-गोविन्द थापा-
नेपालले चीन र भारत बाहेक अरुसँग युद्ध लड्ने कुरा आएन, चीन र भारतसँग युद्ध जित्ने नै होइन । अनि, किन चाहियो सेना ? यस्तो विचार अगाडि सारेर नेपाली सेनामाथि प्रहार भइरहेको छ ।
विश्व इतिहासले भन्छ, प्रविधि र हतियारले मात्र युद्ध जितिँदैन । युद्ध जित्न अनुशासित, देशभक्त र प्रतिवद्ध सेना चाहिन्छ । अनुशासित, प्रतिवद्ध र देशभक्त सेनाले जतिसुकै ठूलो शक्तिलाई पनि परास्त गर्न सक्छ भन्ने इतिहास कसैले नबुझेको भए इतिहास अध्ययन गर्नुपर्यो ।
सेनाको संख्या घटाउने या बढाउने विषयमा छलफल गर्न नसकिने होइन । तर, यस्तो छलफलको बहानामा सेना माथि नै प्रहार हुनु मान्य हुन सक्दैन ।
युद्ध जित्नलाई चाहिने सबैभन्दा ठूलो हतियार भनेको मनोबल र आत्मविश्वाश हो । नेपालको तत्कालै कोहीसँग युद्ध हुने देखिँदैन, यद्यपी, देशको जीवनमा अचानक कतिबेला के हुन्छ केही पनि भन्न सकिँदैन । युद्ध हुने अवस्था छैन भन्ने नै मानौं । केही नेताहरुले युद्ध नै नभईकन नेपाली सेनाको पराजयको घोषणा गरिरहेका छन् ।
अनुशासन, प्रतिवद्धता र देशभक्तिको मामिलामा नेपाली सेना विश्वमै अतुलनीय छ । यति सक्षम सेना साथमा भए पनि नेपालको रवैया कहिले पनि हिँसात्मक रहेन । नेपाल र नेपाली सेनाले जहिले पनि आफूलाई युद्ध होइन शान्तिको पक्षमा उभ्याएको छ ।
भाग एक भिडियाे हेर्नुहाेस्:
नेपाललाई किन सेना चाहियो ? अहिले मात्र होइन, धेरै पटक यस्तो कुरा उठाइएको छ । सेना बिनाको देश हुन सक्दैन । विश्वका सीमित केही देशसँग सेना थिएन, उनीहरुले पनि सेना निर्माण गर्दैछन् । जस्तो कि जापान । दोस्रो विश्वयुद्धपछि जापानसँग आफ्नो सेना थिएन, अहिले उसले सेना बनाउन थालेको छ ।
राज्यको उत्पत्ति सम्बन्धी सिद्धान्तले के भन्छ भने व्यक्तिको सुरक्षाका लागि राज्यको उत्पति भयो । सुरक्षाको मुख्य काम सेनाले गर्छ । राज्य सम्बन्धी अवधारणा भविष्यमा लोप भयो भने सेना नचाहिन पनि सक्ला । प्लेटो या कार्ल मार्क्स परिकल्पना गरे जस्तो आदर्श समाज बनेमा सेना नचाहिन सक्छ । तर, विश्वमा राज्यहरु रहेसम्म राज्यले आफ्नो अस्तित्व रक्षाका लागि सेना राख्नैपर्ने हुन्छ । राजनीति शास्त्री केनेथ वाल्ट्जले सुरक्षा सम्बन्धी अवधारणामा के विचार राखेका छन् भने एउटा देशले सेना राख्यो भने अर्काे देशले पनि सेना नबनाई सुखै छैन ।
अर्थात्, सुरक्षाको भावनाले मात्र नभएर असुरक्षाको भावनाले पनि सेनाको विकास हुन्छ ।
सेनाको संख्या घटाउने या बढाउने विषयमा छलफल गर्न नसकिने होइन । तर, यस्तो छलफलको बहानामा सेना माथि नै प्रहार हुनु मान्य हुन सक्दैन ।
सेना सम्बन्धमा नेपालको अवधारणा स्पष्ट छ । नेपालको सेना आत्मरक्षा र शान्तिका लागि हो । विश्वमा नेपाली सेना त्यस्तो सेना हो जसले शान्तिका लागि महत्वपूर्ण योगदान दिएको छ । नेपाली सेनाले आन्तरिक स्थिरता र विश्व शान्तिका लागि दिएको योगदान महत्वपूर्ण छ । दैवी प्रकोप तथा विभिन्न अवसरमा नेपाली सेनाले गरेको योगदान झनै बिर्सन मिल्दैन ।
देशको खर्च घटाउन सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले के बुझ्न जरुरी छ भने सेनाको संख्याले उद्योग व्यापारले जस्तो, भन्सारमा राजश्व उठाए जसरी लाभ दिँदैन । सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले के बुझेका छैनन् भने सेनाको योगदान आर्थिक लाभमा नाप्न सकिँदैन ।
विश्वमा अति सक्षम व्यावसायिक सेनाका रुपमा नेपाली सेना प्रतिष्ठित छ । यस्तो सेनालाई छिमेकी देशलाई जित्न सक्दैन भन्नु भनेको सेनाको मनोबल गिराउन खोज्नु हो । नेपाली सेनाले छिमेकीलाई जित्न सक्छ कि सक्दैन भन्ने युद्ध भएपछि मात्र थाहा हुने कुरा हो, नेपाली सेनालाई युद्धमा होम्नुपर्छ भन्नु नै गलत हो । प्राचीन कालमा सेनालाई निरन्तर युद्धमा प्रयोग गरिन्थ्यो, राजामहाराजाहरुले सेनालाई फुर्सदिलो बस्न दिँदैनथे, त्यो युग सकियो । अब सेनाको उपस्थिति युद्ध रोक्नका लागि हो । सेनाको उपस्थितिले शान्तिको वातावरण सिर्जना गर्छ भन्ने हामीले बुझ्नुपर्छ ।
सेनाको संख्या
कतिपयले के कुतर्क गर्ने गरेका छन् भने माओवादीको जनयुद्धका बेला सेनाको संख्या बढाइयो, अब आवश्यक छैन, घटाउनुपर्छ । सेना भनेको एकै रातमा विकास गर्न सकिँदैन । भन्नासाथ सेना घटाउने, सोंच्नासाथ संख्या बढाउन सम्भव हुँदैन । सेना भनेको उद्योग व्यापार प्रतिष्ठान जस्तो होइन । सक्षम सेनाको पंक्ति तयार पार्न रकमले मात्र हुँदैन । सेनाको संख्या बढाउन सैनिक संस्थाले श्रम, सीप, रकम, बुद्धि, कुशलता खर्च गरेको हुन्छ । मुख्य कुरा, समय खर्च गरेको हुन्छ ।
अनुशासनको मामिलामा विश्वमै उदाहरणीय सेना नेपालको हो । अनुशासनवद्ध यो पंक्ति घटाउने किन ? मुख्य कुरा, माओवादीले जनयुद्ध थालेको दुई दशक जति अगाडिको कुरा हो । यो दुई दशकमा नेपालको जनसंख्या बढिसक्यो, राष्टिय सुरक्षामा अनेक चुनौती थपिएको छ । सेनाले सुरक्षा दिनुपर्ने विकास आयोजना कैयन गुणा बढेको छ ।
भाग एक पढ्नुहाेस्: नेपाललाई किन चाहिन्छ सेना ? किन सेना बलियो बनाउने ? (भाग– १)
सेनाको संख्या न्यूनतम् यति र अधिकतम् यति भन्ने सर्वमान्य मापदण्ड छैन । सेनाको संख्या कति भन्ने मुख्य विषय पनि होइन । कुनै पनि देशले सुरक्षाका लागि कति खर्च गर्छ भन्ने चाहिँ मुख्य हो । सुरक्षामा हुने खर्चभित्रै सेनाको तलब सुविधा पनि पर्ने हो । सुरक्षामा नेपालले कूल बजेटको जति खर्च गर्छ, यो खर्च विश्वका देशहरुको औसत खर्च भन्दा थोरै हो । नेपालसँग सेना मात्र छ, साधारण हतियारहरु मात्र छ, अत्याधुनिक हतियारको होडबाजीमा नेपाल छैन । विश्वका शक्तिशाली मुलुकहरुले उत्पादन गर्ने मारक हतियार किन्न नेपालले खर्च गरेको छैन । विश्वमा न्यूनतम खर्च गरेर अधिकतम् व्यावसायिक बनेर नेपाली सेनाले जुन ख्याती कमाएको छ, त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।
नेपालको सर्वाधिक मूल्यवान ब्राण्ड ‘नेपाली सेना’ हो । सगरमाथा, नेपाली सेना, बुद्ध लगायत नेपालसँग विश्वस्तरीय कैयन ब्राण्ड छन् । ‘नेपाली सेना’ ब्राण्डलाई धमिलो बनाउन अहिले जुन प्रयास भइरहेको छ, यो निन्दनीय छ । नेपाली जनताले यसको प्रतिकार गर्नुपर्छ ।
विश्व शान्तिका लागि नेपाली सेना धेरै ठाउँमा खटिएको छ । विश्व शान्तिका लागि नेपाली सेनाको योगदानको चर्चा गर्दा ‘लखनऊ लुट’ भन्ने उखान सम्झनुपर्छ । सन् १८५७ मा भारतमा सिपाही विद्रोह भयो । भारतमा शान्तिसुरक्षा र अमनचैन कायम गराउन तत्कालीन ब्रिटिश शासकहरुलाई हम्मेहम्मे पर्यो । भारतले नेपाली सेनालाई गुहार्यो । जंगबहादुरको नेतृत्वमा नेपाली फौज भारत प्रवेश गर्यो र शान्ति तथा अमनचैन कायम गरायो । त्यस अघिसम्म नेपाली सेनाको पहिचान युद्धका लागि मात्र थियो, त्यसपछि शान्ति र स्थिरताका लागि नेपाली सेना भन्ने नयाँ छवी नेपाली सेनाको बन्न गयो ।
देशको खर्च घटाउन सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले के बुझ्न जरुरी छ भने सेनाको संख्याले उद्योग व्यापारले जस्तो, भन्सारमा राजश्व उठाए जसरी लाभ दिँदैन । सेनाको संख्या घटाउनुपर्छ भन्नेहरुले के बुझेका छैनन् भने सेनाको योगदान आर्थिक लाभमा नाप्न सकिँदैन ।
संख्याकै कुरा गर्ने हो भने विश्वका अन्य देशहरुको तुलनामा प्रति हजार जनसंख्यामा नेपाली सेनाको संख्या जति छ, त्यो धेरै होइन । नेपालको राष्टिय सुरक्षामा जेजस्ता चुनौतीहरु थपिएका छन्, त्यसका आयाम विगतको कथित जनयुद्धको तुलनामा ठूलो छ । नेपालको सुरक्षा चुनौतीहरुलाई ध्यानमा राख्ने हो भने नेपाली सेनाको संख्यालाई धेरै भन्न मिल्दैन । सुरक्षा चुनौतीलाई ध्यान नदिई संख्यामा मात्र ध्यान दिनु कि नियत खराब हो, कि अज्ञानता हो । राज्यका जिम्मेवार पदमा बसेकाहरुले अज्ञानता देखाउन पनि मिल्दैन र नियत खराब गर्न पनि मिल्दैन ।
ब्राण्ड गोर्खाली अर्थात् नेपाली सेना
विश्वको सबैभन्दा पूरानो सेनामध्ये एउटा हो नेपाली सेना । नेपालीलाई विश्वमा गोर्खाली भनेर चिनिन्छ । गोर्खाली सेना ब्राण्ड नेपाली सेनाले बनाएको हो । विश्वका चर्चित ब्राण्डहरु एप्पल, सामसुङ, कोकाकोला, सोनी, अलिबाबा सहित कैयन छन् । ती ब्राण्डहरुभन्दा कम छैन नेपाली सेना । युद्ध र शान्ति दुवैका लागि प्रसिद्ध कुनै सेना छ विश्वमा भने त्यो नेपाली सेना हो ।
नेपाली सेनाको यो ब्राण्डले देशलाई अनेक कोणबाट लाभ दिएको छ । केही देशहरुमा नेपालीहरु सेनाको रुपमा काम गरिरहेका छन् । निजी क्षेत्रका विश्वस्तरीय कम्पनीहरुले सुरक्षा गार्डका रुपमा नेपालीलाई नै रोज्छन् । नेपाली सेनाका कारण नेपालीहरु पहिलो रोजाई बनेका हुन् भन्ने प्रष्ट छ ।
नेपालको सर्वाधिक मूल्यवान ब्राण्ड ‘नेपाली सेना’ हो । सगरमाथा, नेपाली सेना, बुद्ध लगायत नेपालसँग विश्वस्तरीय कैयन ब्राण्ड छन् । ‘नेपाली सेना’ ब्राण्डलाई धमिलो बनाउन अहिले जुन प्रयास भइरहेको छ, यो निन्दनीय छ । नेपाली जनताले यसको प्रतिकार गर्नुपर्छ ।
भाग-२ भिडियाे हेर्नुहाेस्:
