काठमाडौं । आफूलाई क्रान्तिकारी भन्ने नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) को दोहोरो राजनीतिक चरित्र देखिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग असन्तुष्ट भएर सशस्त्र आन्दोलन गर्ने भन्दै भूमिगत हुनुभएका विप्लवले भूमिगत हुँदा केही ठाउँमा बम पड्काउन लगाउनुभयो । सो क्रममा विप्लवका कार्यकर्ताले एक जना शिक्षकको त ज्यान नै लिए । ती शिक्षकलाई विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएर हत्या गरेका थिए ।
माओवादीले २०५२ सालमा सुरु गरे जस्तो भूमिगत सशस्त्र आन्दोलन नेपालमा अब सफल हुँदैन भन्ने निष्कर्षमा पुगिसक्नु भएका विप्लवसँग केपी ओली नेतृत्वको एमाले सरकार हुँदा सरकारले वार्ता गर्यो र शान्ति प्रक्रियामा ल्यायो । प्रचण्डसँग विद्रोह गरेर भूमिगत हुँदा होस् वा सरकारसँग वार्ता गरेर शान्ति प्रक्रियामा आउँदा होस् विप्लवले खासै जनसमर्थन पाउन सक्नु भएन ।
एक्लै भौँतारिनु भएका विप्लव शक्तिमा आउन कसैको सहारा खोज्दै हुनुहुन्थ्यो । प्रचण्डसँग भड्किएर हिँड्नु भएका विप्लव सोझै माओवादीसँग मिल्न जान पनि सक्नु भएन, एक्लै टिक्न पनि सक्नु भएन ।
विप्लव मात्रै एक्लै टिक्न नसक्ने अवस्थामा हुनहुन्नथ्यो, एमालेबाट फुटेर जानुभएका माधव नेपाल, मधेश केन्द्रित दललाई टुक्र्याउँदा टुक्र्याउँदा सानो टुक्रोमा सीमित हुनुभएका उपेन्द्र यादव पनि सहाराको खोजी हुनुहुन्थ्यो । त्यसो त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै एक्लै उठ्नै नसक्ने भएर नेपाली कांग्रेसको हात समाउन पुग्नु भएको थियो ।
त्यही कांग्रेसकै वैशाखी टेकेर प्रधानमन्त्री बन्नुभएका प्रचण्ड कांग्रेसलाई नै थर्काएर र धम्क्याएर सत्तामा बसिरहन चाहनु हुन्छ । त्यसैले कांग्रेसलाई साइजमा राख्न कांग्रेस बाहेकका सत्तामा रहेका माधव र उपेन्द्रलाई समेत जोडेर मोर्चा बनाउने प्रस्ताव प्रचण्डले गर्नुभयो ।
एक्लै टिक्न नसक्ने अवस्थामा पुग्नुभएका विप्लव सत्ता गठबन्धनको मोर्चा समाजवादी मोर्चामा मिसिन पुग्नुभयो र भन्नुभयो– उहाँहरूले सत्तामा बसेर संघर्ष गर्नुहुन्छ, हामी बाहिर बसेर सडकबाट गर्छौँ । प्रचण्ड, माधव र उपेन्द्र त पहिलै मिलिसक्नु भएकै थियो । सो समूहमा विप्लव पनि मिसिन पुग्नुभयो ।
खासमा माओवादीसँग एकैचोटी मिल्न जाँदा जवाफ दिन नसक्ने अवस्था भएपछि माओवादीमा मिल्न जाने सुरुवाती चरणको रूपमा विप्लव सो मोर्चामा पुग्नु भएको हो । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको पनि अन्तिम धेय प्रचण्डको पार्टीसँग पार्टी मिलाउने नै हो । उपेन्द्र यादवको चरित्र विगत देखिनै सत्ताको लागि जे पनि गर्ने देखिँदै आएको छ । त्यसैले उहाँ जोसँग पनि मिल्न सक्नु हुन्छ । त्यस माथि प्रचण्डले उपचुनावबाट जिताएर ल्याएको गुन तिर्न पनि उहाँलाई साथ दिनु पर्ने यादवको बाध्यता छ ।
सडकबाट त संघर्ष होला । सरकारले गरेको विकृति विसङ्गति विरुद्ध संघर्ष होलो । आफैँ सत्तामा बसेर चाहिँ कसको विरुद्ध संघर्ष गर्ने ? प्रतिपक्षीको विरुद्ध वा आफ्नै विरुद्ध ?
अमेरिकी परियोजना एमसीसीको सबैभन्दा बढी विरोधीको रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएका विप्लवको सो परियोजना कार्यान्वयनमा आएपछिको प्रस्तुति अनौठा मात्र होइन हास्यास्पद छ । अहिलेको समाजवादी मोर्चा माओवादी अध्यक्ष प्रचण्डकै अवधारणा अनुसार बनेको छ र चलेको पनि छ । सरकारको नेतृत्व पनि प्रचण्डले नै गरिरहनुभएको छ ।
समाजवादी मोर्चाले प्रदेश स्तरका कार्यक्रम गर्दै छ । विप्लव प्रचण्डसँग एउटै मञ्चमा बसेर प्रचण्ड जस्तो नेता देशमा छैन भन्दै हुनुहुन्छ । अहिलेको गठबन्धन सरकार सामान्य होइन, असामान्य हो पनि भन्नुहुन्छ । अनि त्यही सरकारले कार्यान्वयनमा ल्याएको एमसीसीको विरोधमा आन्दोलन गर्ने पनि भन्नु हुन्छ ।
प्रचण्ड नेतृत्व सरकारले एमसीसी कार्यान्वयनमा लाने सहमति पत्र आदान प्रदान गरेको छ । त्यही प्रचण्ड सहितको मोर्चामा विप्लव हुनुहुन्छ अनि एमसीसीको विरुद्ध आन्दोलनमा जाने नाटकीय घोषणा पनि गर्नुभएको छ । विप्लवको आन्दोलन कसको विरुद्ध, आफ्नै मोर्चाको विरुद्ध ? अनि आफ्नै विरुद्ध ?
शुक्रबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्च पासका कार्यक्रम सहित एमसीसीको विरोध गर्ने निर्णय गरेको छ । एमसीसी कार्यान्वयन गर्ने निर्णय गर्ने सरकारसँग उठबस गर्ने, कार्यक्रम गर्ने, भाषण गर्ने अनि फेरी त्यसैको विरुद्ध आन्दोलन गर्ने । यो कस्तो नाटक ? अनि कसलाई देखाएको नाटक ? नेपाली जनता अझै पनि यत्ति कुरा पनि नबुझ्ने लाटा छन् भन्ने भ्रममा विप्लव हुनुहुन्छ वा भ्रममा पार्ने प्रयत्न गर्दै हुनुहुन्छ ?
माओवादीको शुक्रबार बिहान बसेको बैठकले काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीको संयुक्त गोष्ठी गर्ने निर्णय गरेको छ । त्यस्तै असोज १ गतेदेखि १५ गतेसम्म मार्च पास गर्ने निर्णय बैठकले गरेको छ ।
तर यो गोष्ठी कसको विरुद्ध ? अनि मार्च पास कसका विरुद्ध ? आफ्नै विरुद्ध वा आफैँ सम्बद्ध मोर्चाको विरुद्ध ! यस्तो नाटक कहिलेसम्म ! अब जे गरे पनि, जे भने पनि पत्याउने अवस्थामा नेपाली नागरिक छैनन् । कम्तीमा अलिअलि भए पनि पत्याउने कुरा त गर्नु ! थोरै भए पनि लाज त मान्नु ।
