक कोणबाट हेर्ने गरेका छन् । कतिपय बुद्धिजीवीको के भनाई रहेको छ भने विगतमा नेपालमा जनसंख्या थोरै थियोे, त्यसैले धान आयात गर्न पर्दैनथ्यो, बरु निर्यात गर्न सक्थ्यो । जनसंख्या बढेर खाने मुख धेरै भएकाले नेपालले धान निर्यात बन्द गरेर आयात गर्नुपरेको हो भन्ने तर्क अर्धसत्य मात्र हो ।
नेपालमा अन्तराष्टिय आप्रवासनका साथै जनसंख्या वृद्धि पनि पछिल्ला आधा शताब्दीमा तिब्र बन्यो । यसकारण खाने मुख बढ्नु स्वाभाविक हो । यही कारण धान अर्थात् चामलको माग र आपूर्तिमा सन्तुलन हुन सकेन । यो कुरा सही हो तर यसको अर्काे पक्षलाई पनि ध्यान दिउँ । तथ्यांकले हाम्रो कूल खेतीयोग्य जमिन घटेको देखाउँदैन होला तर यथार्थ फरक छ । खेतबारी बाँझो हुनु आम प्रवृत्ति भइसकेको छ । यसकारण उत्पादनमा वाधा भएको छ ।
केही दिन पहिले कांग्रेसका सांसद् गगन थापाले प्रतिनिधि सभामा बोल्दै धान आयात बढ्नुमा खाने मुख बढ्नु प्रमुख कारण हो भन्नुभएको थियो । उहाँको भनाई सत्य होइन, अर्ध सत्य मात्र हो । गगन जस्तो विचार राख्ने बुद्धिजीवी धेरै छन् नेपालमा ।
तथ्य के हो भने नेपालमा कूल सिंचित क्षेत्र गत आधा शताब्दीमा ठूलो परिमाणमा बढेको छ । मल बीऊको उपलब्धता बढेको छ । पर्याप्त मात्रामा प्रविधि भित्रिएन होला, केही न केही रुपमा हामीले धान खेतीको आधुनिकीकरण गर्दै लगेका छौं । आधा शताब्दीमा नेपालले धान खेतीलाई लक्षित गरेर जति लगानी गरेको छ, त्यो अनुपातमा उत्पादन बढेको छैन । लगानी र सुविधा बढेपछि सोही अनुपातमा उत्पादन बढ्नुपर्ने होइन र ? तर, त्यसो हुन सकिरहेको छैन । अर्थात्, धानी खेतिलाई लक्षित गरेर गरिएको देशको लगानीले अपेक्षित परिणाम दिन सकेको छैन ।
हाम्रो छिमेकी भारतको प्रति हेक्टर धान उत्पादन चार टन नाघेको छ । चीनले त धान उत्पादनमा चमत्कार नै गरेको छ, चीनले प्रति हेक्टर करिब सात टन धान उत्पादन गरिरहेको छ । बंगलादेशले प्रति हेक्टर करिब पाँच टन उत्पादन गर्छ भने अमेरिकाले आठ टन भन्दा धेरै उत्पादन गर्छ । भियतनाम, इण्डोनेसिया र ब्राजिलले पनि प्रति हेक्टर पाँच टनभन्दा धेरै उत्पादन गरिरहेका छन् ।
नेपालले कति क्षेत्रफलमा धान खेति गर्यो भन्ने अब मुख्य विषय होइन, खेति गरेको ठाउँमा कति फलायो भन्ने मुख्य कुरा हो ।
धान खेती नेपालको सामाजिक र सांस्कृतिक जीवनको महत्वपूर्ण हिस्सा हो भनेर माथि नै वयान गरियो । तर, धान खेती नै किन ? यो पनि महत्वपूर्ण प्रश्न हो । विश्व खाद्य संगठनका साथै विभिन्न संस्थाले गरेको अध्ययन अनुसार नेपाल र भारतमा धान खेतिले पर्याप्त आर्थिक लाभ दिन सकेको छैन । धान खेतीलाई सिंचाई, श्रम, मल र मेहेनत जति लाग्छ त्यो अनुपातमा मूल्य छैन । नेपाल र भारत दुवै देशका सरकारले धानको समर्थन मूल्य तोकेर मूल्य बढाउनुपर्ने चिन्ताजनक अवस्था छ । धान खेतीका लागि जति पानी र श्रम खर्च हुन्छ, त्यही पानी र श्रमले अन्य किसिमका खेती गर्ने हो भने धानभन्दा धेरै लाभ लिन सकिने विभिन्न अध्ययनहरुले देखाइसकेको छ । दक्षिण एसियामा जनसंख्याको तुलनामा पानीको उपलब्धता घट्दै गइरहेको छ । यो कारण पनि धान खेतिले दक्षिण एसियाको भविष्य उज्ज्वल हुन सक्दैन भन्ने विभिन्न संस्थाहरुको भनाई रहेको छ ।
यही परिप्रेक्षमा विश्व खाद्य कार्यक्रमले दक्षिण एसियाको फुड ह्याविट अर्थात् खानाको संस्कृति बदल्नुपर्ने सिफारिस गरेको छ । यही कुरालाई ध्यानमा राखेर केही वर्ष अघि त्यसबेलाका गृहमन्त्री बामदेव गौतमले नेपालीले भात खाने बानी हटाउनुपर्छ भनेर संसदीय समितिमा बोल्नुभएको थियो । तर, उहाँको कुरालाई हासोमा उडाइएको थियो ।
नेपालको कृषिको राजा भने पनि रानी भने पनि धान नै हो । हाम्रो धान उत्पादनको अवस्थालाई हेरेर समग्र कृषि क्षेत्रको एकसरो मूल्यांकन गर्न सकिन्छ । हाम्रो उर्वर कृषि क्षेत्र घट्दै गइरहेको छ भने उत्पादकत्व पनि पर्याप्त बढ्न सकेको छैन । धान खेतिको विकल्प अरु खेति हुन सक्ला तर कृषिकै विकल्प भने हुन सक्दैन ।
नेपालमा कृषिको उत्पादन र उत्पादकत्व दुवै बढाउनका लागि समग्र विकासमा ध्यान दिइनुपर्छ । कृषि अब उद्योग पनि हो, यो मान्यतालाई आत्मसात गरेर राज्यको नीति निर्माण गरिनुपर्छ । राज्यको समग्र औद्योगिकीकरणसँग कृषिलाई पनि जोडिनुपर्छ । कृषिलाई नयाँ आयामबाट हेरिनुपर्छ । जस्तो कि एसियामा सबैभन्दा धेरै प्रतिशत जंगल भएको देश भूटानपछि नेपाल हो । तर, यही नेपालले काष्ठ पैदावार विदेशबाट आयात गर्न परेको छ । जंगल जोगाउने नाममा देशमा विकास निर्माणको काम अगाडि बढाउन गाह्रो परेको छ । जंगल हराभरा हुने तर नजिकैको खेतबारी बाँझो हुने अवस्था कसरी सिर्जना भयो ? यसमा गहिरो विष्लेशण जरुरी छ ।
कृषि, वन र औद्योगिकीकरणलाई जोडेर एकीकृत विकासको अवधारणालाई अगाडि बढाउने भिजन भएका नेता केपी शर्मा ओली हो । उहाँको सरकार भएको बेला यसतर्फ केही पाइला चालिएको पनि थियो तर त्यसपछि बनेका सरकारहरु व्यापारमुखी मात्र भए । देशमा व्यापारलाई बढावा दिने, व्यापारले दिने भन्सार र राजश्वको भरमा देश चलाउने भिजन भएका नेताहरुले देशमा शासन गरिरहेका छन् । कृषिले बढाउने आन्तरिक उत्पादनले अर्थतन्त्रमा ठूलो योगदान गर्छ । कृषि उत्पादनको वृद्धिले देशभित्र सिर्जना हुने पूँजी, देश भित्र हुने आर्थिक गतिविधि दीगो हुन्छ । त्यसैले कृषिलाई व्यावसायिक बनाउने अवधारणा पनि विश्वमा पूरानो भइसकेको छ । कृषिलाई औद्योगिक रुपमा अगाडि बढाउनुपर्छ । कृषि भनेको ठूलो उद्योग हो भन्ने बुझ्नुपर्छ ।
अन्तिममा,
नेपालको भविष्य एकीकृत विकासमा छ, कृषि, वन, जल, औद्योगिकीकरण, पर्यटनलाई एकीकृत बनाएर अगाडि बढाउनुपर्छ । कृषि भनेको मैलो लुगा लगाउने, गरिब मानिसको वाध्यताको कर्म मात्र हो भन्ने मानसिकता छ । यो मानसिकता तोडेर, यो मनोविज्ञान हटाएर कृषिलाई उन्नत र आधुनिक बनाएर मात्र समृद्ध नेपाल सुखी नेपाली बनाउन सकिन्छ भन्ने सिंहदरबारवासीहरुले बुझ्नैपर्छ ।
