-गाेविन्द थापा-
कुनै पनि देशको अस्तित्व समाप्त पार्न त्यो देशको सेनालाई कमजोर पार्नुपर्छ, समाप्त पार्नुपर्छ । यो कुरा नेपालका वैरीहरुले पनि बुझेका छन् । त्यसैले नेपाली सेनालाई विभिन्न समयमा विभिन्न कोणबाट आक्रमण गर्ने गरिएको छ ।
नेपाललाई सेना किन चाहिन्छ, नेपालको सेना किन सक्षम र दह्रो हुन आवश्यक छ भन्ने विषयमा भारतको प्रसंगबाट कुरा थालौं । आजको भारतमा सन् १९४७ अघि करिब ६ सय देश थिए । अंग्रेजबाट स्वतन्त्र भएपछि साना राज्य सबैलाई कब्जा गरेर आजको भारत बनाइएको हो । वास्तवमा आजको भारत एकीकरणमा अंग्रेजहरुको मूल भूमिका छ ।
सेनाको काम लडाईं मात्र होइन । आधुनिक राज्यको एक महत्वपूर्ण अवयव राज्य तथा नागरिकलाई दिइने सुरक्षा पनि हो ।
पहिलो विश्वयुद्धमा कैयन देशहरुको अस्तित्व समाप्त भयो, केही नयाँ देश उदाए । दोस्रो विश्वयुद्धमा पनि कैयन देशको अस्तित्व सदाका लागि समाप्त भयो भने केही देश उदाए । विश्व इतिहास हेर्दा आफ्नो रक्षा गर्न नसक्ने देशको अस्तित्व समाप्त हुन्छ । देश मात्र नभएर विशाल साम्राज्यको अस्तित्व पनि समाप्त हुन्छ । रोमन साम्राज्य, अटोमन साम्राज्य, मंगोल साम्राज्य, वेलायती साम्राज्य लगायत कैयन साम्राज्यको अन्त्य भएको छ ।
हामीले देख्दादेख्दै नेपालकै वरिपरि कैयन देशको अस्तित्व समाप्त भएको छ । कुनै पनि साम्राज्य या देशको अस्तित्व रक्षा गर्ने सेनाले हो । सेना बलियो भयो भने देशको अस्तित्व रहन्छ, कमजोर भयो भने अस्तित्व समाप्त हुन्छ ।
केही मानिसको झुण्डले सत्ता कब्जा गरिदिन्छ । उसलाई हटाउन अर्काे समूह अग्रसर हुन्छ । यसको परिणाम के हुन्छ भने देशमा गृहयुद्ध हुन्छ । देशमा स्थिरताका लागि सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
अंग्रेजले भारत छाडेपछि हैदरावाद र जुनागढ राज्यले अस्तित्व जोगाउन भरमग्दुर प्रयास गरेको थियो, तर, ती दुई देशले दिल्लीसँगको युद्ध हारे । सेना दह्रो थियो भने हैदरावाद र जुनागढ स्वतन्त्र देश हुने थिए । अहिलेको कश्मिर पनि स्वतन्त्र देश कायम रहने थियो, तर, सेना कमजोर हुनाले भारत र पाकिस्तानको पोल्टामा कश्मिर विभाजित भएको छ ।
देशको अस्तित्व रक्षाका लागि सेना चाहिन्छ भन्ने प्रष्ट छ । यति स्पष्ट तथ्यमा कोही पनि नेपालीले आँखा चिम्लन मिल्दैन, नबुझे जस्तो गर्न पाइँदैन ।
सेनाको काम लडाईं गर्ने हो ?
आधुनिक अवधारणा अनुसार सेनाको काम लडाईं गर्ने होइन, लडाईं रोक्नका लागि, लडाईं नगर्नका लागि सेना चाहिन्छ । सेनाको काम शान्ति हो, लडाईं होइन । शान्तिका लागि सेना भन्ने अवधारणा स्थापित गर्न नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गरेको छ । यो अवधारणा अनुसार नेपालले आफ्नो सेनालाई अगाडि बढाएको छ । यो तथ्य नबुझी ‘नेपाली सेनाले युद्ध गर्न र जित्न सक्दैन’ भन्नु अज्ञानता हो ।
सेनाको विकास मानव सभ्यताको विकाससँगै सुरु भएको हो । मानिसलाई सुरक्षा चाहिन्छ । सुरक्षा र आर्थिक सम्बन्धका कारण राज्यहरुको विकास भयो । राज्यले मानिसलाई सुरक्षा दियो । सुरक्षाका लागि सेनाको विकास भयो । मानिसभित्र हिँसात्मक प्रवृत्ति पनि छ । सत्ता, शक्ति र आर्थिक स्रोतहरुमाथि नियन्त्रणका लागि शक्तिशाली मानिसहरुले सेनाको प्रयोग गरे । सेनाको अवधारणा एकै दिनमा विकास भएको होइन भन्ने स्पष्ट छ ।
भिडियाे:
सुरक्षा भनेको वृहत् अवधारणा तथा विषय हो । सुरक्षाको व्यापक दायराभित्रको एउटा प्रमुख अंग मात्र हो सेना । सेनाको मुख्य काममध्येको एउटा काम मात्र हो लडाईंमा सहभागी हुनु । प्रष्ट के हुनुपर्छ भने सेनाको काम लडाईं मात्र होइन । आधुनिक राज्यको एक महत्वपूर्ण अवयव राज्य तथा नागरिकलाई दिइने सुरक्षा पनि हो । सुरक्षाको एक अवयव सेना हो । सेनाको सम्बन्ध अन्य देशसँग लडाईं गर्नु मात्र हो भन्ने बुझाई अज्ञानता हो । यस्तो अज्ञानता पढेलेखेका बुद्धिजीवी तथा जिम्मेवार पदमा पुगेकाहरुले देखाउनु शोभनीय हुन सक्दैन ।
नेपाली सेना भनेको विश्वको सर्वाधिक प्रतिष्ठित र सक्षम सेना हो, देशको रक्षा गर्न नेपाल सेना सक्षम छ भन्नेमा विश्वस्त बन्नुपर्छ ।
सन् १९८८ को एक दिन माल्दिभ्समा एउटा सानो पानीजहाज पुग्यो । सो पानीजहाज श्रीलंकाबाट लुकिछिपी पुगेको थियो । जहाजमा करिब ८० जना हतियारधारी थिए । उनीहरुले केही बेरमै पूरै माल्दिभ्स देशलाई आफ्नो नियन्त्रणमा लिए । माल्दिभ्ससँग शशक्त सेना थियो भने त्यस्तो अवस्था आउन सक्दैनथ्यो । श्रीलंकाका तमिल लडाकूहरुले एउटा सिंगै देश कब्जा गर्न सकिन्छ भनेर कसरी सोचे होलान् ? सयजना भन्दा थोरैको झुण्डले सिंगै देश कब्जा गर्ने आँट कसरी गर्यो होला ? विचारणीय छ ।
माल्दिभ्सको प्रसंगमा के देख्न सकिन्छ भने सयजना भन्दा थोरैको झुण्डले सजिलै त्यो देश कब्जा गर्न सकिन्छ भन्ने बुझ्यो । उनीहरुले माल्दिभ्सको सेनाको अवस्था बुझे, माल्दिभ्ससँग नाम मात्रैको कमजोर सेना थियो । त्यसैले आक्रमण गरेर कब्जा गरे । तत्कालीन राष्टपति मौमुन अब्दुल गैयुमले भारतीय सेनालाई गुहार्नु पर्यो । भारतीय सेना आएपछि श्रीलंकाका तमिल लडाकूहरु भागे ।
याे पछि पढ्नुहाेस्: विश्वकै टप ब्राण्ड हो नेपाली सेना (भाग २)
सेना किन चाहिँदो रहेछ त ? माल्दिभ्सको उदाहरणबाट केही बुझियो होला । माल्दिभ्समा त्यो घटना भएको केही वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड सहित करिब सयजना जतिले नेपालमा पनि त्यस्तै प्रयास थाले । हतियारको बलमा राज्य कब्जा गर्ने योजनालाई उनीहरुले ‘जनयुद्ध’ नाम दिए । उनीहरुले सिधै राज्य कब्जा गर्ने आँट गरेनन, दीर्घकालीन जनयुद्ध भने । उनीहरुले तत्कालै राज्य कब्जा गर्ने बाटो नरोजेर किन घुमाउरो र दीर्घकालीन बाटो रोजे ? किनभने नेपाली सेनाको क्षमता र हैसियत उनीहरुलाई थाहा थियो । जनयुद्धकालभरी प्रचण्डहरुले सेना परिचालन हुन नदिन अनेक तिकडम गरेको हामीले देखेका होइनौं र ?
सेनाको उपस्थिति आफैंमा अर्थपूर्ण हुन्छ । सेनाले विदेशीसँग लड्ने मात्र काम गर्दैन, आन्तरिक रुपमा राज्यलाई बलियो बनाउने र स्थिरता दिने काम पनि गर्छ । सेना नभएको अवस्थामा राज्यभित्रकै नागरिकहरुको सानो समूहले वैधानिक सरकारलाई विस्थापित गरेर राज्य कब्जा गरिदिन सक्छ । नेपालमा सेना नहुने या कमजोर हुने हो भने यो देश विदेशीले त खान्छ नै, स्वदेशीले पनि खान्छ । केही मानिसको झुण्डले सत्ता कब्जा गरिदिन्छ । उसलाई हटाउन अर्काे समूह अग्रसर हुन्छ । यसको परिणाम के हुन्छ भने देशमा गृहयुद्ध हुन्छ । देशमा स्थिरताका लागि सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
नेपाली सेनाले भारत र चीनलाई जित्छ कि जित्दैन ?
सन् १९०४ मा विश्वमा कुनै हैसियत नभएको ठानिने देश थियो जापान । उसको छिमेकी रुस भने विश्व शक्ति थियो । विश्वशक्ति रुस र जापान बीच लडाईं भयो । त्यो लडाईंमा रुसले जापानलाई किचीमिची पार्ने ठानिएको थियो । तर, दुई वर्ष लडाईं भएपछि जापानले जित्यो । जापानको जय र रुसको पराजयमा विश्व नै चकित भयो ।
यो उदाहरण किन दिइएको हो भने केही मनुवाहरुले भारत र चीन बाहेक नेपालको अरुसँग लडाईं हुँदैन, ती देशलाई नेपालले जित्न असम्भव छ, त्यसैले नेपालले सेना राख्न आवश्यक छैन अथवा संख्या घटाउनुपर्छ भन्ने कुतर्क गरिरहेका छन् । यस्ता कुतर्क कतिपयले अज्ञानतावस गरेका छन् भने कतिपयले चाहिँ सबै कुरा बुझेर पनि नियतवस गरेका छन् ।
भारत र चीनसँग नेपाली सेनाले लड्न सक्दैन, जित्न सक्दैन भन्ने विचार शतप्रतिशत गलत छ । नेपालले भारत र चीनसँग लडाईं गर्ने नै होइन । नेपाली सेना विशुद्ध नेपालको रक्षा गर्न बनेको हो ।
विश्व इतिहास भनेको युद्धको इतिहास पनि हो । युद्धको इतिहासले के पाठ सिकाएको छ भने युद्ध हुनु अगाडि कसले जित्छ कसले हार्छ भनेर ठोकुवा गर्न हुँदैन । युद्धमा जे पनि हुनसक्छ । माथि रुस र जापानको उदाहरण दिइयो, यस्ता कैयन उदाहरण छन् । रुससँगको विजयपछि जापान विश्व शक्तिका रुपमा उदायो भने चीन कमजोर देशका रुपमा गनिन्थ्यो । गृहयुद्धले चीन थिलथिलो भएको थियो । चीनलाई कब्जा गर्न जापानले आक्रमण गर्यो । तर, कमजोर भनिएको विश्व शक्ति जापानलाई चीनले धुलोपीठो बनाएर लखेट्यो ।
अमेरिका विश्वको महाशक्ति हो । ऊ युद्ध गर्न भियतनाम गयो । कमजोर र गरिब देश भियतनाम र अमेरिकाको तुलना हात्ती र मुसाको रुपमा गरिएको थियो । तर, मुसा भनिएको भियतनामले हात्ती भनिएको अमेरिकालाई धूलो चटाइदियो । अफगानस्तानमा परास्त भएर अमेरिका फर्किएको पनि धेरै भएको छैन । उदाहरणकै कुरा गर्ने हो श्रीलंकामा भारत युद्ध गर्न गएको थियो । श्रीलंकाको राष्ट्रिय सेना भारतीय सेनाको साथमा थियो, युद्ध थियो तमिल लडाकूहरु विरुद्ध । तमिल लडाकूहरुसँग परास्त भएर भारतले लज्जित हुँदै फर्कनुपरेको थियो ।
अहिलेकै परिदृष्य हेरौं, रुस र युक्रेनको सामरिक शक्तिको तुलनै हुँदैन भनिन्थ्यो । दुई वर्षदेखि उनीहरुको युद्ध भइरहेको छ । पूर्वानुमान गरे अनुसार रुसले युक्रेनलाई परास्त गर्न सकेको छैन ।
भारत र चीनसँग नेपाली सेनाले लड्न सक्दैन, जित्न सक्दैन भन्ने विचार शतप्रतिशत गलत छ । नेपालले भारत र चीनसँग लडाईं गर्ने नै होइन । किन गर्नुपर्यो लडाईं ? भारत र चीनसँग लडाईं गर्न नेपाली सेनाको विकास भएको पनि होइन । नेपाली सेना विशुद्ध नेपालको रक्षा गर्न बनेको हो । हामीले भारत र चीनसँग लडाईं गर्ने कल्पना पनि गर्न हुँदैन । नेपाली सेना भनेको विश्वको सर्वाधिक प्रतिष्ठित र सक्षम सेना हो, देशको रक्षा गर्न नेपाल सेना सक्षम छ भन्नेमा विश्वस्त बन्नुपर्छ । नेपाली सेनाले कसैसँग लडाईं जित्दैन भनेर सेनाको मनोबल र राष्ट्रिय आत्मविश्वास कमजोर बनाउने कुप्रयास नगरे हुन्छ ।
भाग-२ भिडियाे हेर्नुहाेस्:
