-रमेश सुवेदी -
रामेछाप धार्मिक एवं ऐतिहासिक महत्वको पाँचपोखरी तथा जटापोखरीको यस वर्ष भ्रमण गर्ने अवसर मिल्यो । यी पोखरी प्रकृतिको एक अनुपम उपहार रहेछन् ।
कलकल बग्ने झरना, खोला र खोल्सीका साथै प्राकृतिक सौन्दर्यले भरिएको हरियाली दृश्य देख्दा कसको मन नलोभ्याउला र ! जैविक विविधताले भरिपूर्ण पाँचपोखरी तथा जटापोखरी हिन्दु र बौद्ध धर्मावलम्बीहरुकाे धार्मिक आस्था र विश्वासको प्रतीक पनि रहेछ । सो स्थान धार्मिक संगमस्थल पनि रहेछ ।
पौराणिक किंवदन्ती अनुसार ४ हजार ५ सय १४ मिटरको उचाइमा रहेको पाँचपोखरी, माता पार्वतीले पाँचवटा पाँचकुने कुण्ड बनाएर तपस्या गरेको ठाउँ हो भन्ने गरिँदो रहेछ । यस्तै ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको जटापोखरीलाई महादेवको जटा भएको स्थानको रूपमा लिने गरिएको रहेछ ।
एउटै पोखरीमा प्राकृतिक रूपमा बिच–बिचमा उठेका बाँधले पोखरीलाई पाँचवटा कुण्डमा विभाजन गरेको छ पाँचपोखरी । पाँचपोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्ने रहेछ । पाँचपोखरीबाट मुनि मुनि निस्किएको पानी जटापोखरी झर्छ । जटापोखरीको पानी घ्वाङ खोलामा झर्छ र खिम्ति खोला बन्छ ।
हिउँदका ६ महिनामा यी दुवै पोखरीको पानी हिउँ बनेर जम्ने रहेछ । उच्च हिमपात हुने हिमाली क्षेत्र भएका कारण पाँचपोखरी तथा जटापोखरीको पानी चैत्रदेखि भदौसम्म मात्र पग्लिने रहेछ । त्यसैले चैतदेखि भदौसम्म मात्र यहाँ सहज रूपमा जान सकिने रहेछ ।
यी दुई पोखरीका वरिपरि भगवान् शिव विराजमान छन् भन्ने जनविश्वास रहेको पाइयो । प्रत्येक वर्षको जनै पूर्णिमाका दिन पाँचपोखरी तथा जटापोखरीमा भव्य मेला लाग्दै आइरहेको छ । मेला भर्न रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु तथा अन्य जिल्ला तथा भारतबाट समेत दर्शनार्थीहरु ठुलो सङ्ख्यामा आउने गरेका पाइयो ।
पोखरीमा मात्र होइन चुचुरेको खहरेबाट उकालो लाग्ने बित्तिकै रमणीय यात्रा सुरु हुन्छ । त्यसो त बाहिरबाट आउने यात्रीहरूलाई ठोसे, शिवालय, गर्जाङ पनि कम रमाइला ठाउँ छैनन् । गर्जाङको फाँट, तल बग्ने खिम्ती खोला, माथि देखिने जङ्गल र छाँगाहरू कम मनमोहक छैनन् । अझ खहरेबाट उकालो लागेपछि छुट्टै आनन्द आउँछ ।
पदयात्रा गर्दा हिमाली जडीबुटी र वन्यजन्तु, मनमोहक दृश्य, मन नै पुलकित बनाउँछ । प्राकृतिक सौम्यताले उकालोमा पनि हिँड्ने तागत बढाउँछ । उकाली ओराली, हरियाली, खोलानाला र झरनाले पदयात्रालाई आनन्दमय बनाउँछ । लामो यात्रा गर्नु परे पनि मनोरम दृश्यले मन लोभ्याउँछ ।
दर्शनार्थीहरुले त्रिशूल, फुल, भेटी, काँक्रा, फर्सी, हरिया मकै जस्ता उत्पादन लिएर गई चढाएको यात्राको क्रममा देखियो । यसले स्थानीयको ती धार्मिक स्थान प्रति अगाध स्नेह दर्सायो ।
पाँचपोखरी तथा जटापोखरीमा ब्राह्मण, क्षेत्री समुदायले गाईको दूध र शेर्पा समुदायले चौँरीको दूध चढाएको देखियो । दर्शनार्थीहरु पवित्र पोखरीमा यी चिज चढाएर सुद्ध मनले आफ्नो सिरमा पोखरीको पानी राखेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास राख्दा रहेछन् ।
दर्शनार्थीहरुले सुस्वास्थ्य, धन आर्जन तथा सोचेको आँटेको कार्य पूरा होस् भनेर पूजा आराधना गर्ने गरेको पाइयो । धेरैले त्यहाँसम्म आउने भाकल गरेका कारण पनि सोचेको कुरा पूरा भएपछि दर्श गर्न गएको पाइयो ।
त्यहाँ लाग्ने मेलामा सन्तान नभएका दम्पतीहरूले खाली कोक्रो बोकेर सन्तान माग्दै ध्यान गर्ने गरेको पनि यात्राको क्रममा सुनियो, देखियो । सन्तान प्राप्तिपछि त्यस्ता दम्पतीहरूले आफ्ना छोराछोरीलाई समेत लिएर दीर्घायु सहितको वरदान माग्न पुनः पाँचपोखरी तथा जटापोखरी पुग्ने गरेको पाइयो ।
यो वर्ष पनि भदौ १४ गते जनै पूर्णिमाको दिन त्यहाँ भव्य मेला लाग्दै छ । तर पूर्णिमा अगाडि पनि धेरै मानिसहरू दर्शन गर्न गएको पाइयो । पोखरीमा जाने मानिसहरूको भिड थियो । बाटोमा मानिसहरूको लर्कन देखिन्थ्यो ।
पाँचपोखरी तथा जटापोखरीको दर्शनका लागि मानिसहरू निकै लामो पैदल यात्रा गर्दछन् । रामेछापको गोकुलगंगा गाउँपालिकाले पोखरीको बेस क्याम्पसम्म कच्ची सडकको ट्र्याक खोले पनि वर्षाको कारण यातायातका साधन चल्न सक्ने अवस्था छैन । त्यसैले यहाँ जाने उपाय भनेको पैदल यात्रा नै हो ।
यो धार्मिक एवं पर्यटकीय महत्वको स्थलमा पुग्न रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट खिम्ती, फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे, शिवालय, गर्जाङ हुँदै खहरेसम्म गाडीमा यात्रा गर्न सकिन्छ । दोलखाबाट जाँदा दोलखाको जिरी हुँदै रामेछापको ठोसे निस्किएर जानु पर्छ । यहाँ जाने अर्को बाटो पनि छ । त्यो हो उमाकुण्डको बाम्ती देउराली हुँदै सेर्दिङबाट झर्ने बाटो । खास गरी लिखु किनारबाट आउनेको लागि त्यो बाटो सहज हुन्छ ।
खहरेबाट जाँदा छिटो हिँडेन मानिसहरू एक दिन भरिको पैदल यात्रा गरेर जटापोखरी पुग्छन् । ठिकै हिँड्नलाई खहरेबाट हिँडेपछि मानेडाँडा बास बस्न ठिक्क हुन्छ । उकालो बाटो, १० घण्टा लाग्यो हामीलाई खहरेबाट मानेडाँडा पुग्न ।
दोस्रो दिन मानेडाँडाबाट केही घण्टा हिँडेपछि हामी जटापोखरी पुग्यौँ । खिम्ति खोला तल हिउँदमा पनि तर्न सकिँदैन । तर माथि त वर्षाको बेलामा पनि फड्केरै तरियो । दोलखाको भूभागबाट खिम्ती खोला तरेपछि जटापोखरी पुगिन्छ । जटापोखरीबाट करिब ४५ मिनेट ठाडो उकालो चढेपछि पाँचपोखरी पुगिन्छ । दुवै पोखरीको पानी निलो । पोखरीमा हेर्दा निलो आकाश र आकाशको बादल समेत देखिने । पाँचपोखरी भन्दा जटा पोखरी धेरै गहिरो । आयतन पनि ठुलो । फन्को मार्न नै समय लाग्ने ।
वर्षामा विभिन्न जातका फूल फुलको सो क्षेत्र सधैँ हरियाली र चिसो हुने रहेछ । हिउँ पर्ने ठाउँ चिसो नहुने त कुरै भएन । सो क्षेत्रमा हिउँ परेको बेला हिउँ खेल्न र लालीगुराँस फुलेको बेला दृश्यावलोकन गर्दै रामेछाप र दोलखा जिल्लाको विभिन्न ठाउँहरू अवलोकन गर्न सकिन्छ ।
उकाली ओराली गर्दै रमाइलो पदयात्रा गर्दा यार्सागुम्बा, जटामसी, पदमचाल, सुनपाति, जङ्गली च्याउ, ठुलो ओखती कति हुन् कति जडीबुटी । चरीबाघ, घोरल, कस्तुरी, मृग, दुम्सी, भालु, हिउँचितुवा, पाटेबाघ, निगाले चितुवा, बँदेल, फ्याउरो, सालक लगायतका वन्यजन्तु पनि देख्न सकिन्छ यस क्षेत्रमा ।
यात्राको क्रममा भालुको आक्रमणबाट जोगिने कुरामा भने निक्कै ख्याल राख्नु पर्छ । पानी परिरहने भएको कारण खरी जातको जुकाको आक्रमणबाट जोगिन धेरै कठिन रहेछ । उच्च पहाडी क्षेत्रको हावापानी, वनस्पति, जडीबुटी, खोला, झरनाहरूले यात्रीहरूको मन भने उक्त ठाउँमा पुगेपछि आनन्दित बनाउने रहेछ ।
यात्राका क्रममा आफूले खाने सामाग्री र बास बस्न टेन्ट अनिवार्य लिएर जानु पर्छ । किनकि उच्च हिमाली क्षेत्र भएका कारण सो क्षेत्रमा बस्न र खानको राम्रो व्यवस्था छैन । जुनसुकै बेला पनि पानी पर्ने भएकोले पानीबाट जोगिने सामान बोक्नु पर्छ । अति जाडो हुने भएकोले जाडोबाट जोगिने न्यानो कपडा पनि त्यतिकै आवश्यक पर्छ ।
मेला लागेका बेला त्रिपालको सहारामा बनाइएका केही साना होटेलहरूमा चिया, चाउचाउ, थुक्पा लगायतका खानेकुरा पाए पनि अन्य व्यवस्था छैन । पाँच पोखरी तथा जटा पोखरीको यात्रा अलि अलि कष्ट कर भए पनि पदयात्रीहरूका लागि उक्त ठाउँ पुगेपछि स्वर्गको यात्रा सरह हुने अनुभूति भयो ।
जो कोहीले पनि जीवनमा एक पटक जसरी पनि पुग्नै पर्ने ठाउँ रहेछ पाँचपोखरी तथा जटापोखरी । तर नियमित उकालो, ओरालो नहिँड्ने मानिसलाई सो ठाउँमा पुग्न निक्कै गाह्रो हुन्छ । लेकको बाटो भएकोले लेक लाग्ने डर त्यतिकै हुन्छ । त्यसबाट बच्न लसुन, मकैको सातु, खुर्सानीको अचार लगायतका खानेकुरा भयो भने निक्कै सजिलो हुन्छ ।
यस वर्ष भदौ १४ गते जनै पूर्णिमा परे पनि हाम्रो यात्रा भने नाग पञ्चमीको दिनलाई लक्षित गरी भदौ २ गते बिहानबाट सुरु भयो । बिहान राष्ट्रिय गान गाएर रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ शिवालय बजारबाट हामीले यात्रा सुरु गर्यौँ । हामीलाई सो यात्रा पूरा गर्न करिब ३० घण्टा लाग्यो । भदौ २ गते निस्किएका हामी भदौ ४ गते बेलुकी ७ः३० बजे शिवालय आइपुग्यौँ ।
यात्राको क्रममा खरी जातका जुकाको गनिनसक्नु टोकाइ सहियो । यात्रामा निस्किएदेखि फर्किने दिनसम्म लगातार वर्षे झरीको चुटाइ भोगियो । तर प्रकृतिको आनन्द पनि लिइयो ।
यात्राको क्रममा गोकुलगंगा गाउँपालिका–१,चुचुरे निवासी प्रिय भाइ सरोज रुम्बा लामा जसले हाम्रो पथप्रदर्शक बन्नुभयो । उहाँ धन्यवादका पात्र हुनुहुन्छ । उहाँ नभएको भए हाम्रो यात्रा हुने नै थिएन वा भइहाले पनि निक्कै जटिल हुन्थ्यो ।
सो क्षेत्रमा पुगेर आउँदा केही सुझाव भने दिन मन लाग्यो । स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकारले पैदल मार्ग मात्र राम्रो बनाइदिए पनि उक्त ठाउँमा जानको लागि आन्तरिक तथा बाह्य पर्यटकलाई निक्कै सजिलो हुन्थ्यो । अझ यसको थप प्रचार प्रसार गर्न सके पर्यटकको त घुइँचो नै लाग्थ्यो । यसको लागि स्थानीय सरकारसँगै पनि बजेटको अभाव छैन भन्ने लाग्छ । केवल इच्छाशक्ति भए उपाय निस्किन्थ्यो ।
त्यहाँसम्म जाने पर्यटकलाई बाटोमा बस्ने र खाने उचित बन्दोबस्तका लागि व्यवसायी र लगानीकर्ताको पनि ध्यान जानु पर्ने देखियो । त्यति धेरै मान्छे जान्छन्, तर न बस्ने ठाउँ छ, न खाने ठाउँ । व्यवसायसँगै सेवा पनि दिने खालका होटेल खोल्ने हो भने रोजगारी पनि हुन्छ, आम्दानी पनि हुन्छ । यात्रीहरूले सहज सेवा पनि पाउँछन् ।
अन्त्यमा भोले नाथको कृपा र सबैको आसिरवाद, स्नेह र साथ सहयोग, माया, ममता, मार्गदर्शन, उत्प्रेरणाले सो धार्मिक एवं ऐतिहासिक ठाउँमा पुगी भोले बाबाको दर्शन गरी सकुशल फर्किन सकियो । जय भोले बाबा ! जय शम्भो !!
