- रमला तुलाधर
नेपालका चाडपर्वहरुलाई कसरी बुझ्ने भन्ने विषयमा ठूलो अन्यौल देखिने गरेको छ । नेपालका प्रमुख चाडपर्वहरुलाई कैयनले हिन्दू चाडपर्व भन्ने गरेका छन् । जस्तो कि तीज ।
के तीज हिन्दू पर्व हो ? यो प्रश्न निकै गम्भीर छ ।
मुख्य कुरा, अन्य धर्मावलम्बीहरुको जस्तो हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको साझा चाड छैन । विश्वभरीका इस्लाम धर्मावलम्बीहरुले इद बकरिद लगायतका चाड मनाउँछन् । त्यसैगरी विश्वभरी इसाई धर्मावलम्बीले क्रिशमस मनाउँछन् । क्रिशमस नमनाउने इसाई समुदाय पनि विश्वमा सानो संख्यामा छ । तर, हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीले एक ठाउँमा जुन चाड मनाउँछन्, ती चाड सबैतिर मनाउँछन् भन्ने छैन ।
नेपालमा हरितालिका तीज हिन्दूले मात्र मनाउँदैनन्, बौद्ध, प्रकृतिपूजक, किराँत, बोन धर्मावलम्बीले पनि मनाउँछन् । नेपालमा रहेका विदेशी क्रिश्चियनहरुले पनि यो चाड रमाएर मनाएको देखिन्छ । तर, नेपालका नव क्रिश्चियनहरुले भने नेपाली चाडपर्व मनाउने गरेका छैनन् । उनीहरुले नेपाली चाडपर्व बहिष्कार गर्ने र विरोध गर्ने गरिरहेका छन् । उनीहरुले बौद्ध, किराँत तथा प्रकृति पूजक धर्म मान्नेहरुलाई हिन्दूका चाडपर्व मान्न हुँदैन भन्दै उकास्ने गरेका छन् ।
त्यसैगरी परम्परागत रुपमा नेपालमा रहेका इस्लाम धर्मावलम्बी महिलाहरु पनि सामूहिक तीज मिलन कार्यक्रमहरुमा देखिन्छन् । तर, नेपालमा नयाँ आएका इस्लाम धर्मावलम्बीहरुले भने तीज मनाएको खासै देखिँदैन ।
तीजलाई हिन्दूको मात्र पर्व हो भन्ने हो भने भारत सहित विश्वका विभिन्न देशमा रहेका हिन्दूहरुले किन तीज मनाउँदैनन् ? किन नेपाली समुदायले मात्र तीज मनाउँछन् ? यो प्रश्न विचारणीय रहेको छ । तीज सम्बन्धमा विभिन्न मत प्रचलित छ । यस्ता मतहरुले भगवान विष्णु, पार्वती लगायतका देवीदेवताहरुको प्रसंग अगाडि ल्याउने गरेका छन् । तर, कुनै पनि हिन्दू धार्मिक ग्रन्थमा तीजलाई चाडको रुपमा उल्लेख गरिएको पाइँदैन । वास्तवमा अधिकांश चाडको स्रोत धार्मिक ग्रन्थ होइनन् । लोकव्यवहार र मान्यताले चाडको विकास भएको पाइन्छ । हिन्दू धार्मिक ग्रन्थका आधारमा तीज, दशैं, तिहार आदि चाडको विकास भएको होइन । नेपाली लोक व्यवहार र जीवनले यी चाडको मौलिक रुपमा विकास गरेको हो । कालान्तरमा यस्ता चाडलाई हिन्दू दर्शन तथा पौराणिकताको खोल लगाइएको हुनसक्छ ।
तीज, दशैं, तिहार जस्ता चाडपर्व नेपाली समाजमा धार्मिक आधारमा मात्र मनाइँदैन, सांस्कृतिक आधारमा पनि मनाइन्छ । धर्म र संस्कृति एउटै होइन तर यी दुई बीचमा गहिरो सम्बन्ध रहेको पाइन्छ । नेपालमा मनाइने चाडपर्वलाई विभिन्न समुदायले विभिन्न तरिकाले मनाउने गरेको छ । जस्तो कि आफूलाई हिन्दू भन्ने समुदायले तीजलाई फरक तरिकाले मनाउँछ, प्रायगरी ब्रत उपवास बस्छ । बौद्ध किराँत समुदायका महिलाले ब्रतलाई थोरै मात्र प्राथमिकता दिन्छ ।
तीजको तेस्रो दिन ऋषिपञ्चमीमा हिन्दू धर्मलाई प्राथमिकता दिने महिलाहरु ब्रत बस्छन् भने अन्य समुदायका महिलाहरु ब्रत नबस्न पनि सक्छन् । सो दिन ब्रत बस्दा रजश्वला हुँदा गरिएको छुवाछुतको दोष निवारण हुन्छ भन्ने मान्यता राखिन्छ । रजश्वाला हुँदा छुवाछूत हुने मान्यता सबै समुदायमा छैन । यस्तो छुवाछूतको चलन हराउँदै गएको छ ।
तीजलाई विभिन्न समुदायले फरक धार्मिक मान्यता र तरिकाले मनाए पनि यसको केन्द्रमा भने महिला रहेका छन् । यो विशेषगरी महिलाको चाडका रुपमा स्थापित छ । त्यसैले पशुपति नाथमा तीजको अवसरमा महिलालाई मात्र प्रवेश दिइन्छ ।
तीज सबै धर्म, सम्प्रदाय र समुदायका महिलाहरुको साझा चाड बन्नुको विशेष कारणहरु छ । यस चाडमा महिलाहरु आफ्नो माइती जान्छन् । चाडपर्व मनाउन माइती जाँदाको उमंग र भावुकता एउटी महिलाले मात्र बुझ्न सक्छिन् । त्यसैगरी महिलाको पिर, वेदना, कठिनाई र समस्या आपसमा बाँड्ने चाडका रुपमा तीज स्थापित छ । विगतमा महिलाहरुले भेला भई आफ्ना व्यक्तिगत तथा सामूहिक पिर, वेदना तथा कठिनाईहरुलाई गीतमा अभिव्यक्त गरेर नाचगान गर्ने गर्थे । आजकाल तीजको त्यो मौलिकता हराउँदै गएको छ । तीजलाई उछृङखलताको पर्याय पनि बनाउन खोजिएको छ । तीजको मौका पारेर दोहोरो अर्थ लाग्ने अश्लील प्रकृतिका गीतहरु सार्वजनिक गर्ने क्रम पछिल्लो समय बढ्दो छ । स्थापित गायक, गायिका, गीतकार तथा संगीतकारहरुले पनि छाडापन भएको गीत सार्वजनिक गर्ने मौकाका रुपमा तीजको दुरुपयोग गर्न थालेका छन् ।
तीजलाई महिलाहरुले महंगो र भड्किलो चाड बनाए भन्ने आरोप पनि सुनिन्छ । तीजमा मात्र होइन, कुनै पनि चाडवाडमा धेरै खर्च गर्नु हुँदैन । केही वर्ष पहिले मेरी एक साथीले तीज महंगो र भड्किलो भएको प्रसंगमा भनेकी थिइन्– ‘पुरुषले वर्षभरी जाँडरक्सी र चुरोटमा जति खर्च गर्छन् त्यसको पाँच प्रतिशत पनि हामीले तीजमा खर्च गर्दैनौं ।’ यो रमाइलो भनाइको सान्दर्भिकता कति छ भन्ने आफ्नै ठाउँमा होला तर तीज सहित विभिन्न चाडवाड खर्चिलो र भड्किलो हुँदै गएको तथ्यलाई इन्कार गर्न सकिँदैन । तीजका बेला महिलाहरुले पनि मादक पदार्थ खाएर पार्टी गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । नेपाली समाजमा जाँडरक्सी जस्ता कुलतमा पुरुषहरु नै धेरै लागेका छन् । पुरुषहरुलाई त्यस्तो कुलतबाट हटाउन, समाजबाट जाँडरक्सी नियन्त्रण गर्न आवश्यक भएको बेला जाँडरक्सीमा महिलाहरुको पनि आकर्षण बढ्दै गएको देखिनु दुखद कुरा हो ।
विगतमा तीजले महिलामा सांस्कृति जागरण ल्याउने काम गथर््यो, आजकाल तीजले जागरण फैलाउने काम त्यति गरेजस्तो लाग्दैन । तीजको धार्मिक सांस्कृतिक पक्ष धेरै छ, यसको सामाजिक पक्ष पनि महत्वपूर्ण छ । तीज लगायतका नेपाली चाडपर्वलाई नयाँ ढंगले परिभाषित गर्दै यस्ता चाडपर्वलाई युग सुहाउँदो बनाउँदै सुधार र परिष्कार गर्न सबैको योगदान हुन जरुरी छ ।
