डा. सुन्दरी पाेखरेल--
जाजरकोट भूकम्प पछि दुईजना नेताले देश लज्जित हुने हर्कत गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलिपल्टै पीडित क्षेत्र पुग्नुभयो । शोक, मृत्यु, विपत्ति जस्ता बेला आफ्नो स्वार्थ हेर्ने र निजी मार्केटिङ गर्ने प्रचण्डको पूरानो स्वभाव हो । अझ भन्ने हो भने शोक र विपत्ति सिर्जना गरेर प्रचण्ड यहाँसम्म आइपुग्नुभएको हो र आगामी दिनमा पनि शोक र विपत्तिको सिर्जना तथा उपयोग गरेर टिकिरहने उहाँको दाउपेच देखिन्छ ।
हर्कत गर्ने अर्का नेता हुन् रवि लामिछाने । रास्वपाका नेता लामिछानेले देखाएको तमासा झनै अस्वाभाविक छ । जाजरकोट पुगेर रवि लामिछानेले त्यहाँको स्थानीय रेडियोमा कार्यक्रम चलाउन थाल्नुभएको छ । कामकुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो भएको छ रविको हर्कत ।
तमासा देखाउने नेता अरु पनि छन् । जाजरकोट रुकुम क्षेत्रका केही नेताले आफन्त र कार्यकर्तालाई सामान्य घाइते अवस्थामा पनि काठमाडौं ल्याएका छन् । यस्ता तमासा आगामी दिनमा अरु पनि देखिने चिन्ता छ ।
यहाँ मुख्य गरी दुई नेताले देखाएको तमासाको विष्लेशण गरिन्छ ।
प्रचण्डको निरर्थक भ्रमण
भूकम्पपछि हजारौं पीडितहरु अहिले खुला आकाश मुनि रात बिताइरहेका छन् । उनीहरुसँग छाना, नाना र खाना छैन । त्यस्ता पीडितहरुलाई युद्ध स्तरमा औषधी, त्रिपाल, खाना र नाना उपलब्ध गराउने काम छाडेर हतारहतार प्रचण्ड पीडित क्षेत्र पुग्नु निर्लज्ज काम हो । राहत र उद्दारको नेतृत्व गर्न छाडेर विपत्ति पर्यटन भूकम्प पर्यटन गर्ने प्रचण्डको हर्कतको जति निन्दा गरे पनि कम हुन्छ ।
पीडितको उद्दार र राहतको काम युद्ध स्तरमा चल्नुपर्ने भोलिपल्ट बिहानै प्रधानमन्त्री प्रचण्ड किन पीडित क्षेत्र गएको ? त्यहाँ प्रधानमन्त्री जान आवश्यक थियो कि चिकित्सक टोली ? हेलिकोप्टरले प्रचण्डको दलबल बोक्न आवश्यक थियो कि औषधी ? पीडित क्षेत्रलाई प्रधानमन्त्रीको आवश्यकता थियो कि उद्दारकर्मीको ? यस्ता प्रश्नको जवाफ के हुन्छ भन्ने सबैलाई थाहा छ तर प्रचण्ड लाज पचाएर जानुभयो ।
प्रचण्डको दलबललाई बोकेर उडेको हेलिकोप्टरमा भूकम्पबाट ज्यान गुमाएका र घाइते भएकाहरुको काठमाडौंमा रहेका परिवारजन उड्नुपर्ने थियो ।
प्रचण्ड र रवि लामिछाने पीडित क्षेत्रमा पुगेका कारण कतिजनाको ज्यान बच्यो ? प्रचण्ड र रवि पुगेकै कारण कतिजनाको उद्दार भयो ? प्रचण्ड र रवि पुगेकाले पराकम्प आउन बन्द भयो कि ? कि के भयो ? केही पनि भएन । यस्तो बेला गर्नुपर्ने काम छाडेर नगर्नुपर्ने काम गर्दै पीडित क्षेत्र पुग्नु भनेको राहत र उद्दार कार्यमा वाधा दिनु मात्र हो ।
प्रचण्ड र रवि जाने प्रकृयामा यावत प्रशासन संयन्त्रको ध्यान त्यता खिचियो । सुरक्षाको बन्दोवस्तदेखि अन्य विभिन्न बन्दोवस्तका लागि राज्य संयन्त्रको महत्वपूर्ण समय खर्च भयो । तारन्तार वायुयान उडिरहनुपर्ने आकाशमा पनि प्रचण्डको हेलिकोप्टरले डिस्टर्ब गर्यो । भूकम्पको भोलिपल्ट घाइते र उद्दार पर्खिएर बसेकाहरुका लागि एकएक सेकन्डको महत्व थियो । एकजना सुरक्षाकर्मी पनि उद्दार कार्य छाडेर अन्य काममा लाग्न मिल्ने अवस्था थिएन । त्यस्तो बेला प्रचण्ड र रविको ‘भूकम्प पर्यटन’ ले राहत र उद्दार कार्यमा ठूलो वाधा दियो ।
प्रधानमन्त्री गएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि गए । गृहमन्त्रीले काठमाडौंमा बसेर राहत र उद्दारको सम्पूर्ण चाँजोपाँजो मिलाउनुपर्ने थियो । साधन, स्रोत, अधिकार सबै काठमाडौंमा छ । यस्तो ठाउँमा बसेर व्यवस्थापनको काम गर्नुपर्नेमा सिपाही झैं प्रधानमन्त्री र गृहमन्त्री लखरलखर पीडित क्षेत्रमा ङिच्च दाँत देखाउँदै हिँड्नु लज्जाजनक हो । सिपाहीँले गर्ने काम गृहमन्त्रीले गर्ने होइन, गृहमन्त्रीले गर्ने काम सिपाहीँले गरेर हुँदैन ।
प्रचण्ड, रवि र नारायणकाजीको ‘भूकम्प पर्यटन’ पीडितहरुलाई तपाईंहरुको साथमा सरकार छ भन्ने देखाउन गरिएको हो त ? यो होइन । आर्तनाद गरिरहेका पीडितहरुलाई प्रधानमन्त्री प्रचण्ड र रविको अनुहारले सान्त्वना दिन सक्दैन । हाम्रो पीडा र शोकको मौका पारेर आफ्नो व्यक्तित्वको मार्केटिङ गर्न आए भन्दै स्थानीयले प्रचण्ड र रविहरुलाई कति सरापे होलान् भन्ने अनुमान मात्र गर्न सकिन्छ ।
भूकम्प पर्यटनबाट काठमाडौं फर्किएपछि प्रचण्डले राहतका लागि उल्लेख्य केही गरेको भए पनि लौ है भन्नु, अहिले पनि पीडितहरुको अवस्था कहालिलाग्दो छ । त्यसैले प्रचण्ड र रविहरुको भूकम्प पर्यटन भर्त्सनायाेग्य छ ।
रवि लामिछानेको निजी मार्केटङ
चौथो ठूलो पार्टीका अध्यक्ष रवि लामिछाने सांसद् पनि हुनुहुन्छ । भूकम्प पछि रविको काम पीडित क्षेत्रमा रेडियो कार्यक्रम चलाउने हो कि अरु नै हो ? रविबाट जस्तो भूमिकाको अपेक्षा गरिएको थियो त्यो भएन । भूकम्पलाई रविले आफ्नो व्यक्तित्व मार्केटिङको अवसर बनाएको देखिन्छ । हिट र भाइरल हुने खालको कुनै पनि मौका नगुमाउने मनोरोगबाट रवि मुक्त हुन सकेको देखिएन ।
पीडितको उद्दार गर्ने, राहत दिने, आगामी दिनमा पुननिर्माण र पुनस्थापना गर्ने काममा संसद्को महत्वपूर्ण भूमिका हुन्छ । विपतका बेला एकजना सांसदले जे गर्न सक्छ पत्रकारले सक्दैन । विपतका बेला घटनास्थलमा रेडियोकर्मी होइन राहतकर्मी चाहिन्छ । विपतका बेला पत्रकारले पनि राहतकर्मी बन्नुपर्छ, उद्दारकर्मी बन्नुपर्छ । रवि लामिछानेले यतिबेला रेडियोमा कार्यक्रम चलाउने हो कि राहत र उद्दारमा सांसदका रुपमा काम गर्ने हो ?
आपत विपतमा जनताले संसद र सरकारबाट आश गर्छन्, राजनीतिक दलबाट आश गर्छन् । यस्तो बेला पीडितहरुले रविबाट समाचार वाचक र अन्र्तवार्ताकारको भूमिका अपेक्षा गरेका थिएनन् । अरुबेला सांसद र नेताको भूमिका खेल्ने, आपतविपतमा चाहिँ पत्रकार बन्ने, यो कस्तो तरिका हो रवि लामिछानेको ? विपतका बेला सांसद्ले गर्नुपर्ने काम केके हो भन्ने रविलाई अरुले सिकाउनु पर्छ र ? जनता शोक, भोक, रोग, पीडा, वेदना भएको ठाउँमा गएर मौका यही हो भन्दै रेडियो कार्यक्रम चलाएर हिट र भाइरल बन्न खोज्नु लज्जाजनक हो ।
जनता शोक र पीडामा भएको मौका छोपेर त्यही ठाउँ गएर सारा दुनियाँका अघि ‘वाह रवि’ भनाउन खोज्नु, ‘रवि महान हो’ भनाउन खोज्नु राक्षसी काम हो । रवि र राक्षसमा फरक नदेखिने दिन आउनु देशको लागि दुर्भाग्य हुन्छ ।
जाजरकोटमा पत्रकार नै थिएनन्, त्यहाँको हालखबर देशले थाहा पाउन नसक्ने अवस्था थियो भने त्यस्तो अवस्थामा रविले पत्रकार बन्नु ठिकठिकैको काम भन्न सकिन्थ्यो होला । जाजरकोटमा पत्रकार महासंघ छ, प्रेस चौतारी छ, प्रेस युनियन छ, माओवादी पत्रकार संगठन छ, विपतका बेला समाचार सम्प्रेषण गर्ने, सरकारलाई झक्झकाउने काम सबैले गरिरहेका छन् । विपतका बेला पीडित क्षेत्रका स्थानीय पत्रकारहरुको काम प्रशंसनीय देखिन्छ । बरु, त्यहाँबाट कस्ताकस्ता समाचार आउँछन् त्यसको अनुगमन गरेर खासखास घटनामा सरकारलाई झक्झकाउने, समस्या समाधानका लागि पहल गर्ने काम रविले गर्नुपर्ने होइन र ? रविले आफू पत्रकार नबनेर स्थानीय पत्रकारहरुलाई विपतका बेला सघाउनुपर्ने होइन र ? जनता शोक र पीडामा छन्, उनीहरुको आँशु पुछ्ने बहानामा आफ्नो व्यक्तित्वको मार्केटिङ गर्नु तुच्छ काम हो ।
जसरी प्रचण्डको अनुहारले पीडितहरुलाई केही दिन सक्दैन, त्यसैगरी रविको अनुहारले पनि केही दिन सक्दैन । शोक र समस्यामा परेकालाई रवि को हो प्रचण्ड को हो थाहा हुँदैन । यति कुरा प्रचण्ड र रविले नबुझेको होइन तर मौकाको फाइदा उठाउने निजी स्वार्थका कारण भूकम्प पर्यटन गर्न पुगे ।
वास्तवमा रविले यतिखेर संसद्को विशेष अधिवेशन माग गर्नुपथर््यो । पीडितको उद्दार राहतका लागि संसदमा विशेष छलफल गरेर सरकारलाई निर्देशित गर्नुपथर््यो । भूकम्प पनि जानु, संसद अधिवेशन पनि सकिनु लगभग एकै समयमा भयो । रविलाई त संसद अधिवेशन सकिनु मौका जस्तो पो भएछ, अधिवेशन चलिरहेको भए जाजरकोट गएर कार्यक्रम गर्ने समय रविसँग नहुन पनि सक्थ्यो ।
राहत र उद्दारमा भएको वेथिति, ढिलाई र भ्रष्टाचारबारे रविको पार्टी कडासँग बोल्नुपर्ने होइन र ? अहँ चुइँक्क बोल्दैन । प्रचण्ड सरकारको आलोचना गर्न रविको पार्टी सकभर जोगिन्छ । आलोचना गर्नैपर्यो भने पनि कामचलाउ आलोचना गर्छ । प्रचण्ड सरकारबाट पीडितहरुको राहत र उद्दार प्रभावकारी ढंगले हुन सक्दैन भन्ने रविको पार्टीले बुझेको छ, अब पुननिर्माण र पुनस्थापना पनि प्रचण्ड सरकारबाट हुन सक्दैन भन्ने बुझेको छ । रवि लामिछाने नीतिगत र देशलाई मार्गदर्शन गर्ने काममा लाग्नुपर्ने हो तर एफएममा कार्यक्रम चलाएर व्यक्तित्वको ब्राण्डिङ गर्ने काममा लाग्नुभएको छ । हिट हुने र भाइरल बन्ने कलामा रवि माहिर हुनुहुन्छ तैपनि यति तुच्छ तरिकाले हिट र भाइरल बन्न खोज्नु दुखद हो ।
साह्रै नसुहाउने काम गर्नुभयो रवि लामिछानेले ।
अन्त्यमा
यस्तो विपतको बेलामा प्रचण्ड र रवि लामिछानेले गरेको भूकम्प पर्यटन, उनीहरुले गरेको आफ्नो व्यक्तित्वको मार्केटिङ निन्दनीय छ । रवि र प्रचण्ड हिँडको यस्तो बाटोमा कोही पनि हिँड्न हुँदैन । विपतको बेलामा प्रचण्ड र रविहरुले जस्तो हर्कत कसैले नगरौं ।
